Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी जान्छ भूकम्प

Posted on June 8, 2014June 10, 2014 by mysansar

Bhukampaकरिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको, र त्यही डल्लो नै पछि सूर्यमा परिणत भएको, अनि त्यही डल्लो बन्ने क्रममा अन्य गह्रौं तथा ठोस पदार्थहरु अझै टाढा उछिट्टिएर, तिनीहरु पनि गुरुत्त्वाकर्षणको अर्को घेरामा घुम्दैघुम्दै पृथ्वी लगायतका ग्रहहरु बनेको कुरामा सबै बैज्ञानिकहरु करिब सहमत नै छन्|

हाम्रो पृथ्वी पनि सुरुमा त बिभिन्न धातुलगायतका पदार्थहरु पग्लेर बनेको हजारौं डिग्री तातो भकभकी उम्लिरहेको अर्ध-तरल बस्तुको नरम डल्लो नै थियो | यो तरल पदार्थ अझै उम्लिरहंदा गरुङ्गा पदार्थको झोल बिचमा पर्दै गयो भने अलि हल्का ढुंगा जस्ता पदार्थहरु उक्त डल्लाको बाहिरी सतहमा रहे, अनि करोडौं बर्षको अन्तरालमा बिभिन्न माध्यमले सेलाई जीव उत्पन्न र बाँच्न सक्ने हुँदै आजको यो हाम्रै आँखा वोरिपरिको अवस्थामा आइपुग्यो |

पृथ्वीको ५,१००-६,३७८ किलोमिटरसम्म गहिराइको सतहलाई केन्द्रको भित्री भाग (inner core), २,९००-५,१०० किलोमिटरसम्मको गहिराइको सतहलाई केन्द्रको बाहिरी भाग (outer core), १००-२,१०० किलोमिटर गहिराइको सतहलाई Mantle, अनि Mantle को भित्री सतहलाई Asthenospnere र बाहिरी सतहलाई Lithosphere भनिन्छ भने हामीहरु बसोबास गर्ने ०-१०० किलोमिटरसम्मको बाहिरी सतहलाई पाप्रो अथवा धरातल (Crust) भनिन्छ |

अहिले पनि हाम्रो पृथ्वीको भित्री केन्द्रभागमा सूर्यको सतह जत्तिकै तातो, फलाम लगायतका धातुहरुको, एशिया महादेश जत्रै ठुलो तर चापले गर्दा ठोस बनेको, पदार्थको थुप्रो छ | उक्त केन्द्रमाथि mantle भनिने हजारौं किलोमिटर बाक्लो तर ३ प्रकारका सतह भएको अर्को चट्टानी सतह छ | mantle को पनि भित्री केन्द्रसंग जोडिएको तल्लो सतह ठोस रुपमा छ | यसैले छोपेको कारण एकतर्फ केन्द्र भागको तापक्रम अझै अत्यधिक तातै छ भने अर्कोतर्फ mantle मा radioactive uranium पनि मिसिएकोले यही mantle कै asthenosphere भनिने अलि माथिल्लो सतह तापले पग्लेर तरल अवस्थामा छ |

यो तरल अवस्थामा रहेको asthenosphere भन्दा माथि ठोसरुपमा रहेका १५ वोटा बिशाल र अन्य थप्रै स-साना चाक्ला (plates) भएको lithosphere भन्ने सतह छ | यी मुख्य Plate हरु North American Plate, Pacific Plate, South American Plate, Caribbean Plate, Eurasian Plate, Pacific Plate, Philippine Plate, Arabian Plate, Indian Plate, Australian Plate, African Plate, Scotia Plate, Antarctic Plate, Cocos Plate, Nazca Plate आदि हुन् | यी Plate हरु asthenosphere को त्यही तरल अबस्थामा रहेको पदार्थमाथि तैरिरहेका छन् | कतिपय चक्लाहरु पृथ्वीको बाहिरी सतहसम्म आई हाम्रा महादेश्हरुलाई छुट्टयाएका छन् भने कतिपय समुद्र वा महासागर भित्रै छन् | महादेश छुट्याउने चक्लाहरु ३५-७० किलोमिटर बाक्ला छन् भने समुद्रभित्र भएका चाक्लाहरु करिब ७-१० किलोमिटर बाक्ला छन् |

यी चाक्लाहरु पग्लेको पदार्थमाथि तैरिरहेकै अवस्थामा बिस्तारै तर लगातार यताउता चलिरहेका छन् | दुईवोटा स्ल्याब ढलान गरेर हलचल नगर्ने गरी एउटै बनाए जस्तै नभएकोले यिनीहरुको बिचमा छिद्रहरू पनि छन अनि एउटा चाक्लाले अर्कोलाई ठेलिरहेको पनि छ | ठेलाठेल हुनु भनेको एउटाले अर्कोको बिरुद्धमा शक्ति प्रदर्शन गर्नु अथवा एक-आपसमा लडाई गर्नु सरह नै हो | यसरी लडाइं हुँदा कहिले कुनै चाक्ला अलि तल, कहिले अलि माथि हुन्छ, कहिले एउटा चाक्लाको अलिकति भाग अर्को चाक्लाको मुनि पर्छ अनि फेरि बाहिर निस्कन कोशिश गर्छ, कहिले एउटामा अर्को भासिन्छ, कहिले केही क्षणको लागी अलि टाढा भाग्छ, फेरि फर्किन्छ, ठोकिन्छ, चोइटिन्छ आदिआदि | यसरी ठेलाठेल गर्दाका हरेक गतिबिधिमा चक्लाहरुको बिचमा शक्ति पैदा हुन्छ | पैदा भएको शक्ति कुनै न कुनै रुपले, कतै न कतै गई रित्तिनै पर्छ | रित्तिने प्रक्रियामध्येको एउटा प्रक्रिया भूकम्प हो |

यसलाई सरल तरिकाले यसरी बुझ्न सकिन्छ:- हामीले मसिनो लट्ठी दुई हात प्रयोग गरी तुरुन्तै प्याट्टै भाँच्न सक्छौं, तर अलि बलियो लट्ठी भाँच्न पर्यो भने दुवै हातले बल लाउँदालाउँदा २-४ सेकेन्डपछि मात्र बल्ल भाँचिन्छ नि, त्यो भाँचिने ठाउँ बल जम्मा भएको ठाउँ हो भने भाँचिनु भनेको शक्ति बाहिर जानु हो | यस्तो शक्तिलाई भूकम्पीय विज्ञानमा स्ट्रेस (stress) भनिन्छ, र यो stress एक प्रकारको छाल वा तरंगकोरुपमा पृथ्वीका अन्य सतहमा जान्छ | यस्ता छालहरुलाई (Seismic Wave) भनिन्छ | चाक्लाहरुको बिचमा त्यति धेरै शक्ति जम्मा हुन नपाउँदै शक्ति निस्किहाल्योभने त्यो सानो छेस्का भाँचे सरह हो त्यसको असर एकदमै कम हुन्छ, तर शक्ति धेरै नै जम्मा भएपछिमात्र निस्क्योभने जम्मा भएको शक्ति अनुसारको प्रभाब पर्दछ | हुन त यस्तो शक्ति निस्किनुको परिणाम भूकम्पमात्र नभएर ज्वालामुखी निस्कनु, नयाँनयाँ पहाड बन्नु, समुद्रमा गहिरा खाडल पर्नु, नयाँनयाँ टापु देखिनु, जानिन पानीमा डुब्नु, भूभागहरु घट्नु, छुटिनु, बढ्नु आदि जे पनि हुन सक्छ, तर अहिलेलाई कम प्रभाब पर्नु भनेको सानो र बढी प्रभाब पर्नु भनेको ठुलो भूकम्प आउनु हो भन्ने बुझौँ |

भूकम्पको रुपमा stress रित्तिंदा Primary Waves, Secondary Waves, Surface Waves गरी ३ प्रकारका छालहरु उत्पन्न हुँदै रित्तिन्छ | Primary Waves एकदम छिटा हुन्छन र ठोस तथा तरल दुवै प्रकारका पदार्थमा बहन सक्छन, अनि पदार्थ हुँदै बहंदा यिनीहरुमा उक्त पदार्थलाई विस्तार अथवा संकुचन गर्न सक्ने क्षमता हुन्छ | Primary Waves लाई पछ्याउँदै Secondary Waves बहन्छन् | यिनीहरु तरल पदार्थमा बहन सक्दैनन, तर यिनीहरुमा चट्टानी सतहको हरेक दिशामा बहने र फुटाल्ने शक्ति हुन्छ | त्यसैले पृथ्वीको माथिल्लो चट्टानी सतहमा बस्ने हामीहरुको लागी बढी खतरनाक हुन्छन् | अझ माथिल्लो सतहमा आइपुगेपछि त यिनीहरु झनै शक्तिशाली बन्न सक्छन् | Surface Waves जमिनको बाहिरी सतह नजिक आएपछि उत्पन्न हुन्छन, र यी Love Waves र Rayleigh Waves गरी दुई प्रकारका हुन्छन् | Love Waves तेर्छो रुपमा बहन्छन् भने Rayleigh Waves ठाडो तेर्छो दुवै रुपमा |

एकदमै तल अथवा साना स्केलका थुप्रै भूकम्पहरु त हामीले थाहै पाउँदैनौ | तथापि हाम्रा यन्त्रले थाहा पाउन सक्ने पनि बर्षमा करिब ५ लाख जति भूकम्प जान्छन् | जसमध्ये करिब १ लाख जति त हामीले अनुभब नै गर्न सक्छौं | पाकिस्तान, इरान, इटाली, ग्रिस, टर्की, पोर्चुगाल, पेरु, ग्वाटेमाला, अलास्का आदि साना भूकम्पहरु गैरहने ठाउँहरु हुन् | भूकम्पको सबभन्दा डर भएका देशहरु क्रमश भन्नु पर्दा जापान, इन्डोनेशिया, अमेरिका, न्युजिल्याण्ड, फिजी, टोङगा, चिली, पपुवा न्यु गिनी, मेक्सिको, सोलोमन आइल्याण्ड हुन् | यी प्राय क्षेत्र ४० हजार किलोमिटर लामो घोंडाको टाप आकारको प्रशान्त महासागरीय चाक्ला (plate) संग जोडिएकोले यही बिचमा बढी भूकम्प आउछ |

हिमालय क्षेत्र पनि बिशाल भूकम्प आउन सक्ने क्षेत्र हो किनकी यसको सिमानामा Indian Plate, Eurasia Plate र Arabian Plate जोडिएका छन् |

पृथ्वीबाट कोइला तेल निकाल्ने, पृथ्वीमा ठुलाठुला पानीका बाँध बाँध्ने कार्यले पनि भूकम्पीय जोखिम बढाउंछ | अस्ट्रेलियामा गएका कतिपय भूकम्पहरु अत्यधिक कोइला निकालेको कारण, र २००८ मा चीनको सिचुआन प्रान्तमा गएको भूकम्प पानीको बिशाल बाँध बाँधेको कारण गएको मानिन्छ |

साधारण भाषामा भन्दा सानो भूकम्पको सानो र ठुलो भूकम्पको ठुलो असर भन्ने अर्थ लाग्छ, कुरा ठिकै पनि हो तर धनजनको क्षतिको हिसाबले त्यो कुरा अलि फरक छ | त्यसकोसट्टा यदि epicenter पृथ्वीको अलि माथिल्लो सतहमा वा घना बस्तीमा पर्यो भने बढी असर र अलि टाढा पर्योभने कम असर भन्नु बेस होला | जस्तै १९९४ मा अमेरिकाको क्यालिफोर्नियाको नर्थरिज शहरमा गएको ६.७ म्याग्निच्युडको भूकम्पलाई एकदमै उग्र (Violent) मानिन्छ भने १९९५ मा जापानको कोबे शहरमा Pacific Plate र Philippine Plate को Eurasian continental plate संग भेट हुँदा गएको ७.२ म्याग्निच्युडको भूकम्पलाई एकदमै बिनासकारी (destructive) मानिन्छ |

भूकम्पबिज्ञान (seismology) को भाषामा Tectonic Plates हरुको सीमामा हुने छिद्रलाई Fault Line, पृथ्वीको lithosphere मा रहेको भूकम्प सुरु हुने बिन्दुलाई Focus, र त्यही Focus को सिधामाथि पर्ने जमिनलाई epicenter भनिन्छ |

भूकम्प Intensity, magnitude, seismic movement, movement magnitude आदि बिधि अपनाएर नाप्न सकिन्छ | तथापि आजकाल magnitude बिधि नै बढी प्रचलनमा छ | भूकम्प नाप्ने यन्त्रलाई Seismometer भनिन्छ | यसले पृथ्वीको सतह कति जोडले हल्लेको छ भन्ने मापन गर्दछ | भूकम्पको नाप्ने एकाइलाई Richter Scale भनिन्छ जसले लगरिदमिक इकाइ (logarithmic scale) मा मापन गर्दछ | त्यसको अर्थ ६ Richter Scale को भूकम्प ५ Richter Scale को भन्दा १० गुणा शक्तिशाली हुन्छ |

लामो समयको अन्तरालमा हजारौं बैज्ञानिकको लगनशिल अनुसन्धान, मानब निर्मित बिभिन्न मापन यन्त्र, र जी.पी.एस. (Global Positioning System) लगायतका तरिकाको माध्यमले आज हामीले पृथ्वीको बनोट, प्लेटको बनोट, यिनीहरु चल्ने तरिका, भूकम्प आउने कारण, र आउने ठाउँ थाहा पाउन सक्छौं | तर पनि कुन स्तरको भूकम्प, कहाँ र कहिले आउँछ ठ्याक्कै भन्न सक्ने अवस्थामा अझै छैनौं | तसर्थ हाललाई इतिहासको सबभन्दा विनासकारी भूकम्प आफ्नै ठाउँमा छिटै आउंदै गरेको अनुमान गरी त्यही अनुरुपका सम्भाव्य सुरक्षाका उपायहरु अबलम्बन गर्नु नै मानब मष्तिस्कको सबभन्दा बिकसित सोंच ठहर्छ भन्नु अत्युक्ति नहोला |

3 thoughts on “यसरी जान्छ भूकम्प”

  1. Laxman adhikari says:
    June 10, 2014 at 2:46 pm

    हाम्रो देशमा भुकम्प समंदी अद्धयाँ गर्न हालै मात्र नया सिस्मोग्रफ सगरमाथा नजिकैको अउता अनुसंदान केन्द्रमा स्थापना गरिएको छ .

    Reply
  2. Mahesh S says:
    June 9, 2014 at 11:49 am

    …. भूकम्प Intensity, magnitude, seismic movement, movement magnitude आदि बिधि अपनाएर नाप्न सकिन्छ |….
    यो माथि को लाइन लाई एसरी पढौ है। भुकम्प लाई २ किसिम ले नाप्न सकिन्छ। १) intensity : जुन भुकम्पले क्षती गरेको र उक्त ठाउँ को मान्छे ले अनुभव गरेको आधार मा I-XII बिच मा नापिन्छ। जस्ताइ चिम हल्लेको, दराज बाट किताब खसेको , सडक चर्केको, पुल भत्केको आदी । २) magnitude : जुन कती energy release भयो अथबा कती कम्पन भो तेस्को आधार मा १ देखी १० को बिच मा मापन गरिन्छ। एस्को लागि seismometer चाहिन्छ। अनी बिभिन्न किसिम का magnitude छन । तेस मध्ये momemt magnitude हाल चल्न चल्ती को हो, जुन seismic moment भन्ने parameter मा आधारित छ। २०११ को तोहकु, जापान को भुकम्प सबभन्दा बिनास्कारी भुकम्प मा पर्छ (~ ३ g pga ) ।

    Reply
  3. arun says:
    June 8, 2014 at 2:31 pm

    गौतम जी ले मेहनत धेरै गर्नुभयेकोरहेछ तर वहा एसको ज्ञाता हुनुहुन्न रहेछ भन्ने प्रस्ट हुन्छ| यो बिषय माइसंसार का पाठकलाई interesting त होला तर अलि धेरै detail मा लेख्न्नुभायो | कुरा धेरै छन्, mistake हरु थुप्रै छन्न्| उदाहरंको लागि, जसरि वहाले crust र lithosphere को कुरा गर्नुभएको छ, १००% गलत वा अर्थ नलाग्ने छन्| यी कुरा लेख्नु सजिलो पनि छैन तर मेरो बिचारमा लेखेको कुरा सुद्द हुनु अति जरुरि छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme