-दीप्स शाह-
इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा।
मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी नीलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी नीलालाई इजरायलीहरुको यो अङ्गालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस प्रकारको स्पर्श भनेको लोग्नेबाट मात्रै अनुभव गर्ने हो।
उमेरसङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभव र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको नीलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नवीनलाई पनि सुनाएकी थिई। नीला भन्दा एक लेभलमाथिको शिक्षा आर्जन गरेको नवीनले निर्धक्क भनेको थ्यो,” ह्या! नीला! तिमी कति ट्राडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!”
नवीनलाई नै पच्छ भने आ होस् न त! भनेर उसले आफुले स्याहार्ने इजरायली बुढीआमैका सन्तान कसैसँग पनि त्यो गाला जोर्ने र अंगालोमार्ने कुरामा आपत्ति जनाइन। अझै भनुँ बिस्तारै बानी पार्दै गई।
घर छोड्नुको पीडा कम गर्न कहिले ठुलो स्वरमा टिभी खोल्थी त कहिले इजरायली बुढीको नङ काट्दै , कपाल कोर्दै एक्लै मुस्कुराउन खोज्थी। एक एक दिन गन्दै क्यालेन्डर पल्टाउँथी। इजरायली तलबी सिस्टम अनुसार प्र्त्यक अङ्रेजी महिनाको १० तारिखमा तलब पाएको रात झनै सुत्त्दिनथी। हतार हतार बुढीआमैलाई खुवाइपियाइ गरी बिस्तारामा लडाईंदिएर आफ्नो बिस्तारामा थपक्क बस्थी र सय डलरको आठओटा नोट पल्टाइपल्टाइ हेर्थी र फेरि गन्थी, अनि फेरी गन्थी। अनि सिरानीबाट नवीन र बच्चाहरुको फोटो निकालेर एक्लै कुरा गर्न थाल्थी- “नवीन! आज तलब पाएँ नि। अब शनिबार तेलअभिब गएर ट्रान्स्फर गर्छु। हेर यही पैसाको लागि म यहाँ आएँ। हामी छुट्टीयौँ तर यही पैसा हात परेको दिन म कत्ती खुशी हुन सक्दिन। तिमीसङ्ग अलग्गिएर महिनाभरी यो बुढीको गु सोरेर कमाएको यो ८ पत्ता सयडलरको नोट ले तिम्रो सामिप्यता, तिमीप्रतिको प्यास बुझाउन नसक्दो रहेछ नवीन! म त यही ६ महिनामै कायल भैसकेँ ! आइम् मिसिङ्ग यु!” भन्दै हातको डलरको बिटो एकातिर पन्छाएर नवीनको फोटो भिजुन्जेल क्वाँ क्वाँ रुन्थी।
खल्तिबाट मोबाइल निकालेर मिस कल दिन्थी। फोन पनि कती गर्नु एउटा कलिङ्ग कार्ड किन्यो ५० सेकेल जान्छ ,भनेको लग्भग नेपाली १००० रुपैयाँ । कार्ड किनेपछी सक्सक लागेर चुस्चुस कल गर्दागर्दै एकैदिनमा सकिन्छ। उफ्फ! एकहजार एकैदिनमा फोन गरेर सक्नु! त्यतिले त दुइटै बच्चाको एक महिनाको स्कुल फी तिर्न पुग्छ भन्दै कुँडिन्थी ।
बिस्तारै बानी पर्दै गयो । भनुँ पार्दै गई। भित्र भने हार्दिकताको ह पनि नहुने जस्ता लाग्ने यी इजरायलीहरु बाहिर भने कस्तो लोलोपोतो माया गर्छन्। देखेर नीला वाक्क हुन्थी। साँच्चै भनुँ भने घोर इर्श्या गर्थी। आफ्नोभने उता आफ्नै लोग्नेको हात समेत समातेर कहिल्यै बाटाघाटामा हिँद्न पाएको होइन। एसो कहिले कतै जान पर्यो भने घर बाट सङ्गै निस्केपनी दुइपाइला हिँडेपछी नवीन अगाडिअगाडी लम्किहाल्थ्यो र नीला भने पछीपछी हराएको बाख्रो खोज्न निस्केको गोठाल्निजस्तो स्याँस्याँफ्याँफ्याँ गर्दै बुर्कुस्सिन पर्थ्यो । उसोत नीलालाई हात समातेरै नभएपनी सङ्गैसङ्गै हिँड्न रहर कती हुन्थ्यो कती। तर समाज नै उस्तो होला र त खोइ लाज शरम केले के ले रोक्थ्यो त्यसो हुन र जहिल्यै सरदर ५ हातको दुरी नघटाइ बाटो नाप्थे। तर यहाँ लाज नभाका पात्तर हरु! चौबाटोमै उभिएर चुप्पाचुप्पी गर्छन्\ लौ! गालीगरे जस्तो गर्दै इर्श्याको आगो ओकल्थी र आफ्नो प्यारो, इमान्दार मायालु नवीनलाई सम्झिँदै आँखा भिजाउँथी। । अली अन्तरमुखी भएरै होला नीलाका उस्तो धेरै साथीसङी पनि थिएनन्।
उसकै घर पल्लोपट्टी दात्ती बाजे(कट्टर धार्मिक बाजे) स्याहार्ने एउटी अधबैंसे रोमानियन आइमाइ सँग उसको मैत्री जम्न पुग्यो। तर निकै समयसम्म एकोहोरो। रोमानियन आइमाइ ‘सुलिना’ भने हित्तचित्तको कुरो पनि गर्थिन् नीलासँग तर नीला भने उही सामान्य दैनिकी हलुका गन्थन गर्थी तर अन्तरंग कुरो खोल्दिनथी।
यस्तैमा आक्कलझुक्कल साथीहरुसँग कुरा हुँदा कतिले यतै ब्वाइफ्रेण्ड गर्ल्फ्रेण्ड ब्यबस्था गरेका। कतिका इन्टर्नेट लभ पर्दैगरेको, कतिले आफ्ना लोग्ने श्वासनीलाई यतै झिकाउन लागेका कुरा सुन्दासुन्दा एकदिन बिचार गरी र नवीनलाई फोन लगाइ। अलिकति पैसो जम्मा गरेर अलिअली ऋण अरु थपेर नवीनलाई पनि इजरायल झिकाउने, बच्चाहरुलाई मावलामा छोड्दिने, दुबै जोइपोइ मिलेर छिट्टो पैसो कमाउने र नेपाल फर्किएर हाइसोखको जीवन जिउने कल्पना, सपना र योजनाको बेलिबिस्तार नीलाको मुखबाट सुनेपछी नवीनले लामो मौनता तोड्दै बिचार गरौँन त भनेको थियो।
उसो त बाइक एक्सिडेण्टमा भाँचिएको गोडा पनि अब त चल्ने भइसकेका थिए। समानता र स्व-हकका जति भाषण सुने र छाँटे पनि यथार्थ जिन्दगीमा नवीन नेपाली समाजको लोग्ने मान्छे थियो। आफ्नो अशक्तता र श्वासनीको कमाइमा बाँच्नुपरेको पीडाले उसलाई भित्रभित्रै गलाइरहेको थियो। काम सुरु नै गरेपनी नीलाको तुलनामा उसको कमाइ निकै कम्ती नै हुने पक्का थियो। मुखले केही ब्यक्त नगरेपनी उसलाई श्वासनी भन्दा आफु तल परेको हिनताबोधले खाइरहेको थियो। त्यसैले रातभरी दलिन गनेपछी भोलिपल्टै नीलालाई फोन गरेर आफु तैयार रहेको जानकारी दियो। नीला खुशी र बिस्मातको भुमरीमा एकैपटक उचालिएर पछारिन पुगेकी थिई नवीनको जवाफ सुनेर। जोइपोइ मिलेर छिट्टै पैसो कमाउन सकिने, इजरायली जोडीझैँ कुमा जोडेर भुमध्य सागरको पानी निल्याल्ने कल्पनागर्दा खुशीको सगरमाथा टेक्थी त बाबु आमाले दुबैले पैसाका लागि छोड्नुपरेको अभागी बच्चासम्झिँदा यसो नगरुँ भन्दै आँखाको कोश पुच्छ्थी। आखिर उसले यो सब छिट्टै नै यो बनबास टुङ्याउनको लागि गर्दै थिई। नवीनको हिनताग्रस्त मनोबिज्ञानसँग त ऊ पूर्णत: बेखबर थिई। आखिर खबर होस् पनि कसरी ! त्यही लोग्ने जो बि यड पास गरेको छ। त्यही लोग्ने हो क्याम्पसे राजनीतिमा नारी हकहितको आवाज गुन्जाउँदै हिँड्थ्यो र कहीँ न कहीं नवीनको त्यही उदारपन्थी सोच र फराकिलो बैचारिक दायरा देखेर नै उसले नवीनसङ्गको बैबाहिक यात्रालाई शहर्ष स्विकारेकी थिई। त्यही माथि अभाबको लडाईं सँग जुध्धै कत्रो विश्वाश गरेर आफुलाई बैदेशिक रोजगारमा जाने चाँजोपाँजो मिलाएको थियो नवीनले नै! यस्तो उदार, यती आधुनिक बिचार राख्ने समसोची लोग्नेले श्वासनिको कमाइ र लोग्नेको कमाइ भनेर साँध्सिमाना लगाउला भन्ने उसले सोचोस् पनि कसरी! नित्तान्त पैसाकै निम्ती दुई लालाबालालाई चटक्कै बाउआमाले नै छोड्न मनले नमानेपनी कुन्निकहाँनिर आभाबले ममतालाई ओभरटेक गरिसकेछ।
सल्लाह अनुरुप नवीन नीला गएकै म्यानपावरको दैलो चिहाउन पुग्यो । लाग्नेजती पैसा नीलाले अनी इजरायलबाट साथीसङ्गीहरुसङ रिन सापट गरेर पठाउने भई। अब मन निचरेर निर्णय नै गरिसकेपछी ढुक्कले नवीनको भिसा लाग्ने दिन गन्न थाली। कम्सेकम लोग्नेको सामिप्यता त पाइनेभयो। एक्लै ४ बर्ष दु:ख गर्नुको साटो दुइजना मिलेर दुई बर्ष मै गर्यो अनी मजाले घर फर्क्यो। उसैपनी यि इजरायलीलाई मुखभरीको जवाफ दिनपनी उसको नवीन आइपुग्नुपर्ने थियो। शारिरिक् सामिप्यता बिना माया प्रेम नै नहोला जस्तो यि नकच्चरा नकच्चरिहरु सोध्छन् बेलाबेलामा,”आत लेबाद? एन्लाख खाबेर?(तिमी एक्लै? ब्वाइफ्रेण्ड छैन?” एख लिस्तदेर लेबाद? बाला बे नेपाल ,,आत लो रोच्च्सा पो एखात खाबेर? कसरी म्यानेज गर्नु? श्रीमान नेपालमा! तिमी यहीँ एउटा ब्वाइफ्रेण्ड चाहँदिनौ?”? )नाता र सम्बन्धमा शारिरिक सामिप्यता बिना इमान्दारिता नै हुँदैन क्यारे यि बिदेशीहरुको त उफ्फ्फ! नीला गर्बिलो जवाफ दिन्थी रबाफको साथ,” ओद कामा खोदेस बाली याबो पो! आनाख्नु लो ओसिम काखा । मेखाकिम ले बाल! के(ही महिनामै मेरो लोग्ने यहीँ आउंदैछ। हामी यस्तो गर्दैनौँ आफ्नो लोग्नेलाई पर्खिन्छौँ!” )पखेस्न ! नवीन आएपछी यि पातरपातर्नीलाई कसरी देखाउँछु आँखैअगाडी म्वाइ खाएर भन्दै मुर्मुरिन्थी।
नवीन नेपालबाट आउने कुरा पल्ला घरकी रोमानियन सुलिना लाई भनेकी थिई। नीलाको खुशीमा सुलिना निक्कै रमाएझैँ लाग्थी। दिन बित्न के बेर लाग्छ र! समयको कुदाइमा हामी जोडीनुपर्दैन। उसैले लतार्दै लगिहाल्दोरहेछ। अन्तत: नवीनले पनि पाइला टेक्यो बेनगुरियन बिमानस्थल इजरायलमा एक झल्मलाउंदो रातमा। निर्धारित भन्दा २ घण्टा पहिल्यै एअरपोर्ट पुगेको नीला अधिर भई अराइभल गेटको बाहिर उंघिरहेकी थिई। जसै नवीन देखापर्यो। नीला स्तम्भित भई। उसका गोडा एकाएक जमेर कक्रक्क परे। खुब इजरायलैलाई मनमनै इख्याउँथी नवीन आएपछी आँखैअगाडी म्वाइ खान्छु भन्दै तर आँखैसामु नवीन उभिएको त्यस स्वर्णिम पलमा उसका हातगोडा कक्रिए। वास्तबमै जन्मेदेखी भोगेको र अनुसरण गरेको संस्कार भनेको दुइचार बर्षको बिदेशी हावापानीले कहाँ पखालिनेरहेछ र! हर्षले मोतीका दाना गालाहुँदै छाती भिजाउन पुगे तर उसले सोचेजस्तो झम्टेर म्वाइ खान उसको त्यो गढेको संस्कारले ,सिकाइले,भोगाइले खोइ के ले दिएन। बरु नवीन नै नजिक आयो र बिस्तारै काँधमा हात राख्दै भनेको थियो,” निली! मोटाइछौ राम्ररी!” आँखा पुछ्दै निहुरेर पोइका गोडा छोइ। त्यती परिमार्जन भएछ उसको संस्कारमा नत्र त झपक्क निधारले पोइका गोडा छुने गर्थी नेपालमा। त्यसरात जोइपोइ रोएरै रात काटे। भेटेको खुशीमा। त्यसबखत सम्म गुमाएको त्यो सामिप्यताको यादमा, छोडेर आएका साना नानीहरुको सम्झनामा र बाँकी सम्भाबित उज्यालो भबिस्यको कल्पनामा जोइपोइका चार आँखा गोल्भेँडा बनेका थिए बिहानसम्ममा।
नीलाकी इजरायलको कोही नजिकको साथी भनेकै सुलिना थिई। उसैलाई भेटाइ भोलिपल्टै नवीनलाई लगेर। सुलिना हेर्दा संस्कारी, सभ्य र शिक्षित अधबैँसे महिला लाग्थी। नीलाले स्याहर्ने बुढीआमैका सन्तानले नवीन आएको खुशीमा एक सांझ घरमै बार्बेक्यु पार्टी समेत आयोजना गरे। सबै खुशी थिए। नीला खुशीले उछालिएकी थिई।
नवीनको इजरायल आगमनसङ्गै नीलाको अनुहारमा गुलाफ फक्रिएको थियो भने ओठमा लालुपाते। नीलाको काम देखी करिब दुइघन्टा दुरिमा नवीनले पनि एक अशक्त् इजरायली बाजे स्याहार्ने काम सुरुगर्यो। नीलाको कल्पना जस्तै जोइपोइका कमाइ र सामिप्यताले दिन बित्तै गए। कसोकसो छोराछोरीका याद पनि नवीनकै अनुहार नियाल्दै मन बुझाउँथी । सुरुका केही महिना नवीन हरेक हप्ता नीलाकोमा आउने गर्थ्यो। रातभरी रोएर हाँसेर बच्चाहरुका सम्झना गरेर खुशी हुन्थे दुइजना। नवीन असल थियो। इमान्दार लाग्थ्यो। हरेक महिनाको तलब नीलाकै हातमा गनिदिन्थ्यो। एक्दिन नवीनले अबदेखी हरेक हप्ता नभेटिने कुरा गर्यो। उसका अनुसार कामको केही दुरीमा नवीनले ओभरटाइम पाएको रहेछ अर्को एक जना बाजे कुर्नुपर्ने रे ,त्यस्बापत ५०$ दिनेरे। नीलाले आनाकानी गर्दै थिई। नवीनले सम्झायो- “हेर त्यतिका समय हामी एक्लाएक्लाई थियौँ र त भएकै थियो भने अहिले हामी कम्सेकम महिनामा त भेटिन्छौँ नि! हातमा आउनलगेको लक्ष्मी किन लत्याउनु!”
लोग्नेको कुरो मनासिब् लाग्यो नीलालाई। त्यसबेला देखी नवीन महिनामा एक्पटक तलब र ३ हप्ताको ओभरटाइमको पैसा समेत सबै एक एक हिसाब गरेर नीलाको हातमा राख्न आइपुग्थ्यो। त्यही एकरातको माधुर्यताले महिना गन्दै बस्नथाली नीला। नीला सोच्थी अब केही बर्ष हो यो कहर जिन्दगी अनि त दु:खका दिन सकिने भए!
नवीन आएदेखी नीला र सुलिनाको भेट्घाट पनि पातलिएको थियो .एक झिस्मिसे बिहान घरपछाडिको माख्सान(स्टोर रुम) मा बाजेको खितुल (डाइपर) को प्याकेट झिक्न जाँदा पर झाङ्गनिरको जैतुनको रुखमा छायाजस्तो झल्यकझुलुक गरेको देखी सुलिनाले। के रहेछ भनी अलिक नजिक जाँदा त्यहा नीला थिई। जैतुनको हाँगामा डोरी बाँधेर आफ्नो घाँटी कस्न ठीक परेकी नीलालाई देख्नासाथ सुलिना झम्टेर पुगी र नीलालाई रोकी। उमेरमा आमाछोरी जस्ता लाग्ने सुलिना र नीलाको आँखा जुध्यो। नीलाको आँखा चम्किला नभएर राता राता थियो। नाक पनि आँखैजस्ता थिए रातै। ‘लेट मि डाइ सुलिना! माइ लाइफ इज ओभर! आइ कान्ट लिभ विद आउट नवीन! हि लेफ्ट मि एन्ड माइ किड्स! हि डिसिभ मि!” नीला चिच्याउन थाली। सुलिना हक्कबक्क परी। एक थप्पड गालामा बजाएर अनेक पटक नवीनको बारेमा सोधेपछि बल्ल नीलाले बताई।
सुरुमा नीलाका कुरा सुलिनाले एकरत्ती पत्त्याइन। पत्याओस पनि कसरी! सकेसम्म आन्तरिक कुरा धेर नखोल्ने नीलाले जति पनि कुरा गर्थी नवीनको तारिफ मात्रै गर्थी। जब नवीन इजरायल आयो तब सुलिनाले यकिन गरी कि नवीन नीलाको तारिफ भन्दा अझै माथिको रहेछ। बरु टोलाएर घण्टौँ आकाश नियाल्ने तर मनको बह हत्तपत्त नपोख्ने नीला आज यसरी एकाएक चुपचाप यो परदेशमा जीवन टुङ्ग्याउन लागेको देख्दा सुलिना स्वयं थामिन नसकेर घुँक्क घुँक्क गर्न थालि। नीलालाई कुनै जोर्जुलुम गरिन बस् रुन दिई। भारी मनको आधा भार आँशुमा बगाएपछी बल्ल नीलाको मुखबाट शब्द निस्किन थाल्यो।
सुन्दा कुनै चलचित्रको काहानी जस्तो लाग्ने यथार्थ नीलाको मुखबाट सुन्दा सुलिनाका मुख ह्वाङ्गै रहे निकैबेर सम्म अचम्म अचम्मले। त्यतिमाथी नीलाले भगवान मान्ने नवीन आफु इजरायल आएको केही महिनामै ओभरटाइम पाएको बहानामा नीलासँग टाढिएको त खास कारण एकदमै घ्रिणित रहेछ नीलाको अनुसार। नवीनको ओभरटाइम कुनै अशक्त बाजे हेर्नु नभएर एउटी इण्डियन केटी रहिछे जो एक अन्धी बहिरी इजरायली बुढी स्याहार्दीरहिछे। निकै धनी बुढी स्याहार्ने इण्डियन केटी हेर्नमा पनि अत्यन्तै राम्री रहिछे विवाहित भएर पनि नीला भन्दा जवान पनि रहिछे। भगवान जानोस् नवीनले उसलाई फसायो या त्यो मेघना नाम गरेकी इण्डियनले नवीनलाई फसाइ तर दुबै एकअर्कामा फसिसकेका रहेछन्।
नीलाको विश्वाश कायम राख्न र मेघनाको बैंशालु भोक टार्न नवीन र मेघना दुबै मिलेर नवीनले बिताएको हप्तान्तमा ओभरटाइम मुताबिक को ५०$ मेघनाले दिने र त्यही पैसा नवीनले नीलाको हातमा राखिदिने गर्दारहेछन जुन घ्रिणित सत्यसँग नीला महिनौँ बेखबर थिई। हिसाब कत्ती तलमाथी नगरि ओभरटाइम समेतको पैसा एक एक हातमा राखिदिने नवीन सुरुसुरुमा त महिनाको एकपटक आउँदा निकै थाकेको हुन्थ्यो। बिचरा कामले गलेको होला भन्दै नीला राती अबेर सम्म जैतुनको तेलले नवीनको गोडा मालिस गर्थी तर हरेकपटक जसो महिनान्तमा आउँदा पछीपछी नीलाले केही फरक पन आउंदै थिई। बिशेष गरी शारिरिक सम्बन्धमा नवीनको रुची ठ्याम्मै हराएको थियो। कहिलेकाहीँ संका आए पनि बिचरा कामले भुतुक्क थाकेको छ। यस्तो सोच्दा पनि मलाई पाप लाग्छ भन्दै बस्थी तर लोग्ने मान्छे न हो। बैदेशिक रोजगारमा भासिएपछी कसैका लोग्नेले ढोका दिएको त कसैका श्वासनीले जहाज डुबाएको। लोग्ने बिदेशमा श्वासनी नेपालमा मस्तिमा धुत। श्वासनी बिदेशमा त लोग्ने अर्कैसँग मस्त हुनेगरेका घटना त प्रसस्तै सुनिन्थ्यो तर लोग्नेश्वासनी दुइटै सँगैहुने अवसर पाएका, चित्त बुझ्दो कमाइ गरिरहेका र कुनै धोखाधडी व्यबहार नदेखिएको यस्तो अवस्थामा आफ्नै लोग्ने त्यसरी गिर्ला या कुनै केटी मान्छे शारिरिक भोक मेटाउनकै लागि कोही विवाहित लोग्नेमान्छेलाई ज्याला तिरेर स्विकार्ला भन्ने कुरा त नीलाले सपनामा समेत सोचेकी थिइन।
आखिर जिन्दगी न हो कुन मोडमा कस्तो तमासा देख्नु र भोग्नुपर्ने हो भन्ने कस्लाई थाहा! मान्छेको इमान्दारिता न त निधारमा खोपिएको हुन्छ न त व्यबहारमै झल्किनेरहेछ। आखिर बिपत्ती ढोल नबजाइ नै आउँदोरहेछ हठात् हठात्! जतिनै थाकेपनी महिनामा एक्पट श्रीमती भेट्दा किन यस्तो उपेक्षा!! केही त पक्कै छ भनेर जासुसी गर्दा नीलाले नवीनको त्यो पर्दाभित्रको ओभरटाइम उदाङ्गो पारीछे। पहिले त नवीन र मेघनाले आनकानी गरेछन् तर नखुस्किनु धोती खुस्किसकेपछी अन्तमा नवीन र मेघनाले एकसाथ घोषणा गरेछन् कि कमाइको सबै हिस्सा नीलाले पाउँछे यदि उसले चाही भने तर अब उप्रान्त उसले नवीन पाउँदिन। उसको लोग्ने पाउँदिन र पाउँदिन उसका लालाबालाको पिता!!
त्यसबिहान नीला यती रोइकी सुलिनाले उसका आँशु टिपेर राखेकी भए त्यसका सामु लालसागर सानो हुँदोहो। आफ्नी छोरी समानकी एउटी सफा मनकी केटी त्यसरी निरिह बनेर आफ्नै छातीमा टाउको जोतेर रोइरहंदा रोमानियामा जन्मेकी सुलिनाको मन कसैगरी थामिएन। दुबै अङ्गालो मारेर निकैबेर रोइरहे। लामो सुंकसुंक पछी नीलाले आफुलाई केही हलुको पाइ। सँगइ मर्ने जिउने कसम खाएर जिन्दगी अगाडि बढाएको लोग्ने जसलाई ऊ भगवान मान्थी। जसले उसका गर्भमा बिज रोपेर दुई सन्तान जन्माउने सौभाग्य दिएको थियो त्यस्तो मान्छेको धोकामा आज कोही नित्तान्त पराइ कहाँकहाँ एउटी परदेशी जो सँग हिजो भेट भएको हो र शायद फेरी कहिल्यै नहोलापनी। उसैका छातीमा आडलगेर त्यसरी रुंदा आफुलाई निकै बिचरी निकै एक्ली पाइ।
टाउको उठाएर भनी,” सुलिना! म अब बाँच्न सक्दिन! नबिन बिनाको जीवन म कुनै धनसम्पतीमा जोख्न सक्दिन। बाबुबाट त्यागिएका बच्चाहरुको उदास अनुहार म कसैगरी नियाल्न सक्दिन। म बाट ठुलोभूल भयो कि मैले नबिनलाई इजरायल ल्याएँ। म अब बाँच्दिन। मैले बच्चाहरुबाट उनका बाबु छिनेँ।,” सुलिनाले मायाले मुसार्नुको साटो यसपाली एक गतिलो थप्पड निलाको गालामा बजाइ। निला उसैपनी केही सोच्न नसक्ने अवस्थामा थिई। यसबखत ति रोमानियन महिला एक भगवान बराबर भएर उभिइन निलाको अगाडि। सुलिनाले निकैबेर सम्झाइन् अझै भनुँ निलाका आँखा खोलिदिइन्। जिन्दगीको सत्य उद्घाटन गरिदिइन्। सही मानेमा बाँच्न सिकाइन्। जुन सत्य आज सम्म निलाले महसुस समेत गरेकी थिइन त्यो सत्य आज ती रोमानियनले आँखा अगाडि राखीदिइन्। निकै लामो सम्भाषणपछि अन्तमा सुलिनाले भनिन्,” हेर निला! जिन्दगीको अर्थ मर्नु होइन। मर्नु त सिद्दिनु हो, समाप्त हुनु हो। तिमी आज जीवनमा छौ। जो तिम्रा इच्छा र हातले चलाउने र पाउने कुरो होइन। त्यसलाई भगवानको कृपा मानेर सदुपयोग गर। कोही आफ्नो जिम्मेवारी बाट भाग्यो भनेर तिमी पनि भाग्ने? कोही स्वार्थी भयो भनेर तिमी पनि हुने? कम्सेकम ति साना नानीहरुलाई सम्झ। यती राम्रो घरबार, परिवार छोडेर त्यस्तो स्वार्थी हुन सक्ने नबिनले तिम्रो समाप्तिपछि ती बच्चालाई हेर्छ? नहेरेको अवस्थामा तिनका हालत के होला, तिमी अनुमान गर्न सक्छौ? सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महान शब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ! नबिन गयो तिम्रो जिन्दगीबाट तर अरु सबै बाँकी छ। तिमी बाँकी छौ।”
——–अरु के के भन्दै थिई सुलिना तर निलाको कानमा “…सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!” मात्रै गुन्जिरह्यो। झम्टेर सुलिनालाई अंगालो मारी र निकै बेर गाला जोरेर अडिएपछी भनी,” सुलिना! आज म प्रण गर्छु कि म अब गलत गर्ने छैन। म आफुमाथिको सबै जिम्मेवारी निभाउने प्रयास गरिरहनेछु। र सत्य सत्य! नबिनलाई बिर्सिनेछैन। म उसको प्रेम हुन सकिन । ऊ मेरो जिन्दगी हुनसकेन तर सत्य यही हो कि मेरा बच्चाको बाबु उही हो। मैले माया गरेको मान्छे उही हो। म भन्न सक्दिन कि जीवनको कुनै मोडमा नबिन फर्केर म कहाँ आउला । हो म अत्यन्तै क्रुद्द छु नबिनको यो निर्णयप्रति तर उसलाई घृणा गर्न सक्दिन सुलिना! गाह्रो छ म मेरो नबिनलाई कोही अरुसँग रमाएको हेरुँ तर कम्सेकम नबिन खुशी छ कतै। तिमी सही छौ! जिन्दगी यतिमै सकिएको छैन न त मेरो जिम्मेवारी टुङ्गिएको छ। तिम्रो यो गुण म् कहिल्यै भुल्नेछैन सुलिना! तिमी मेरी आमा हौ आमा! जसले जीवन दिन्छ । तिमीले आज मलाई मात्र बचाएकी छैनौ कि मेरा दुई साना नानीहरुलाई आमा दिएकी छौ। उनिहरुलाई भबिस्य दिएकी छौ र सहारा दिएकी छौ। धन्यवाद सुनिला! यतिबेला म सँग धेरथोर पैसा छ। गतिलो काम छ र शायद असरल्ल जिन्दगी छ तर मेरा बच्चा छैनन् साथमा। नबिन हुँदा सम्म म एक्लै छु भन्ने आभास थिएन शायद त्यही स्वार्थमा मैले बच्चाहरुलाई भुलेछु। या त कम्ती याद गरेछु। अब एक्लै भएं तिनका याद बेस्सरी आयो। म अर्को हप्ता नै नेपाल फर्किन्छु । तिम्रो यो गुन म तिमीलाई सँधै याद गरेर तिर्नेछु सुनिला!”
यति भनेर निला साहसी अनुहार लिएर फर्की । सुलिना निला गएको हेरिरही। अगी निलाले बांधेको र झण्डैझण्डै निलाको जीवन समाप्त गर्न तम्सेको डोरी जैतुनको हाँगामा हल्लिरहेको थियो चिसो बतासको झोँकासङ्गै। सुलिना मुस्कुराइ; अन्तत: निला जिउँदै फर्की-……निला बाकसमा होइन जिउँदो सरिरमा नेपाल जाँदैछे। सुलिनाले डोरी एक झट्कामा तानी र पर हुत्त्याइदिई। पूर्व क्षितिजमा सुनौलो घाम मुस्कुराउँदै थियो जसले निस्पट्ट अंधेरो रात छिचोलेरैपनी उज्यालोको अर्को अध्याय सुरुवात गरिसकेको थियो।
कथा राम्रो नै वास्तविक जीवन लाइ उतारेर बनाइएको छ यसलाई राम्रो पक्क्ष बाट पनि र नराम्रो पक्क्ष हरु केलाउने ठाउ हरु धेरै छन ,,टिका ट्टीपनि पढ्दा साहित्य कार अलिक धेरै नै गर्ब घमण्डी मै मात्र जान्ने संसार मेरो नै हो भन्ने जस्तो लग्यो
सबै को जिबन मा कुनैन कुनै जिबन संघर्स त हुन्छन नि तर यसरि मिलायर आफ्नै मात्र कुरा लेख्दा अलि मार्मिक मात्र भाको हो अरु खासै केछर यो कथा मा
साथिहरु मलाइ त् अचम्म लागेर आयो आज हामि सात समुन्द्र पारि बिदेस मा आएर पनि फेरी उही छोटो बिचार सानो दिमाग बनाएको देख्दा ,यहा लेखक ले कसैलाई बेक्त्याएर लेखेको जस्तो त् लागेंन मलाइ त् ,,यति मिठो बास्तबिक हाम्रो समझ मा हुने गरेका घटनालाई कथाको माध्यम बाट दरिलो पाठ पढ्ने मौका दिनु हुने लेखिका लाइ धन्यबाद दिनु को सट्टा छोटा दिमागले बुझ्दै नबुझी तेसै गालि गर्नु हुन्छा ,,कथा आखिर मा कथा नै हो किन डराउनु भा ,,नेपाल मा हाम्रा गाउ ठाउमा यस्ता घटना त के कस्ता कस्ता घटना घट्ने गर्छन दिनका दिन समाचार पद्नु भा कै छ त् ,,तेस्लाई के भन्नु हुन्छ ,,तपाइँ आफ्नो ठाउ बाट ठिक हुनुस जसले जे भने पनि डराउनु पर्ने छैन आफु बिग्रन खोज्ने अनि देख्नी ले भंदिन्छा कि थाहा पाउछन कि भनेर डराउने हाम्रो प्रबिती कत्ति पनि ठिक छैन ,,,यी वास्तविक घटना मा आधारित लेख लाइ सलाम गर्न पर्छा यस्ता घटना नहुदो हो त् लेखक लाइ यस्ता परिकल्पना गर्न गारो पर्थ्यो ,,यो तपाइँ हामि सबैले देखेकै यथार्थता मा कोरिएको कथा हो ..यसले तपाइँ हामि लाइ ठुलो शिच्छा दिएको छ ,,नारीको आत्म बल लाइ बढाएको छ ,,जिन्दगीमा परि आएका समस्या लाइ झुधने हौसला दिएको छ ,,तेसैले नबुझी कन तेसै पियाच्च बोल्दि हाल्ने ? किन यस्तो लेख लेखेको भनेर !! इजरैल जस्तो सुरछित देश महिला हरुको लागि संसार मा कुनै देश छैन होला ,,,यदि तपाइँ ठिक हुनुहुन्छा भने महिला न पुरुष यहा कत्ति पनि डराउनु पर्दैन बिग्रने सप्रने आफैमा भर पर्छा महिला हरु विदेश मा काम गर्न जाने नै हो भने सर्ब प्रथम इजरैल लाइ नै छान्नुहोस् ,,यहा तपाइँ सुरछित रहनु हुने छ ,,यदि तपाइँ सुरछित को महशुस गर्नु हुन्न भने थ्यो तपाइँ हामि जस्तै विभिन्न देश बात आएका काम गर्ने कामदार बाट हो यहाको मानिस साग होइन सबैलाई चेतना भया !! लेखिका दीप सीस लाइ रिदय देखि धन्यबाद ,,आहिन्दा दिनमा यस्ता मार्मिक लेख रचना पदने आबसर मिलोस
कथा राम्रो लाग्यो.मार्मिक सत्य घटनामा आधारित.आखिरी कथा कथा नै हो. कथा जसको बिसयमा पनि हुन सक्छ र जे को बिसयमा पनि हुन सक्छ. समाज र व्यक्ति को जिबनमा घटेका घटना हरुलाई उतार्नु नै बास्तबमा कथाकार र साहित्य कला होला.यसमा बिबादित सवाल जबाफ त खासै केहि देखिन मैले चाही
नमस्ते यस ग्रुपका सम्पूर्ण मित्रहरु! मेरो कथाबारे यहा छलफल भैरहेको खबर कतैबाट पाउँदा यहाँ सामेल भएर केही बताउने जमर्को गरेको छु। मेरो कथा ‘निला जीवित फर्कि’ बारे आदरणिय दिज्यु सुस संग्रौला को ध्यानाकर्षण (जो नेप्लिज इन ईजरायल ग्रुपमा राखिएको रहेछ्) बारे म खुशी छु। तर दिज्युको टिप्पणी “…..आफु इजरायल रहेको अबस्थामा आफुलाई सहि सत्य ठानी आफ्नै आँखाले देखिएको भन्दा पनि कानले सुनिएको कुरालाई नाम परिर्तन गरी दिदि बैनीको खिलापमा लेखिएको कथा हामी इजरायल बासी दिदी बैनीलाई कत्तिको पच्दो हुन्छ ??” मा भने मेरो सख्त आपत्ति छ। की त सुस दिज्युले मेरो कथा पुरै पढ्नु भएन। की त कथाको सार् बुझ्नु नै भएन। प्रस्तुत कथामा इजरालमा रहनुहुने दाजुभाई को इज्जत घटाउने कुनैपनि सार् राखिएको छैन। घटना सत्य हो जसलाई मैले कसैको ब्यक्तिगत जिन्दगी र अधिकारबारे सचेत रहँदै काल्पनिक नाम बाट प्रस्तुत गरेको छु। अझै एउटि अबला भनिएको नारीको त्याग् समर्पण र हिम्मतलाई सजिब उतार्ने प्रयास गरेको छु। कुनैपनि सिर्जनामा कमेण्त भन्ने कुरा अनेक आउँछन्। किनकी लेखेर सार्वजनिक स्थानमा पेश गर्नु भनेको सबैको पहुँचमा पुर्याउनु हो। यसरी पेश गरेपछी अनेक मानसिकता भएका पाठकले पढ्छन र आफ्नो बिबेक अनुसारको कमेण्ट गर्छन्। कसैको कमेन्ट लाई आधार मानेर बिचलित म कदापी हुँदिन र सम्पूर्ण दाजुबहिनीहरूलाई पनि बिचलित नहुन आग्रह गर्छु। सागरमा मोती संगै हिलो पनि हुन्छ, फोहोर पनि हुन्छ। हाम्रो काम मोती पहिचान गर्ने हो। लेखकको काम कसैलाई खुशी पार्न लोलोपोतो लेख्नु नभएर यथार्थ उतार्नु हो जो मैले गरेँ यसको मत्लब यो होईन की इजरायलमा काम गर्ने सबै नेपालि यस कथाको ‘निला’, उसको पती या सुलिना जस्तै हुन्छन्। स्मरण रहोस् यो कथा नेपालमा केही छापा पत्रिकामा समेत प्रकाशित भैसकेको छ भने नेपालका एक बरिष्ठ समालोचक साहित्यकारको सम्पादनमा ‘समकालिन डायस्पोरिक कथासङ्रहमा’ समेत समेटीएर आउँदैछ। जहाँ सम्म इजरायलमा कार्यरत दजुबहिनी को इज्जत उडाउने काम गरेको भन्ने सुस दिज्युको आरोप छ , यहा म के भन्न चाहन्छु भने एक महिला र ईजरायलमै कार्यरत भएको नाताले बरिष्ठ आख्यानकार कृष्ण धारावासी जस्तो बिद्द्वान को प्रख्यात पुस्तक ‘टुँडाल’ मा उल्लेखित केही हरफ जो इजरायलमा कार्यरत नेपालि महिलाको लागि अपाच्य छ, त्यसलाई तुरुन्त सच्याउन र त्यो सत्य नभएको कुरो उठाउने मध्यको एक महिला म आफैँ हुँ। जसको परिणाम धरावासी ज्यु ले उक्त हरफ नयाँ संस्करणमा सच्च्याउने वचन दिनुभएको छ। तसर्थ म सुस दिज्यु लाई के भन्न चाहन्छु भने कृपया सिर्जनाको मर्म बुझेर मात्रै आरोप लगाउनु होला। किनकी हुन सक्छ कसैले कुनै दिन कमेण्ट गर्न छोड्लान तर म सिर्जनामा हिजो पनि थियेँ , आज पनि छू र सायद् आजिवन रहन्छु। मलाइ रचनात्मक टिप्पणी सदा ग्राह्य हुनेछ। यहाहरू सबैलाई मेरो आत्मिय धन्यबाद्!
स्टोरी is just ओ.के !
दिप्स शाह ले लेख्नु भएको यो कथा मैले पनि पढे यो कथाले हामी नारी हरुले सछेम भयर परिश्रम गरेर आफ्नु बच्चा र आफ्नु श्रीमान्को भबिशे सोचेर यो बिरानो मुलुकमा आयर काम गरेर आफ्नु परिवारलाई सहयोग गर्नु यो राम् कुरा हो भने इस्राएलमा काम गर्ने दिदी बैनिहरु धेरै जसो बिग्रिएर बसेका छन भन्ने गरेको देख्दा र सुन्दा अलिक कता कता नरमाइलो र नमिठो लाग्यो , हामी यहाँ काम गर्ने नेपाली चेलीहरु को चरित्र प्रति नकारात्मक सोच भयको देख्दा र सुन्दा झन दंग परेको छु मत बिग्रने मानिस जहाँ जसरि जुन अबस्तामा बसे पनि बिग्री रहेको हुन्छ त्यसको लागि यहाँ आउनु नै पर्दैन बिग्रिने मनिस नेपाल मै बसेर पनि घर को रुम भित्र ढोका बन्द गरेर राख्दा पनि बिग्रियका छन अनि २/४ जना बिग्रेको देख्ने हामी महान मनिष हरुका आखाहरुले मिहेनत गरेर सधै भरि ओटी नछोडी बस्न्ने हरुको दुख देखेर त्यसका लागि पनि २/४ शब्दको राम्रा कुरा गरि दिनु भयमा यहाँ दुख गरेर बस्ने दिदि बहिनि हरुलाई अरु देश बाट हेर्ने मानिस हरुले पनि सकरात्म सोच बनाई हेर्नु हुने थियो होला हैन र
कथामा दिन खोजिएको संदेश सकारात्मक भएपनि यहा गरिएको एक मित्रको (‘ इजरायेल मा धेरै नै नेपाली केटा केटि हरु बिग्रिएर बसेका छन् न त उनीहरुलाई नेपाल मा घर परिबारको चिन्ता छ न त कसैको टेन्सन।।!धेरै केटि हरु आफ्नो घर परिवार लाई बिगारेर यहाँ केटा साथि बनाएर बसेका हुन्छन तर थाहा भने प्रायः कसैलाई दिदैनन/) भन्ने टिप्पणीले इजरायलमा बस्ने नेपालीहरुको आत्मा-सम्मानमा चोट चाहि अवस्य पुगेको छ।
शब्द भनेको वम्हास्त्र भो यसको दुरुपयोग गर्यो भने त्यो आफै तिर पनि फर्किन सक्छ भन्ने हेक्का राख्नु पर्दछ ।बिग्रने-सप्रने भन्ने कुरा जहा पनि हुन् सक्छ।तर एउटा अकाट्य सत्य कुरा के हो भने महिलाहरुको रोजगारीका लागि इजरायल एक सुरक्षित गन्तव्य स्थल हो। केहि बेईमानाहरुले बेइमान गरे,बिकृति फैलाए भन्दैमा धेरै इमान्दारहरुको आत्मा-सम्मान मा चोट पुर्याउने कार्य कसैले पनि गर्नु हुदैन।आफु र आफ्नो परिवारको (राष्ट्रको लागि पनि केहि देन) उज्जल भविष्यको लागि इमान्दार भइ दिन-रात नभनी आफ्नो नैतिक सीमामा रही परिश्रम गरिरहेका महिलाहरु (पुरुष) धेरै छन् यहा। केहिले गरेको गल्ति कमजोरीलाई नै आधार बनाएर अरु धेरै इमान्दारहरुलाई एकै नजरले हेरी हिलो छ्याप्ने कार्य गर्नु भनेको निन्दनीय कार्य हो।इजरायल एक सुरक्षित गन्तव्य स्थल सहित महिलाहरुको लागि राम्रो कमाइ हुने देश पनि हो।जहा प्रजातन्त्र,कानुनि राज्य वा व्यक्तिगत स्वतन्त्रता छ -त्यहा केहि झिना-मसिना कुरा निस्किहाल्छन तर कति यस्ता निरङ्कुश देश पनि छन् जहा हाम्रा कयौ नेपालि चेलीहरु हजारौ पटक मर्दै बाचिरहेका कहाली लाग्दो स्थिति पनि छ!-खै त्यहा कसले आवाज उठाउने।।? तर जुन देशमा व्यक्तिगत,स्वतन्त्रता,वाक स्वतन्त्रता छ त्यहा यस्तै नचाहिदा कुरालाई लिएर सानो कुरालाई पनि ठुलो बनाउन सकिएका कारण केहि यस्ता नचाहिदा हल्ला त चलिरहंछन! आफ्नो देशका गल्लि गल्लि मा थुप्रिएको बिक्रितिरुपी फोहोरलाइ सफा गर्ने तत्परता नदेखाउने हामि युवा वर्गले देशमा रोजगारी नपाएर बिदेशमा जीविकोपार्जन गरिरहेका नेपालीहरु को स्वाभिमान मा (बिशेष गरि महिलाहरु माथि)आंच पुर्याउने कार्य किन गर्छौ ..?
गरेर खाने अवसर मिल्छ भने नेपालमै बसौ -आउँन सकिन्छ भने महिलाहरुका लागि ‘इजरायल’ आकर्षक र सुरक्षित गन्तव्य स्थल हो।बानि-व्यवहार-आचरण भन्ने कुरा त आफुमा भर पर्ने कुरा हुन्।नैतिकता र आचरण ठिक नभएकाहरु देश भित्र मात्रै नभई आफ्नै घर लाइ पनि फोहोर बनाउछन भने -नैतिकता र असल आचरण भएकाहरुले जहा गए पनि सफा राख्छन। त्यसै त काम र लामो समय देखिको पारिवारिक बिछोडका कारण तनाव झेलिरहेका नेपालीहरु लाई यस्ता मन दुखाउने खालका टिप्पणी ले अझ तनाव बढाइरहेको हुन्छ। नेपाल मा रहेका आफन्तजन-परिवारजन र सम्पूर्ण नेपालीहरु थोरैले गरेको गल्ति वा कमजोरीलाई आधार मानेर वाहियात कुरामा (धेरैलाई दोषी मानेर ) यस्तै कुरामा बिस्वास गरेर कुनै कदम उठाउनु वा केहि भन्नु भन्दा अगाडी सोच्नु होला -नत्र भने तपाइकै आफ्ना इमान्दारहरुको भित्रि मनमा कहिल्यै निको नहुने गहिरो चोट लाग्न सक्छ। ।
एक सचेत नेपालि नागरिक।
“…सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!” ..१०० % सहि……
कथा मैले पनि पढे कथा को सार तत्व र मुल भाबलाई बुझ्ने हो भने खासै नराम्रो त हैन .यस्मा त केटि परिश्रमी नै देखाइयको भयता पनि त्यो कुरा लाई न बुझी केहि पाठक प्रतिक्रिया भने इस्राएलमा काम गर्ने दिदी बैनिहरु धेरै जसो बिग्रिएर बसेका छन भनेर कमेन्ट गरेको देख्दा अलिक नमिठो लाग्यो ,कथाको भनाई यकातिर र कमेन्ट गर्ने को दोष चै हामी यहाँ काम गर्ने नेपाली चेली को चरित्र प्रति नकारात्मक सोच भयको देख्दा पो दंग परे मत …मानिसको बिग्रने नै मति हो भन्ने त्यसको लागि यहाँ आउनु नै पर्दैन बिग्रिने मनिस नेपाल मै बसेर पनि बिग्रियका छन अनि २/४ जना बिग्रेको देख्ने आखाहरुले मिहेनत गरेर सधै ओटी गर्ने हरुको दुख देखेर त्यसका लागि पनि २/४ शब्दको वर्षा गरि दिनु भयमा यहाँ दुख गरेर बस्ने चेली हरुलाई अरु देश बाट हेर्ने मानिस हरुले पनि सकरात्म सोच बनाई हेर्नु हुने थियो होला नि.हामीले आफ्नै चेलीलाई किन यति तल गिराउछौ ??? किन उ प्रति सकारात्मक सोच बनाउन सक्दैनौ ???र कलम चलाउने साथीहरु ले पनि सकारात्मक कुरा लाई बढी जोड दि अफ्नो बहुमुल्य समयको सदुपयोग गरि कलम चलाइ दिनु भयो भन्ने थोरै भयको बिकृति पनि छोपिने थियो र दुख गरि अफ्नो परिवारको आर्थिक स्थिति सुधार गर्न आयको हामी नेपाली चेलीहरु लाई आझैँ बढी काम गर्ने जागर र हौसला मिल्ने थियो ..
सत्य घटनामा आधारित कथा निकै मिठास लाग्यो !! मरो लोग्नेले यस्तो गर्यो ,अब म बाँच्नुको अर्थ नै के भयो रउ बिनाको जीवन म त सोच्न पनि सक्दिन भनि जीवन लिला समाप्त गर्न लाग्ने हुतिहारा प्रवृतिलाई गतिलो पाठ सिकाएको छ !उत्साहित बनाएको छ म एक्लै पनि केहि गर्न सक्छु भन्ने पाठ सिकाएको छ !! हार्दिक धन्यवाद दिप्स बैनी !!
सार्है मार्मिक लेख पस्कनु भएछ,जीवनको गोरेटोमा संघर्ष गर्नुपर्छ भन्ने सन्धेशमुलक कथा लाग्यो। धन्यवाद दीप्सजी।
राम्रो छ – अली बढी थप थाप हुँदा – नक्कली जोगी जस्तो देखीयो –
कथा मिठो छ / कहीं कतै भैरहे को घटना जस्तो लग्छा / बीच मा कतै केहि नपुगेको हो कि ?
वास्तविक लाग्ने कहानी . सार्है राम्रो लाग्यो . धन्यबाद .
यथार्थताको धरातलमा टुसुक्क बसेर लेखेको यो कथा सारै मन पर्यो / एउटी नारिको साहासिक यात्रा, साथै नारि जननी धर्ति हुन्, जो आफ्नो परिबारको दुखेको घाउमा मल्हम लगाउन कसरि त्यागि हुनसक्छे भन्ने दर्बिलो प्रमाण पेस भएको छ कथामा / नारि संबेदनशीलताको खिल्ली उडाउन खोज्ने स्वार्थि पुरुष प्रवृतिमाथि तिखो ब्यङ्ग प्रहार गर्न कथा सफल भएको छ / जसरि कथाको सुरुवात भयो अन्त्यमा कथाले खल्लो महसुस गरायो, नारि माथि परेको चोट, पुरुषले दिएको घात प्रतिघातलाइ सहदै निली स्वदेश फर्किएको कुराले गल्ति गर्नेलाई सजाय नभएको हुदा यस्ता घटनाहरुले प्रसय पाउने तिर जनमानसमा एक खालको भ्रम पैदा हुने देखिएको छ / कथाको अन्तिममा नबिन पात्रको उपस्थिति नभएर निलिको साथीलाई मात्र उपस्थिति गराउनु ले कथा कता कता अधुरो लाग्यो / लेखाइ अनि सब्द चयनमा त दिप्स जीलाइ कसले भेट्न सक्छ र, उसो त मा उहाको हरेक लेख रचना हरुको फ्यान पनि हु / धन्यबाद दिप्स जी
इजरायेल मा धेरै नै नेपाली केटा केटि हरु बिग्रिएर बसेका छन् न त उनीहरुलाई नेपाल मा घर परिबारको चिन्ता छ न त कसैको टेन्सन!धेरै केटि हरु आफ्नो घर परिवार लाई बिगारेर यहाँ केटा साथि बनाएर बसेका हुन्छन तर थाहा भने प्रायः कसैलाई दिदैनन/कहिले काही घर मा पैसा पठाईदियो घरमा पनि मख्ह यता केटा सित पनि मस्त/यहाँ मैले मात्रै करिब २०० जना नेपाली केटि हरुको केटा साथीहरु सित बसेको तर नेपालमा घर परिवार बेखबर भएको आफ्नै आखाले देखेको छु त्यसकारण नेपाली केटि हरु यहाँ न आएकै राम्रो हो/यहाँ बाट नेपाल फर्केपछि पनि पारिबारिक समस्या हुन्छ/साथीहरु हो तपाइको पनि श्रीमान श्रीमती यहाँ इजरायेल मा आको छ भने सजग रहनुहोला किन कि पैसा त पछी पनि कमाउन सकिन्छ तर परिवार बिग्रेपछि गारो छ./
ओह साथी तपाइलाई थाहा छ शान्तिमाया दोंग को कथा ! ति बहिनि कुवेत गएकी थिईन अहिले कस्तो अवस्था छ तिनको ? इज्राएल नेपाली महिला हरुको लागि सुरक्षित गन्तव्य हो जहाँ प्रजातान्त्रिक हक लागु हुन्छ काम गर्ने कामदारहरुको पनि भलै उनीहरु बिदेशी नै किन नहुन / साथीलाई खाडी मुलुकमा नेपाली दिदि बहिनि हरुले अमानवीय यातना पाएर काम गर्नु परेको थाहै रहेनछ / करार गरेको काम भन्दा ज्यादा अनि तलब नपाउने जस्तो ठाउँ हेरिकन त इजरैल स्वर्ग हो नेपाली महिलाहरुको लागि / मैले त यस्तै मेडिया मा पनि पढेको थिए एक जना तारा भन्ने बहिनि ले प्रधानमन्त्रिको श्रीमतीलाई पनि मुद्दा हालेर जितेर क्षतिपूर्ति पनि पाईन / के खाडी मुलुक मा त्यो सम्भव छ? तपाइको यस्तो कम्मेन्ट ले एकदम धेरै माया गर्ने दम्पति मध्ये एक जना यहाँ छ भने उनीहरुको दाम्पत्य जिबनमा बिष घोल्ने काम गर्छ / परिवारलाई छोडेर बस्नु परेको पिडा त छदैछ अर्को पनि पिडा थपिन्छ अबिश्वाशको !!त्यसैले कमेन्ट गर्दा खेरि पनि अलिकति विचार गरेर गरिदिनु हुन् बिनम्र अनुरोध !!! बिग्रने मान्छे जहाँ पनि बिग्रन्छ उनीहरुलाई विदेश गैरहनु पर्दैन / अनि एक चोटी तपाइको आफ्नै हात हेर्नुस त पाँच वटा औला पनि बराबरका छैनन् होला अनि २/४ जना बिग्रे भनेर सबैलाई त्यहि नजर ले हेर्ने परिपाटी मा सुधार ल्याउन पनि हार्दिक अनुरोध!!! साथी!!! मान्छे बिग्र्यो भने सम्झाई बुझाई गरेर सहि बाटो मा ल्याउन कोशिस गर्नु पर्छ न कि “यदि तपाइको मान्छे विदेश गएको छ भने होसियार अर्कै संग लागेको हुनु पर्छ” भनेर हल्ला फैलाई दिने / सम्झाई बुझाई गर्ने उसको सामाजिक अनि नैतिक दायित्वको को महसुस गराउने पो हो त हैनर?