Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हतारमा विवाह फुर्सदमा पछुतो

Posted on January 3, 2014 by mysansar

-प्रतिमा परियार-

सुर्खेत लेखफर्साका उत्तम नेपाली र ममता सुनारले ०६५ मा कक्षा आठमा पढ्दापढ्दै प्रेमविवाह गरे। त्यतिबेला उत्तमको उमेर १५ र ममताको १४ वर्ष थियो। विवाहको साढे दुई वर्षसम्म यो जोडी निकै खुसी रह्यो। घरको कामले गर्दा ममताले आफ्नो पढाइलाई बीचमै रोक्नुपर्योव। दुई वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उत्तम भने अहिले वीरेन्द्रनगरमा रहेको एक उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दै छन्। जब उत्तम सहर आए घरमा ममताले पनि छोरी जन्माइन्। त्यसपछि पत्नीप्रति उत्तमको आकर्षण घट्न थाल्यो। उत्तम एक वर्षअघि मात्र स्थानीय एक संस्थामा काम गर्ने युवतीसँग दोस्रो विवाह गरी सदरमुकाममा बस्दै आएका छन्।

‘विवाहअघि आफूलाई नपाए आत्महत्या गर्ने डर देखाएर विवाह गर्योप,’ ममता भन्छिन्, ‘उसले नै मरिहत्ते गरेकै भरमा हतारमा विवाह गरेकाले अहिले फुर्सदमा पछुताउनुपरेको छ।’ भविष्यबारे नबुझेरै विवाह गरेका कारण अहिले जिन्दगी नै अलपत्र भएको उनको बुझाइ छ। आफूसँगै बाल क्लबमा काम गरेका साथीहरूमध्ये कोहीले जागिर खाएको र कोही अहिले ढुक्कका साथ उच्च शिक्षा पढ्दै गरेको भन्दै उनले थपिन्, ‘उमेर नपुग्दै विवाह गरेर मैले आफ्नै खट्टामा बन्चरो हान्ने काम गरेँ।’ साथमा रहेकी एउटी छोरीलाई कसरी पढाउने भन्ने समस्यामा छिन् उनी। आफूसँग विवाह दर्ताको प्रमाण नहुँदा कलिलो उमेरमै आफ्नो जिन्दगी बर्बाद पारेर बहुविवाह गरेका उत्तमविरुद्ध उनी कानुनी कारबाहीको प्रक्रियामा जान सकेकी छैनन्। उनी भन्छिन्, ‘विवाह दर्ता गर्नुपर्छ भन्ने थाहा भएन, विवाह दर्ता भए लडेर पनि न्याय पाउँथेँ।’ हाकाहाकी दोस्रो विवाह गरेको स्वीकार गर्ने उत्तम भन्छन्, ‘पहिला त मैले उनलाई मनपराएर नै विवाह गरेको थिएँ, तर पछिल्लो समयमा उनीसँग बस्न मन लागेन।’

सुर्खेत बाबियाचौरकी १८ वर्षीया जैसरा रानालाई अहिले साथमा रहेको छोरालाई कसरी पाल्ने भन्ने चिन्ता छ। तीन वर्ष पहिले १५ वर्षको उमेरमा जैसराले कक्षा नौमा पढ्दापढ्दै साल्कोटका रमेश आलेसँग प्रेमविवाह गरिन्। विवाह गर्दा रमेशको उमेर १६ वर्षको थियो। तर, विवाह भएको दुई वर्षमा नै रमेशले दोस्रो विवाह गरेर जैसरालाई छोडिदिए। विवाह भएको दुई वर्षसम्म यो जोडी निकै खुसी थियो। एउटा छोरा पनि जन्मियो। तर, विवाहपछि जैसराले आफ्नो पढाइलाई निरन्तरता दिन खोजेपछि बुहारीले घरको काम गर्न छोडेर पढ्न थालेको भन्दै परिवारले मन पराएनन्। केही समयपछि नै रमेशको दोस्रो विवाह गरिदिए।

जैसरा अहिले माइतीको शरणमा छिन्। अहिले आएर उनलाई उमेर नपुग्दै विवाह गरेकोमा पछुतो लागेको छ। सँगैका साथीहरू उच्च शिक्षा पढ्न थालेको भन्दै उनले भनिन्, ‘पढ्ने बेलामा विवाह नै ठूलो लाग्यो, अहिले पछुतो मानेर के गर्नु?’ विश्वास गरेको मान्छेले नै धोका दिएको भन्दै उनी भन्छिन्, ‘उसले त मलाई छोडेर अलपत्र बनायो, तर यो साथमा रहेको छोरालाई कसरी पाल्ने भन्ने चिन्ता छ। यसकै लागि विछोडको पीडा सहेर बाँचेकी छु।’ आफूमाथि सौता हाल्ने श्रीमान्लाई कारबाहीको माग गर्दै उनी जिल्ला प्रहरी कार्यालय पुगे पनि विवाह दर्ता नभएकाले समस्या परेको छ। उनी भन्छिन्, ‘उसलाई कारबाही हुनुपर्छ भनेर म विभिन्न सङ्घ–संस्था र प्रहरीमा पनि गएँ, सबैले विवाह दर्ता नै छैन, हामी केही गर्न सक्दैनाँै भने।’

बालविवाह गरेका कारण अलपत्र परेका यी केही उदाहरण मात्र हुन्। कम उमेरमा विवाह गर्ने र विवाहपछि पछुताउने जोडीको सङ्ख्या अहिले जिल्लामा बढ्दो छ। कानुन पालकदेखि राजनीतिक दलका नेता, कार्यकर्ता, गैरसरकारी संस्थाका प्रतिनिधि, मानवअधिकारवादी सबैलाई त्यस्ता बालविवाहबारे राम्रै थाहा छ र देखेका पनि छन्। तैपनि न सुरक्षा निकाय वा प्रशासनले बालविवाह गराउनेलाई कारबाही गर्न सकेको छ न राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले नै।

महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख विश्वमणि जोशीले विवाह दर्ता गराउनका लागि महिला चनाखो नभएकै कारण अपराध गर्नेलाई पनि कानुनी प्रक्रियामा ल्याउन अप्ठ्यारो रहेको बताए। ‘काखमा बच्चा बोकेर कलिला किशोरी पीडा पोख्न आउनुहुन्छ,’ उनले भने, ‘हातमा विवाह दर्ता नै छैन भने हामीले कसरी कानुनी कारबाहीको बाटोमा जानुस् भन्ने?’

महिला मानवअधिकारकर्मी पवित्रा शाही विवाह दर्ताको महत्वबारे महिलालाई सचेत गराउन आवश्यक रहेको बताउँछिन्। ‘जुनसुकै पीडा र समस्या परेको बेला कारबाहीको प्रक्रियामा जानका लागि दरिलो प्रमाण नै विवाह दर्ता हो,’ उनले भनिन्, विवाहलगत्तै विवाह दर्ताका लागि सबै महिला चनाखो हुन जरुरी छ।’ उनले विवाह दर्ता गराउनुपर्छ भन्ने विषयमा सरकारी र गैरसरकारी दुवै निकायले चेतना प्रवाह गर्नुपर्ने उनको भनाइ छ।

हतारमा विवाह गरेर सम्बन्धविच्छेदका लागि अदालतमा धाउने तथा दोस्रो विवाह गर्ने जोडीको सङ्ख्या पनि निकै छ। जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार नारायण सापकोटाले अदालतसम्म पुग्ने सम्बन्धविच्छेदका घटनाको पछाडिको कारण सानै उमेरमा गरिने प्रेमविवाह नै देखिने गरेको बताए। ‘कलिला किशोर–किशोरी नै सम्बन्धविच्छेदका लागि अदालतको ढोका ढकढक्याउन आइपुग्छन्,’ उनले भने, ‘यस्तो अवस्थालाई न्यूनीकरण गर्न बालविवाहलाई रोकथाम गर्न जरुरी देखिन्छ।’

सामाजिक रूपमा केही प्रयत्न नभएका भने होइनन्। पुर्ख्यौली रूपमा पुरोहितको काम गर्दै आएका वीरेन्द्रनगर–१० खजुराका इन्द्रराज पौडेलले जीवनमा तीनवटा विवाह बहिष्कार गरे। विवाहित जोडीको उमेर नपुगेकै कारण विवाह गर्ने पुरोहितले नै विवाह बहिष्कार गरे। सुर्खेतमा उमेर नपुगी हुने विवाहलाई पुरोहितहरूले पनि सामाजिक अपराधकै रूपमा लिने गरेका छन्। नेपाल सनातन धर्म सेवा सङ्घ सुर्खेतका अध्यक्ष पदमदेव गिरी कुनै पनि धर्मशास्त्रले बालविवाहबारे वकालत नगरेको बताउँछन्। हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाई, शिखलगायत कुनै पनि धर्मशास्त्रले बालविवाहका पक्षमा वकालत नगरेको उनको भनाइ छ।

बालविवाह गरेकोमा भविष्यमा शारीरिक र मानसिक रूपले विक्षिप्त हुने र कतिपय अवस्थामा घरबार नै भताभुङ्ग भएका छन्। तर पनि प्रचलित बालविवाह संस्कारलाई त्यसले खासै असर पारेको देखिँदैन। कानुनले निषेध गरेको भए पनि बालविवाह सामाजिक संस्कारकै रूपमा छ। कानुन व्यवसायी कौशिला योगीले कानुनलाई व्यावहारिकता प्रदान नगर्दा नै समस्या उत्पन्न भएको बताइन्। उनी भन्छिन्, ‘कानुन दरिलो छ, तर व्यावहारिक पक्ष फितलो भएकै कारण बालविवाह रोकिन सकेको छैन।’ कौशिलाका भनाइमा व्यावहारिक कार्यान्वयनका लागि राजनीतिक दल, नागरिक समाज, सरकारी एवम् गैरसरकारी सङ्घ–संस्था र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ।

नेकपा एमालेनिकट अखिल महिला सङ्घ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालले बालविवाह न्यूनीकरणका लागि राजनीतिक इच्छाशक्तिको अभाव रहेको बताइन्। राजनीतिक तवरबाटै उनीहरूका संयन्त्रमार्फत गाउँ, टोल, बस्तीबस्तीसम्म जनचेतना पुर्याीउन सके न्यूनीकरण गर्न सहज रहेको ढकालको भनाइ छ। जिल्ला बाल अधिकार अधिकृत रमादेवी भण्डारीले बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु भएपछि चेतना अभिवृद्धिसँगै वालविवाह गर्ने–गराउने प्रवृत्तिमा तुलनात्मक रूपमा कमी आएको बताइन्। (सञ्चारिका फिचर सेवा)
(प्रतिमा सुर्खेत पहिचान दैनिकका सह–सम्पादक हुन्।)

11 thoughts on “हतारमा विवाह फुर्सदमा पछुतो”

  1. Narayan says:
    January 5, 2014 at 1:04 am

    कुरकुरे को सहि सदुपयोग गर्न नसक्नु आफ्नो बुद्दी लाइ दोस दिन बाहेक के गर्नु र आब त ?
    जस्तो तो परिस्थिति आइरहेको छ त्यसलाई नै झेल्ने अनि आउने पिडि हरुलाई सल्लाह दिने बस्ने .

    Reply
  2. Kumar says:
    January 4, 2014 at 5:07 pm

    मलाई बिबाह दर्ता नगर्दै मा पति को अङ्ग्स नपाउने भन्ने हैन होला. किन भने बिहेको साछी लै बक्दा र अन्य प्रमाणलाई पनि त बिहे प्रमाणित गर्न सकिन्छन नि. यस बारे कानुन बेवासयिको सलाह मैसंसर मा राख्नु उचित होला. कसो ?

    Reply
  3. Hari Prasad Lamichhane-Saudi says:
    January 4, 2014 at 11:56 am

    कठै बरा भन्न सकिन्छ , ८ मा पढ्दै गर्दा उनलाई पोइ चाहिने , आखिर दोष कसलाई दिने ? आफ्नो अनुहार आफैले हेर्ने हो कि ?

    Reply
  4. Basant says:
    January 4, 2014 at 9:10 am

    अहिले त् सामाजिक संजालले संसार येति साघुरो बनाईदिएको छ कि आज जसलाई जसरि जतिबेला पनि प्रेम प्रस्ताव गर्न सजिलो भएको छ, दोष कसलाई त ?

    Reply
  5. Mohan says:
    January 4, 2014 at 6:03 am

    पहिलो श्रीमती देक्दा देख्दै फेरी सौता हुन् जाने आइमाई चाहिं कस्ती होलिन नि. यो महिला माथि महिलाले नै गरेको शोषण होइन र ?

    Reply
  6. binit says:
    January 3, 2014 at 11:08 pm

    डि.एन.ए. टेस्ट गरेर यदि बच्चाको बाउ हो भनेर प्रमाणित भएमा बच्चा को लालन पालनको पूर्ण जिम्मेवारी कानुनिरुपमा दिलाउने गर्नुपर्छ |

    Reply
    1. Abhi, Belgium says:
      January 4, 2014 at 2:12 am

      के को बाउ मात्रै पुरा जिम्मेवारी लिने नि; एक्लै बच्चा पाको हो र ! आधा आधा बेहोर्नु पर्छ ; यसको साथै बिहे गर्दै मा बुडी लै पाल्ने जिम्मेबारी नि मलाई त ठिक लागेन ! आफ्नो आफ्नो ज्यान त आफै पाल्नु पर्यो नि . छोरा र छोरी मा भेदभाब नगरी अवसर दिनु पर्यो ; तेती हो ; यो संसार मा जन्मे पछि बालिग भए पछि आफु ले आफै लै पाल्नु पर्छ ; परेको बेला सहयोग भन्ने अर्कै कुरा हो;

      आइमाई हुदै मा बुडाको कमाइ मा बाच्ने होइन आफु ले पनि बुडा ले जस्तै काम गरेर आत्मसम्मान को जिन्दगि बिताउन मा सम्पूर्ण महिला हरु लै अनुरोध गर्दछु ; यो संसार मा पुरुस ले मात्र गर्न सक्ने ; महिला ले गर्न नसक्ने भन्ने केहि काम छैन !

      सामाजिक अभियन्ता तथा अन्य वर्ग ले पनि समतामुलक समाज को पक्ष मा बहस र काम गर्ने पद्दति बसालौ : अर्काको खाने ; अर्का ले पाली दिने भ्रम बाट मुक्त हुन तर्फ अग्रसर हुन् सबै मा मेरो अनुरोध.

      Reply
  7. missi says:
    January 3, 2014 at 10:49 pm

    गल्ति सबैबाट हुन्छ. फेरी पढाई अथवा सीप सिक्ने रहर भएकाहरुलाई सरकार तथा गै.स.सं. लगायतकाले सिकाउने व्यवस्था मिलाउनु पर्छ. अझ भए पुगेसम्म सस्तो दरमा तालिम ऋण दिएर जागिर खाने वा स्वरोजगारसम्म पहुँच दिलाउन सकियो भने झन्डै बिग्रिन लागेको भविष्य सप्रिन सक्ने थियो.

    Reply
  8. kedar says:
    January 3, 2014 at 8:31 pm

    थुतुनो र मु…नो जोगायेस है भन्थे बाउ बाजेले, हो रछ | पहाड नै फोड्ने तागत भाको बैंसमा चिसो दिमागले सोच्ने खालको अभिभाबक भएनन् उम्लिन न पोखिन बेर |

    Reply
  9. बशन्त राज says:
    January 3, 2014 at 6:11 pm

    किसोराबस्थामा स्कुल पठदै गर्दा हिन्दि फिल्म हेरेर गरेको प्रेम बिबाह अन्धो हुन्छ / अल्पकालीन हुन्छ / नेपालका एन जी ओ,आई एन जी ओ हरु भनेको डलर खेति गर्ने ब्वोसा हुन् / दल कार्यकर्ता अनि तिनका भात्री सगठन भनेको तिनका नेताको इसारामा बन्ध हड्ताल सार्बजनिक सम्पतिको तोडफोड़ गर्ने मात्र हो / यदि तिनीहरुले बाल बिबाह, बहु बिबाह, अनमेल बिबाह, लागुपदार्थ दुर्बेसन, दाईजो प्रथा, घरेलु हिंशा जस्ता आदि सामजिक मुद्धा उठाको भय समाज सुधार गर्ने एन जी ओ, अई एन जी ओ कुनै जरुरि थिएन/

    Reply
  10. Max Thapa says:
    January 3, 2014 at 5:33 pm

    अचेल फिल्म टेलिविजन सिरिअल यस्तै कुराको प्रभाब अनि बढी अनियन्त्रण र छाडा प्रबिर्ती तथा समान अधिकार भन्ने कुराले गर्दा र को भन्दा को कम भन्ने सोचाइको उपजले गर्दा र बैसमा यो सबै कुराको प्रभाब पर्दा आफुले आफुलाई नियन्त्रण गर्न नसक्नुको परिणाम हो यो | यसमा समाज, घर , नीति नियम, कानुन, सिक्षा सबै दोसी छन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme