हात्तीको पाचनशक्ति कमजोर हुने हुनाले निरन्तर खाइरहनुपर्छ, तर महोत्सवमा सहभागी हात्तीहरु खाना तथा पिउने पानी बिनै घण्टौँ उभिन बाध्य भए। आयोजकहरुले हात्तीलाई उखुको व्यवस्था गरेका थिए रे भन्ने त सुनियो। तर अन्तिम दिन एउटा हात्तीलाई २ वटा लाँक्रा पर्ने गरी उखु खुवाएको (जुन हात्तीको मुखमा जीरा जस्तै हो) बाहेक अन्य खाना तथा पानीको व्यवस्था देखिएन। देख्दा खस्रो र मोटो भएपनि हात्तीको छाला संवेदनशील हुन्छ, तर श्रृङ्गारका नाममा विभिन्न रङ्गहरु लगाउँदा मान्छेको मनोरञ्जनका लागि हात्तीहरुले अनाहकमा दु:ख खेप्नुपर्यो। हात्तीलाई फूटबल खेलाउँदा पनि मान्छेको खेल झैँ व्यवहार गरियो। हात्ती रातो रङ्गसँग डराउँछ, लाइन्सम्यानको रातो झण्डाको कारण हात्ती तर्सिएर फुटबललाई हान्न नसकेको पनि खेलको क्रममा देखियो।
यही पुस ११ देखि पाँच दिनसम्म चितवनको सौराहामा ‘जनता, संरक्षण र समृद्धि’ नारासहित चलेको दशौँ अन्तराष्ट्रिय हात्ती महोत्सव धूमधामसँग सकियो। भव्यताका साथ उक्त कार्यक्रम सफल पार्नुभएकोमा आयोजक क्षेत्रीय होटल संघ, सौराहा तथा सम्पूर्ण सहयोगी संघसंस्थाहरुलाई बधाई दिन चाहन्छु। हात्तीको नाममा गरिएको र राष्ट्रिय अन्तराष्ट्रिय संचारमाध्यमा पनि विशेष महत्व पाएको उक्त महोत्सवमा हात्तीको प्रयोग कसरी भयो, हात्तीलाई के फाइदा भयो वा असर पर्यो भन्नेबारे कुनै जानकारी मूलधारे मिडियामा बाहिर आएन। त्यसैले महोत्सव अवलोकनका क्रममा हात्तीले पाएको सास्तीलाई वन्यजन्तु संरक्षणमा सहभागी संरक्षणकर्मीको हैसियतले सबैसामु उजागर गर्नुपर्ने आवश्यकता ठानेर यो लेख प्रस्तुत गरिएको हो।
सर्वप्रथम त ‘हात्ती’को नामबाट महोत्सवको आयोजना गरिँदा सम्पूर्ण नेपाली समाजमा हात्तीको महत्व अझै उजागर भएको छ। यस महोत्सवमा सहभागी हुने अधिकांश दर्शकको पहिलो आकर्षण हात्ती नै थियो। हात्तीको कार्यक्रम सकिने बित्तिकै, सांस्कृतिक कार्यक्रम चल्दाचल्दै गेटबाट बाहिर निस्कने मान्छेहरुको भीडले पनि धेरै मान्छे हात्ती हेर्नकै लागि त्यहाँ गएको पुष्टि हुन्छ। नेपाली तथा विदेशीसहित पचासौँ हजारको सहभागिता देखेर हात्तीप्रति हाम्रो समाजले गरेको सम्मान तथा माया अझै प्रष्ट भएको छ। हिन्दु धर्म अनुसार हात्तीलाई गणेश भगवानको रुपमा पुजिने हुनाले पनि अन्य वन्यजन्तु भन्दा यसको यसको विशेष स्थान रहको हामी सबैलाई थाहा भएकै कुरा हो। ऐतिहासकालदेखि नै दक्षिण तथा दक्षिण-पूर्वी एसिया क्षेत्रमा हात्तीलाई नियन्त्रणमा लिएर मानवीय प्रयोगहरुमा उपयोग गरिँदै आएको छ।
यसैको निरन्तरता आजकल पर्यटन व्यवसाय अन्तर्गत हात्ती सफारी तथा राष्ट्रिय निकुञ्ज/आरक्ष क्षेत्रहरुमा वन्यजन्तु अनुगमन, अध्ययन अनुसन्धान तथा चोरी शिकार नियन्त्रण कार्यहरुमा प्रयोग गरिँदै आएको छ।
यसपालिको पाँचदिने हात्ती महोत्सवमा हामी तीन दिन सहभागी हुने अवसर पायौ र यी दिनहरुमा अन्तर्राष्ट्रिय हात्तीदौड, हात्तीका छावाको फुटबल, हात्तीको शृंगार प्रतियोगिता र नाचगान सहितको विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रत्यक्ष अवलोकनको मौका मिल्यो।
उद्देश्य के ?
यी सबै कार्यक्रम हेरेर खुब रमाइलो पनि लाग्यो, मात्रै एउटा कुरा खड्किरह्यो, हात्तीको नाममा आयोजित यस कार्यक्रममा हात्ती संरक्षण तथा यसको महत्वको बारेमा जानाकारी पाउने वा दिने व्यवस्था गर्न सकेको भए!
हुन त हात्ती नै हाम्रो सामुन्ने थिए त्यसैले सहभागी दर्शक सबैले हात्ती हेरेर रमाइलो माने तर हात्ती मनोरञ्जनका उत्कृष्ट साधन रहेछन् भन्नेबाहेक अरु केही बुझे भन्ने मलाई लाग्दैन। साधारण दर्शकको स्थानमा बसेर हेर्दा मैले बुझेको पनि यही हो। थाहा छैन यसका आयोजकहरुले यसबारे किन सोच्न सकेनन्, सायद कार्यक्रम रोचक र सफल बनाउने धुनमा व्यस्त हुँदा हात्तीको बारेमा पनि जानाकारी दिनुपर्छ भन्ने कुरामा ध्यान जानै सकेन। अनि सोच्न बाध्य भएँ – यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य के थियो? सर्सती हेर्दा लाग्छ विदेशी पर्यटकहरु नआउने सिजन (off season) मा हात्तीको नाममा नेपाली पर्यटकहरुलाइ सौराहा भित्र्याउने र होटल व्यवसाय बढाउने। हात्ती संरक्षणसँग यसको कुनै सम्बन्ध छैन। नारा ‘जनता, संरक्षण र समृद्धि’ भएपनि यस महोत्सवले अघिल्ला दुईलाई छाडेर, ‘समृद्दि’ त्यो पनि सिमित जमातको लागिमात्र फाईदा पुगेको प्रष्ट देखिन्छ।
हात्ती प्रकृतिको सुन्दर श्रृजना हो न कि हात्ती दौड, फुटबल, सफारी तथा अन्य मनोरञ्जनको साधन। जसरी हामी बाघ, गैँडा लगायतका वन्यजन्तुलाई प्राकृतिक वासस्थानमा संरक्षणको कुरा विशेष महत्वका साथ गर्छौँ, हात्तीको पनि त्यत्तिकै महत्व भएको कुरा संझनु जरुरी छ। प्राय:जसो घरपालुवा हात्तीहरु पनि जंगली हात्तीलाई नै नियन्त्रणमा लिएर घरपालुवा बनाइएका हुन्, गाई भैँसी जस्तो घरमै उत्पादन गरिएका हैनन्, त्यसैले घरपालुवा हात्तीको पनि उत्तिकै महत्व छ।
हात्तीको महत्व र संरक्षणका कुरा साथै पारिस्थितिकीय प्रणाली (Ecosystem) मा यसले छाता प्रजातिको रुपमा निर्वाह गर्ने भूमिकाका बारेमा पनि यस कार्यक्रममा मिलन लामाको नाचगान, दिपकराज गिरी/दिपाश्री निरौलाको हास्यव्यँगसँगै कतै सानो स्थान दिन सकेको भए सायद सुनमा सुगन्ध हुन्थ्यो र कार्यक्रमको सार्थकता झल्किन्थ्यो होला। हात्तीप्रति चासो राख्ने यति धेरै मान्छे जम्मा भएको समयमा हात्ती तथा अन्य वन्यजन्तु संरक्षणमा सहयोगी हातहरु थप्न सकिने अवसरलाई हामीले गुमायौ भन्ने भान भैरहेको छ। हात्तीको आनिबानि, हात्तीसँग गर्नुपर्ने व्यवहार, हात्तीबट जोगिने उपाय आदिको बारेमा जनचेतना बढाएर मानव-हात्ती द्वन्दका कारण बढिरहेको क्षति कम गर्न यस महोत्सवले ठूलो भूमिका खेल्न सक्थ्यो। संरक्षणसम्बन्धि लोकगीतहरु, नाटक, व्यानरहरु, यससम्बन्धि जानाकारी दिने स्टल लगायत अन्य रचनात्मक कार्यक्रमहरुलाई प्रस्तुत गर्नेबारेमा बेलैमा सोच्नुपर्थ्यो।
यस अर्थमा भन्ने हो भने हात्तीको नाममा गरिएको यो महोत्सव देशका अन्य भागमा हुने गरेका अरु महोत्सवहरुभन्दा तात्विक रुपमा फरक हुन सकेको छैन, केही हात्तीका मनोरञ्जनात्मक क्रियाकलापहरु बाहेक।
ध्वनि प्रदूषण
यो महोत्सवको आयोजना बाघमारा मध्यवर्ति सामुदायिक वनको चौरमा गरिएको थियो जुन एकातिर सामुदायिक वन र अर्कोतिर राष्ट्रिय निकुञ्जको बीचमा रहेको छ। ठूला-ठूला साउण्ड सिस्टमको प्रयोग गरी ठूलै हल्लाखल्ला सहित कार्यक्रम गर्दा वन्यजन्तुको बासस्थानको हिसाबले संवेदनशील क्षेत्रमा कार्यक्रम भैरहेको महसुस गरिएन र आवाज तथा प्रदुषण कम गर्न प्रयास गरेको देखिएन। यसैगरी साँस्कृतिक कार्यक्रमलाई बढि महत्व दिएको जस्तो देखियो, एउटै चौरमा उता हात्ती दौड वा फुटबल भैरहँदा यता स्टेज कार्यक्रम पनि निरन्तर चलिरहेको थियो।
हात्ती भोकै
हात्ती शान्तिप्रिय जनावर हो, हो-हल्ला तथा मान्छेको भिडभाड भन्दा टाढै बस्न रुचाउँछ। यस महोत्सवमा सहभागी हात्तीहरुले यस्तो अवसर पाएनन्, लामो समयसम्म मान्छेहरुको कोलाहलमा बाध्यतावस बस्नुपर्योम। कार्यक्रमस्थल झट्ट हेर्दा फुड फेस्टिभल जस्तो लाग्थ्यो, जताततै खानेकुरा र यसजन्य फोहोर तर मान्छेका मात्र, हात्तीको खाने व्यबस्था त्यहाँ थिएन। हात्तीको पाचनशक्ति कमजोर हुने हुनाले निरन्तर खाईरहनुपर्छ, तर महोत्सवमा सहभागी हात्तीहरु खाना तथा पिउने पानी विनै घण्टौ उभिएर बस्न बाध्य भए। आयोजकहरुले हात्तीलाई उखुको व्यवस्था गरेका थिए रे भन्ने त सुनियो तर अन्तिम दिन एउटा हात्तीलाई २ वटा लाँक्रा पर्ने गरी उखु खुवाएको (जुन हात्तीको मुखमा जीरा जस्तै हो) बाहेक अन्य खाना तथा पानीको व्यवस्था देखिएन। देख्दा खस्रो र मोटो भएपनि हात्तीको छाला संवेदनशील हुन्छ, तर श्रृगारका नाममा विभिन्न रङ्गहरु लगाउँदा मान्छेको मनोरञ्जनका लागि हात्तीहरुले अनाहकमा दु:ख खेप्नुपर्यो।
हात्ती तर्सियो
हात्ती दौडको लागि बनाइएको मैदान पनि वैज्ञानिक ढँगको छैन, जम्मा दौड ३०० मिटरको छ र कोर्सको लम्बाई १५० मी. मात्र । हात्ती १५० मी. दौडेर फेरी फर्केर १५० मी. दौडनुपर्छ। त्यत्रो शरीर भएको जीव, माहुतको नियन्त्रणमा रहेर दौडकै क्रममा १८० डिग्रीमा फर्कदा दुर्घटना हुन सक्छ, एकदिन दौडमा पहिलो हुने हात्ती बहादुरगज यसरी फर्कने क्रममा पल्टिएको थियो, धन्न उठ्न सफल भयो। हात्तीलाई फूटबल खेलाउँदा पनि मान्छेक खेल झै व्यवहार गरियो। हात्ती रातो रँगसँग डराउँछ, लाईन म्यान को रातो झण्डाको कारण हात्ती तर्सिएर फुटबल लाई हान्न नसकेको पनि खेलको क्रममा देखियो। त्यस्तै एकपटक गोलकिपर बसेको हात्ती तर्सेर झण्डै छेउमा बसिरहेका मान्छेको भीड नजिकै पुगेको थियो। यस फुटबलको नकरात्मक प्रभाव त झन् पछाडि देखिँदो रहेछ, यस खेलमा सहभागी छावाहरु बगरमा हिड्ने क्रममा फुटबलजस्तै सेता गोलाकार ढूँगा देखेमा फुटबल संझेर हान्दा रहेछन् यस्तो गर्दा चोट लागेको पनि पाइन्छ।
यसकारण अब यस्ता क्रियाकलापमा हात्तीलाई सहभागी गराउँदा हात्तीलाई पर्न सक्ने शारीरिक तथा मानसिक प्रभावहरुको बारेमा पनि सोच्नुपर्ने आवश्यकता छ। दौड तथा अन्य क्रियाकलापको क्रममा हात्तीलाई पिट्न नदिने र हात्तीले नटेरी पिट्ने अवस्था आएमा त्यो हात्तीलाई खेलबाट रद्द गरिने नियम सह्रानीय छ, यसले हात्तीलाई कम भन्दा कम शारीरिक चोट पुर्याीई खेललाई अझै रोचक र प्रतिस्प्रधात्मक बनाउँछ। तर यसवर्ष पनि हात्तीहरुलाई लामो समयसम्म उभिएर बस्नुपर्ने, खाना तथा पानीको उचित व्यवस्था नहुने समस्या विगतका हात्ती महोत्सव संस्करणहरुमा जस्तै रहेको पाईयो। दर्शकहरुको हुलसँगै एकदमै नजिकमा हात्तीहरु उभिएका थिए जसका कारण कुनै पनि बेला दुर्घटना निम्त्यउन सक्छ, त्यसैले दर्शकहरु र हात्तिबीच निश्चित दुरी बनाईराख्नु जरुरी हुन्छ।
कसको फाइदाका लागि?
यो महोत्सव कसको फाइदाका लागि किन गरियो भनेर पुनरावलोकन गर्नु पनि आवश्यक छ। हात्तीको दौड, फूटबल तथा सुन्दरी प्रतियोगिता आदिमा सहभागी हुन प्रत्येक टिमले प्रवेश शुल्क तिर्ने गरेको छ जसबापत यसपटक करीब सात लाख रुपैया उठेको देखिन्छ। तर ती टिमका नाममा प्रयोग हुने हात्तीहरु भने धेरैजसो चितवन राष्ट्रिय निकुञ्जका छन्। यसपालि चितवन राष्ट्रिय निकुञ्जका ११ वटा हात्तीहरु विभिन्न कार्यक्रमहरुमा सहभागी भए। व्यवसायिक वा निजी प्रयोगमा हात्ती उपयोगबापत दैनिक ५००० प्रतिहात्ती तिर्नुपर्ने प्रावधान छ, यसबापत यस महोत्सवमा चितवन राष्ट्रिय निकुञ्जलाई राजस्वबापत् पाँच दिनको जम्मा २ लाख पचहत्तर हजार तिर्नुपने देखिन्छ। तर आयोजकहरुले उक्त रकम तिरेका छैनन्। आयोजक क्षेत्रीय होटल संघ सौराहाले प्रत्येक महोत्सवमा घाटा भएको देखाउँदै राजस्व मिनाहा गराँउछ।
यसबाहेक जंगली तथा घरपालुवा हात्तीको संरक्षण तथा व्यवस्थापनका लागि यस महोत्सवले कुनै पनि सहयता गर्ने देखिदैन, उल्टै हात्तीहरुलाई अप्राकृतिक क्रियालकलापहरुमा सहभागी गराएर मनोरञ्जनको साधनको रुपमा मात्र प्रस्तुत गरी हात्तीप्रति आम जनमानसमा गलत धारणा विकास गराउने देखिन्छ।
हात्तीको लागि भएन हात्ती महोत्सव
समग्रमा भन्नुपर्दा यसपालिको हात्ती महोत्सव पनि हात्तीको लागि महोत्सव हुन सकेन, मान्छेको मनोरञ्जनको लागि हात्ती साधन बनेको महोत्सव हुन पुग्यो। अर्को वर्ष पनि यस्तै तामझाम सहित हात्ती महोत्सवको अर्को संस्करण पक्कै आयोजना हुन्छ होला। त्यसलाई हात्तीमैत्री बनाउन आयोजक लगायत सबैलाई अपिल गर्दे केही सुझावहरु यहाँ प्रस्तुत गर्न चाहन्छौ।
• हात्तीको संरक्षणबारे जनचेतनामूलक रचनात्मक कार्यक्रमहरु यस महोत्सवको एउटा महत्वपूर्ण पाटो हुनुपर्छ ताकि यस महोत्सवमा सहभागी दर्शकहरुले हात्तीलाई मनोरञ्जनको साधनको रुपमा नबुझुन्।
• आयोजकको तर्फबाट हात्तीको बारेमा जानाकारीहरु राखिएको स्टल तथा हात्ती संरक्षणमा लागिपरेका संघ संस्थाहरुको स्टल पनि कार्यक्रम स्थालमा राखिनु पर्छ, बरु खानेकुराका स्टलहरु हटाउन सकिन्छ।
• हात्तीलाई शारीरिक तथा मानसिक रुपमा असर नपर्ने गरी सकेसम्म हात्ती मैत्री हिसाबले गर्नुपर्छ।
• हात्ती महोत्सवबाट हात्ती संरक्षणका लागि थप सहयोग जुटाउने बारेमा बेलैमा सोचेर कदम चाल्नुपर्छ।
• स्टेज कार्यक्रम हात्ती महोत्सवमा जरुरी छैन। गर्ने नै हो भने हात्तीका कार्यक्रमहरु सकिएपछि छुट्टै समयमा साँस्कृतिक कार्यक्रमका रुपमा गर्नुपर्छ, अहिलेजस्तो सँगसँगै कदापि हुँदैन।
• निश्चित उद्देश्यका लागि हात्ती महोत्सव गरिनुपर्छ, हात्ती महोत्सवलाई हात्तीको महोत्सव बनाउनुपर्छ मान्छेको मनोरञ्जनको महोत्सव हैन।
समय सान्दर्भिक लेखको लागी धन्यबाद!!!!!! आगामी दिनहरुमा पनि वन्यजन्तु र मानव सम्बन्धी लेखको प्रतिक्षामा छौं ।
अन्यत्र कतै नभएको खेल चितवनको सौराहामा हुन्छ । यहाँ अजंगको जीव हात्तीलाई खेलाडी बनाईन्छ र खेलाईन्छ खेल । हात्तीहरु दौडन्छन् , हात्तीहरु फुटबल खेल्छन् र ब्युटी पिजेन्टको लागि र्याम्प निस्कने सुन्दरी जस्तै यिनीहरु पनि सि)गारिएर निस्कन्छन् । पहिले खेलको रुपमा लिए पनि क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने चितवन हात्ती महोत्सव सौराहाका व्यवसायीहरु सौराहाको ब्रान्डींगको अवसरको रुपमा लिने थालेका छन् । त्यसैले पनि होला सौराहा यो समय रंगिन्छ, विभिन्न ध्वजा पाताले । सबै व्यवसायी उत्साहित हुन्छन् ,सबैले आफूले सकेको गदर्छन् ।
विशेषत ः यो समयमा विदेशी पर्यटकको संख्या निकै कम हुने भएकोले पर्यटकहरुलाई आकर्षित गर्न यो महोत्सवको सुरुवात गरिएको हो । यो खेल सुरु हुँदा सौराहा क्षेत्र लगायत चितवनमै नेपाली पर्यटकको निकै कमी हुने गर्दथ्यो । नौ वर्षको अन्तरालमा चितवन र सौराहाको पर्यटक संख्यामा क्रमिक सुधार भएको छ । नेपाल पर्यटन बोेर्डले पनि यो महोत्सवलाई आफ्नो वार्षिक क्यालेण्डरमा सुचित गरी यसको प्रचारमा सहयोग पुर्याएको छ । अनि सौराहाका व्यवसायीहरु पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न छुटको योजना पनि ल्याउन थालेका छन् ।
यो दस वर्षको अन्तरालमा हात्तीसँग सम्बन्धित थुप्रै खेलहरु थ्पिदै आएका छन् । पछिल्लो समयमा हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता र हातीहरु विचको सुन्दरी प्रतियोगिता थप गरिएको हो । यस अलवा, गाडा दौड, डुङा दौड, सांस्कृति कार्यक्रम र हात्तीको दिनचर्या सम्बन्धी जानकारिमुलक व्याख्या पनि रहेका छन ।
चितवन हात्तीहरुको राजधानी हो । जंगली हात्ती होस् या सरकारी घर पालुवा हात्ती वा निजी हात्ती, संखयात्मक हिसाबमा नेपालको अन्य ठाउँहरुमा भन्दा यहाँ धेरै पाईन्छ । र, यो मात्र होईन चितवन हात्ती सफारीको लागि पनि प्रमुख गन्तव्यनै हो । संसारका विभिन्न कुनाबाट चितवन हात्ती सफारीकै लागि आउने पर्यटकको संख्या पनि निकै छ । कुनै समय हात्ती पोलोले प्रख्यात भएको चितवन अब चितवन हात्ती महोत्सवको कारण पनि पर्यटकहरुलाई आकर्षित गर्न सक्ने भएको छ । यो सुखद पक्ष हो चितवनबासीलाई ।
हात्ती महोत्सवको बारेमा बेलाबखत टिकाटिप्पणी पनि हुने गरेका छन् । पशु
अधिकारकर्मीहरु हात्तीलाई दौडाउनु यातनाको संज्ञा दिन्छन् । र ,उनीहरु यो खेल राकिन पर्दछ भनेर आवाज उठाई रहेका छन् । तर हामीले बुझ्न
पर्ने कुरा के हो भने आयोजकहरु हात्तीलाई वर्षको एक पटक त्यही पनि छोटो दुरीमा दौडाउछन् ।
हात्ती महोत्सवको उद्देश्य हात्ती र मानवको सम्बन्ध कस्तो छ र यसलाई बलियो बनाउन के गर्नुृ पर्दछ भनेर देखाउनको निम्ती हो । यो खेलमा क्रुरता छैन र आयोजकहरु स्वयं त्यस्तो भएको देख्न चाहन्न । आयोजक, सह आयोजक र सहयोगी संघ संस्थाहरु सबै पर्या पर्यटन व्यवसायमै आवद्ध छन् । हात्ती खेल खेलाइदा अपनाउनु पर्ने सावधानी प्रति आयोजक र सह आयोजक एकदमै सचेत छन् ।
सुमन घिमिरे , महासचिव , क्षेत्रीय होटल संघ चितवन नेपाल , ( आयोजक )
धन्यवाद सुमनजी! आयोजकको तर्फबाट कमेन्टको लागि,
यो लेखको उद्देश्य महोत्सव आयोजना गरिएकोमा विरोध गर्न हैन तर महोत्सवलाई अझै सार्थक र प्रभावकारी बनाउनका लागि हो। हात्तीको नाममा महोत्सव आयोजना गरेपछि हात्तीलाई केन्द्रमा राख्नुपर्यो, हात्तीले दु:ख पाउनु भएन भन्न मात्र खोजिएको हो। महोत्सवको उद्देश्य “हात्ती र मानवको सम्बन्ध कस्तो छ र यसलाई बलियो बनाउन के गर्नु पर्दछ भनेर देखाउनको निम्ती हो” भन्नुभयो। हात्ती दौडेको, फूटबल खेलेको हेरेर मात्र दर्शकले यो कुरो बुझ्लान् जस्तो लाग्दैन, बरु यसले उल्टो सन्देश दिन्छ – हात्ती मान्छेले भने अनुसार गर्ने आज्ञाकारी जनावर र मनोरञ्जनको राम्रो माध्यम रहेछ। खै त हात्तीको प्रकृतिक तथा साँस्कृतिक महत्वका कुरा? घरपालुवा हात्ती व्यवस्थापन र जँगली हात्ती संरक्षणका कुरा? कार्यक्रमस्थल बाघमारा चौरको पश्चिमी भागको भित्तो ढाकिने गरी सौराहाका होटलहरुको विज्ञापन राख्दा हात्तीको बारेमा जानाकारी दिने एउटा पोष्टर राख्नेबारेमा आयोजकले सोच्न भ्याउनुभएन, सयौ खानेकुराको स्टल राख्दा एउटै पनि हात्तीसम्बन्धि जानाकारी दिने स्टल राख्न सक्नुभएन। जँगली हात्ती, घरपालुवा हात्ती तथा हात्ती चलाउने माउतेलाई के फाईदा भयो त यो महोत्सवबाट? हात्ती संरक्षणका लागि यो महोत्सवले के भूमिका खेल्छ त? यदि आयोजकलाई हात्तीसँग सम्बन्धित यी विषयहरु महत्वपूर्ण लाग्दैन, पर्यटन व्यवसाय बढाएर होटलको व्यापार बढाएकै भरमा यो महोत्सव सफल भएको मान्नुहुन्छ भने यस्तो महोत्सव चाहिँदैन। यी कुराहरुलाई आवश्यक ठान्ने हो भने यो महोत्सवको सर्वजनिक रुपमा समीक्षा गरेर हात्तीलाई केन्द्रमा राखेर मात्र अर्को महोत्सव गरिनुपर्छ। यदि व्यवसाय बढाउने नै उद्देश्य हो भने पर्यटन महोत्सवको नाममा महोत्सव गरे भैहाल्छ नि किन हात्तीको नाममा गर्ने!
वन्यजन्तु अनुसन्धान अधिकृत
राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा
सुमनजी!
हात्तीको Welfare को बारेमा चासो राख्नुहुन्छ भने यो पढ्नुहोस्।
http://www.huffingtonpost.com/cathy-kangas/unchaining-the-elephants_b_4609694.html
http://www.elephantaidinternational.org/projectsDetail.php?recordID=11
http://www.ntnc.org.np/sites/default/files/publicaations/Chain_Free_Hattisar_REPORT_June_%202013_0.pdf
http://www.watoday.com.au/environment/conservation/duck-survives-arrow-through-head-20100805-11iyg.html
त्यो मुला हात्तीले न दुध दिन्छ न खेत जोत्छ , वर्ष भरि फोकटमा खाएर एकदिन खुवाऊनेको लागि मनोरंजन गर्यो त आकाश खस्यो? त्यो मुला हात्ती मरिहाल्यो र?? घरको गोरुले दिनभर जोत्दा पानी त भन्नासाथ खान पाउदैन. खच्चरले उकालोमा घन्टौ भारी बोक्दा बोक्दा भिरबाट खसेर मर्छ, त्यो मान्छे मर्ने जन्मजात गुण भाको हात्तिको माया कति लागेको होला ? भोकमरी लाग्ने देश मा एनिमल प्लानेट च्यानल वाला सोख :प्
🙂
बाबु जि धन्यवाद जानकारी को लागि।।उदेश्य त हात्ति महोत्सव तर पेेसा महोत्सव भएको पक्केे हो।।। तर एक कुरा नि बाबु जि महोत्सव घाटा मा होस या नाफा राजस्व त तिर्नु परो नि।।। के निकेे नाफा भए बढि दिन्छन र?
अब सौराहा मा गैडा र बाघ फूटबल स्टार्ट हुन बेर छैन. tourist को नाम मा बाघ, गैडा, हात्ती लाई सास्ती दिनु राम्रो होईन | बाबु जी लाई धन्यवाद अमुक जनाबारको कुरा उठाएको मा
२ जना अल्लारे ठिटोहरु पार्कमा बसिराखेको रहेछन त्येतिकै खै कता-कतावाट एउटा बिरालो आएछ अनि त्यी अल्लारेहरुले लात्तीले हिर्काएछन्…… बिरालो ठहरै !!
खै कसले देख्यो कुन्नि,
पुलिसलाई खबर गरिदिएछन,
प्रहरी तुरुन्त आएर केटाहरुलाई पक्राउ गरेर मुद्दा चलायो
१ हप्ता मात्र भो, हंगकंगको जिल्ला अदालतले लात्ती हान्ने केटोलाई दोषी ठहर गर्दै “६ महिना जेलसजाय” तोकेको
——————————————————-
हजारौ मान्छे मार्नेलाई त् केहि भएको छैन जनावरको कुरो खै के खै के ,
सबैले हेक्का नराखेको बिषय अत्यन्त राम्रो अनि बैज्ञानिक तवरले उठान गर्नु भएकोमा बाबुरामजीलाइ धेरै धेरै धन्यबाद /
हात्ती लै मनोरंजन को साधन बनाउनु ठिकै छ, प्रचार र आएको श्रोत बनाउनु पनि थिकैछ, तर मुख्य कुरा, यो सबै गर्दा हात्ती को आचरण, ब्येबहर, आवश्य्क्ता आदि लै सर्बोपरि स्थान मा राख्नु अत्येनतै जरुरिछ, होइन भने कुनै दिन दुर्घटना न होला भन्न सकिन्दैन, पशु अधिकार को कुराबाट सधैलाई यो खेल बन्द नहोला भन्न पनि सकिन्दैन.
एकदम सहि कुरो अब हात्ती दौड र फुटबल आयोजना गर्नेले यो कुरो मनन् गर्नु पर्छ. बाबुराम जी लाई धन्यबाद येति राम्रो जानकारीको लागि