Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शिशु मारेको अभियोगमा नेपाली महिला कुवेतमा पक्राउ

Posted on April 6, 2013April 6, 2013 by mysansar

handcuffed घरेलु कामदारका रुपमा मध्यपूर्वी देश कुवेत पुगेकी दुई महिला अहिले प्रहरी हिरासतमा छन्। दुवै महिलालाई छुट्टाछुट्टै ठाउँबाट लगभग एउटै खालको अभियोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो। अभियोग- आफैले जन्माएको नवजात शिशुको हत्या गरेको !

केस नम्बर १ : कुवेतको क्युरेन क्षेत्रमा नवजात शिशुको लाश भेटिएपछि खैलाबैला मच्चियो। मुबारक अल कबिरका डिटेक्टिभहरु अनुसन्धानमा जुटे। उनीहरुको पहिलो शंका त्यस क्षेत्रमा काम गर्ने नेपाली घरेलु कामदार महिलाहरु रहे। सोधपूछ गर्दै जाँदा एक महिलाले आफ्नो अपराध स्वीकारे। उनले दिएको बयान भन्दै त्यहाँको पत्रिकामा छापिएको खबर अनुसार घटना यस्तो रहेछ –

उनी कुवेत आउँदा नै गर्भवती रहिछिन्। तर कसैलाई थाहा दिएकी रहिनछिन्। नेपालमा ब्वाइफ्रेन्डसँगको सम्बन्धबाट उनको गर्भ बसेको रहेछ। घरेलु कामदारका रुपमा जुन घरमा बसेकी हुन्, त्यही घरको छतमा उनले बच्चा जन्माइछिन्। त्यसपछि नवजात शिशुलाई त्यो ठाउँमा यत्तिकै छाडेकी रहिछन्। पछि त्यो शिशु मृत अवस्थामा फेला परेको रहेछ।

ती नेपाली महिला नेपालको कुन जिल्लाकी हुन् भन्नेबारे समाचारमा केही खुलाइएको छैन।

केस नम्बर २ : एक कुवेती नागरिकले त्यहाँको गृह मन्त्रालय अन्तर्गतको अपरेसन्स डिपार्टमेन्टमा फोन गरी नवजात शिशुको भुस्याहा कुकुर र बिरालोले टोकेको लाश मुबारक अल कबिरमा फेला परेको जानकारी दिए। प्रहरी गम्भीर बनिहाल्यो, थाल्यो अनुसन्धान।

अन्त्यमा एक नेपाली महिलाले आफूले त्यो शिशुलाई जन्माएको र घरपछाडि पुरेको स्वीकार गरिन्- त्यहाँको अल-राई दैनिकले लेखेको छ। पत्रिकामा लेखिए अनुसार एयरपोर्ट जाँदै गर्दा ती महिलालाई ट्याक्सी ड्राइभरले बलात्कार गरेका रहेछन् केही महिनाअगाडि। कुवेत फर्केपछि उनले त्यही बलात्कारबाट आफ्नो गर्भ बसेको थाहा पाइन्। आफूले काम गर्ने ठाउँकै बाथरुममा बच्चा जन्माइन्, ब्यागमा हालिन् र घर पछाडि गाडिदिइन्।

यी महिलाको परिचय पनि समाचारमा खुलाइएको छैन। के नेपाली दूतावासलाई यसबारे जानकारी होला ?

कुवेतमा नेपाली दूतावास खोलेर वैधानिक रूपमा श्रमका लागि जान पाइने भएपछि हाउसमेडमा जानेको पहिलो गन्तव्य कुवेत हुन थालेको छ। महिलाहरू श्रम तथा यौन शोषणमा परेको भन्दै २०६९ साउन २२ गते सरकारले वैदेशिक रोजगारीमा जान कम्तिमा ३० वर्ष उमेर पुगेको हुनुपर्ने निर्णय गरेको थियो। तर पनि यस्ता समाचारहरु कुवेतबाट आउने क्रम कम भएको छैन।

16 thoughts on “शिशु मारेको अभियोगमा नेपाली महिला कुवेतमा पक्राउ”

  1. nima says:
    April 8, 2013 at 7:51 am

    के भन्ने खै अब, केहि पैसा कमाउने आशमा विदेशिएको त्यहिको जेल मा कोचिनु पर्नु जस्तो दुखद समय अरु के हुन सक्छ र !!

    Reply
  2. shyam says:
    April 7, 2013 at 7:44 pm

    काउचा मगर ,जी तपाई कुवैत मा नै हुनुहुन्छ जस्तो लाग्यो नत्र तपाई लाइ कसरि थाहा हुन् सक्छ फ्री कल को बारेमा अचम्म वा यदि होइन भने किन बाग्लुङ्ग लेख्न हुन्छ ?

    सालोक्य जी को लेखाइ एकदम सहि हो मैले पनि सुने अनुसार कुवेतमा एकदम नै खराब तरिका बाट नेपाली महिला हरु बसेका छन् यी माथिका घटना त प्रतिनिधि पात्र मात्रै होलान जस्तो लाग्यो

    Reply
  3. Toyannath Dahal says:
    April 7, 2013 at 3:27 pm

    म कुवेतबाट तिन बर्षयता प्रकाशन हुदै आएको द्धिमासिक नेपाली छाँपा पत्रिकाको प्रधान सम्पादक भएको हिसाबले माईसंसारका यी खबरसँगै आएका कमेन्ट पढेर केही लेख्न मन लाग्यो ।

    पहिलो कुरा त कुवेत यस्तो बैदेशीक रोजगारीको लागि नेपाली कामदारको गन्तव्य हो जहाँ महिलाहरु पुरुषको तुलनामा धेरै छन । गलत वा कुकर्मसँगै ढाकछोप गर्न बनावटी बयानहरु बनाउनु सामान्य कुरा हो अधिकांश घटनामा त महिलाहरु नै दोषी पाईन्छन । म सगै एउटा यस्तो भिडियो सुरक्षित छ जहाँ एक ईजिप्सीयनसँग नेपाली महिलाले शारिरीक सम्पर्क गरेकी छन । म सँग अरु यस्ता प्रमाण छन जहाँ नेपाली महिलाहरु बंगलादेशी र पाकिस्तानीसँग एकै रुममा संझौताको संम्बन्ध गासेर जिएका छन । यस्ता राजीखुशीका सम्बन्धमा जीउएका विषय स्वभिमानका हिसावले जतिसुकै पिडादाय भए पनि उनीहरुलाई दुःख दिन हुन्न भनेर आँखा चिम्म गर्न परेको छ । जहाँ सम्म बास्तविक पिडीत हुन उनीहरुका लागि सम्पर्क गर्न अब गाहे छैन । हरेक खदामा अर्थात घरेलु महिला कामदारहरु कोसेली पत्रिकाबाट परिचित छन र उनीहरुका हातमा प्राय यसको कुनै न कुनै अंक पुगेको हुन्छ भन्ने हाम्रो विश्वास पनि छ जहाँ प्रसस्तै सम्पर्क नम्बरहरु दिएको छ ।

    जहाँ सम्म दुतावासको कुरा उठ्यो यो सरासर मननीय छ । खाडीका दुतावासहरु कति जिम्मेवार छन आफ्ना नागरिकका विषयमा भन्ने कुरा त विवीसीको साझा सवालमा कतारका राजदुतको अन्र्तवार्ता हेरेका सवैलाई थाहा नै होला । त्यस्तै हुन यहाँका दुतावासहरु । हामीले स्थानिय अनलाईनबाट दिएका खबरहरुलाई पच्छयाउने वा कम्युनिटीसँग सम्पर्क र सम्बन्धमा रहने काम हुन्न । बरु म्यानपावर व्यवशायीहरुसँगको उहाँहरुको सहकार्यको पोल खुल्छ भन्ने डर राखे जस्तो देखिन्छ । खाडीमा काम गर्न आउने कामदारहरु जसलाई परयो त्यो मरो को अवस्था छ कुनै नियोग वा त्यहाका कर्मचारीको रत्तिभर सहयोग छैन भन्दा धेरै ठुलो आरोप हुन्न । यहाँ सम्मकी दुतावासको फोन नै कसैले उठाउन्नन ।

    Reply
  4. द्रोण says:
    April 7, 2013 at 3:09 pm

    ति महिलाई गालि गर्नु कि हरेसिब भन्नु ??

    Reply
  5. shyam pandey (sydney) says:
    April 7, 2013 at 3:05 pm

    हे भगवान केहि त् दया गर्नुस हाम्री चेली हरु माथि ,,विदेश गई केहि पैसा ल्याएर आम बुवा को मदत गर्छु भनि घर छाडी हिड्नु नै कति पिडा को कुरो छ तेसै मा विदेश तिर क रक्षस मुलुक क पशु हरु को सिकार बन्नु छ ,,आम बन्ने सुख को आनन्द लिन त परे जाओस आफ्नै ज्यान पनि खतरा मा छ.हे भगवान केहि त् दया गर्नुस ..यस दुख को बेला तिनी दुखि परिवार मा के बित्यो होला ..कसले बुझ्ने प्रयास गर्दैन ..नेपाल लै खतमं पारे नेता ले भगवान …तेही राजा भए पनि फर्कैदेउ शान्ति संग बस्न र खेति बारी भए पनि गरि खान त पयिन्थियो ..

    Reply
  6. Nirmal says:
    April 7, 2013 at 2:51 pm

    कुवैत राजदुतावासबाट सहयोगको अपेक्षा गर्ने कुरै छैन सहानुभूति सम्म पनि पाउन सकिदैन| उल्टो किन आएको यँहा खालि पैसाको मुख हेरेर मात्र भनेर हपारेर बोल्छन हाम्रा नेपाल सरकारका धनमा तलब भत्ता खानेहरु| जब मेडियामा आयो वा सिंहदरवार वा काठमान्डूबाट ठालु प्रभावशालीहरुबाट प्रेसर आयो भने मात्र सक्रिय हुन्छन| नत्र कसलाई के को वास्ता? शुरुमा राजदुतावासले नेपालीको कल्याण गर्न के के नै गर्छु जस्तो गर्यो र केही महिनामा नै मात्र मौन दर्शक बन्यो|
    कतिपय हाम्रा नेपाली बन्धुहरु किन यति चांडै सम्पूर्ण कुरै थाहा नपाई ती महिलाको स्थिति परिस्थिति मजबुरी नबुझी उनलाई मात्र दोषी ठान्छन? आफ्नो परिवार देखि एकदिन पनि अरु घरमा नबसेकि र आफ्नो गाउँ देखि अरु ठाउँ नदेखेकी महिलाहरुलाई कुन वाध्यताले यौन शोषित भएर पनि ढुंगाले हिर्काएर मार्ने ठाउँमा काम गर्नपर्यो होला|

    Reply
  7. chatur rai says:
    April 7, 2013 at 2:49 pm

    यो माथिको कुरा सरासर म मान्दिन …..यी आइमाईहरुले उतै कसैको पाप बोकेर नेपालीहरुमाथि दोष लगाउनु मिल्दैन | आफ्नै घरपरिवारले यस्तालाई बाहिर निकाल्छन , यस्तो पेट बोकेकालाई घर मालिकले माया गरेर के राख्छन ? उफ्फ्फ्फ़ ….हामी बिदेशमा बस्नेले नेपाली हुंग भनेर भन्न पनि लाज मान्नु पर्ने भो |

    Reply
  8. Bibek Dhakal says:
    April 7, 2013 at 9:30 am

    एउटा कुरा – यदि ति महिला ( प्रथम केशको) नेपाल मै “प्रेग्नेण्ट” थिइन् भने मेडिकल चेक गर्दा थाहा कसरि भएन? ति महिला कुन म्यानपावर को “थ्रु” बाट त्याहा पुगिन, त्यो मेडिकल टेस्ट गर्ने निकाय कुन हो – यी दुवै को दर्ता खारेज गरि कारबाही गर्न मिल्दैन?
    ***************************************************
    जति सुकै नकारात्मक कमेन्ट गरेपनि जे भनेपनि बैदेशिक रोजगारी भनेको बाध्यता हो , बैदेशिक अध्ययन र अमेरिका/अस्ट्रेलिया को बसाइ सराइ भन्दा धेरै फरक! यसलाई रोक्नु रेसट्रिक्ट गर्नु को केहि तुक छैन जबसम्म आफ्नै देशमा रोजगारीको र व्यवसायको लागि राम्रो अवसर र वतावारंको सिर्जना हुन्छ . तर रेमिट्यान्स भित्रिन्छ भन्दैमा सरकारले केहि नहेरी गैरजिम्मेवार तरिकाले ” जाओ बिदेस जाओ , पसिना बगाओ , कमाएर ल्याओ!” भन्ने नीति लिनु ठीक होला? बरु कसरि हुन्छ यसलाई संस्थागत गर्नु पर्यो. यदि चाहने हो भने गारो होला जस्तो लागेन. प्रविधि को यस्तो विकाश भैसक्यो, के त्यो प्रविधि लाइ यो फिल्ड मा प्रयोग गर्न सकिन्न?
    जस्तै,
    – म्यानपावर ले कुनै पनि कामदारलाई विदेश पठाउनु अघि उसको कनट्र्याक्ट लेटर, कम्पनि को विवरण , कामदारको सबै विवरण स्क्यान गरेर विभागलाई बुझाउनुपर्ने र मन्त्रालयले पनि अपडेट गरेर राख्नुपर्ने!
    – प्राय जसो खाडी मुलुकमा दुतावास छ नेपाल सरकारको , ति दुतावास हरुले उपलब्धिओमुलक काम के गरेका छन खै? खाडी मुलुक र मलेसिया संग हाम्रो मुख्य सरोकार भनेको खालि रोजगारी हो . त्यसैले बरु अलिकति जनशक्ति थपेर त्यहाँ भएका कामदार हरुको अपडेट लियिरहने ( सामान्य एक पेज को फर्म्याट बनाएर ) अनि यहाँ पठाउने.
    – एउटा काम को लागि भनि अग्रॆमेण्ट गरेर त्यहाँ अर्कै काम भएको फेला परे तत्काल म्यानपावर को दर्ता खारेज गर्ने र कडा कारवाही गर्ने ऐन लेराउने!
    – मेडिकल चेक मा हेल्चेक्र्याई भए पनि तत्काल सो मेडिकल इन्स्तिट्युत को दर्ता खारेज गर्ने ऐन लेराउने
    आदि इत्यादि ………
    म त एक layman परे….सायद मैले माथि दिएको सुझाव व्यवहारिक नहोला ! तर देशमा विज्ञहरु को त कमि छैन नि ….एसो ३ ४ दिन ब्रेनस्टर्म गर्ने हो भने पनि अनगिन्ती “व्यवहारिक” आइडिया निक्लिन सक्छ. अहिले को युगमा प्रविधि ले केहि छेकबार गरेको छैन र यसको लागि कुनै “सोफ़िस्टिकेटेद” प्रविधि को खाँचो पनि पर्दैन! चाहियो त केवल ब्यापारी र तिनका युनियन हरु संग नझुक्ने दृढ संकल्प र बिदेशमा दुख, यातना पाएका नेपाली दाजु भाइ दिदि बहिनि प्रति अलिकति स्नेह!!!

    Reply
  9. योगेश आदी says:
    April 7, 2013 at 7:15 am

    कुकर्म गर्यो पुरुष फरार
    महिलालाई बेकरार,
    गाउँ शहर हल्ला आरपार
    घटनाको निर्लज्ज चिरफार,
    विवश नारीको जिन्दगी दरार
    प्रभुको लीला अपरम्पार !

    Reply
  10. punya hawaii says:
    April 7, 2013 at 5:53 am

    के गर्ने ? बाध्यताले बिदेश गएकि होलिन । तर यसरि बलात्कृत भएपछि तुरुन्त सम्बन्भित निकायमा उजुर गर्नु पर्थ्यो नि।

    Reply
  11. romeo says:
    April 6, 2013 at 10:51 pm

    आफ्नै देशमा बसेर काम गर्ने वातावरण भएको भए किन नेपाली चेलीहरुले बलात्कार को अन्तहीन शृंखलाको पीडा सहनु पर्थ्यो, अनि यस्तो घृणित अपराध गरिरहनु पर्थ्यो ? गरिबी नै सबै भन्दा ठुलो श्राप हो. भोको पेट अनि विवशता ले नैतिक र अनैतिक कार्य बीचको फरक छुट्याओस पनि कसरि ? यस्तो मन दुखाउने समाचार सुन्न नपाए हुन्थ्यो हामी भाग्य फुटेका नेपालीहरुले !

    Reply
  12. काउचा मगर , बाग्लुंग says:
    April 6, 2013 at 10:42 pm

    घटना यसो पनि हुनसक्छ…केहि दिन अगाडी नागरिक न्युजले छापे अनुसार कुवेतको फरावानियामा नेपाली महिलालाई बलात्कार को प्रयास भनिएको थियो…अब फेरी यस्तो ???????? कुवेतमा काम गर्ने घरेलु कामदारहरुमा नेपाली,इन्डोनेसियन,इथियोपिया,श्रीलंका,फिलिप्पिनी हरु औसतमा फिलिपिनोहरु सचेत अनि सर्बहारा जस्तै छन् ,उनीहरु कसैसंग पनि सेक्स गराउन र गर्न हिचकिचाउदैनन सुनिन्छ तर तिनीहरु चलाख छन / कोसंग के गर्ने र के गरेपछि कसो गर्ने भन्नेमा उनीहरुमा सतर्कता पहिल्यै हुन्छ….. करिब ३५/४० हजारको संख्यामा रहेका नेपाली घरेलु कामदार महिलाहरु नेपाल घरमा रहेका श्रीमान अनि भंतान्भुन्तुंग सबै बिर्सेर परपुरुससंग रोमान्स त गर्छन नै तर सायद जोसको बेला होस् हुदैन होला अशुरक्षित सम्बन्ध राख्छन कि क्या हो….पुरुष हरु पनि के कम घरमा रहेका श्रीमती छोराछोरी लाई अनेक बहानामा अल्झाएर ति अर्धबैसे महिलाहरु संग बोयफ़्रेन्द बन्न के कम…आधा दिनार( झन्डै नेपाली १५० रुपैया ) मा २४ घन्टे टेलिफोन फ्रिकल बनायो अनि मस्त गफ दियो…..यस्ता नकचरो अनि प्रेममा उदार भनिने अर्धबैसे गर्लफ्रेन्डहरुले हो नेपालको इज्जत नालीमा मिलाउने…..ज्यानमारा आरोप खेपेर मृत्युको मुखमा पुगेर पनि अन्तत: मुद्धा जितेपछि स्वदेश फर्कन सफल डोल्मा शेर्पा बाट केहि शिक्षा लिनु नि…….कसैलाई के गरेर देशको नाम चिनाउने भन्ने हुन्छ …कसैलाई आफ्नो इज्जत को पर्वाह त रहेन नै देशको पनि बेइज्जत गर्छ मर्न नसकेका स्वा:थहरु…..

    Reply
  13. शैलेन्द्र ढकाल (म्याउ) says:
    April 6, 2013 at 10:17 pm

    सारै दुखद समाचार, बच्चा जन्माउनु अनि तेसै मर्नको लागि छोड्नु ,बाथरूममा जन्माएर प्लास्टिकको झोलामा हालेर गाड्नु,धन्न बहादुर नेपाली चेलीहरु!! कुन चाही तेस्तो बाध्यता आइपर्यो हामी नेपालीहरुलाई ? हामी हरेक तरिकाले बहादुर बन्नु परिरहेको छ,मात्र बच्नका लागि 🙁 🙁 🙁

    Reply
  14. बेखालाल नेपाल says:
    April 6, 2013 at 9:28 pm

    Disgusting…………………………

    Reply
  15. nisha says:
    April 6, 2013 at 9:28 pm

    हैन हो घटना पनि कस्ता कस्ता सम्बन्धित पक्ष घर धनि ले पनि येसो निगरानी रख्नुपरनी नि भनेको ,,,,बेबी पाएर फाल्नु भनेको त चुरोट तानेर ठुटो फालेको जस्तो त होइन नी ८.९ महिना गर्व मा राख्नु प्रसव बेदेना भुलेर पाउनु , पेट पनि ठुलो हुन्छ , काम गर्न गारो हुन्छ यी यावत कुरा हरु घर मालिक र अरु पक्ष लै पत्ता हुन्न र घटना हुनुभन्दा अगाडी पो सचेत हुनुपर्ने होइन र हजुर.

    Reply
    1. राजकुमार पुडाशैनी says:
      April 7, 2013 at 5:01 pm

      खै बेलुका खाना खाएर बिहान दिशा बसे जस्तो त नहुनुपर्ने हो।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme