– शान्ति हमाल –
” ला खा।.. हार्नेहरुले मर्नुपर्छ। ”
” मलाई कता कता रोउँ रोउँ लागेर आयो। आखिर यसमा मेरो के नै दोष थियो र ? म के नै गर्न सक्थें र ? तर पनि….” मलाई लाग्यो निधि यस्तै भनिरहेकी हुँदी हो। निधि एउटी सानी गुडिया अनि म फोहोरको साथी काले।
म पेटीको किनारमा एउटा बूढो मान्छेसँग टाँस्सिएर सुतेको थिएँ। पुसको महिना, निकै जाडो थियो। एउटी छ सात वर्षकी केटी आएर एउटा गुडिया नजिकैको कन्टेनरमा फ्यालिदिई। मलाई त्यो गुडिया मन पर्यो। मेरो एकमात्र सम्पति जो हुदै थियो। मैले उसको नाम राखिदिएँ – निधि।
मैले सम्झिएँ – कति रमाइला थिए ती दिनहरु – जब मसँग सबैथोक थियो। बिहान बेलुका खेल्न पाइन्थ्यो। दिनभरी स्कूलमा साथीहरुसँग पढ्न अनि खेल्न पाइन्थ्यो। हामी शनिबारको दिन साथीहरु मिलेर टेर्सिंग बूढोको बगैंचामा खेल्न जान्थ्यौं। टेर्सिंग बूढोको बगैँचामा आँप, लिच्ची, कटहर, बडहर, रुख जुलेबी पाइन्थ्यो। टेर्सिंग बूढो साह्रै छुच्चो थियो। हामीले फलफूल टिपेर खान लाग्दा खुकुरीको झट्टी हान्थ्यो र भन्थ्यो , ” तेरीमा डाँकाहरु।….तिमेरुका आची हेर्ने आँखा।” उसको खुकुरीको झट्टी हामी नजिकै आउँथ्यो तर हामीलाई लाग्दैनथ्यो। हामी डराउँदै हाँस्दै भाग्थ्यौँ, ऊ लखेट्थ्यो। मैले भाग्दाभाग्दै पहिलो पटक स्याल देखेको पनि त्यही दिन हो।
मेरो घर इटहरी नजिकै रहेको बूढी खोलाको किनारमा रहेको सुकुम्बासी बस्तीमा थियो। बुबा रिक्सा चलाउनुहुन्थ्यो। चुरोट धेरै खानुहुन्थ्यो। छातीको क्यान्सर भएर बुबाको मृत्यु भयो।
बुबा बितेपछि आमाले मलाई इटहरीमा एउटा समोसा पसलमा काम गर्न राखिदिनुभयो। साहु साह्रै खराब थियो। एकछिन फुर्सद दिँदैन थियो। सबेरै नउठे , ढिला काम गरे कुट्थ्यो।
म त्यो बेला बुबा सम्झन्थें। म १० वर्षको हुँदा बुबा बित्नुभएको हो। बुबा र म संगै सुत्थ्यौँ। बेलुका ८ बजेतिर बुबा र म बाहिर आगनमा सुत्थ्यौँ। आकाशमा भएका चम्किला तारा देखाउँदै बुबा भन्नुहुन्थ्यो, ” छोरा पढेर ठूलो मान्छे हुनू। ठूलो मान्छे हुन नसके पनि असल मान्छे हुनू। असल मान्छेहरुको मात्रै अर्को जन्म हुन्छ रे।”
म बुझ्दिनँ थिएँ। बुबाभित्र सुत्न गइसकेपछि पनि म बाहिरै हुन्थेँ। घरको धुरीमा उल्लु कराउँथ्यो। अनि बुबा ढुंगाले हानेर कराउनुहुन्थ्यो ,”ए बाहिर नबस, त्यहाँ भूत छ, खाला, छिट्टो आइज।”
म दगुर्दै भित्र जान्थें। मलाई भूतसँग साह्रै डर लाग्छ।
हाम्रो घर फुसले छाएको थियो। एउटा मात्र कोठा थियो। भित्ता बाँसका झिक्क्राको थियो। त्यसमाथि माटोले लिपेको थियो। म इटहरीमा समोसा पसलमा काम गर्न बसेको ५ महिना भइसकेको थियो। साहुले तलब दिएको थिएन।
म भागेर घर गएँ। डढेलोले घर डढाइसकेको रहेछ। आमा कतै हुनुहुन्न थियो। मैले सुनें आमा त पोइल जानु भएछ। मैले फेरि आमालाई भेटिनँ।
“साले हो जहाँ पायो त्यहीं सुत्ने हो। बीच बाटोमा।.. अलि कुना च्यापेर सुत। ” म झस्कें।
एउटा पुलिस गाली गर्दै रहेछ। म जुरुक्क उठें। कन्टेनरमा रहेकी निधि च्यापें र हिडें। निधिका निला आँखा टल्किरहेका थिए।
एउटा ठूलो घरको पेटी अलि भित्र पसेको थियो। सुनसान थियो। म त्यहीँ ढल्किएँ – निधि च्यापेर। जाडो भइरहेको थियो। मैले निधिलाई हेरेँ। निधि बोल्न थाली।
” मेरो नाम सृष्टि हो। म कहाँ बनें भन्ने मलाई थाहा छैन। म बट्टाबाट बाहिर निक्लिँदा प्रकृतिको हातमा थिएँ। मलाई डर र उत्सुकता दुवै थियो। प्रकृतिले मलाई माया गरी। मलाई खुशी लाग्यो। मेरो नाम सृष्टि उसैले राखिदिएकी हो।
उसले भनी,” सृष्टि तिमी र म साथी साथी है। कहिल्यै नछुट्टिने है। मलाई माया गर”
उसले मलाई म्वाई खाई अनि हाँसी। प्रकृतिको बुबाले मलाई किनेर ल्याउनुभएको रहेछ। त्यस दिन प्रकृतिको जन्मदिन रहेछ। प्रकृतिले मलाई दिनहुँ खेलाउँथी। मेरो लुगा फेरिदिन्थी। मसँग जिस्किन्थी।
मलाई प्रकृति मन पर्यो। एकदिन खेल्दाखेल्दै मेरो हात भाँच्चियो। म अपाङ्ग भएँ। त्यसपछि प्रकृति रुन थाली। प्रकृतिको बुबा आउनुभयो।
“प्रकृति के भयो छोरी ? किन रोएकी ?”
“हेर्नु न बाबा. सृष्टिको हात भाँच्चियो , आफै भाँच्चियो, मैले होइन ” प्रकृतिले झुट बोली।
त्यसपछि प्रकृतिले मलाई कुनामा राखिदिई। मसँग बोल्न छाडी, खेल्न छाडी।
केही दिनपछि प्रकृतिको बुबाले एउटा कुकुर किनेर ल्याउनुभयो। त्यसको नाम टसी थियो। आज प्रकृतिले मलाई कुनाबाट निकाली। मलाई खुसी लाग्यो। टसी र म खेल्न थाल्यौँ।
प्रकृतिले भनी ” टसी फाइट गर।” प्रकृतिले मलाई समातेर टसीसँग लडाउन थाली। मलाई असाध्यै डर लाग्यो। टसीले मलाई जथाभावी टोक्यो। मेरो कपडा च्यातिदियो। प्रकृति हाँस्न थाली। धेरैबेर टोकेपछि टसी थाक्यो। अनि प्रकृतिले मलाई बाहिर ल्याएर फ्याँकिदिई।
” ला खा।.. हार्नेहरुले मर्नुपर्छ।”
मैले टाढा देखें। सृष्टि प्रकृतिको हातबाट फ्यालिदै थिई। फोहोरको कन्टेनरमा। कन्टेनरको फोहोर बल्न थाल्यो। सृष्टि जल्दै थिई। बचाऊ बचाऊ भन्दै थिई। एउटा पुलिस नजिकै आयो र सृष्टि जलेको आगो ताप्न थाल्यो।
“मैले अघिनै भनेको होइन। तिमीहरु कहाँ सुतिरहेका छौ ? अलि कुना च्यापेर सुत जाडो छ ” पुलिसले हकार्यो। मैले देखिरहेको थिएँ। बुढो मान्छेले मलाई हल्लाइरहेको थियो।
” सर… सर…. यो त मरे जस्तो छ।”
यो कथासँगै संलग्न इमेलमा रहेको सन्देश-
Dear Sir,
Namaskar,My name is Shanti Hamal. I am deaf. I am from Dunai,Dolpa. I have
passed 10+2 and I am 29 years old. I have send you a story for
mysansar. If good, please post. I thank you. May god help you achieve
goodlife.Thank you,
Shanti Hamal
राम्रो लाग्यो. keep it up.
speechless !!
धेरै राम्रो . Synecdoche, metonymy. A complete metaphor. What an Irony!!!! Just a fine piece of art.
धेरै राम्रो कथा अनि लेखन शैली ,
just keep it up !!!!!!!!!!!
प्रकाशित गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद .
निक्कै राम्रो छ . लेख्दै जानु होला
Nice effort Shanti Ji. Keep writing.