Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)

Posted on July 13, 2013July 13, 2013 by mysansar

-राजकुमार लामिछाने,हेटौंडा-

आदरणीय कवि ज्यू
साहित्यिक अभिवादन एवं जन्मदिनको सम्झना,
मेरा घरपट्टीका हजुरबा हजुरआमाले पितालाई र मावलीपट्टीका हजुरबा हजुरआमाले मातालाई जन्माउनै ढिलो गरेको हुँदा मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले हजुरको भौतिक शरिरसंग प्रत्यक्ष भेट गर्न नपाएकोमा मलाई औधी दुःख लागी रहेको छ । कच्चा उमेरको बच्चादेखि नै हजुरको साहित्यीक कृतिसंग मैले बडो प्रीति लगाएको छु । हजुरका साहित्यीक रचनाहरु सवै बेजोडका छन, तथापि कविता भने मलाई असाध्यै मन पर्दछ । त्यसैले सर्वप्रथम कविताबाटै हजुरप्रतिको सम्झनाको पोको फिजाउने धोको गरेको छु।

“बिन्ति डिठ्ठा बिचारी सित कति म गरुँ चुप रहन्छन् नबोली

बोल्छन ता ख्याल गर्‍याँ झै अनि पछि दिन दिन भन्छन भोली भोली

कि ता सक्दिन भन्नु कि त छिनी दिनु क्यान भन्छन यी भोली

भोली भोली हुदैमा सव घर विति गो बक्सियोस् आज झोली”

उतिबेलाका डिठ्ठा र बिचारीले गरेका कुरा हजुरलाई पुरा थाहा भएकोले यो कविता फुरेको हुनु पर्दछ । राणा शासनको समयमा रचना गर्नु भएको यो कविताले त्यति वेला हुने गरेको बेथितिको उजागर गरेकोले पञ्चायत कालभरी यसले असाध्यै चर्चा पाएको थियो । डिठ्ठाले मुद्दा छिन्थे भने विचारीले राय बझाउथे रे । ठुलै पद भएर होला दशैमा टिका लगाउदा समेत ठुला बडाहरुले आशिक दिदै बावु सरकारी जागिर खाएस डिठ्ठा बिचारी पायस भन्थे रे, तर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा यी पदहरु मध्ये डिठ्ठा भन्ने पद चाही तामेल्दारको उपाधी पाएर अहिले म्याद बोकेर गाउ घरमा गिठ्ठा खोजेर खाने अवस्थामा पुगेको छ भने बिचारीको पद चाही निचोर नाचर पारी खाई नै सकेका छन, मतलब सो पद खारेज भै सकेको छ । यदी हजुरलाई जानकारी नभयाको भया जानकारी गरायाको हुँ ।

कवि ज्यू , बाचुन्जेली अपमान मरेपछि सम्मान गर्ने नीति अहिले सम्म जस्ताको तस्तै छ । सत्ताका रोगी देखि भत्ताका भोगीहरु कुर्सिकै लागी लडी रहेका छन । नेपाली साहित्यमा कसले कति योगदान गरेको छ भनेर सोच्ने यहा कसैलाई फुर्सतै छैन । अघिपछि नभएपनि यस्तै जन्म दिन तथा अन्य कुनै सभा समारोहमा भने प्रशंसा गर्दै भावुक भएर “उहाँ महान हुनु हुन्थ्यो, उहालाई आदीकवि मात्र होईन पुरैकवि भने पनि केही फरक पर्दैन, नेपाली साहित्यका चम्किला तारा जो अहिले स्वर्गलोक निवासी भए पनि उहाले मर्त्यलोकमा पुर्‍याएको योगदानले उहाको नाम नेपाली साहित्यको आकाशमा सधै चम्की रहेको छ । परलोकमा समेत उहाको साहित्यीक सृजनाले यमलोक नै हल्लाओस भन्ने कामना गर्दछौ ” भन्दै तपाई जस्ता मुर्धन्य साहित्यकारहरुको सम्मान हुने सँस्कारको तिरस्कार भै सकेको छैन । यस वर्षको गणतन्त्र दिवसको अवसरमा समेत धेरैलाई मरणोपरान्त पुरस्कृत गरियो । त्यसैले न मलाई विर्सिएका छन की भनेर तपाईले कुनै चिन्ता गर्नु पर्दैन । फेरी तपाईको कतिपय कविताको भाव पनी त्स्तै छ नी हेर्नोस त !

“भरजन्म घाँस तिर मन दिई कन धन कमायो

नाम क्यै रहोस पछि भनेर कुवा खनायो

घाँसी दरिद्री घरको तर बुद्धि कस्तो

म भानुभक्त धनि भई कन क्यान यस्तो”

यो कविताको निचोडलाई निचोरेर हेर्ने हो भने पनि पछि नाम राख्नकै लागी केही गर्नु पर्छ भन्ने बुझिन्छ नी हैन र ? घाँसीले खनाएको कुवाँ मासिएको छैन तथापी पानी खान भने अहिले गाउँ गाँउमा धारा आईसकेकोले कुवाँको अलि वेवास्ता जस्तो भएको छ । कीर्ति राख्‍न खनाएको उक्त कुवाँमा पानी भर्न जादाँ कतिले मायाप्रीति लगाएर घरजम गरेका थिए होलान, अनि ती घासीसंग तपाईको भेटघाट हुन्छ हुदैन, भेट भएमा उनीलाई समेत मेरो तर्फबाट अभिवादन सुनाई दिनु होला ।

अनि तपाईका छिमेकी मित्र गजाधर सोतीको हाल खवर के छ ? एउटै शाखामा हुनु हुन्छ की अलग अलग ? कतै तपाइलाई अहिले पनि दुःख दिएका त छैनन नी ? तपाई साहित्यकार भएको हुँदा राम्रै स्थान पाउनु भएको होला अनि गजाधर छुल्याहा र मुल्याहा भएकोले पक्कै नराम्रो स्थानमा होलान भन्ने हाम्लाई लागीरा’छ । नेपालमा जस्तो सोझालाई सुली चोरलाई चौतारो त्यहाँ पक्कै हुदैन होला । यमराज निकै कडा छन निस्पक्षसंग निसाफ गर्दछन भन्ने सुनिएको छ । नेपालमा कस्तो निसाफ हुन्छ भन्ने कुरा तपाईलाई थाहै छ । यहाँ त अहिले खानलाई न धान छ न संविधान । ठुलाबडाले भूडी भरेको भर्‍यै छन, गरिब गरुवा खान नपाएर मरेको मर्‍यै छन ।

स्वर्गको कुरा गर्दा इन्द्रको वखान छुट्यो भने सो कथा अपुर्ण हुन पुगे झै हजुरको प्यारो अमरावती कान्तिपुरी नगरीको कुरा नगर्दा यो सन्देश पनि अधुरो हुन सक्छ । त्यसैले सानो प्रसङ्ग कोट्याउन लागी रहेको छु । कान्तिपुरीका बावु साहेवको अहिले सो नगरीबाट आफ्नो पगरी खोसिएकोले अन्तै डेरा सरेका छन, अहिले उनी भन्दैछन् :

“मेरा ललाटमा के लेखिएया दिया भावी भाग्या बनाया खोटो

डाक्टर अघिसर्न्या भया अहिले देखाउन्या मछिन्द्रको भोटो

छोरा मोरा वन्या सव मतलव छोडी दिया क्या भया हे हरी

छोड्नु पर्‍या भया मैले अव अमरावती कान्तीपुरी नगरी”

अरु सव ठिकै छ । के.पी.ओलीलाई सवैतिरबाट गोली लागेको छ । माधव नेपालको कपाल पुरै झरी सक्यो । शुशिल शुसेल्दै छन तर के भनेको हो बुझिदैन । साहानाको चाहाना सकिदैछ । सुर्य बहादुर केही अघि झण्डै हुर्य भएका । लोकेन्द्र पनि टोकेन्द्र जस्तै भै सके । रामचन्द्र १६ पटकसम्म चुनाव लड्दा समेत प्रधानमन्त्री हुन सकेनन, शेर बहादुरको लठेब्रो जिब्रो उस्तै छ चोर औलाले चस्मा मास्तिर सार्दै मलाइ.. मलाइ.. भनेको सम्म बुझिन्छ अरु केही बुझिदैन, । बैद्य र प्रचण्डको जुवारी चलि नै रहेको छ ।

अन्तमा , तपाईलाई एउटा खुशीको खवर सुनाउन चाहान्छु । यस हेटौडा नगरीको पुर्व तर्फ गढी गाउँमा तपाई कै नाउँमा संचालन भै रहेको भानु माध्यामिक विद्यालयको प्राङ्गणमा तपाईको सालिक स्थापना गरिने भएको छ । सालिकमा चराहरुले विस्ट्याउने, टाउकैमा आएर फोहर खुट्टाले कुल्चने, चुच्चोले दल्ने तथा कतिपय चराहरुले के जाती क्रिया समेत त्यही सालिक माथी आएर सम्पन्न गर्ने गरेका कारण तपाई हामी सवैलाई दुःख लाग्नु स्वभावीकै हो । अव त्यस्ता कार्यहरु हुन नदिनको लागी चराहरुकै भाषा वुझ्ने चरी दादा गौतम सापकोटालाई सो कार्यको जिम्मा दिइ चराहरुलाई त्यसो नगर्न अनुरोध गरिने भएको छ । यसपालीको हजुरको जन्म दिनको तिथिमा यिनै गन्थन मन्थन गर्दै यो विन्ति चढाउदो भया ।

इति

13 thoughts on “आदिकवि भानुभक्त आचार्यलाई चिठी (व्यङ्ग्य)”

  1. seema says:
    July 19, 2013 at 12:16 am

    सारै मज्जा आयो यो ब्यङ्ग पढेर

    Reply
  2. Raju Rana - Mahendra says:
    July 14, 2013 at 3:06 pm

    कति हास्नु भन्या म त हासेरै मर्ने भया — सारै राम्रो लेख लेख्या के बजिया ले –हसायो बा हसायो

    Reply
  3. Nipesh Adhikari , Germany says:
    July 14, 2013 at 12:00 pm

    धेरै quality को साहित्यक ब्यङ्ग्य !

    मन परे हरियो नपरे पनि हरियो !

    Reply
  4. निहारिका शर्मा says:
    July 14, 2013 at 10:37 am

    जे होस माईसंसारमा धेरै समय पछि राम्रो हास्यव्यङ्गय लेख पढन पाईयो । लेख उत्कृष्ट लाग्यो । वास्तवमा ‘मानव निर्मित गेट” भन्ने शव्द नसुहाएको जस्तो लाग्छ । त्यसको सट्टामा अर्को शव्द प्रयोग भएको भए वेस हुन्थ्यो । मलाई लाग्छ राजकुमार जीको लेख व्यङ्गात्मक लेख हो, भानु मात्र नभएर धेरै नेपाली साहित्यकारहरुलाई राज्यले गरेको उपेक्षा प्रतिको तिखो व्यङ्ग्य हो । यस्तो उत्कृष्ट रचना सृजना गर्ने राजकुमारजीलाई धन्यवाद दिनै पर्दछ । आगामी दिनमा पनि यस्तै रचना सृजना हुदै जावोस शुभकामना ।

    Reply
    1. सौदामिनी शर्मा says:
      July 14, 2013 at 1:04 pm

      निहारिकाजीको कमेण्टसँग सहमत छु । मानवनिर्मित गेट नभई हाड छाला मासुले निर्मित गेट भनिदिउँ न त । कसो ?

      Reply
  5. Dinesh Oli / Airport Customs Officer says:
    July 14, 2013 at 10:05 am

    आफ्नो आफ्नो प्रदेश हुनुपर्छ | आफ्नो आफ्नो भाषा हुनुपर्छ, नेपाली बोल्दैनौ भन्ने हरुलाई उतिबेलै अदिकाबी भानुभक्त ले झापड हानेका थिए ! यिनीहरु देश द्रोही हरुलाई फेरी एकचोटी झापड हान्ने बेला भएको छ !

    Reply
    1. Chetan Nepali says:
      July 15, 2013 at 8:09 pm

      एयर पोर्ट्मा बसेर देशको राजस्वो माथि खुलेआम बलात्कार गर्दै र मालिकको (कर तिर्ने जनताको) नुनको सोझो गर्नुको सट्टा, जुन थालीमा खायो त्यहि थालीमा छेद गर्दै तिनीहरुलाई बलात्कार गर्ने बानि भएका एकात्मकबादी(ब्रहामनाबादी) सोच भएकाहरुको बुद्धिमा लागेको खोया बिर्को नखुले सम्म यो नेपाल भन्ने देश उभो लाग्दैन !
      यो मूला time पास साहित्य ले कुनै परिवर्तन ल्यौदैना भन्ने हाम्लाई लैरछा !! अरु नमुना हेर्नु पर्दैन ” यहि भानुभाक्तेको “काल्पनिक घासिको कथालाई राम्ररी बुझे पुग्छ”. किन काल्पनिक भने अझ भन्दा कात्ति हो वर्षा पहिले तनहुको रम्घामा घास बेच्ने जुन कथा यस साहित्यमा समेटिएको छ त्यो केवल काल्पनिक हुन्, किनकि त्यो जमानामा घास किन बेच को परिकल्पना मात्रै सोच हुनसक्छ तर बास्तबिकता होइन भन्ने हाम्लाई लैराछा !!

      Reply
  6. DEEPAK SHRESTHA says:
    July 13, 2013 at 9:33 pm

    गजब लाग्यो …. धन्यवाद …

    Reply
  7. BT Malla says:
    July 13, 2013 at 8:01 pm

    राज कुमार जी तपाईं को विचार र लेख लाई सलाम !!!!!!

    Reply
  8. neerose says:
    July 13, 2013 at 4:19 pm

    ” मेरा बा, आमाले पनि मलाई मानव निर्मित गेटबाट यस संसारमा खसाल्न लेट गर्नु भएकोले”
    यो मानब निर्मित गेट भन्या के हो ?
    तपाइँ झर्नु भयको प्वाल मान्छेलेनै बनाइदेको हो र? भन्या! टेस्ट ट्युब मा बनाको भनौ भनेनी टेस्ट ट्युबको प्रथम मान्छेले त यत्रो भानुलाई चिठ्ठी लेख्ने बेला त भाछैन क्यारे!

    Reply
  9. Bimal Prasad Adhikari says:
    July 13, 2013 at 4:09 pm

    ज्यादै राम्रो लेख .

    Reply
  10. himal says:
    July 13, 2013 at 2:12 pm

    प्रभु मुर्खहरुलाई
    सद्दबुद्धी देउ, भानु जयन्ती अब यसरी सम्झन थालीएछ । हास्य ब्यङ्ग कस्तो ठाँउमा प्रयोग गर्ने भन्ने कुरा नै भुलिसके उपबुज्रुकहरुले । जय होस् मुर्खहरुको

    Reply
    1. निहारिका शर्मा says:
      July 14, 2013 at 10:39 am

      हिमाल जी तपाईले साहित्यको ब्यङ्ग्य विधा नवुझेको जस्तो लाग्यो । एकपटक राम्रोसँग अध्ययन गर्न आग्रह गर्दछु ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme