Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रेम त्यान्द्रामा अल्झेर

Posted on December 26, 2013 by mysansar

-अनमोलमणि-

काठमाडौं ओर्लिदा मसित कुनै सपना थिएन।

२०५४ साल असार २० गते विहान म काठमाडौं गर्त ओर्लेको थिए“। तेजिलो हेडलाइटमा खोला किनारै किनार एकान्त थर्काएर एकनास कुदेको बसले मलाई काठमाडौं ओरालेको थियो। बाहिरको अध्यारोमा म देख्थे“ बससितै कुदेका पहाड, रुख बुट्यान र छोडिएका घुम्ती। मलाई पुरानो बसपार्क ओरालेर त्यो बस कता बेपत्ता भयो र कुन घुम्तीमा छेलियो मैले पत्तो पाइन। काठमाडौं ओर्लिदा घाम लागि सकेको थिएन। हल्का जाडो अनुभव भयो। निद्रा कचपल्टिएका आखाले मैले पहिलो पल्ट लामा लामा बस देखे“। ठूल्ठूला पक्की घर हेरे। धेरै मान्छे आखा वरिपरि सल्यांग मल्यांग भए। मान्छेहरु हतारमा हिंडिरहेका थिए। कोही टोलाइरहेका थिए। कोही कसैलाई पर्खिरहेका थिए। बेला बेला ह्वास्स पेट्रोल र डिजेलको गन्धले नाक दर्फर्‍याउथ्यो। यी सब अनुभव गर्ने मसित जम्मा जम्मी एक्लो ज्यान थियो।

बिना कसैको करबल सहर र ठूलो सहर आइदिएको थिएँ, रित्तो र एक्लो। के गर्ने पत्तो थिएन। नाम, दाम र कामको कुनै लोभ मनमा थिएन। मलाई काठमाडौं हेर्नु थियो। छतिवन छाड्नु अघि मामाघरकी हजुरआमाले भनेकी थिइन्, त्यो सहरमा हराउछस् नाथु। केटाकेटीनै छस्, तलाई कसैले चिन्दैन, बेच्दिन्छन्। सहर गाउँजस्तो होइन। त्यहा चिनेको आफ्नो कोही हुन्न। ठूलो भएर जालास्। भो अहिले नजा।’

मलाई रोक्ने केही थिएन। बस्दा पनि म एक्लो र रित्तै थिएँ, हिंड्दा पनि म एक्लो र रित्तै हुन्थेँ। हजुरआमाले दिएको ३ सय रुपैयाले म काठमाडौं ओर्लेको थिएँ। साथमा भाडाबाट उबे्रको १ सय ५० रुपैया अझै बाकी थियो। जीउमा थियो स्कुल ड्रेसको आकासे रंगको सर्ट र नीलो पाइन्ट। तुना गास्दा गास्दा गास्ने ठाउँ बाकी नरहेको हात्ती छाप चप्पल लगाएको मेरो खुट्टा लसक लसक सहर हिड्दै थियो।

मेरी आमा काठमाडौं नदेखेरै मरिन्। भनौ संसारका सारा धोकाहरुबाट सधैका लागि मुक्त भइन्। पशुपति दर्शन गर्ने र एयरपोर्ट गएर हवाइजहाज हेर्ने उनको इच्छा कहिल्यै पूरा भएन। बाचुन्जेल आमालाई मेरै चिन्ता भयो। जुन दिन आमाले संसार छाडिन् त्यसपछि म आफूलाई पनि मेरो चिन्ता लाग्न छाड्यो। र त धेरैको सपनाको सहर काठमाडौंमा म विना सपना आएँ बिन्दास।

देह त्याग गर्नु अघि आमा हजुरआमाको काखमा संघारनेर लम्पसार थिइन्। जन्मने वित्तिकै उनलाई जसले न्यानो र मायालु काख दियो त्यही काखमा आफूलाई त्यागिदिइन्। मसित आमाको झझल्को छ। आँखा चिम्म गर्दा नाच्ने झझल्कोमा म आमालाई मूर्त उतार्न सक्दिनँ। नागरिकताका लागि खिचिएको (अहिले आकृति अन्दाजमात्रै गर्न सक्ने भएको छ) आमाको ब्ल्याक एण्ड ह्वाइट तस्वीर हेरेर कलाकार साथी दीपक गौतम त्यसलाई खास स्वरुप दिन आफ्नो पावरदार चस्मा मिलाउदै कुची घोटेका छन्। मैले आमाको सग्लो तस्वीर कयौं पल्ट मेरो अनुहारसित दाँजेको छु। (श्रीमतिको सनाखत गर्ने कोही नभएर मेरी आमा यो संसारमा अनागरिक’ भएर मरेकी थिइन्।)

यति अवधीमा यो ठूलो सहरमा कति पल्ट ठेस लाग्यो मैले कसैलाई दुख्यो भनिनँ। लडेको चोट देखाइनँ। कति भक्कानिएँ, कसैलाई आँसु देखाइनँ। आमाबाहेक कसैले छोएर कुनै सन्तानको पीडा निको हुन्छ भन्ने म अझै पनि ठान्दिनँ। यस्तै दुखाइवीच काठमाडौंले मेरो पक्षमा धेरै फैसला गरिदिएको छ। ती फैसलाका पुलिन्दा काखी च्यापेर भीडभाड र कोलाहलयुक्त सहरमा म १६ वर्ष एकनासले कुदिरहे। काठमाडौंले मलाई कुनै काममा गरेन। बरु म डेढ दशक बुढो भए। धेरैलेजस्तो मैले काठमाडौंलाई केही दिएन’ भनेर दुखेसो र गाली गर्नु छैन। काठमाडौंमा म केही लिन गएको थिइनँ र पनि यति धेरै पाए कि त्यसको हिसाबमा गर्नै सकिन्न। काठमाडौंले एक एक कुरा फिर्ता मागे मैले के दिनु?

मेरा लागि काठमाडौं एउटा सिंगो कविता हो, जसलाई लेख्नै पर्दैन। हेरे पुग्छ। र त मलाई काठमाडौंले कवि बनाइदियो।

काठमाडौंको सडकले मलाई चरम गरिबीमा पनि बाच्न र हास्न सिकायो। आफ्नो छातीमा चेपेर कठ्याग्रिने जाडोमा पनि न्यानो बनायो। एउटा फ्याङ्ले सर्टमा माघको चीसोलाई कसरी परास्त गर्न सकिन्छ मलाई काठमाडौंले सिकाएकेा हो। भोकै पनि सबैभन्दा छिटो कसरी कुद्न सकिन्छ भन्ने ज्ञान मैले काठमडौं नभएको भए पाउने थिइन। पृथ्वी चिरा चिरा परे पनि एउटा चिरामा आफूलाई उभ्याउन सक्छु भन्ने आत्मविश्वास मलाई काठमाडौंले दिएको छ।

काठमाडौं सहरमा बाच्न मैले अनेक उपाय निकालेको छु। कुनै मनकारी नेवारको घरमा अछुतझै“ भा“डा माझेर वा दिनदिनभर खाली सिसी पुराना बोत्तल पखालेर दुई छाक टारेको छु। मरिच, चिउरा र मसलाका बोरा बेकेर महिनाको १ हजार रुपैया तलब आउदा रमाउदै सहरका गल्ली कुदेको छु। बुनिया, जेरी, महावैद्धको झोल मम, भुटेको मकै भटमासले भोक मेट्न पाउदा आफूलाई संसारको भाग्यमानी ठानेको छु। यस्तै अनेक बहानामा काठमाडौंले एक न एक हिसाबले आफ्नो साथमा मलाई चेपिरह्यो जसरी भरखरै जन्मेकेा नानीलाई आफ्नो छातीमा चेप्छे आलो सुत्केरी आमा।
कहिले कराते खेलाडी भएर त कहिले …गुरु’को आदेशमा मान्छे कुट्ने ग्याङको पछि लागेर मैले काठमाडौंमा ज्यान जोगाएको छु। यसरी आफूलाई टुक्रा टुक्रा जोगाएर म काठमाडौंमा सग्लो उभिएं। आफूलाई कथा, कवितामा साटें।
काठमडौंमा रमेश क्षितिज पढेर कविता लेख्न जानेको मैले श्यामल, हरि अधिकारी, श्रवण मुकारुङ, तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, विप्लव प्रतीक, विप्लव ढकाल, राजेन्द्र पराजुली पढेर कविताको बुनोट, बनोट र कला सिकेको हु“। त्यस क्रममा समकालीन बुद्धिसागर, केशव सिलवाल, विमला तुम्खेवा, ठाकुर बेलबासे, मणि लोहनी, पदम गौतम पढेर मैले आफ्ना कवितालाई आफैले धिक्कारेको छु।

कविताको सिकारु म देवकोटा, भूपी, रिमाल, कटुवाल मन पर्छ भन्ने आ“ट पनि गर्न सक्दिन“। म उनीहरुलाई अत्यन्त आदरका साथ पढ्छुमात्रै। मन पराउछु भन्ने सामर्थ्य पनि मसित छैन। तिनलाई म सलाम मात्रै गर्न सक्छु।

•

कविता किन धेरै लेखिन्छ?

यसको उत्तरमा कुनै कविले भनेथ्यो, …आफूलाई पढेेलेखेको भन्ने प्राय मान्छे व“ैशमा कि कविता लेख्छन् कि प्रेम पत्र।’

मैले दुवै लेखे। आफ्ना लागि कविता, अरुका लागि प्रेम पत्र। कुनै जवाफी कुनै एकतर्फी पत्रको वीचवीचमा कविता वा सायरीका अंश कतैबाट सारेर, कहिले काहि“ आफैले कथेर लेख्दा खुसी भएका साथीभाइले कति दिन मलाई स्कुल छेउको होटलमा सेल, तरकारी र जेरी खुवाएका छन्। तिनै पत्रका कारण कतिले घरजम पनि गरे। म गोडा चारेक पुस्तकको लेखक भएको छु।

तिनताका केही प्रेम पत्र मैले पनि पाए“।

पटक पटक पत्रको जवाफ नदिएपछि एउटी साथीले यस्तो लेखेकी थिइ तेस्रो पल्ट, …लामो छ जिन्दगी बाच्नलाई, धेरै दिन बा“की छन् काम गरेर थाक्नलाई र उत्तिकै रातहरु बा“की छन् आराम गर्नलाई। अनमोल, मलाई तिम्रो जीवनको सबै कुरा थाहा छ। तर तिमीले मेरो पत्रको जवाफ दिएनौ“। म तिम्लाई कत्ति सम्भि्कन्छु। मलाई तिमो कति माया लाग्छ। तिमी मलाई कहिल्यै सम्भि्कन्नौ। प्लिज एकपल्ट पत्रको जवाफ देऊ।’

रातो र नीलो मसीले लेखेको त्यो पत्रको बाङ्गो टिङ्गो अक्षर मलाई अहिले पनि पूरा पूर याद छ। त्यति कलात्मक पत्र फेरि मैले कहिल्यै पाइन“। पत्र ऊ आफैले लेखेकी थिइ वा अरु कसैले लेखिदिएको थियो म जान्दिन“। जवाफ नपाएपछि निकै समय ऊ दुखी भइ। त्यसपछि विद्यालय जीवनभरि हाम्रो सामान्य बोलचाल पनि बन्द भयो। त्यो पत्रको शैली कथा …टेस्ट्युब बेबी र मेरी प्रेमिका’ लेख्दा मलाई धेरै काम लाग्यो।

वर्षौंपछि भीडभाड काठमाडौंको बसन्तपुर डबलीमा उसलाई भेट्दा बोल्ने नबोल्ने दोधार भइरह्यो। केही छिनको दोधारपछि सगै हिडेको पुरुषको हात चरप्प समातेर उसले भनी, …तिमी उस्तै छौ? बदलिएका छैनौ?’ उसले मेरो बारे बताइ वा प्रश्न सोधी मैले बुझिन“। ती एकजोर आखालाई दिने जवाफ मसित अहिले पनि छैन।

क्याम्पसमा कसैको प्रेम पत्र लेख्नु परेन (सेल तरकारी म आफ्नै कमाइले खान सक्ने भएको थिए“)। मेरो कविता, कथा, गजल मनपराउने मित्र मण्डली जुरे। मेरो कथा …नीलो रुमाल हराएपछि’ र …पीडा नायक’ पढेर एउटी साथीको प्रेमपूर्ण रिस यसरी पोखियो, …तिमी कहिले कवितामा कहिले कथामा किन मलाई लेखिरहन्छौ? तिम्रो साहित्यको पात्र हुन मैले तिमीलाई प्रेम गरेको ठान्यौ? संसारमा अरु कोही पात्र पाएनौ“? किन मलाई दुखाइ रहन्छौ? हिजो तिमीलाई पढ्न नसकेर दुखे। आज तिम्रो सिर्जना पढेर दुख्छु। हिजोजस्तै तिमी मेरा लागि अहिले पनि रहस्यमै छौ। हा“सेर सबै कुरा टारिदिन्छौ। तिमी आफ्नो बारे किन केही भन्दैनौ? अब मलाई होइन आफ्नै बारे लेख।’

मलाई थाहा छ, आवेग क्षणिक हो। जीवनमा जति साथी आए पनि एक्लो उभिनु पर्छ।

मेरो जीवनमा यस्ता धेरै साथी वतासजसरी आए, एकसर्को छोए र गए। ती मेरो लेखनको कच्चा पदार्थ भए। लाडे र रुन्चे प्रेमका स्वरलाई चाहेर नचाहरेर मैलेनै परपर धकेले“। कहिले पहिरो नजाला ठानिएका सम्बन्धका पाखापखेरामा पैरो गइरह्यो, प्रेममात्रै होइन व्यक्तिगत जीवनका अरु नातासम्बन्धमा पनि। मलाई अहिले पनि लाग्छ, जीवन पहिरो झरीरहने पाखो हो। जहा पानी परे पनि वा नपरे पनि पैरो जाने खतरा उत्तिकै हुन्छ। मेरा लागि यी झिना मसिना परिघटना थिए। मैले छोडेका जीवनका यस्तै सयौ“ हजारौ“ घुम्ती, कुइनेटा र गोरेटाले मलाई बाच्न सक्ने बनाएका छन्। कहिले कवि भएर। कहिले कथाकार भएर। कहिले पत्रकार भएर। समय, समाज, राजनीति र देशले मलाई लेख्न सिकाएको छ। प्रेमका अनेक स्वरुपका नशाले मेरा कविता जन्माएको छ। विघटनको संघारमा उभिएकै समय र समाजको हारमा म पनि कुम जोडेर उभिएको छु।

कसलाई के थाहा जीवनको कुन मोडमा कतिखेर विघटन हुनु पर्छ?

संसारमा सत्य एउटा मात्रै हुदैन। नित्सेले उहिल्यै इश्वर मरेकेा घोषणा गरे।। संसारका धेरै मान्छे अहिले पनि इश्वर भक्तिमा समय खर्चिरहेछन्। अरु त अरु द्वन्द्वात्मक भौतिकवादको प्रवचन दिनेहरु पनि ढोकामा साइबाबाको तस्वीर झण्ड्याएर बसेका छन् वा भैसीको पूजापाठमा लागेका छन्। त्यही भएर होला मलाई जेले छुन्छ म त्यही लेख्छु। मैले लेखेका कुराले सबैलाई छुनु पर्ने बाध्यता छैन र सबैलाई त्यही सत्य लाग्नु पर्छ वा मन पर्नु पर्छ भन्ने छैन।

अभिव्यक्तिमा समय र समाज कलात्मक शैलीमा आयो आएन त्यो मात्रै प्रश्न हो। हरेक सिर्जनामा बस्दा म यसमा सचेत छु। म रेला गरेर र …भर्खरै’ आवश्यकता परेर कहिल्यै कुनै पनि सिर्जना गर्दिन। समाज, समय र आफ्ना भोगाइप्रति सबैको अनुभव साट्नु पर्छ भन्ने कुरा लेख्नु अघि मैले पटक पटक सोचेको छु। कसलाई केले खुसी बनाउ“छ र कसलाई के ले दुखी पार्छ यति ठूलो संसारमा सोधेर साध्ये हुन्न। सबैका सबै कुरा एकै ठाउमा अट्दैनन्। यत्ति भन्छु, संसारमा सबैखाले प्रेम र विछोडले दुनियालाई अड्याइरहेको छ। समाजको खास सत्य त्यही हो। प्रेम बाहेक दुनियाका सबै चिज तुच्छ र वाम छन्। यति बुझ्नु पर्छ, प्रेमलाई किशोर किशोरीको मायाजालमात्रै बुझ्नु हुन्न।

त्यसैले प्रेम र सिर्जनामा रेला गरेको मलाई मन पर्दैन।
•

विज्ञानले भन्छ पृथ्वी गोलो छ। जीनवभर मान्छेले सम्झेनसम्झेका करोडभन्दा बढी सपना देख्छ। कहि नजादा पनि कतै न कतै पुगिरहेको हुन्छ। त्यही भएर होला विना सपना काठमाडौं ओर्लेको म जीवनको यो मोडमा आइपुग्दा कहिले काहि“ सपना देख्दैछु कि झै लाग्छ। मलाई थाहा छ जति सपना देखे पनि हुनेहुनामी कसै गरे टर्दैन।

हजुरआमाले ३ सय नदिएको भए म कुनै खाडी मुलुकको कामदार वा देशकै कुनै कुनामा ल्वा“ठ भएर कुदिरहेको हुन्थे। अथवा कुनै ग्याङको पछि …दादा’ भएर कुदिरहेको हुन्थे“। न पत्रकार हुन्थे, कथा लेख्थे“ न कविता। सायद आमाजस्तै म पनि अनागरिकनै रहन्थे वा कुनै ग्याङ् फाइटमा जीवननै समाप्त पारिसकेको हुन्थे। यो कल्पनाको कुरा हो।

९२ वर्ष बाचेर मेरी हजुरआमा अढाइ वर्ष अघि बितिन्। बाचुन्जेल मैले साझ विहान खाए नखाएको, लाए नलाएको, कसैसित झगडा गर्‍यो कि, सहरमा बाटो भुलेर हरायो कि भन्ने चासो र चिन्ता लिइरहिन्। मेरो आवाज नसुन्ने गरी विदा भएकी हजुरआमालाई आखा चिम्लेर मनमनै म यति भन्न सक्नु, …धेरै मान्छे गुमनाम हराएको र बेचिएको यो सहरमा मैले आफूलाई सग्लो जोगाइ राखेको छु र जोगाइ राख्नेछु, हजुरआमा।’

हर क्षेत्रजस्तै प्रेम पनि निर्मम पूजीवादले गा“जिदै छ। प्रेम त्यान्त्रा चुडिएर संसार धोकाधाडीको लठारोले बेरि“दै छ। विश्वास हराएको छ। दुख पनि बढेको छ, खुसी र सुख पनि त्यतिकै छ। प्रेमको एकएक त्यान्द्रामा अल्झाएर मलाई अनमोलमणि बनाउने सबैलाई कोटी कोटी नमस्कार।

28 thoughts on “प्रेम त्यान्द्रामा अल्झेर”

  1. Bhuwan Gurung says:
    December 28, 2013 at 10:28 pm

    राजधानीमा उस्तै उस्तै खालको जीवन त्यही ताका मैले पनि जिएको थिए , हुन त अहिले पनि त्यो भन्दा माथिल्लो स्तरको जीवन जिएको छैन शायद खाडीमा कामदार भएकोले होला , हुनेखाने हरुको सानो सपना हामी जस्तोको लागि पहाड नै हुने रहेछ। साइकल किन्न नसकेर कलेजको अन्तिम घण्टी छोडेर हिंडेर नै काममा जानु पर्ने बेला साइकल किन्ने सपना नै ठुलो थियो।
    लेखकको भोगाइ हो या रचना जे भये पनि पुरानो अतित जो राजधानीमा बित्यो त्येसको याद ताजा गराइ दियो । अन्त्यमा खाडीको प्रसँग नजोडेको भये पनि हुने थ्यो कि जस्तो लाग्यो । आखिर यहाँ ४० डिग्रीको घाम ताप्न हामी रहरले आएको पक्कै होइन । दु:ख र समस्याले लखेट्दै ल्याएको हो यहाँ । ल्वाठ भएर मात्रै आएका होइन होला भन्ने कुरा बिनम्र्ताको साथ भन्न चाहन्छु ।

    Reply
  2. Gunaraj Paudel says:
    December 28, 2013 at 3:27 am

    तपाई लेखनु हुन्थ्यो हामी पढ़थौ ,सिकेको क ख ग घ नै हो सबैले ,तर तपाई को सब्द स्वादिलो हुन्थ्यो हजुरमाले भुटेको मकै भटमास जस्तै बिहान खायो दिनभरी खुसि लाग्ने .
    जिन्दगि नै हो वा कथा लेखनु भो, तर दर्दनाक लेखनु भो ,जे लेखनु वो फेरि क ख ग मिलाएरै लेखनु भो …तर आफु त खाडीमा छु दातमा ढुङ्गो लाग्यो…

    Reply
  3. chhatra Poudel says:
    December 27, 2013 at 8:56 pm

    अनमोलमणि जी लेख्नु भएको सारै राम्रो लग्यो तर खाडीमा आउने सबैको जिन्दगि नराम्रो नै होला भन्न खोज्नु भको होकी जस्तो लाग्यो त्यो चै सायद ठिक होइन कि ….

    Reply
  4. bibek dhakal says:
    December 27, 2013 at 6:15 pm

    सारै सरल, तर उत्तिकै मिठो लाग्यो:प्रस्तुति ‘प्रोफेसनल’ छ| सायद प्रोफेसन नै लेख- साहित्य संग सम्बन्धित भएर होला, पक्कैपनि 😀 ! ‘अटोबायोग्राफिकल’ लेख लेख्दा लेखको उद्देश्य र यथार्थको सफल ‘ब्लेंड’ गराउनु भनेको एउटा चुनौती हो, जसमा तपाईं, मेरो बिचारमा, सफल हुनुभएको छ| तपाइंको साहित्यिक सफलताको लागि सुभकामना!!

    Reply
  5. Suman says:
    December 27, 2013 at 3:46 pm

    राम्रो सिर्जना. स्पस्ट र रोचक सम्प्रेषण सैली . तपाई को रचना पढ्ने इछ्या भयो. कृपया मौका दिनु होला.

    Reply
  6. Dipak Pudasaini says:
    December 27, 2013 at 12:50 pm

    पढ्दा पढ्दै अनमोलमणिका लागी २ थोपा आंशु उपहार चढाएं

    Reply
  7. पुष्प says:
    December 27, 2013 at 8:10 am

    “धेरै मान्छे गुमनाम हराएको र बेचिएको यो सहरमा मैले आफूलाई सग्लो जोगाइ राखेको छु र जोगाइ राख्नेछु, हजुरआमा ।” चार ‘थान’ टेष्टट्यूब बेबी जन्मिएको खबर आएकै दिन तपाईंको यसखाले अभिव्यक्तिले मन छोयो है ।

    Reply
  8. [email protected] says:
    December 27, 2013 at 7:47 am

    अति राम्रो अनि बास्त बिक. मेरै कथा जस्तो लग्यो. पड्दै जादा आँखा रसाए | साहित्य मा रुचि राख्ने, र कुनै बेला अलि अलि लेख्ने पनि गर्ने, अनि लेखक जस्तै गरि काठमाडौँ आएर अनेकन हण्डर खाएको हुनाले र प्रेम पत्र को जाल मा पनि एक पटक परि सैकोको हुनाले, लेखकले मेरै कथा लेखे जस्तो लाग्यो | म पदने सपना लिएर काठमाडौँ पसेको थिए | पढेर के गर्ने त्यो त मलाई थाहा थिएन तर पदना अति नै मन थियो.| त्यहि हुट हुटि ले काठमाडौँ ल्यायो | आज त्यहि हुत हति आफ्नो जन्म भुमि भन्दा धेरै टाढा ल्याई पुर्याको छ | थाहा छैन अब कता जान लेखेको छ ? सायद माथि नै होला अबत

    Reply
  9. samrat~ says:
    December 27, 2013 at 7:06 am

    निकै घत लाग्दो लेख लेख्नु भयो..मलाइ लाग्छ यो लेख कुनै फ्रिक्सन हैन अनि भित्र मन देखि आफ्नो सत्य आत्मिय कथा सुनाउनु भयो लेख को रुप मा पस्किनु भएर. वाह ! keep it up !!

    Reply
  10. Pratik Sharma says:
    December 27, 2013 at 3:00 am

    पड्दा रमाइलो लाग्यो! तर के संदेश दिन खोजेको हो , मैले त केहि बुझिन !

    Reply
    1. suzee says:
      December 27, 2013 at 2:46 pm

      पहिलो बाक्य ……पड्दा रमाइलो लाग्यो! येति भए पुग्यो नि प्रतिक शर्मा लै ,
      दोस्रो बाक्य …..पनि धेर थोर.. कमेन्ट को रुपमा …केहि भन्न मिल्दैन
      तेस्रो बाक्य ….केहि बुझिन भन्नु चाही …..साहित्य को मानहानी भो , बुझाईभन्ने कुरो मानिस मानिस मा फरक पर्ने कुरो हो ,
      तेही पनि ,### छेउ र तुप्प्पो पढेर के बुझिन्छ त अलि राम्ररी बुझ्ने प्रयास गरेर पढे पो बुझिन्छ त , (फिल्मी अनि पिरेम कथा ; केटि ले धोका देर अर्कै संग गई ) भन्ने कथा भए सिधै बुझ्नु हुन्थ्यो होला , अब यो अलि खारिएको साहित्य पर्यो , के बुझिन्थ्यो त ,

      P :S : बुझ्ने लै श्रीखण्ड , नबुझ्ने लै खुर्पाको बीड.

      लु अब मेरो कमेन्ट मा रातो तिको लगाउदै बसे भो !!!!!!!!!!!!

      Reply
      1. Pratik Sharma says:
        December 28, 2013 at 1:12 am

        सुजी जी , मैले तपाई को कमेन्ट मा कुनै मार्क लगाएको छैन, मेरो तपाईलाइ सर्ब प्रथम संदेश दिन छाहंचु .
        दोस्रो म साहित्य को परिखी होइन , लेख्न को लागि लेखिएको लेख मलाई पटक्कै मन पर्दैन अथवा सिर्जना को शंक्या को लागि लेखिएको लेख मलाई लागि कुनै महत्व राख्दैन . हुन त कुनै साहित्यकार को चित्त दुखाउनु अथवा खण्डन गर्नु पनि मेरो उदेश्य होइन . यो लेख का लेखक ज़स्ता ठूला लेखक ले अझ संदेश बोकेका लेख लेखे म ज़स्ता पाठक को मन पनि आकर्षण गर्न संक्नु हुन्छा वन्ने मेरो विश्वास मात्रै हो.

        Reply
        1. suzee says:
          December 28, 2013 at 2:09 am

          आफु चाही साहित्य लै धेरै नै महत्व दिने व्यक्ति परियो , तेस्मा पनि लेख्न चाहना हुदा हुदै लेखक हुन् नसकेको हुदा , अनि तेस्मा पनि धेरै नै बिशेष गरेर राष्ट्रिय अनि अन्तराष्ट्रिय साहित्य हरु पढ्ने गरेको हुदा, (त्यो पनि २०४८ देखि )
          प्रतिक जी को कमेन्ट मा ###केहि बुझिन मैले ### भन्ने बाक्य देखेर अवाक लागेको हुदा कमेन्ट मा मुख फर्काएको हु , ( मैले GUESS गरिसकेको थिए, कि त प्रतिक शर्मा साहित्य को पारखी हैनन् , कि त रिस डाहा ले एस्तो कमेन्ट गरे होलान, नत्र यी प्रतिक भन्ने मानिस अलि उमेर नखाको परे , कि अंग्रेजी स्कूल मा पढेर नेपाली लामो लेख नपढी कन नै कमेन्ट गरे होलान …. भनेर )

          समय बित्दै जानेछ , कुनै दिन जिबन मा येही लेख पढ्नु हुनेछ , अनि सायद सन्देस बुझ्नु होला, अनि ए !!!!भनेर TUBE LIGHT ON होला !!!

          रिसानी माफ !!!!!!
          P :S .
          साहित्य को कदर गर्न सिकौ

          Reply
          1. Pratik Sharma says:
            December 29, 2013 at 8:08 pm

            प्रतिक जी को कमेन्ट मा ###केहि बुझिन मैले ### भन्ने बाक्य देखेर अवाक लागेको हुदा कमेन्ट मा मुख फर्काएको हु , ( मैले GUESS गरिसकेको थिए, कि त प्रतिक शर्मा साहित्य को पारखी हैनन् , कि त रिस डाहा ले एस्तो कमेन्ट गरे होलान, नत्र यी प्रतिक भन्ने मानिस अलि उमेर नखाको परे , कि अंग्रेजी स्कूल मा पढेर नेपाली लामो लेख नपढी कन नै कमेन्ट गरे होलान …. भनेर )

            सुजी जी , मेरो साथी लाइ खसी को मासु मन पर्छ भने मलाई पनि त्यहि मन पर्छ भन्ने बाध्यता छैन , मलाई साकाहारी जीबन पनि मन पर्न सक्छ भन्ने तपाई ले बुझी दिनु पर्यो , हामीहरु माझ्का एउटा साथी अनमोलमणिको को पात्र बनेका छन् , त्येसैले पढेर रमाइलो लाग्यो भनेको हो ,
            अंग्रेजी को कुरा गर्नु हुन्छ भने , गाउँ बाट SLC सकेर काठमाडौँ को एउटा सरकारी कलेज मा I . Sc पड्दाखेरि She लाई He भनेर जबाफ दिदा क्लास का सबै हासेको खाठाना अझै ताजै छ, बाँकि तपाई को अनुमान को कुरा हो..मलाई त थेरै खुसी लग्यो. किन कि अनमोलमणिको पात्र भन्दा पनि संगर्ष गरेको ४० वर्ष नागेको म जस्तो लाई तपाई ले सहरिया युबक संग तुलना गरि दिनु भयो , त्येस्कोलागी धन्यबाद .

            मेरो ४१ बर्से जिन्दगि मैले १०१ वोटा देश घुमेर जाने बुझेको कुरा एउतै हो. बन्दुग ले भन्दा कलम ले परिवर्तनगरेको समाज दिगो र समयमुलक हुन्छ , त्येसैले यो काम तपाई हामीले भन्दा पनि कलम चलाउन जान्ने बाट नै त्यो काम सम्भब छ भन्ने पनि मैले बुझेको छु , त्येसैले मलाई समाज लाई संधेश दिन नसक्ने लेख पटक्कै मन पर्दैन .

            Reply
            1. suzee says:
              December 30, 2013 at 2:15 pm

              मैले येसरी बुझे ,,,शर्मा जी को कमेन्ट को सारांश ###यो लेख ले समाज लै केहि संदेश दिन नसकेको , तेसैले प्रतिक शर्मा लै मन नपरेको भनेर भन्न खोज्नु भएको ###

              प्रतिक ….भनेर छदम नाम मा कमेन्ट गर्या त हैन ,
              यो मुख फर्काउने दोहोरि पार ले त मलाई SAM SHARMA को पो झल्यास आयो त !!!

              Reply
  11. Samir says:
    December 27, 2013 at 2:51 am

    राम्रो, धेरै राम्रो! खुसि लाग्यो पढेर..
    अनमोल मणि लाई धेरै साधुवाद !
    मार्मिक
    ” तिमी कहिले कवितामा कहिले कथामा किन मलाई लेखिरहन्छौ? तिम्रो साहित्यको पात्र हुन मैले तिमीलाई प्रेम गरेको ठान्यौ? संसारमा अरु कोही पात्र पाएनौ“? किन मलाई दुखाइ रहन्छौ? ”
    साह्रै चित्त बुझ्यो

    Reply
  12. Ramesh babu says:
    December 27, 2013 at 2:11 am

    कति राम्रो …..l

    Reply
  13. सिर्जने says:
    December 26, 2013 at 11:42 pm

    मनपर्यो अनमोलमणिजी को लेख / लेख हो या आत्मवृत्तान्त, जे होस् / सानै उमेरमा आफ्ना बा आमा गुमाएकाहरुको पिडा कस्तो हुन्छ त्यो त मलाई थाहा छैन तर त्यस्तो अबस्थाबाट गुज्रेरपनि आफुलाई सम्हालेर उहाकै शब्दमा “सग्लो / सिंगो” राखिराख्न मात्र होइन हाम्रो नजरमा “सफल” व्यक्तित्व हुनसक्नु भएको छ – यत्रो संघर्ष गर्नसक्ने तैपनि सकारात्मक हुनसक्ने तपाइको इस्पातको अत्मबिश्वासलाइ मेरो पनि कोटी कोटी सलाम /

    Reply
  14. कुसुम ज्ञवाली says:
    December 26, 2013 at 10:30 pm

    गहकिलो, सरल र मर्मस्पर्षी रचना । डेढ दशकको सम्पादनको अनुभवले खारिएको एउटा मिठो रचना-भोगाइ ।

    Reply
  15. kalyan thapa says:
    December 26, 2013 at 10:12 pm

    धेरै घतलाग्दो अनि मार्मिक कथा,
    अहिलेसम्म मा mysansar मा पढेको अब्बल साहित्य !!!
    जीवन पहिरो झरीरहने पाखो हो। जहा पानी परे पनि वा नपरे पनि पैरो जाने खतरा उत्तिकै हुन्छ।

    Reply
  16. Bashu says:
    December 26, 2013 at 8:33 pm

    तपाईंको लेखले मलाई पनि हाम्रो बाल्यकालको याद आयो ।तपाईं हाम्रो ४ बर्षको कक्षा ६ देखि कक्षा १० सम्मको महेन्द्र मा बि को पढाई को याद दिलायो यो लेखले ।
    लेख राम्रो तथा भाबुक छ ।

    Reply
  17. Raj says:
    December 26, 2013 at 8:01 pm

    माथिको लेख पढेर निकै गहिराइ पुगे अनि मन नै छुने गरी लेख्नु भको रैछ खुशी लाग्यो र आगमी दिन्हरुमा अरु पनि पढ्न पाइयोस । । । ।

    Reply
  18. Sabir says:
    December 26, 2013 at 5:38 pm

    Wow- you are so magical . Simple and sweet writing . Thumbs up !!

    Reply
  19. suzee says:
    December 26, 2013 at 4:10 pm

    धेरै घतलाग्दो अनि मार्मिक कथा,
    अहिलेसम्म मा mysansar मा पढेको अब्बल साहित्य !!!

    ####केटाकेटीनै छस्, तलाई कसैले चिन्दैन, बेच्दिन्छन्।#### नचिने पनि लेखक ज्यु को हजुरआमा को (काल्पनिक )मुहार आखा मा आयो !
    #### काठमाडौंले एक एक कुरा फिर्ता मागे मैले के दिनु?#### काठमाडौँ प्रति सकारात्मक विचार देख्दा धेरै खुसि लाग्यो

    HATS OFF ANAMOLMANI JEE

    Reply
    1. suzee says:
      December 27, 2013 at 12:49 am

      खै किन हो , मलाई यो लेख धेरै नै IMPRESSIVE लाग्यो , ५ चोटी भयो दोहाराइ दोहराई पढे, ITS A COMBINATION OF ALL ….
      अनमोल जी को अरु साहित्य पनि अनुभव गर्ने मौका पाए हुन्थ्यो ,
      just keep it up !!!!!!u have good future in nepali sahitya ……

      Reply
  20. Raju Dhakal says:
    December 26, 2013 at 2:16 pm

    …. सार्है राम्रो सिर्जना ……….मन पर्यो एकदमै !!!

    Reply
  21. Manoj says:
    December 26, 2013 at 1:16 pm

    भाबुक छ! र गहकिलो पनि! कता कता इर्स्या पनि लाग्ने, किन अनमोलमणिहरु तिनै घटनाहरु सरर उतार्छन, मनै छुने गरि, म किन सक्दिन, भनेर! तपाईका पुस्तक हरु पढ्ने रहर जाग्यो, विदेशतिर कसरि उपलब्ध होलान कुन्नि?

    Reply
  22. Gita Adhikari says:
    December 26, 2013 at 11:40 am

    राम्रो लेख .जिबन को यथार्थ भोगाई. अझ आगाडी बढ्नुहोस
    शुभकामना

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme