Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समयान्तरका (लघु) कथाहरू

Posted on September 14, 2013September 14, 2013 by mysansar

– उत्तम पौडेल –

saturday-fiction १. ‘रिभर्स डिस्क्रिमिनेसन’
पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?”
मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”।
“जस्तै ?” उनले स्वाभाविक जिज्ञासा पोखिन्।
मैले पनि आफ्नो विद्वता छाँट्ने मौकाको फाइदा उठाउँदै सक्दो ‘वजनदार’ शब्दमा भनें –
“मेरी बुढी-बुढी हजुरआमाहरुले आफ्नो ख्वामितको दु:खद देहान्तमा मृत शरीरसंगै आत्मदाह गरे, सती भए।

मेरी हजुरआमाहरुले सुत्नुपुर्ब आफ्ना स्वामीको गोडामा तेल लगाएर मालिस मात्र गरेनन् ,बिहान सखारै उठ्नेबितिक्कै ढोगे पनि। मेरी आमाहरुले घरका सम्पूर्ण कामको कार्यभार र हामीलाई हुर्काउने जिम्मा समेत आफ्नै काँधमा लिए। तर आज तिमी दिनभरी घरमा तीन-न-तेह्रका सिरियल हेरेर बस्छेउ। म दिनभरीको अफिसको बोझिलो कामपश्चात बेलुकी मायालु बोलीले तिमीलाई ‘चिया बनाउ न सानु’ भन्दापनि टेरपुच्छर लाउन्नौ, उल्टै कुचो लिएर झम्टदैँ मलाई नै बेलुकाको खाना पकाउन लाउँछेउ। यहि हो ‘रिभर्स डीस्क्रीमीनेसन’ भनेको।”

मैले यत्ति बोलेको मात्र के थिएँ, मिलिक्क गर्दै एकैछिनमा श्रीमती गायब भईन्। यता-उता जताततै खोजें तर कहिँ कतै भेटिन। एकछिन पछि श्रीमतीको मोबाइलबाट फोन आयो। उठाएँ, सासु रहिछिन्। मैले ‘हेल्लो’ भन्न नपाउँदै बुढी फोनमै कड्किन्- “ छोरी रुँदै माइत आ’र बसेकी छ ज्वाईसाप। तपाइँको यो पारा ठिक भएन। तपाइँलाई हामीले छोरी दे’को गाली गर्न, हेप्न, खिसिट्युरी गर्न हो र ? महिला अधिकारकर्मी लगाईदिम् ?”

२.भिनाजुको जुत्ता:

रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको श्रीमती मात्र नभएर सीताकी बहिनी र रामकी साली थिए, पनि उक्त पुजामा सरिक भए। भाईहरुले खराउमा दाईको रुप देख्थे। सालीहरुले खराउमा भिनाजु, र भिनाजुमा भगवान देख्थे।

मेरो हजुरबाको बिहेमा चाहिँ सालीले उसिनेको आलु उहाँको जुत्तामा राक्नुभएको थियो रे। सालीको मन राख्नकै खातिर उहाँले जुत्ता लगाउँदा पैताला पोलेको अभिनय गर्नुभयो। उपस्थित सबै गललल हाँसे, रमाइलो भयो, परिवारबीच आत्मियता बढ्यो। बिहेपछि सालीले आफ्नी संगीनिहरुलाई भन्नुभयो- “ मेरो भिनाजु त कस्तो शालीन”।

मेरो बुवाको पालामा भने सालीले जुत्ता लुकाएर पैसा माग्नुभयो। केटा पक्षकाले “यो हाम्रो संस्कृति होईन, आयतित बिकृति हो” भनेर सम्झाएपछी जुत्ता फिर्ता भयो। बुबाकी साली ( मेरी सानीमा ) ले बिहेपश्चात आफ्नी साथीहरुलाई भन्नुभयो- “मेरो भेनाको परिवार त कस्तो ज्ञानी बाई !!”

मेरो पालो आयो। मेरो बिहेमा पनि सालीले जुत्ता भूमिगत परिन् , जुत्ताको मोल २० हजार तोकेर मेरो ओठतालु सुकाइन्। “आयतित विकृतिको” कुराले उनलाई चूँ पनि छोएन। गोलमेच सम्मेलन भयो। दुबैतर्फका २० वर्ष मुनिका ठेट्नाहरु बीच घरि श्लील त घरि घुमाउरो अश्लिल बाणीले एकअर्कालाई होच्याउँदै, चर्काचर्की बार्ता सम्पन्न भएपछि १० हजारमा कुरा मिल्यो। परिवारकै इज्जत दाउमा भएको हुनाले दाँतबाट पसिना चुहाउंदै मैले दश वटा हात्ती उनको हातमा थमाएँ।
बिहेपछि सालीले आफ्ना दोस्त र यारहरुलाई ग्रुप SMS, र फेसबुकमा लेखिन् –“ मेरो जिजुको परिवार त लास्ट चुँइया पो रैच यार 😛 … LOL !!”

———————————————

३.पाठशाला

हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा पढाए भगवान जप्छ, बाँचिन्जेल समाजमा नाम् कमाम्छ, मरेपछि सोर्गे जान्छ भन्ने मान्यता बनाए।

त्यसैले, हरिको हजुरबुबालाई नेपालकै संस्कृत बिधालयमा राखियो। जिल्ला र अंचलसम्म मात्र उनको नाम चल्यो। नेपाली स्कूल पढेका उनका साथीभाईले भने धेरै ‘प्रगति’ गरे। आफ्नो छोरोलाई पनि नेपाली पाठशालामा पढाए लोकसेवा दिन्छ , जागिर खान्छ, पैसा कमाउँछ भन्ने उनले मान्यता बनाए।

त्यसैले, हरिको बुबालाई नेपाली स्कुलमा राखियो। तानतुन गरि बि.ए सम्मको पढाइ सकेपछि लोकसेवाको आशिर्बाद ले उनि ‘सुब्बा साप’ भए। अंग्रेजी स्कूल पढेका उनका साथीहरुले भने धेरै ‘प्रगति’ गरे। आफ्नो छोरोलाई पनि अंग्रेजी पाठशालामा पढाए विदेश जान्छ, पैसा कमाउँछ, नेपालमा फर्केर सन्तोषले बाँच्छ भन्ने उनले मान्यता बनाए।

त्यसैले, हरिले अंग्रेजी बोर्डिंग स्कुलमा पढ्यो। ‘ताराबाजी’ नजान्दै ‘ट्वीकंल- ट्वीकंल’ गाउन थाल्यो। बोर्डिंगबाटै SLC, र निजि कलेजबाट +२ सकेपछी विदेश पस्यो। हिजोआज ऊ ‘सफल’ नेपाली भएको छ, आफ्नो बुवा र पुर्खाको सम्पूर्ण आशा-अपेक्षाहरु साकार पारेको छ, ‘अमेरिकी सपना’ बाँचेको छ, McDonald मा बर्गर बनाउँदै।

—————————–

४. लोरी

– जब मेरो हजुरबुबा बालक हुनुहुन्थ्यो, आफ्नी जननी संग कहनुहुन्थ्यो- ” आज निदरी देबी आउनुभयान।” बुढीहजुरआमा रामायण बाचन गर्नुहुन्थ्यो – ” एकदिन नारद सत्यलोक पुगीगया..”

– जब मेरो बुवा सानो हुनुहुन्थ्यो, आफ्नी माता संग भन्नुहुन्थ्यो- ” आज निन्द्रा परेन।” हजुरआमा सिलोकको भाका हाल्नुहुन्थ्यो – ” काग्-कोइली बनमा ढुकुर र जुरेली पंखीमा राम्रो मुजूर|”

– जब म बच्चा थिँए, मेरी आमालाइ भन्थें – ” निन्द्रा लागेन।” आमा गाउनुहुन्थ्यो -” ताराबाजी लै लै , मामा आए घोडा … ”

– हिजोआज मेरो छोरो उसको मम् लाइ भन्छ – ” निन्ला लाग्तैन।” मेरी हनी स्पाइडरम्यान, ब्याटमेंन र हेरी पोर्टरका कथाले निन्द्रालाइ निमन्त्रणा दिन्छिन्।

——

५. तातो पानी

” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै, कान नै झर्ने बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो।
” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी ट्वारट्वाराहट पोखियो।
” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ, टि.भी खोल्यो भने की क्रीकेट की फूटबल अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?” यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो उहाँको। मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो। बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले पिट्दै गर्दा, अचनाक आफ्नो पालो आगाडी नै पियुन दाइले घन्टी बजाउँदा ” लौ बचियो आज ” भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जाँदा।

कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाखा हुँ, अनि उनि मेरी आमा। तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो। त्यति नगरी चिया पाइँदैन। भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान। यसरी नै दिन बढ्दै थिए। दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि।

मेरो मनमा एक रत्ति पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी पिएर घ्यम्पो घट्छ भन्ने कुरामा। यदि यो साँचो हुँदो हो त भैंसी किन मोटा हुन्थे ? डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो। तातो पानी नपिउने घोडा-गधाहरु भने गैँडा जत्रो हुनुपर्थ्यो। सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो।

ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें। हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै मास्टरी पेसामा थिए। यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टुपुल्कियिन।

मैले बिनम्रतापुर्बक भने – ” मेरी माननीय बुडी, अब देखि म तातो पानी पीउँदिन है ! खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ।”

उनी एक्कासी मलिन हुँदै , मसिनो बोलीले भनिन – ” हो बुढा, तिम्रो कुरा ठिक हो। ”

मेरो पीडाको सुनुवाई भएकोमा मन खुशीले गदगद भयो|

तर यतिकैमा उनको बाक्य तन्कियो – ” एक गिलास तातोपानीले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर। अबदेखि चिया खायौ भने फेरी …..” भन्दै दह्रो मुड्की मेरो चुच्चो नाक तिर तेर्साइ।

मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरि एक गिलास तातोपानी मेरो भकुन्डे भुँडीभित्र खोत्याएँ।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्नका लागि पठाउन चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। प्रकाशनयोग्य कथाहरु स्टकमा नरहेकोले तपाईँको कथा तुरुन्तै प्रकाशित हुनसक्छ। कथाहरु सम्पादन नगरी जस्ताको तस्तै छापिने भएकोले कृपया शुद्धाशुद्धिसहित आफैले वा जानेका कसैलाई देखाएर आफ्नोतर्फबाट सबै मिलाएर कथा पठाउनु होला। ]

8 thoughts on “समयान्तरका (लघु) कथाहरू”

  1. Atul Pokharel says:
    September 15, 2013 at 1:18 am

    कथाहरुमा सेन्स अफ ह्युमर दरो रछ l रमाइलो लाग्यो l

    Reply
  2. Saru says:
    September 14, 2013 at 8:32 pm

    छोटो मिठो छिटो…कथा पढ्दा आज बडो आनन्दित भए….

    Reply
  3. Abhinav says:
    September 14, 2013 at 7:25 pm

    साधुबाद !! उत्तम जी र कथालाई माइसंसार मार्फत हामीलाइ उपलब्ध गराउने उमेशजी लाइ. धेरै समय पछि खाँटी नेपाली हाश्य लघु कथा पढ्न पाइयो आजको दिन सार्थक भयो
    राम्रो संग हास्न पाइयो
    धन्यबाद उत्तमजी

    Reply
  4. binu says:
    September 14, 2013 at 5:05 pm

    माथिको दुई वटा चै दाम्मी रै छ ।

    Reply
  5. Aakash says:
    September 14, 2013 at 3:57 pm

    आम्म्मामामा Unfortunately एस्तो मिठो लघु कथा हरु त हेर्नुस मैले आज सम्म पढे को पनि थिऎन र पढ्न पनि नपरोश ल मलाई पन पर्यो पर्यो भनेपछि १ पर्यो, २ पर्यो ३ पर्यो / ल धेरै धन्यबाध/

    Reply
  6. Niraj Joshi says:
    September 14, 2013 at 3:24 pm

    साह्रै राम्रो कथा हरु.धन्यवाद छ उत्तम पौडेल ज्यु लाई

    Reply
  7. बशन्त राज says:
    September 14, 2013 at 2:04 pm

    मेरो चाही एक नीति कथा छ / यो मैले महाभारतबाट लीए को हो / एक पटक बाघ, स्याल, कुकुर अनि न्याउरी मुसा को मित्रता भएछ / यी चार नित्र मिलेर एक मिर्गको सिकार गरेछन/ सबै मिलेर मित्रता गरेर सिकार गरेको हुनाले सिकार बाडने कुरा भयछ / तर लोभी स्याल भने एक्लै सिकार कसरि आफ्नो बनाउने भन्ने सोच्न थालेछ / यतिकैमा स्यालको दिमाग मा एक उपाय फुरेछ / अनि स्याल ले भनेछ ” साथी हो हामी सबैको मित्रता त यो संसारको लागि एक नमुना हो / हाम्रो मित्रताको संसारभर प्रसंसा हुन्छ / ” बाकी सबैले हो भनेछन / फेरी स्यालले भनेछ “हेर साथी हो एस्तो नुमुना पूर्ण मित्रतामा नीतिहीन काम गर्नु हुन्न / हामी सबै मिलेर सिकार गरायो / अब खानु अघि हात मुख धोयर भगवानमा अर्पित गरेर मात्र खानु पर्छ /” बाकी सबैले यो कुरा हो भने / फेरी स्याल भन्न थाल्यो ” हेर साथी हो अब भगवान लाई अर्पित गर्नु अघि नुहाउन जानु पर्छ तपाई हरु जानुस मैले अगीनै नुहाईसके / ” बाकी मित्र हरु हुन्छ भन्दै नुहाउन गए / नुहाएर सब भन्दा पहिले कुकुर आयो / कुकुर अको देख्नासाथ स्यालले खुरापाति कुरा गर्न थाल्यो / स्यालले भन्यो ” मित्र स्याल अगि बाघ ले तिम्रो बारेमा कुरा गर्दैथियो/” कुकुरले भन्यो ” तेस्तो के कुरा गर्यो र बाघ ले मेरो बारेमा /” स्याल ले भन्यो “बाघले भन्दै थियो यदि आज सिकार मिलेन भने यहि कुकुरलाई आजको आहार बनाउछु तर मिर्गा भेटियो अब कुनै डर छैन /” कुकुरले यो सुन्ना साथ भन्यो ” साथी मलाई यो मित्रता चाहीएन / तपाई हरु बाडेर खानु /” भन्दै कुकुर गाउ पस्यो / त्यस पछि नुहाएर बाघ आयो / बाघ अको देख्नसाथ स्यालले पुन खुरापाति कुरा गर्न थाल्यो / स्यालले भन्यो” अगि न्याउरी मुसाले तिम्रो कुरा गर्दै हास्दै थियो /” बाघले भन्यो ” किन मेरो कुरागर्दै न्याउरी मुसा हसेछा /” स्याल ले भन्यो ” जंगल को राजा भयर न्याउरी मुसा ले मरेको सिकार खाने भन्दै हास्दै थियो /” यो कुरा सुनेर बाघको आत्मसम्मानमा चोट लागेछ / अनि बाघ ले भन्यो ” तिमीहरु खायो त्यो सिकार मा मेरोलागि आफै सिकार गर्छु /” भन्दै जंगल को बाटो लगेछ / अब नुहाएर न्याउरी मुसा आयछ / स्याल ले सिधै कुरा गरेछ / “हेर साथी यो सिकार म एक्लै खान कुकुर र बाघलाई खुरापाती दिमाग लगायर पन्छाए / अब बाकी रह्यो तिमि र म / हामी दुई फाईट खेल्ने जसले जित्छ उसैको यो सिकर /” न्याउरी मुसाको त्यो स्याल को अगाडी के लाग्थ्यो र उसले पनि भन्यो ” सुन्न त सुनेको थिए स्याल को मित्रता ज्यान माथि खतरा भनेर तिमीले प्रमणित गरिदियो / भो तिमिनै खाउ त्यो सिकार / ” भन्दै न्याउरी मुसा पनि दुला तिर लगेछ / यो कथा अनि हाम्रो नेपाल को ४ दल मा कुन कुन चाही स्याल कुकुर न्याउरी मुसा बाघ हो ल त ? सिकार चाही आउने चुनाब ?? मिर्गा चाहि चुनाब को परिणाम/

    Reply
    1. Vicky Dev says:
      September 14, 2013 at 7:49 pm

      …….”सुन्न त सुनेको थिए स्याल को मित्रता ज्यान माथि खतरा भनेर तिमीले प्रमणित गरिदियो / भो तिमिनै खाउ त्यो सिकार / ” भन्दै न्याउरी मुसा पनि दुला तिर लगेछ / ”
      अनि?….
      यो सब गतिबिधि यौटा सिंह ले निहालिराखेको थियो | उसले यी चार ओटा मित्र हरु संगै भएको बेला आक्रमण गर्न सकेको थिएन | जब स्याल एक्लै सिकार खान लागेको थियो, तब स्याल को अगाडी प्रकट हुँदै भन्यो ” हेर स्याल, यो सिकार त मा मेरो ओढार मा लगेर खान्छु, अहिलेलाई तलाई नै खाएर मेरो धेरै दिन देखिको भोक मेटाउछु ” येति भन्दै स्याल को गर्धन मा आफ्नो बलियो पन्जा ले जोड ले हान्यो र स्याल को सिकार गर्यो |
      अर्थ?
      नेपाल का राजनीतिक दलहरु सबै स्यालहरु अनि ठुल्दाई (नेपाल को ठुल्दाई) चाहिं? बुझिहल्नुभायो नि हैन….

      Vicky Dev
      USA

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme