Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माकुनेको प्रचण्ड शल्यक्रिया

Posted on May 3, 2013May 3, 2013 by सूर्य खड्का

भनिन्छ अग्लो रुखलाई ज्यादै नै बतास लाग्छ। शारीरिक रुपमा औषत नेपाली उचाइका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक वा राजनीतिक रुपमा देशमा कांग्रेस र एकीकृत माओवादीमात्रै प्रभावशाली रहेको र त्यस परिप्रेक्ष्यमा एमाले भन्ने पार्टीको अस्तित्व गौण रहेको सन्दर्भलाई उत्तेजनात्मक भाषण शैलीमा उजिल्ाएपछि प्रचण्ड गर्जन उपर निकै बतास लागेको छ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डको दिमागी सन्तुलनमा नै तल्लो तहको टिप्पणी गर्दै प्रचण्ड चश्माको लेन्स परिवर्तन गर्न सुझाएका छन्। तिब्र कटाक्षपूर्ण प्रतिबादका साथ एमालेका अन्य नेताहरु पनि प्रचण्ड टिप्पणीको खरो प्रतिबाद गर्न छुटाइरहेका छैनन्। हुनतः ठूला नेताको ठूलै नेताबाट आलोचना हुनु अस्वाभाविक होइन। तर, २०४७ को संविधानका एक मस्यौदाकार, जननेता मदन भण्डारीको हत्यापछिको १५ वर्षे एमालेका सदाबहार महासचिव र भूतपूर्व प्रधानमन्त्रीसमेत भइसकेका नेता नेपालले प्रचण्ड गर्जनको उछितो काढीरहँदा आफ्नो हैसियत र गरिमालाई भने कायम राख्न सकेका हुन् कि हैनन् त? संविधानसभा जिउँदै हुँदा उनै माकुनेले कुनै एक सन्दर्भमा फटाहा उपमा दिएथे प्रचण्डलाई। त्यसउपर गहिरो प्रचण्ड चित्त दुखाई लगत्तै सार्वजनिक रुपमै माफी मागेका माकुनेले आफ्नो व्यक्तित्व समेतलाई पखाल्नेगरी प्रचण्ड कटाक्ष गर्नु चाहिँ कत्ति शोभनीय हो त?

झट्ट हेर्दा हृष्टपुष्ट माकुने स्वयंको दिमागी हाल चाहिँ कस्तो छ? उनका निजी चिकित्सकहरु नै जानुन्। तर, राजनीतिक सन्दर्भमा भन्ने हो भने देशको बेथितिपूर्ण वर्तमान वा तिनका एक शीर्षस्थ नेतामध्येका शीर्ष प्रचण्डलाई माकुनेको राजनीतिक दिमागी हालत चाहिँ फोहोर गर्नेलाईभन्दा देख्नेलाई लाजमर्दो भन्नेजस्तै छ। तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै गर्दा प्रतिगमन आधि सच्चिएको देख्ने स्वयं माकुने चश्माको पावर प्रचण्डबाट केही लाभ पाउन्जेल सही र केही पाउन छाडेपछि फरक हुन थालेको प्रतित हुन्छ।

राजीतिमा बोलिको अडान, इमान वा सच्याइको कुनै महत्व हुन्थ्यो भने गत संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुबै ठाउँबाट हारेपछि उपचुनाव लड्दिन, मनोनित हुन्न भनेर सार्वजनिक अभिव्यक्ति दिएको एकाध महिनामै प्रचण्ड आग्रहमा सुशिलचन्द्र अमात्यलाई बलिको बोको बनाएर जस्केलाबाट संविधानसभामा प्रवेश गर्दा चाहिँ माकुनेले कुन पावरको कस्तो चश्मा लगाएका थिए? यो उनको कुन स्तरको राजनीतिक दिमागी अवस्था थियो? प्रचण्ड प्रस्ताव स्वीकार गरेर गत संविधानसभाको एक विषयगत समितिमा जुँघा सुमसुम्याइ रहँदा प्रचण्डको चश्मा र दिमाग ठीक देख्ने माकुने चश्माले देशमा दलबिहीन सरकार बनाउने तहसम्म सहीछाप गरिसकेपछि एकाध राजनीतिक प्रसंगका कथनका जगमा टेकेर प्रचण्डलाई सत्तोसराप गरिरहँदा चाहिँ आकाशतिर फर्केर थुकिरहेको झैं भैरहेको छैन त?

साँच्चो अर्थमा राजनीतिक रुपले देशको दशा विगार्ने खलपात्र मध्येका नायकी भूमिकाका एक प्रतिक हुन् माधवकुमार नेपाल। जनताको बहुदलीय जनवादको प्रणेता स्व. मदन भण्डारीपछिको एमालेलाई न यता न उता बनाउने मुखिया हुन् उनी। एमालेलाई गत संविधानसभा चुनावमा तेस्रो पार्टीमा घटुवा गर्ने विफल राजनीतिक नेतृत्वका नाइके रहे उनी। जनआन्दोलन २०६२/०६३ अघिसम्म सत्ता र शक्तिका लागि कहिले तत्कालिन दरबार त कहिले दिल्ली धाउँदैमा फुर्सद वा विश्राम पाइदैनथ्यो उनको दिमागले। नारायणहिटी हत्याकाण्ड छानविन आयोगमा नबस्ने उनको कथित क्रान्तिकारिता नाशलचोकमा ज्ञानेन्द्रलाई दाम चढाउँदा पोखिएर छरपष्ट भएको कसलाई थाहा छैन र?

कुनै बेलाको बैंक खजाञ्ची माधवकुमार नेपालले बरिष्ठ एमाले नेता एवं पूर्व प्रधानमन्त्रीको पगरी त गुथाएकै छन्, त्यसबाहेक उनको चतुर्‍याइपूर्ण दिमागले स्वयंमलाई अदृश्य धनी मध्येका धनी कमरेडमा उभ्याएका छन्। २ वर्षे संविधानसभाले ४–४ वर्षसम्म संविधान लेख्न नसक्ने अवस्थाका एक सिर्जनाकार पनि हुन् उनी। कांग्रेस र एकीकृत माओवादीबीच राजनीतिक दुरी बढाउन केन्द्रीय भूमिका निर्वाह गर्नेमध्येका पनि हुन् उनी। संविधानसभाको स्वतः विघटनका एक रमिते मात्रै होइन, कारक र कारण एमालेसमेतलाई बनाउन उनकै तेज दिमाग समेतले निर्णायक चरण पार गरेको हो। समावेशी र संघीय शासन प्रंणालीको अवधारणालाई उनको दिमागले सही प्रमाणित गर्न सक्या भए त सिंगो केश एमालेकै जिन्दगीमा फुलाएका अशोककुमार राईहरुले किन संघीय समाजवादी पार्टीका नयाँ दस्तावेजहरुमा खोज्नु पर्दथ्यो र? रामचन्द्र झाहरु किन पेरिसडाँडाका सारथी बन्नु पर्दथ्यो र?

प्रचण्डको दिमागी हालत वा दृष्टि जाँच गर्ने माकुने प्रमाणपत्र प्रदायक चाहिँ को हो त? उनले यो विद्यावारिधि वा विशिष्ठता चाहिँ कहाँबाट पाएका हुन्? फेरि एकछिन मानौ प्रचण्ड उपरका उनका लान्छना वा टिप्पणीहरु सही छन् रे वा प्रचण्ड उनले भनेजस्तै हुन् रे उसो भए प्रचण्डलाई खुइल्याइरहने पात्र वा प्रवृत्तिको दिमागी हालतचाहिँ प्रचण्डको भन्दा पनि निम्न कोटीको हुँदैन, भएन त? यस अर्थमा उनी स्वयं झन निम्नस्तरका सावित हुँदैनन् त? जस्तो आफू उस्तै अरुलाई पनि देख्ने माकुने दृष्टि भएनत यो?

सक्षमता, चलख्याई, कपट, छलछाम वा रणनीतिक चतुर्‍याई जेसुकै हिसावले नेपालका साविकका नेताहरुमध्येका टाउरिङ्ग पर्सनालिटी हुन् प्रचण्ड। प्रचण्ड अग्लो राजनीतिक उचाइमा छन्, सुशील कोइराला, माधव नेपाल वा झलनाथ खनालहरुको हारमा। प्रचण्ड आफैं अग्लिएका हुन् वा माकुने, झलनाथ वा सुशीलहरु पुड्किँदै जाँदा उनी अग्ला देखिएका हुन्, त्यो त आसन्न चुनावले प्रमाणित गर्ला। तर, आफूलाई प्रचण्डको चश्मा र दिमागको शल्यक्रिया स्वघोषित चिकित्सक प्रस्तुत गरिरहँदा माकुने स्वयं नेपाली आख्यान अरुको आङमा जुम्रा हिँडेको देख्ने तर आफ्नो आङमा चाहिँ भैंसी हिँडेको पनि नदेख्ने प्रवृत्तिको प्रतिमूर्ति भइरहेका छैनन् र ?

53 thoughts on “माकुनेको प्रचण्ड शल्यक्रिया”

  1. Bhim says:
    May 14, 2013 at 2:29 pm

    अहिलेको नेपाली राजनीति मा प्रचण्ड शुर्य हुन् , शुर्य लाई कसैले नंग्लाले छल्छु भन्छ भने उ माहा मुर्ख सिवाय केहि हुन सक्दैन ………..

    Reply
  2. bishnu says:
    May 6, 2013 at 6:12 pm

    म प्रचण्ड को समर्थक होइन, प्रचण्ड को लाखौ गल्ति र कमजोरी छन् तरपनि दुइ दुइ ठाउँ वाट जनताले चुनेर पठाएको नेता लाई UML का वरिस्ठ नेता का प्रचण्ड प्रति को आरोप
    पाठक लाई पढनै कठिन भयो

    Reply
  3. Upama says:
    May 6, 2013 at 9:53 am

    येसरी प्रचण्ड वा माकुने को पक्ष वा बिपक्षमा बाद विवाद गर्नु नै बेकार छ. कुनै पनि हालतमा दुवै राम्रा नेता होइनन् तर दुर्भाग्य राम्रा नेता खोज्न कहाँ पो जाने हो ?

    Reply
  4. Bijay says:
    May 6, 2013 at 9:44 am

    चुनाबी चिया गफमा चार पाचजना युबाहरु एक आपसमा गफिदै थिए
    माओवादी पक्षले भन्दै थिए हामीसँग प्रचण्ड बाबुराम, प्रकाश, महरा र अनन्त जस्ता करिज्मा भएका नेता छन
    एमाले पनि के कम हामीसँग पनि गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे जस्ता नेताहरु छन
    कांग्रेस चुपचाप चकमन्न बसे
    त्यतिकैमा चिया पसलमा साहुले पनि थपे कांग्रेसमा पनि खुम बहादुर, चिरन्जिबी, गोनिञ्दा राज, कुजाता, मह? त, बले, जस्ता भ्रष्ट मठाधिसहरु छन नि ?
    अबको चुनाब के हुने जनता यसैको पर्खाईमा छ
    जनघाती देशघातिको अब के हुने हुन् खोई …

    Reply
  5. deepak says:
    May 5, 2013 at 10:45 pm

    कहाको प्रचण्ड कहाको अन्य तेलिहरु……

    Reply
  6. babu ram bhusal says:
    May 5, 2013 at 7:44 pm

    धन्य हो सुर्य जी,नेपाल को सिमाना को बारेमा जनमत संग्र गर्ने भन्ने नेता गुनगान गाउनु कत्तिको जायज होला, नेपाल नै रहदैन भने अरु के ? मलाई लागछा प्रचण्ड हाबी हुने हो भने कि नेपाल सिक्किमी कारण हुन्छा कि भुटानीकरण हुन्छा ,

    Reply
  7. ramesh says:
    May 5, 2013 at 2:32 pm

    सुर्य जी,

    स्तुतिगान गाउन त तपैले हज्जार जिब्र भएका शेष नाग लाई नि पछि पारिदिन सक्ने हुनुहुदोरहेछ ||

    Reply
  8. Jeevan Thapa says:
    May 5, 2013 at 9:06 am

    राजनीति भनेकै येही हो … जनताको अगाडी राम्रो देखिन एकले अर्को लै कटु सब्द प्रयोग गर्दै सानो देखाउने तर भित्र यिनी हरु एउटै ग्लासमा चिया पिउने साथी हुन्छन हाहा हाहा यो सब सोझा जनता को आँखामा छारो हालेको मात्र हो /

    Reply
  9. Samir shrestha says:
    May 5, 2013 at 7:50 am

    मान्छे बिग्रेर प्रचण्ड बन्न सक्छ तर प्रचण्ड सप्रेर कहिल्य मान्छे बन्न सक्ने छैन |

    Reply
  10. लोकेन्द्र खापुङ says:
    May 5, 2013 at 1:26 am

    सूर्य खड्काका विगतका धेरै लेखहरू राजावादी हुने गर्थे र उहाँप्रति मेरो पनि सोच सकारात्मक थिएन। तर यस लेखमा उठाइएका विषयवस्तुहरू अकाट्य छन्। कतिपयलाई खड्काको लेख पचिरहेको छैन। कुनै मानिस गलत भए पनि उसले सही कुरा गर्‍यो भने त्यसलाई स्वीकार गर्नुपर्छ।

    नेकपा एमालेमा तीब्र पहिरो गइरहेको बेला चीनले प्रचण्डलाई राजकीय सम्मानका साथ निमन्त्रणा गर्दा माकुने, ओली र झलनाथ सबैको मथिंगल घुमेको छ। यसै हतास मानसिकताको प्रष्फुटन हो माकुनेको बोली। हुन त माकुनेको बोलीमा कहिल्यै भाँती हुँदैन। एमाले पुड्किनुका अनेक कारणमध्ये माकुने र ओलीहरूको तुच्छ बोली पनि हो। अरूलाई गलत भन्दैमा आफू सही भइन्न।

    एमाले न त साम्यवादी रह्यो न त पूँजिबादी बन्यो। अर्को शब्दमा उ न त भाले रह्यो न ‌त पोथी। अबको चुनावपछि एमाओवादी, कांग्रेस र क्षेत्रीयवादी दलहरूमात्र शक्तिमा आउने छन्। एजेण्डाबिहीन एमाले र वैद्यको ड्यास माओवादी चुनावमा रमितेबाहेक केही हुने छैनन्। मुलुकमा परिवर्तन चाहने एमाले र ड्यास माओवादीका जुझारु कार्यकर्ताहरू आजै यी तीन शक्तिमध्ये आफूलाई उपयुक्त लागेको दलमा समाहित हुनु नै उहाँहरू र देशको लागि फाइदाजनक छ। माकुने र वैद्य जस्ता कुहिरोका कागहरूको पछि लागेर आफूलाई जिउँदो शहिद नबनाउनुस् कमरेड!

    Reply
    1. ramesh says:
      May 5, 2013 at 11:47 am

      हैन के राजनीति मा अतिबाद मात्र चल्छ ??
      अनि राजनीति पार्टीको नि लिङ्ग हुन्छ ?
      तेसो भए तपाइको शब्द मा माओबादि भाले कि पोथी ? अनि कांग्रेस ??
      कि तपाइको सोचाइ मात्र लिङ्ग केन्द्रित हो ?

      Reply
      1. आलोक चौधरी says:
        May 5, 2013 at 6:21 pm

        दलहरूको लिंग हुन्छ नि, किन नहुने! एमाले ट्रान्ससेक्सुअल माने हिंजडा याने छक्का हो क्या। तपाईंलाई अझै थाहा छैन? हत्तेरी, यसो पत्रपत्रिका त पढ्ने गर्नुस् यार।

        Reply
  11. Ngwang says:
    May 4, 2013 at 9:16 pm

    कांग्रेस एमाले एमाओ सबै एक अर्कालाई संबिधानसभा बिगठनको दोष थोपरछन् यदि सबै चोखा भए झुटा को ? प्रचन्डले आफु झुटा भए संबिधानसभाको पुनस्थापना गरौ यो मुलुकको लागि किफायत र सजिला हुन्छ भन्ने कुरा सुझाएकै हुन् तर किन कांग्रेस एमाले मानेन यो प्रष्ट छ संबिधान भन्यो भने लुटको संसार भत्कन्छ . यो मानेमा कांग्रेस एमाले दोषी छ
    माकुने जस्ता चुनाब हरुवा कुजाता जस्ताहरु प्रम र उप प्र म भन्नु नै देशको दुर्भाग्य शुरु भो जनताले दुख पाउनु सम्म पायो . अनि शुशिल जस्ता दरौटि समेत जफत भएकालाई कांग्रेस एमाले अराण्य रोधन सहित प्रम बनाउने जिद्दी र आन्दोलन गर्नु यो देशको दुर्भाग्य नै हो यसर्थ सबैले विधिको पालना गरौ .

    Reply
  12. नवीन रायमाझी says:
    May 4, 2013 at 7:06 pm

    यिनीहरु दुवै को स्कुलिङ्ग एउटै हो, भित्र भित्र एउटा कुरा बाहिर एउटा कुरा, सबै सोझा जनता लाई जुलुस मा लग्ने दाउ मात्र हो.

    Reply
  13. Toyannath Dahal says:
    May 4, 2013 at 6:47 pm

    तपाईले उठाएका यति धेरै सवालहरु ठिक र अकाट्य छन । अब हेरै एमालेका कुनै नेताहरुले यावत सवालमा कस्तो टिप्पणी प्रस्तुत गर्नेहुन ।

    Reply
  14. Basanta Thapa,Maryland,USA says:
    May 4, 2013 at 6:21 pm

    म मात्र सहि र ठिक छु अरु सबै बेठिक भन्दै जनतालाई बलिको बोको बनाउने र देश लाइ जर्जर अबस्थामा पुर्याउने आज सम्म का यी सबै राजा ,नेता र जनता नेपाल बिग्रनुका कारक हुन् \ देश लाइ यस्तो अबस्थामा पुर्याउने र संमाजलाइ अपराध र अराजकताको आगनीमा सुताउने आजका कुनै पनि नेता को पक्षमा बोल्नु र कुनै लाइ ठुलो देखाउन खोज्नु भनेको फेरी देश र जनतालाई अध्यारोमा धकेल्न खोज्नु हो \ आजका सबै नेता अयोग्य ,असक्षम र खुरापाती हुन् यी नै ले देश डुबाएका हुन् \ हाल को अबस्थामा नेता र पार्टीको बिकल्प नभैरहेको अबस्थामा दुइ पार्टी मात्र रहनु पर्छ काग्रेश र कम्युनिस्ट \जो रहुन या नरहून कुनै माया ,पक्षताप छैन \धेरै नेता र पार्टी भएको कारण नेपाल मा अराजकता भएको हो \ आजै बाट रोजौ प्रजातात्रबादी मा कांग्रेश ,बामपन्थिमा कुनै एक \ यस्तो लहर ल्याउ नेता र पार्टी किनारा र धुर्बिकरण हुदै जाउँन \

    Reply
    1. Binod says:
      May 5, 2013 at 3:40 pm

      म मात्र सहि र ठिक छु अरु सबै बेठिक भन्दै जनतालाई बलिको बोको बनाउने र देश लाइ जर्जर अबस्थामा पुर्याउने आज सम्म का यी सबै राजा ,नेता र जनता नेपाल बिग्रनुका कारक हुन्

      Reply
  15. द्रोण says:
    May 4, 2013 at 5:26 pm

    माकुने —-महिसासुर
    प्रचण्ड—भस्मासुर

    दुवै असुर हुन् सुर्य जी |

    Reply
  16. धरणी says:
    May 4, 2013 at 5:15 pm

    बाजेलाई तह लाउनु बाजेले नै जान्दछ भनेको यही हो|
    दुई दुई सीटबाट शर्मानक रुपमा हारेको माधव नेपाललाई गुण सम्झला भनेर गिरिजाको
    बिरुद्ध लड्न हतियार बनाउन जालमा संबिधान सभामा आउँन आग्रह गरे|
    तर प्रचण्डका लागि उनी सर्पलाई दुध खुवाएको बराबर साबित भए|
    वास्तवमा एमाले एउटा संगठित पार्टी थियो, फिल्ड लेभलमा समर्पित कार्यकर्ताहरु थिए| राजाको पालामा कार्यकर्ताहरुले असुविधा र कष्ट भोगेर पार्टी हितमा काम गरे| मदन भण्डारीले अझ सुदृढ बनाए| तर उनको आकस्मिक मृत्युपछि माधव नेपालको नेतृत्वमा नेत्रत्व पक्ष संधै ढलमलायो|
    जसले अहिले पनि जँहा रहेर पनि म एमालेको कार्यकर्ता हुँ वा एमालेको पक्षधर हुँ भन्ने सोच्छ उसले यो बुझ्न जरुरी छ कि एमाले अहिले के हो? कम्युनिज्मको एउतै पनि फिलोसफी लाई व्यवहारिक रुपमा आत्मसात गर्न नसक्नेलाई कसरी एमाले भन्ने? अहिले आएर राजाको प्रत्यक्ष शासनमा मन्त्रि बनेका मैनालीको आवश्यकता महसुस गरिरहेछ एमालेले|
    एमालेले यतिका मौका पाउँदा पनि सठिक काम गरेनन| भौतिक रुपमा जिल्ला अफिस निर्माण तिर मात्र लागे| तर पार्टी प्रति आस्था धस्केको नेतृत्व पक्षले वास्तै गरेनन|
    यसमा धेरै दोष माधव नेपालकै छ| उनी सत्तामुखी, पावारमुखी, धनमुखी र सन्तानप्रिय भए| जनता र कार्यकर्ता मुखी हुन चाहेनन् वा सकेनन|
    यही हो माधव नेपालको मुल्यांकन| खगेन्द्र संग्रौलाले चिरफार गर्ने गरेको बेला बेलामा पढ्न पाईन्छ| माधव नेपाललाई उनी असक्षम ठान्दछन|
    खोई एमालेका फिल्ड बेस्ड कार्यकर्ताहरुका बिचार र माधव नेपालको मुल्यांकन?

    Reply
  17. बिष्णु रिजाल , says:
    May 4, 2013 at 2:44 pm

    सुर्य जी को लेख को बिषय बस्तु गहन हुदाहुदै र दुइ नेताको भासिक छुद्रता कोट्याउदै गर्दा स्वयम आफुपनि शाब्दिक छुद्रता को अलौकिक शिकार हुनुभएको छ |

    Reply
    1. mahesh says:
      May 4, 2013 at 5:04 pm

      छोटकरी मा के हो भने प्रचण्ड ले भनेको ” कि एक शक्ति को प्रतिनिधित्व गर्ने कांग्रेस, कि अर्को शक्ति को प्रतिनिधित्व गर्ने माओबादी छ देश मा एमाले कतै छैन” यो भनाइ राजनैतिक भनाइ हो. र ब्यबहारिक अर्थ मा हेर्ने हो भने १००% सहि हो. के हो त एमाले को चिनारी? त्यो एमाले जो आफु कांग्रेस भन्दा पृथक एजेन्डा बोकेको पार्टी हो भनेर सार्बजनिक घोषणा पनि गर्न सक्देन अनि राजनैतिक जोड घटाउ मा कांग्रेस को भात्री संगठन को जस्तै ब्यबहार गर्दछ भने, खोइ त एमाले? यो सवाल लाइ लिएर माधव नेपाल ले जुन हैसिएत ले बोले नि, त्यो अत्यन्त क्षुद्र पन हो. र कुनै हिसाब ले पनि राजनैतिक कुरा होइन. हामि शायद ८-९ बर्ष को उमेर मा भन्ने गर्थेउ साथि संग झगडा हुदा, त चोर तेरो बाउ चोर, त पागल तेरो बाउ पागल…………………………………. जस्ता कुरा . यो भन्दा तात्विक रुप मा कुनै फरक छैन माधव नेपाल ले बोलेको कुरा. अनर्थ नलागोस, यो स्तर को कुरा गर्ने लाइ गाउ घर मा पधेरनी …………को उप मा दिएञ्च. प्रचण्ड लाइ जति सराप्दा पनि केहि भएन उल्टो उदयीमान शक्ति रास्ट्र चाइना ले दक्षिण एसिया मा नै सबै भन्दा बढी प्रथामिकता दिएर निमन्त्रणा गर्दै राजकीय सम्मान दिए पछि त के सन्तुलन मा रहला र अब माधव नेपाल, झलनाथ, केपी ओली, कनक मणि हरु को दिमागी हालत.

      Reply
      1. ramesh says:
        May 5, 2013 at 12:20 am

        ये…. अनि बहुदल मा आउने कमुनिस्ट हरु समर्पणबादी भन्दै मदन भण्डारी को जबज को सिद्दान्त लाइ च्यातेर लादेन बाटै जनबाद ल्याउने भनेर हिड्या माओबादि को अहिलेको स्थिति मा नैतिक धरातल के हो ?

        चुनाब मा आउन कसले रोक्य थियो तेतिबेला ?? यो हत्या हिँसा को आधार के हो आखिर बहुदलिय चुनाब मा आउनु थियो भने ??

        Reply
        1. mahesh says:
          May 5, 2013 at 6:12 pm

          रमेश जी
          ४८ साल को चुनाव, ज्ञानेन्द्र ले गरेको नगरपालिका को चुनाव र संबिधान सभा को चुनाव को तात्विक अन्तर छ कि छैन? के ४ खुट्टा हुने जति सबै एउतै जाति का जनवार हुन्छन?

          Reply
  18. Bhakta says:
    May 4, 2013 at 2:02 pm

    सुर्यजिको लेखले राजाबादी र एमाओबादी मिलेको भान हुञ्छ…. ल गरि खाऊ !

    Reply
  19. raju says:
    May 4, 2013 at 1:44 pm

    चोरको बाउ चण्डाल, चण्डालको पनि बाउ को? हामी जनता!!!!! आफ्नो स्वार्थको लागी लगेर गद्दीमा विराजमान गराई खाउ बाबा खाउ भन्दै गुलियो खिर खुआये पछी, नेता त के नेताका मरिसकेका बा पनि जुरुक्क,उठेर खान सुरु हुन्छन! रगत पिउनेहरु लाई दूधको खीर!!!!!!!!

    Reply
  20. Bikash says:
    May 4, 2013 at 1:18 pm

    यहाँ बुझ्नु पर्ने कुरा के छ भने दोष पद्दति को होइन प्रबिती को हो| जसले ज भने पनि हाम्रा कोइ नेता -नेता बन्ने लायाक छैन ! देश भन्दा पाटी ठुला देख्ने नेता लाई आउने चुनाव मा बहिस्कार गरौ !

    Reply
  21. Nik says:
    May 4, 2013 at 11:45 am

    मलाई यस पटक सुर्य खड्का जी को लेख पढेर सार्हैनै दुख लाग्यो|दुख लाग्नुको कारण चैं मा कु ने लाई होच्च्यायेर कातिल (पु क दा एण्ड कं) को गुण गाउनु भएको भन्दामा पनि उहाँले प्रयोग गर्नु भएको शब्दहरु सार्है नै तल्लो स्तर र घटिया बिहारी स्टाइलको भा भएर हो|हामि नेपालीहरु यति सम्म गिरि सकेका रहेछौं भन्ने उदाहरण हुन सक्छ, यस पटक को सुर्य खड्काको लेख|यसले गगने जस्ता माओ-वादीका पिछलग्गुका लागी त “जदौ देखि स्वर्णिम” लाग्लान तर म जस्ता प्रजातन्त्र प्रेमी र संधैनै सुर्य खड्का को लेख पढ्नेका लागि चै लाजले शिर निहुरिने भाषा प्रयोग गरि लेख्नु भएको छ| यो लेख खासै मा भन्ने हो भने मेरो संसारको रिभ्युअर हरुले अस्विकार गर्नु पर्ने हो तर प्रकाशीत गरिदिनु भो जुन कुरा पत्रकारिताको र आम मानिसको लागि ठिक होइन|सुर्य खड्काले यस्ता शब्दहरु प्रयोग गरेको मा आम हामी ब्लगर संग क्षमा मागे मागुन नमागे नामागुन, म उनको तर्फ बाट क्षमाप्रार्थी छु|

    Reply
  22. SURENDRA hongkong says:
    May 4, 2013 at 11:41 am

    देस का खलनायक हरु को नाटक बाट वाक्क भएका हामी लाई सर ले पनि त्यहि औसधि खुवाएर झन् मुखै तितो बनाई दिनु भो तर जे भए पनि तपाई को लेख लाई साधुबाद दिन्छु / र को कस्ता नेता हुन् भन्ने हाम्रा गाऊ का जन्म जात बोल्न न सक्ने साहिला काका लाई पनि थाहा भएको नै हो/यी सबै यौटै थाल मा खाएर जनता को शरीर मा सुची गर्ने फटाहा हुन् भन्न म कन्जुश गर्दिन /

    Reply
  23. Ekraj says:
    May 4, 2013 at 10:40 am

    हेर्दै जाऊ अब यो बहसले कुन दिशा लिने हो| मलाई त के लागिरहेछ भने यी इतिहास का दुइ फटाहाको चरित्र माथि धेरै ले धेरै समय बर्बाद गर्नेछन|
    एउटाले ले सर्बहाराको सपनाको सिडी चढेर महल मा राज गरि राखेको छ भने अर्को चै सधैको हरुवा पानीमरुवा नामर्द, लालची हुति नभएको लोभी पाखण्डी हो |
    दज्नु पर्दा सर्बहाराको नाममा बेतिथी निम्त्याउने लाबरिश प्रचंडे ले आफ्नो मौलिकतोको परिक्ष्याँ गर्न daraayena| तर माकुने भने प्रगतिशील राजनीतिमा प्रवेश गर्नु भन्दा पहिलेइ कुयेरा खुइलि सकेको स्वार्थी नामर्दलाई सित्तिमा अर्को मौका दिएर समाएर स्रोत को हिनाबिना मात्र भएन , राजनीति नै दिशाहीन बनाएरै छाड्यो| माकुने चरित्र नभएका दलाल हरुको नेताहो भने, प्रचंडे अनपढ र केहि ज्यान मारहरुको नेता हो|
    अब आफै भन्नुश यिनी हरु के हुन्?

    Reply
  24. पुष्प says:
    May 4, 2013 at 9:25 am

    भारतमा जन्मेको ‘नेपाल’ … भारतको चाकडी गर्नुसम्म गर्दा पनि हात लाग्यो शून्य (राजनीतिकरूपमा) भएपछि मानसिक विचलन त स्वभाविक नै हो ।

    Reply
    1. ramesh says:
      May 5, 2013 at 12:22 am

      हैन माओबादि पार्टी कहा जन्मे -हुर्के को हो ? अनि कसले कसरि हुर्काको हो ??

      Reply
    2. Anoop says:
      May 5, 2013 at 4:37 pm

      धनयुद्ध को बेला प्रभुको मा बिन्ति पत्र चडाउने को नि ? “हामी भारतलाई हानी नोक्सानी के के जति (तिनीहरुको क्रान्तिकारी भाषामा) गर्दैनौ ” भनेर हार गुहार मागेको होइन र 😀

      Reply
  25. सन्देश says:
    May 4, 2013 at 9:08 am

    हुनत माकुने पनि नेता हुने खालको मान्छे त होईन तर खड्का जि को प्रचन्ड जस्तो बकम्फुसे र धुर्त को कुरा खुबै मन परेछ कि के हो माकुनेको त जरै उछितो काड्नु भो। हिजो खान नपाउने प्रचन्डे आज नेपालीहरुलाई बेवकुफ बनाई जनताको रगत को होली खेल्दै र तिनै जनतालाई जातियताको कुरा निकाली भेडा बाख्रा बनाएको र आफ्नो र आफ्ना आसेपासेको जिबनशैली लाई मात्र पोषण गर्नेको कुरा पत्याउने खड्का जी जस्ता आलु पत्रकारको लेख कुनै दम छैन। देश मा अराजकता निम्त्याउने र कुनै काम पनि अगाडि बड्न नदिनेमा ५०% माओबादीहरु ३०% पत्रकार र २०% नेका एमाले नै हुन्।
    अस्ती पारसको पैसा खाएर पारसको गुन गान गायो त्यो भन्दा पनि बढि पैसा लुटेरा दल प्रचन्डे पाटी ले दिए जस्तो छ है। फेरी कुन दिन गच्चेदार को गुन गान सुन्न पाईने हो हाम्रा बरिष्ट खड्का जि बाट।

    Reply
  26. Dev says:
    May 4, 2013 at 8:31 am

    प्रचण्ड को अंदो भक्ति ! आज देसको यो अवस्था पुराउने को हो ? सारा नेपाली लाई थाहा छ !

    Reply
  27. Abhinav says:
    May 4, 2013 at 8:06 am

    येत्तिका नेपाली ले नचाहँदा नचाहँदै पनि यिनै भुस्या नेता हरु लाइ बेहोर्न पर्ने
    होइन गाँठे हाम्रो पुर्पुरो नै तेसतई होकी बुद्दिमा बिर्को लागेको हो ?

    Reply
  28. bibek dhakal says:
    May 4, 2013 at 8:03 am

    हाहाहा! सुरु भयो जस्तो छ चुनाब को रौनक माइसंसारमा: अब दुइ पक्षका सपोरटर हरुको आरोप प्रत्यारोप हेर्न पाइन्छ – एउटाले ” तिमेरको माओवादी यति मान्छे मार्ने, यस्तो विध्वंस गर्ने, देश टुक्र्याउने, जात जात लडाउने” आदि अनि अर्को पक्षले ” कम्युनिस्ट को नाम बद्नाम गर्ने, ढुलमुले प्रवृती भाको, कांग्रेस हो कि कम्युनिस्ट छुत्याउन नसकिने, भ्रस्टाचार लाइ प्रस्रय दिने , खालि कार्यकर्ता नेता पोस्ने…” आदि इत्यादि!
    हाहा ठिक छ ठिक छ

    Reply
  29. punya hawaii says:
    May 4, 2013 at 6:04 am

    सत प्रतिशत शहि टिप्पणि ।दलालको भन्दा बढि अबसर बादि निति बोकेको एमालेको बरिष्ट नेताको पगरी नै गलत हो।प्रचण्डकै कृपाले यो जिबनमा पाउन नसक्ने प्र.म. बने पछि सम्बिधान लेखनमा सिन्को नभाच्ने अनि सचिबहरुलाई गाली गर्दै सबैभन्दा बढि देशको ढिकुटी दुरुपयोग गर्ने माकुनेले एमाओबादिले गर्दा सम्बिधान बनेन भन्नु साच्चै आकासतिर फर्केर थुक्नु हो।माकुनेको यस्तो अरण्य रोदन अब जनताले सुन्दैनन।

    Reply
  30. sunil says:
    May 4, 2013 at 4:52 am

    म कुनै पार्टीमा विश्वास गर्दिन/ तर मलाई सबैभन्दा मन नपर्ने पार्टी माओबादी हो/ किन कि एसले मेरो देशलाई बिगत १० वर्ष मा दुंगे युग मा मात्रै पुरययेअ अझ बादी अराजकता,हत्या हिंसा, डकैति कब्जा जस्ता नराम्रा कुरा पनि भित्रायो निजि स्वार्थको लागि/ यो सबै कुरा प्रचण्ड भक्ति हरुको कृपा ले नै सम्भब भएको थियो र छ पनि/
    तर मलाई यो लेख को लेखकजी पनि प्रचण्ड भक्ति गर्नेनै हुन् कि जस्तो आभास भयो/ कुनै पनि पर्निले आफूमाथि आइलाग्दा प्रतिकार त गर्छन हैन र/ मलाई माकुने पनि मन पर्दैन /तर एउटा बाटोमा हिड्ने भुसिया कुकुर लै पनि येदि डुंगा हान्छ भने या त कुऎ कुऎ गरेर भाग्छ या त झाम्तिना आउछ/ माकुने ले नि तेही गर्यो / तेस्मा उसको पर्सनालिटी तल झरेको भन्ने त कुरै आएन/
    यो त सत्य नै हो आफ्नो स्वार्थ बाहेक देसको मतलब नगर्ने नेता र तेस्तो नेताको हनुमान हरुको कुनै पर्सनालिटी नै हुदैन / माकुने ले आफुले डुंगा खादा प्रतिकार गरेको स्वोभाबिकै हो/ देश बिगार्न नेता भन्दा नेताको हनुमान हरुको बढी हात छ/ जसले आफ्नो नेताले गलत काम गर्दा पनि समर्थन र वावा गर्छन/

    Reply
  31. babu kaji shrestha says:
    May 4, 2013 at 4:48 am

    सुर्य जी, हजुर कै शब्द सापटी लिदै अनुरोध गर्न चाहन्छु, “राजीतिमा बोलिको अडान, इमान वा सच्याइको कुनै महत्व हुन्थ्यो भने………” तपाई ले उल्लेख गर्नु भएका कुन चाही गुण हजुर को महान प्रचण्ड ज्यु मा पाउनु हुन्छ छाती मा हात राखेर भन्नुस त ? बैंक खजाञ्ची माधवकुमार नेपाल ले चतुर्‍याइपूर्ण दिमागले स्वयंमलाई अदृश्य धनी मध्येका धनी कमरेडमा उभ्याएका छन् भनेर पक्कै पनि ठुलै अनुसन्धान बाट प्राप्त रिपोर्ट को आधारमा नै भन्नु भयो होला तर महान सर्बहारा पार्टीका सर्बोच्च कमान्डर को सर्बहारा चरित्र को बारेमा पनि थोरै जानकारी गराई दिनु हुन्छ की ? प्रचण्डको दिमागी हालत वा दृष्टि जाँच गर्ने माकुनेको विद्यावारिधि वा विशिष्ठता को गहन प्रश्न उठाउनु भयो नै तर कृपया “नेपालका साविकका नेताहरुमध्येका टाउरिङ्ग पर्सनालिटी हुन् प्रचण्ड” भनेर सर्ब मान्य सिद्दान्त कुन नैतिक धरातल र अनुसन्धान बाट प्राप्त रिपोर्ट को आधारमा निर्क्योल निकाल्नु भयो त्यो पनि जानकारी गराई दिनु हुन्छ की ? अनि झिजो लाग्दैन भने, एमाले भन्ने अब पार्टीनै छैन भन्ने अनि त्यसको दुइ दिन पछि मैले त्यसो भनेको होइन भन्न पनि पछि नपर्ने महान सर्बहारा पार्टीका सर्बोच्च कमान्डर प्रचण्ड ज्यु को बौद्दिकता अनि विद्यावारिधि वा विशिष्ठता को बारेमा पनि जानकारी गराई दिनु हुन्छ की ?
    जय होस् |

    Reply
  32. Abhinav says:
    May 4, 2013 at 4:26 am

    एउटा कुहिएको आलुले सम्पूर्ण आलुको बोरालाइ दुर्घंदित बनाउछ
    यहाँ त सबै आलुनै कुहिएका छन
    टोल छिमेक सम्म गन्हाई सक्यो
    अब यिनी कुहिएका आलुको बात मारेर समय खर्च नगरम
    नेपालको कुनै पनि मान्छे लाइ अब यिनी आलुहरुले केहि गर्छन भन्ने पट्टक्कै विश्वास छैन
    बरु चुनाव भयो भने सक्दो रुपमा यिनी आलुहरु लाइ पाखा लगाउन एकमत हौं
    मात्र नया र युवा अनुहार जस्तै गोकर्ण बिष्ट

    Reply
  33. KIran says:
    May 4, 2013 at 4:20 am

    कामरेड पुष्पलाल, कामरेड मनमोहन जननेता वि पि लाई जनता ले दिलै देखि सम्मान गर्छन | अफसोस, आजका नेताले धन त कमाए तर जन इज्ज़त गुमाए | सर्प को खुट्टा सर्पले नै देख्छ, होइन र?

    Reply
  34. गगने says:
    May 4, 2013 at 3:23 am

    जदौ!
    सुर्यले माकुने माथि खड्का चलायो!
    सूर्यलाई पतनोन्मुख बनाउन उध्धत्त माकुने हरुलाई सुर्यले बल्ल चिन्यो जस्तो छ है!
    पतन र पतित हरुकोधेरै कुरा गरि बहस गर्नु सायद जिवन ब्यार्थ गर्नुहोला!
    माकुने यो देशको सबैभन्दा पतित र निंच नेताहोला, यो भन्दा पतित र निंच अर्को कुनै नेता हुनसक्छ भने त्यो ओली होला!
    ओली र माकुने मा कुन तल्लो हो भनेर चाहि म ठोकेर भन्न सक्दिन है तर यी दुवै पतित र निंच तल्लो र छुद्र स्तरको मान्छेहो भनेर ठोकुवा गर्न सक्छु!
    सुर्य खड्काले जे भनेको र लेखेको छ तेस्मा प्रति कमेन्ट गर्ने र गर्नुपर्ने कुनै कुरा छैन!
    माकुने लाइ नालिबाट उठायर धोई पखाली कुर्चीमा राखिदियर उसको जिन्दगीको एक र एउतै मात्र उदेस्य र रहर पुरा गराइदिने मान्छे प्रचण्ड हो तर आफैलाई हड्डी र आची ख्वायर पेट भरिदिने मालिकलाई भुक्ने र टोक्ने कुकुरको भुस्याहा नियत बोकेको यी माकुने र यसको बथानको अरु कुकुर हरुको कुरा उछिल्यायर बहस पो के गराई भो र गाठे!
    प्रचण्डको बिचार सोचाइ र उसको कुराहरु लाइ यी माकुने हरुले के खुल्क्यायर बुझ्न सक्दो हो कुन्नि!
    आफ्नो संघर्ष त्याग युद्द र विद्वता अनि क्षमताले बनेको ब्यक्तित्वो अनि उसको नेत्रित्वो र दाइजो र बक्सिसमा पायको कुर्ची साथै पद र कागतालिले बनेको नेताको पनि तुलता गर्न मिल्छ र?
    प्रचण्डको उचाइ संग माकुने जस्तोको तुलना गर्नु कुनी के को अगाडि कुनी के गर्नु भन्या जस्तै हो!
    काहाको राजा राम कहा गाणे धोबी!
    तेसो त धोबीले पनि रामको खेदो खनेकै थियो यो माकुने पनि त्यै गाणेधोबीको कलियुगी स्वोरुप हो!
    प्रचण्ड उचित अनुचित गत्तिलो अगत्तिलो ठिक बेठिक आदि बहस हुन सक्छ गर्न सकिन्छ तर माकुने, छ्या यसको त नाम सुन्दा र फोटोमा अनुहार देख्दा पनि अगत्ति पर्छ!
    देशलाई यसै भयर अगति परिराख्या हो क्या!
    जे होस् सुर्य खड्काको बिगतको ब्लगहरु आफ्नै ठाउमा छ तर यसपटक चाहि सुर्य खड्काको यो ब्लग सोह्रै आना स्वोर्णिम छ!
    जदौ!

    Reply
  35. प्रवेश लामा says:
    May 4, 2013 at 3:12 am

    अरुको आङमा जुम्रा हिँडेको देख्ने तर आफ्नो आङमा चाहिँ भैंसी हिँडेको पनि नदेख्ने माकुने जन्ताहरु ले देखेको छ अब सन्नेस लिनु राजनीति बाट माकुने जी, नेपालमा ५ पैसा काम लाग्छ तर माकुने जस्ता नेता कामछैन यस्ता-यस्ता नेताहरु भाय पछि २२ ऒ शब्द्तिमा पनि नेपाल परिबर्तन हुन्न भन्ने कुरा बैग्यानिकहरुको आब्शेक पर्दैन ………….

    Reply
  36. Sundar says:
    May 4, 2013 at 3:10 am

    लेखमा भएका केहि कुराहरु सत्य हुन् तर माकुनेलाइ जथानाम बिसेसन पहिर्याउने सुर्यजीको सैली चाहि अत्यन्तै निच लाग्यो|

    Reply
  37. Santosh sapkota says:
    May 4, 2013 at 1:37 am

    सुर्य खड्का जी लाई एकिकृत नेकपा माओबादीमा स्वागत छ । मलाई पनि माकुने को त्यो दिन को भाषण सुन्दा गाइजात्रा सुनेको जस्तो लाग्छ । केपी ओली भन्दा नि खतरा रैछन माकुने गाइजात्रा मा ।

    Reply
  38. kedar says:
    May 4, 2013 at 12:59 am

    माकुने तन्नम नेताहरुकै लिस्टमा पर्छ मेरा लागि पानी ……तर………………

    आफु रास्ट्रपति बन्नलाई देशलाई जात नै जातमा विभक्त गर्न सक्ने, कहिले गिरिजा त कहिले माकुनेलाइ नै रस्त्रपतिको सुगन्ध सुंघायेर धोका दिन सक्ने, आफ्नै बरिस्ठ उपाध्यक्ष भट्टराईलाइ श्रम सिबिर पुर्याउन सक्ने, सत्ताकाका लागि चरम बिपरित ध्रुबका मधेसी मोर्चा संग गठबन्धन गर्न सक्ने, आफुलाई बेफाइदा लाग्ने बित्तिकै गरेका सहमति जुनसुकै बेला तोड्न सक्ने, आफुलाई प्र.म. बाट खसाल्ने र सुरुङ्ग युद्धनै छेडेको हिजोको प्रभु संग सम्बन्ध सुधार्न भए र सके सम्मका दैलो चहारेर चार पाउ नै जोडेर देल्ही हानिन सक्नेले आफ्नो चरम प्रतिद्वन्दी पार्टीको बरिस्ठ माकुनेलाइ संबिधान सभामा जस्केला बाट पसाउनु प्रचण्डले माकुनेको भलो गर्न नै थियो त लेखक ज्यू ? प्रचन्डले आफ्नो कुनै स्वार्थ बिना नै माकुनेलाई तानेका थिए त ?
    यसको पनी बहाली भाँती सहित हजुरको अर्को लेख पढ्न पाए आनन्द आउंथ्यो की ?

    Reply
  39. गिरिराज says:
    May 4, 2013 at 12:43 am

    सुर्य खड्काजीले नेतालाई भुत्ल्याउने लेख लेख्न पारा ल्याएकै हो भन्नपर्छ|
    प्रचण्डका बिरोधमा अर्थ न बर्थमा बकबक गर्ने माकुनेले के बके भन्दा पनि सार्बजनिक रुपमा माकुने कस्ता व्यक्ति हुन् त्यसको आधारमा गुण दोष विश्लेषण गरिनु आवश्यक छ| माकुनेलाई फेरी एमालेमा राख्नु नराख्नु अहिले टुक्रिदै गएको एमालेले निर्णय गर्ला| तर उनलाई देशको बागडोर हातमा दिनु हुँदैन थियो| चार चार बर्ष संबिधान सभामा राज गर्नेमा एमाले सरकार धेरै समय सम्म राज गरेका हुन् र गर्न पर्ने काम केही गरेनन| एमालेका सुबास नेम्बाङ्ग स स का अध्यक्ष पनि यसको जिम्मेवारी हुन् र उनलाई पनि फेरी राष्ट्रिय पद सम्हाल्न दिईनु हुँदैन|
    सुर्य खड्काजीले माकुनेका बारेमा छुटाएका केही गुणिला बुँदाहरु:

    १. भारतका मन्त्रि नेपालमा भ्रमण गर्दा आफु प्रधानमन्त्री हुँदा माकुनेले लाजै पचाएर देशको र गरिमामय पदको इज्जत बेचेर छोरीका लागि डाक्टर पढ्ने सीट मागेका थिए भन्ने न्युजमा आएको थियो| पछि छोरी दिल्ली पढ्न गए|
    २. आफ्नो भाईलाई सो पद सम्बन्धी कुनै अनुभव वा ज्ञान नहुदा नहुदै पनि हंगकंगको बाणिज्य दूतमा नियुक्ति दिएर आमा बाबा लाई समेत लागेका थिए|
    ३. मोहोर चडाएर राजालाई ढोग्ने र प्र म मा आवेदन दिने
    ४. काजु कान्छा र प्रदिप नेपाल संग मिलेर आफ्नै पार्टीको प्रधान मन्त्रि हुँदा व्यक्तिगत रिसइबीमा झलनाथको खुट्टा तान्ने प्रयास|
    माकुने ले कम्युनिस्ट पार्टी लाई पुष्पलाल र मदन भण्डारीले जस्तै निष्ठापुर्बक कर्तव्यनिष्ट र सेवामुलक भावनाले काम गरेको भए अहिले एमांग्रेस भन्ने लान्छना
    भोग्नु नै पर्ने थिएन| माकुने वास्तवमा कांगरेड हुन्, कांग्रेस र एमालेको हाइब्रिड|

    माकुनेको अलिकति पनि हिम्मत बचेको भए जुनै चुनाव क्षेत्रबाट प्रचण्ड र बाबुराम लड्छन उनीहरुको प्रतिद्वन्दी भएर चुनावमा खडा हुनोस अनि हामीलाई देखानुस जितेर| अनि काठमान्डौ क्षेत्र बाट फेरी चुवावमा उठ्नुस| सके दुइटामा खडा हुनोस| होला हिमात कांगरेड माकुने?
    गरिब देशको धनी नेता माकुने नै हुन्| खजान्ची र नोगजा हुँदा हुँदा सबै रकम आफैले थुपारेका रहेछन| एमालेका होनहार कार्यकर्ताहरु किन अन्धो भक्त बनेका हुन्? सबैलाई खाजान्ची बनाइदिने सपना देखाइदिएका छन माकुनेले|

    Reply
  40. sandhya says:
    May 4, 2013 at 12:25 am

    साँच्चो अर्थमा राजनीतिक रुपले देशको दशा विगार्ने खलपात्र मध्येका नायकी भूमिकाका एक प्रतिक हुन् माधवकुमार नेपाल। जनताको बहुदलीय जनवादको प्रणेता स्व. मदन भण्डारीपछिको एमालेलाई न यता न उता बनाउने मुखिया हुन् उनी। एमालेलाई गत संविधानसभा चुनावमा तेस्रो पार्टीमा घटुवा गर्ने विफल राजनीतिक नेतृत्वका नाइके रहे उनी। जनआन्दोलन २०६२/०६३ अघिसम्म सत्ता र शक्तिका लागि कहिले तत्कालिन दरबार त कहिले दिल्ली धाउँदैमा फुर्सद वा विश्राम पाइदैनथ्यो उनको दिमागले। नारायणहिटी हत्याकाण्ड छानविन आयोगमा नबस्ने उनको कथित क्रान्तिकारिता नाशलचोकमा ज्ञानेन्द्रलाई दाम चढाउँदा पोखिएर छरपष्ट भएको कसलाई थाहा छैन र

    हो कि होइन यी कुराहरुको उचित जवाफ एमाले भक्तहरु बाटै पाउन पाए हुन्थ्यो

    Reply
  41. Sagar Gnawali says:
    May 4, 2013 at 12:23 am

    प्रचण्ड लाइ अग्लो स्थान मा देख्नु लेखक को मालिक प्रति को बफादारिता हो . घर पालेको कुकुर ले मालिक बाहेक सबै लाइ भुक्छ . नेपाल र नेपालि को प्रगति पथ लाइ २० वर्ष पछाडी धकेल्ने अपराधि हुन् प्रचण्ड . उनको कथित जनयुद्द के को लागि थियो ? माकुने लाइ भ्रस्टचारि देख्ने लेखक को आखाले प्रचड को लाजिम्पाट दर्बार को श्रोत खोजेन . अजय सुमार्गी मार्फत गरियका लगानी कहाँ बाट आयो भन्न परेन . लडाकुको नाम मा गरियको खुल्ले आम लुट लाइ उनकै शक्तिखोर भाषण ले दुनिया सामु सत्य केहो ? देखाइदियकै छ . हिजोका उनकै सहकर्मी हरु ले प्रचण्ड ले करोडौ हिनाबिना हरेको आरोप को कतै चित्तबुझ्दो उत्तर छ ? सयौ जात जाति को साझा फुलबारी मा जतियाता को आगो रोपेर तेसैको राप मा आफु शक्तिशालि हुने सपना बढ्दो जनताको संघियता प्रति को बुझाइले पुरा नहुने देखेर तिल्मिलाएका प्रचण्ड ले देश भर बडा वडा मा दह्रो संगठन भयको एमाले लाइ देखेनन् . नेकपा एमाले को संगठन भनेको जवर्जस्ती स्कुले बालबालिका अपहरण गरेरेर हात मा बन्दुक दिएर मर्न मार्न सिकाएर बनेको हैन . न दुनियाका अवसरबादी र अपराधि जम्मा भएर बनेको भिड हो .
    हो माकुने मदन भण्डारी जसको बाक्कला र नेतृत्व भयका होइनन, उनका कतिपय कमजोरी ले एमाले लाइ घाटा लागेकै हो . तर समकालीन नेता मा उनि इमान्दार र राम्रो नियत भएका नेता हुन् .र प्रचण्ड भन्दा धेरै नैतिकवान र रास्ट्रप्रेमि . प्रचण्ड जस्तो कपटीनेता लाइ सुन्दर घडा माथि मान्छे झुक्याउन राखेको बिष भनेर बुझ्नु राम्रो होला .

    Reply
    1. mahesh says:
      May 4, 2013 at 5:13 pm

      सगर जी
      “प्रचण्ड लाइ अग्लो स्थान मा देख्नु लेखक को मालिक प्रति को बफादारिता हो”
      १००% झुट, बरु माथि को कुरा इन्कार गर्नु आफ्नो मालिक को तावेदारी हो कि?
      प्रचण्ड दक्षिण एसिया को एक गनिने नेता हुन् तेही मुल्यांकन को आधार मा चाइना ले उनि लाइ राजकीय सम्मान दिएर निम्ता गर्यो, स्वागत गर्यो. चाइनिज नीति निर्माता र पररास्ट्र विद गलत, तपाइँ सहि हो त? कदापि होइन,
      प्रचण्ड प्रम हुदा, माओबादी बिरुद्द कुरा लगाउन दिल्लीको गल्लि घुम्दा घुम्दै पनि प्रम मनमोहन सिंह को दर्शन भेट नपाएर सिल्ली भएर गिरिजा फर्किएका थिए भने तेही मनमोहन ले किन कुनै सरकारी पोस्ट मा नभएका प्रचण्ड लाइ स्वागत गर्दै भेट गरे त?
      शायद तपाइँ को जबाफ एस्तो आउला : प्रचण्ड आफ्नो बफादार भएको ले,
      अनि उनि इन्डियन समर्थक भएको भए चाइना ले किन स्वागत गर्यो त? तेस्को जबाफ के लेख्नु हुन्छ नि?

      Reply
  42. Dev says:
    May 4, 2013 at 12:20 am

    नेपाल आमाका जद्दार हरु मद्द्य का यक senceless नेता माधब नेपाल पनि हुन् तेस्मा कुनै दुइ मत छैन, जिबनको यक मात्र aim प्रधान मन्त्रि बन्नु थियो त्यो पुरा भयको यस्थिति छ परिवार र पार्टीको हैशियत राख्ने नेतालाई देसको के चिन्ता, प्रचण्डले पार्टीको बारेमा अलिकति के बोलेका थिय माधव कुमार नेपालको बेक्तिगत ज्ञान बुझाइ र हैसियत कुन standard को छ भन्ने कुरा बुझ्न गरोहुने कुरै भयन

    Reply
  43. Krishna (...) says:
    May 4, 2013 at 12:17 am

    आम जनताले स्वीकारेको कटु सत्य! मुलाधारे भनाउदा भुइतले पत्रिकाले उछित्तो काढेर प्रचण्ड को रौ पनि हल्लन सक्दैन | सूर्यजीको कलममा घाम लाग्न थालेछ है ! चुनाब आएर हो कि ?

    Reply
  44. Sagar Sarma says:
    May 3, 2013 at 11:16 pm

    सहि बात गर्नु भयो!
    तर तपाइले लेखेको कत्ति कुरा चाही प्रचण्डलाइ पनि लागु हुन्छ-होला !
    जय-नेपाल !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme