Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः पछुतो

Posted on July 28, 2012July 28, 2012 by mysansar

साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला।

-शुषमा मानन्धर-

एउटा झिनो आशा लिएर मैले ढोकाको कापबाट चियाएँ, त्यही भुसतिघ्रे अझै पनि कोठाबाहिर थियो। यतिबेला उसको ध्यान मतिर थिएन। ऊ आफ्नो हातमा भएको पत्रिकामा डुबेको थियो तर मलाई थाहा थियो ऊ त्यतिबेला पनि मबाट पूर्णतया लापरवाह भने थिएन। सानोभन्दा सानो आवाजमा पनि ऊ सतर्क हुन्थ्यो र चारैतिर हेर्दै ढोकानिर आएर कापबाट भित्र चियाउँथ्यो। मधुरो प्रकाशमा भित्र मलाई देखेर ऊ आश्वस्त हुन्थ्यो र पुनः मेचमा बस्थ्यो। यति सजग नहुनु पनि किन, आखिर ऊ मेरो निगरानी गर्दै थियो।

पत्रिकाभित्र ऊ के मा घोत्लिरहेको थियो, मैले अनुमान गर्न सकिनँ। ऊ मेचमा छड्के परेर बसेको थियो। उसले पढ्दै गरेको पत्रिकामा मेरो कुनै चासो थिएन उसमाथि पत्रिकाका मसिना अक्षर ढोकाको कापबाट ठम्याउन गाह्रो थियो। म उसैलाई हेर्दै थिएँ। एकैछिनमा ऊ सोझो बस्यो। अब उसको अनुहार मतिर फर्कियो। हेर्नलाई अनुहार डरलाग्दो नदेखे पनि हाँस्नै नजान्ने जस्ता उसका चिसा आँखा र भारी आवाजले गर्दा उसलाई भयावह बनाएको थियो। छोटो कपाल र मोटो अग्लो जिउडालको उसलाई त्यति अगाडि देख्दा मेरो जिउ ढक्क फुल्यो। काँडा उमार्दै डर शरीरभरि फैलियो। आफ्नो लाचारीप्रति रुन मन लाग्यो तर कत्ति निरीह म! डर यति हावी थियो कि त्यो बेला डाँको छोडेर रुन पनि सकिनँ। यदि रोए पनि मलाई सुन्ने त्यहाँ को हुन्थे र? त्यही भुसतिघ्रे? उसले त पहिलो दिन नै मेरो सातो लिइसकेको थियो।

त्यो रात, जब म एक्लै आत्तिएर रुन थालेकी थिएँ, उसले शान्त तर क्रुर आवाजमा धम्क्याएको थियो, “बढी रुने हैन। निकै टाढासम्म पनि तिम्रो रुवाइ सुन्ने र तिमीलाई के भयो भनी हेर्न आउनेहरु यहाँ कोही छैनन्। चूपचाप बस, यसैमा तिम्रो कल्याण छ।”
उसका हिउँ झैँ चिसा शब्दहरुले मेरा आँसु आँखैमा सुके। ‘के मेरो अपहरण भएको हो, या म बेचिएँ,’ मैले ठम्याउन सकिनँ। विवेकशून्य थियो। केही सोच्न र बुझ्न सक्ने अवस्थामा थिईनँ, म मात्र किन? आफन्त र परिचितहरुदेखि टाढा, सायद त्यो अवस्थामा जो कोही परे पनि सद्दे रहन सक्दैनथे। मलाई अन्तिम पटक, गाडीमा सतिश र मैले जुस पिएको याद छ। त्यसपछि होस खुल्दा तीनदिनअघि म यही कोठामा थिएँ। सतिशको नाम निसाना थिएन। उसको के हविगत भएको होला, त्यो मेरो कल्पनाभन्दा पर छ। मेरो खल्तीबाट मोबाइल निकालिएको छ। केही लुगा भएको मेरो ब्याग भने यथावत नै छ। सबैभन्दा खुशी मलाई झिम्की देख्दा भयो। त्यो, सानैदेखि मैले सँगै सुताउने मेरो मनपर्ने ब्याट्रीवाला गुडिया थिई, जसलाई उठाउँदा बसाउँदा ऊ आँखा झिमझिम गर्थी। त्यही भएर उसको नाम झिम्की राखेकी थिएँ। घर छाड्दा पनि मैले झिम्कीलाई छाड्न सकिनँ। आफ्ना लुगा सँगसँगै उसलाई पनि गुट्मुट्याइ साथमा ल्याएकी थिएँ।

पहिलो रातदेखि नै आँखा ओभानो भएका थिएनन् र पनि हिक्काहरु बलजफ्ती रोकिरहेँ। बगरेको अगाडि बाख्रो रोए झैँ, म अहिले यहाँ रुनुको कुनै अर्थ नै थिएन। न त्यो व्यक्तिमा हृदय भए झैँ लाग्यो, न कोही सहायताको लागि आउँछन् भन्ने मानेँ, किनकी यो ठाउँमा, त्यही व्यक्तिको अलावा अहिलेसम्म कसैको आवतजावत भएको सुन्दिनँ। ऊ कहिलेकाहीँ मोबाइलमा कुरा गर्थ्यो। आधएकाध घण्टाको लागि कतै निस्कन्थ्यो। हेर्दा ऊ, मात्र मेरो रखवारी गरिरहे झैँ लाग्थ्यो, तर किन? यो प्रश्नको जवाफ मैले खोतलेर पनि पाइनँ। वरपर रुखहरु भएको अन्दाज गरेँ किनकी बेलाबेला चराहरु कराएको सुनिन्थ्यो। काठको फ्ल्याकमा किला ठोकी बन्द गरिएको कोठाको झ्यालबाहिरबाट हल्का आवाज आउँथ्यो। एक त मसिना स्वर, अर्को डम्म बन्द गरिएका झ्यालबाहिरका कुराहरु प्रष्ट बुझिँदैनथे। बाहिर घाम लागेको छ वा अँध्यारो दिन, थाहा पाउन मुश्किल थियो।

कुनै आभाष पाएर होला, ढोका कुरिबसेको त्यो भुसतिघ्रेले आँखा उठाएर म उभेको दिशातिर हेर्‍यो। म हठात् ढोकाबाट हटेँ। मुटु बेतोडले धड्किरहेको थियो। हातखुट्टा कामिरहेका थिए। उसले ढोका खोल्यो, थोरै उघारेर भित्र चियायो। मलाई एकाछेउमा निलोनकालो भै रुन्चे अनुहारमा उभिरहेको देखेर, निश्चिन्त मुस्कायो। पक्कै, उसले मलाई उम्केर कसरी पो जाली भन्ने सोचेको होला।

“के चाहियो?” उसको प्रश्न साह्रै रुखो थियो। म बोलिनँ। साँच्ची भनुँ भने उसको सामु डरले मेरो बोली नै फुटेन। म आँसु भरिएका आँखाले निर्निमेष ऊतिर टोलाइ मात्र रहेँ।
“के भो? भोक लाग्यो?” आफूले सोधेको प्रश्नको उसले मसँग जवाफ पर्खेन।

उसले पूर्ववत् ढोका लगायो। त्यसपछि ऊ अर्को कोठातिर लाग्यो। अनुमानतः, यो तल्लामा दुईवटा कोठा थिए। एउटा त्यही मलाई कैद गरिएको र अर्को त्यो व्यक्ति गएकोतिर। त्यही तल्लामा एउटा सानो ट्वाइलेट पनि थियो, जहाँ झ्यालको नाममा माथिभित्तामा एउटा सानो खोपा थियो। एकछिनपछि ऊ फेरि ढोकाअगाडि देखापर्‍यो। ढोका हल्का खोलेर आफूले ल्याएको प्लेट र ग्लास भुईमा राखी उसले हत्तपत्त ढोका लगायो मानौँ उसलाई म भागेर जाउँला कि भन्ने निकै ठूलो चिन्ता थियो।

अगाडि गएर हेरेँ, थोरै चिया र प्लेटमा सुख्खा रोटी थियो। हिजो बिहानदेखि मैले केही खाएकी थिईनँ। हुन त, हिजो बिहान पनि उसले पाउरोटी र चिया ल्याएको थियो। पीडा, पछुतो र डरमा हिजो दिनभरि मैलै केही खाइनँ। अहिले भोकले आन्द्रै बटारिएको थियो। भोकको अगाडि डरको पनि केही लागेन। मैले खाना उठाएर टेबुलमा राखेँ। दायाँबायाँ केही सोचिनँ। खुरुखुरु खाएँ। खाली पेटमा खाना परेपछि केही चेत खुले झैँ भयो। मैले भिजेका आँखा पुछेँ। झिम्कीलाई लिएर खाटमाथि बसेँ।

मलाई थुनेर राखिएको यो कोठा सानो थियो। सिंगल बेड, टेबुल, कुर्सी र एउटा बाकस, साँच्ची भन्ने हो भने यो एकजनालाई मात्र पुग्ने ठाउँ थियो। कोठाको झ्याल बन्द गरिएकोले कोठाभित्र मधुरो बत्ती बालिएकै हुन्थ्यो। ढोकामाथिको भेन्टीलेशनमा बलियो जाली राखिएको थियो। कोठाभित्र चारैतिर जत्ति नियाले पनि मैले आफ्नो मुक्तिको बाटो देखिनँ। यसले मलाई निराश गर्‍यो।

हतास् मैले आफ्नो घर सम्झेँ। आमाबुवा र माया गर्ने दाइ सम्झेँ। कति सपना थिए मेरा तर आज………..? टिल्पिलाएका गहभरि आँसुसँगै सतिशको अनुहार उदायो।



“कति मच्चिएको? हामी चैँ खेल्नै नपाउने?” लिङ्गेपिङनिर उभेको त्यो केटोले धेरै बेरपछि आफ्नो मुख खोलेको थियो।

“हामीहरु गैसकेपछि खेल्नु नि। भर्खर त पिङ हात लागेको छ।”

“सबै गैसकेपछि खेल्न के रमाइलो हुन्छ र?” यसो भन्ने त्यो केटालाई मैले योभन्दाअघि हाम्रो गाउँमा देख्दै आए पनि खासै महत्व दिएकी थिईनँ। मैले पिङ छोडिदिएँ। पिङ मच्चाउन खप्पिस ऊ, निकै माथिसम्म पिङ हुइकिँदा ऊ गर्वोन्मत्त मलाई हेर्थ्यो।

पोहोर सालको दशैँमा शुरु भएको ऊसँगको चिनापर्ची पछि बिस्तारै बढ्दै गयो। ऊ आफूलाई छिमेकी गाउँको भन्थ्यो। हाम्रो गाउँमै पनि केही साथी थिए उसका। ऊ प्रायः उनीहरुसँग घुमिरहन्थ्यो। हेर्दा राम्रो, आकर्षक, मिलनसार र बोल्न सिपालु ऊसँग अन्तरङ्गता बढाउनबाट मैले आफूलाई रोक्न सकिनँ। ऊ सधैँ टिपटप भएर हिँड्थ्यो। भर्खरै क्याम्पस पढ्न थालेकी म, संसार खासै बुझिसकेकी थिईनँ तैपनि सप्तरंगी सपनाहरु मेरो कोमल मनभित्र टुसाउन शुरु गर्दै थिए। सबैलाई झैँ मलाई पनि माया गर्ने साथीको चाहना हुन्थ्यो त्यसैले सम्पन्न र भलादमी देखिने सतिशप्रति अनायसै आकृष्ट भएँ।

“तिमीसँग यति नजिक हुन्छु भनेर कहिल्यै सोचेको थिइनँ।” एकपल्ट सतिशले भनिरहँदा मैले उसको अनुहार हेरेँ। उसका काला आँखाहरुमा बेग्लै सम्मोहन थियो। ऊसँग बसिरहँदा मलाई समय गएको पत्तै हुँदैनथ्यो। हामी ताराजूनका कुरा गर्थ्यौँ, खोला पहाडका कुरा गर्थ्यौँ, अब सँगै बसाउने भावी घरसंसारका कुरा गर्थ्यौँ। सतिशसँग हेलमेल बढेपछि न साथीसँगीको चाह रह्यो, न आफू हुनुको स्वाभाविकपन बाँकी रह्यो ममा।

ऊ पनि त कम माया गर्दैनथ्यो मलाई। मलाई नभेटेसम्म मनमा चैन हुँदैन भन्थ्यो। जब ऊ मेरो हात समाइ ,मलाई धेरै माया गर्छु भन्थ्यो, संसारमा म जत्तिको भाग्यमानी कोही छैनन् झैँ लाग्थ्यो। हाम्रो साथ छुट्यो भने ऊ पागल सम्म पनि हुन सक्छ भन्ने उसका भनाइले मलाई सधैँ भित्र कताकता काउकुती लगाउँथ्यो।

सतिशसँगको सामिप्यको चाहनाले मेरो निकैदिन क्याम्पस छुटे तर मलाई कहिल्यै गुनासो भएन। सायद यो उमेरको बहुलठ्ठीपन पनि थियो, म हर्दम ऊसँग रहन आतुर रहन्थेँ।
प्रेममा अन्धो भएको मान्छेको आँखा मात्र हैन विवेक पनि गुम्दो रहेछ भन्ने कुरा आज बुझ्दैछु। सतिशको मायामा आकण्ठ डुबिसकेकी म, यो ऊप्रतिको अथाह विस्वास नै थियो, मैले ऊभन्दा पर कहिल्यै उसको घरपरिवार र पृष्ठभूमिबारे खोजिनीति गरिनँ। हुन त, माया बुझेर कहाँ गरिन्छ र?

ऊ सधैँ मलाई ऊसँग हिँड्न भनिरहन्थ्यो। जब हामीले एकअर्कालाई छोड्न नसक्ने भयौँ, एक रात मैले ऊसको निम्ति चुपचाप घर छाडेँ। साथीकहाँ जान भनेर साँझ निस्केकी म त्यसपछि घर फर्किनँ। वर्षौसम्मको घरपरिवार र साथीसँगीको साथ एकजनाको लागि एक निमेषमै छुट्यो। अलि पर सतिश गाडी लिएर पर्खिरहेको थियो। उसले त्यो गाडी परिचितको भन्यो तर गाडीमा अपरिचित अर्को व्यक्ति पनि थियो। मेरो साथमा सतिश थियो, त्यसैले मलाई कुनै डर लागेन। उसले हामीलाई नयाँ जिन्दगीको सुरुवात गर्ने शुभकामनासँगै जुस दियो। गर्मी थियो। घरबाट भागेकोमा डर, चिन्ता र एक्साइटमेन्ट। बाटोमा हामी दुबैले जुस पियौँ। त्यसपछि मलाई कुनै होश रहेन। सतिशलाई के भयो, थाहा भएन।

अज्ञात ठाउँको यो कोठामा यही व्यक्तिको अगाडि मेरो आँखा खुलेको थियो। आत्तिएर म भक्कानिएकी थिएँ। सब व्यर्थ, उसलाई पग्लिनु थिएन, पग्लेन। जिन्दगीमा बाहिर रात एक्लै कहिल्यै नकाटेकी म, यो भयावह परिस्थितिमा जडवत् भएकी थिएँ। सतिशको बारेमा सोध्ने चेष्टा धेरैपल्ट गरेँ, हरेक पटक ममा डर हावी भैरह्यो।

ढोकामा आएको आवाजले मेरो एकाग्रता भंग भयो। मोटे ढोका खोलेर भित्र पस्दै थियो। उसले भित्र पसेर ढोका लगायो र मतिर हेर्‍यो। उसलाई देखेर मेरो तालु सुक्यो, अब के भन्न वा गर्न भित्र पसेको हो, म अनुमान लाउन खोज्दै थिएँ। उसले हातमा पट्याइराखेको सानो कागज मतिर बढायो। मैले डराउँदै हेरेँ, यो त्यही पत्रिकाको टुक्रा लाग्यो, जुन उसले एकैछिन अघि पढिरहेको थियो। त्यसमा मेरो फोटो थियो, सानो घोषणासँगै। ‘साथीकहाँ जान भनी निस्केकी केटीबारे पत्ता लगाउनेलाई धन्यवाद सहित समुचित पुरस्कार दिइने छ’ मैले मनमनै सूचना पढेर ऊतिर हेरेँ।

“निकै धनीकी छोरी जस्ती छौ नि?” उसले अलि नजिकिँदै मलाई सोध्यो। घरको अवस्था कस्तो थियो, मलाई राम्रोसँग थाहा थियो। आँखा आँसुले भिज्यो। दुःखले भरिएर, सतिशलाई सम्झेँ। जबजब पनि उसको बारेमा सोच्थेँ, हरेक पटक भयानक आशंकाले मुटु कंपाउँथ्यो अनि आँखा भिज्थे।

“प्लीज, सतिश कहाँ छ, बताइदिनुस् न? नभए मलाई पनि उसैकहाँ पुर्‍याई दिनुस्।” डर लागिरहेथ्यो तैपनि रुँदै आँट गरेर पहिलोपल्ट मुख खोलेँ उसको अगाडि। ऊ हाँस्यो। मानौँ ऊ मेरो डरमा मानसिक तुष्टि लिँदै थियो। जिब्रोले ओठ भिजाउँदै मौन उभिरहेको, भुसतिघ्रेका दृष्टि मलाई संज्ञाशून्य बनाउँदै मेरो शरिरमाथि चिप्लिरहेका थिए। ऊ मतिर जहाँजहाँ हेर्थ्यो, पोलेको भान हुन्थ्यो मलाई। त्यहीबेला उसको खल्तीको मोबाइल बज्यो। ऊ एकछिन मलाई घुरेर पुनः कोठाबाट बाहिरियो।

कति ठूलो अविवेकी गल्ती गरेँ मैले, यसको कस्तो परिणाम भोग्नु पर्ने हो, सोच्दा पनि कहाली लाग्यो। सबैभन्दा दुःख यसमा लागिरहेको थियो कि जसको लागि मैले घरपरिवार छाडेँ, ऊ नै साथमा थिएन। सतिश म जस्तै कतै कैद थियो वा योभन्दा अप्ठ्यारो परिस्थितिमा, के थाहा?

साथीहरु, यहाँबाट दुई फरक संस्करणहरुमा कथा टुङ्गिएको छ।

संस्करण १
मोटे सायद अर्को कोठाबाट फोन गर्दै थियो। सुस्तरी नै बोलिरहेको भए पनि, कहिलेकाहीँ उसका आवाज चर्किएर मसम्म आइपुग्थ्यो। ऊ कसैसँग गुनासो गर्दै थियो। उसका कुरा सुनेर म झन् आत्तिएँ। आतंकित मुटु, फुटेर बाहिर आउँला झैँ धड्किरहेको थियो। ऊ कुरा टुंग्याएर पुनः बाहिर मेचमा बसेको सुनियो। निकै बेर मनमा कुरा खेलिरह्यो। पछि फेरि बिस्तारै ढोकाबाट चियाएँ। ऊ यतैतिर हेर्दै थियो।

“सुन्नुस न।” मैले ढोकामा मुख जोडेर भनेँ।

“के, ट्वाइलेट लाग्यो?”

“हैन।

“अनि के त?”

“भित्र आउनुस् न एकपल्ट।” मेरो भनाइमा ऊ हुनसम्मकै छक्क पर्‍यो। नपत्याए जस्तो गरी मतिर चियायो। उसले ढोका त खोल्यो, सम्भवतः मेरो हातमा केही छ कि भनी सशंकित पनि भयो। झिम्कीलाई हातमा लिएर शान्त उभिरहेको मलाई देखेपछि केही आश्वस्त हुँदै ऊ भित्र पस्यो। म गएर खाटको छेउमा बसेँ र उसलाई पनि बस्न भनेँ, ऊ बसेन। उसले अविस्वासपूर्वक मलाई हेर्‍यो। मैले देखाएको व्यवहार उसको लागि अपत्यारिलो र अप्रत्यासित थियो। यद्दपि भित्र डर लागिरहे पनि, मैले परिणामको चिन्ता गर्न छोडेँ। एकपल्ट चिन्ता गर्न छोडेपछि डर आफै कम हुँदो रहेछ। उसमाथि पीर गर्दैमा मात्र पनि यो परिस्थितिको कुनै हल निस्कने थिएन। म छेउ उभिरहेको उसलाई मैले गहिरोसँग नियालेँ। लापरवाह र निर्भिक देखिने उसको, कानको लोतीनिरको गालामा घाउको लामो खत थियो अन्यथा ऊ मान्छे त्यति नराम्रो देखिँदैनथ्यो।

“के तपाईका आफ्ना कोही छैनन्?” मैले किन यो प्रश्न गरेँ भन्ने कुरा उसले बुझ्यो कि बुझेन कुन्नि। उसले मतिर हेर्‍यो मात्र, केही बोलेन।

“मेरो घरमा चैँ म बाहेक बुवाआमा र दाइ मात्रै छौँ।” मैले कुरा शुरु गरेँ, ऊ अझ पनि मौन।

“आफूलाई माया गर्ने परिवार हुँदाहुँदै पनि सतिशको लागि मैले घर छोडेँ। जब ऊ नै छैन, मेरो लागि कुनै पनि कुराको अर्थ रहेन। खाली म सुरक्षित छु भन्ने सूचना घरमा दिन पाए हुन्थ्यो।” मैले ठूलो आशा बटुलेर उसको अनुहारमा हेरेँ।

“बदलामा म के पाउँछु र?” सोध्दै गर्दा विचित्र नजरले हेर्दे गरेको उसका तटस्थ आँखामा
कस्ता भावना थिए, छुट्याउन सकिनँ। उसलाई कठोर भन्न ऊ मेरो कुनै प्रतिवाद गरिरहेको थिएन, नरम भन्नलाई उसले अहिलेसम्म कुनै मद्दत गरेको पनि थिएन। ऊ मन भित्रभित्रै सायद कुनै कुरा बुन्दै पनि थियो। ममा डर फेरि हावी हुन थाल्यो। ऊ एकनासले ट्वाल्ल मैँतिर हेरिरहेको थियो। मैले उसका दृष्टिका रापबाट बच्न झिम्कीको ढाडमा ब्याट्री राख्ने ठाउँ खोलेँ। त्यहाँभित्र करिब एक तोलाको सुनको सिक्री थियो, आउँदा मैले घरबाट लुकाइ ल्याएकी। मैले ऊतिर सिक्री बढाएँ। उसले सिक्री सँगसँगै मेरो हात समात्यो। डरले रक्तसंचार नै बन्द भए पनि, प्रत्यक्षतः मैले कुनै प्रतिवाद गरिनँ, गर्न पनि सक्दिनथेँ।
ऊ सिक्री लिएर कोठाबाट निस्क्यो र तुरुन्तै फर्क्यो। फर्कँदा उसको हातमा मेरो मोबाइल थियो।

“ठीक छु भन्ने खबर मात्र गर्ने।” आदेशात्मक शैलीमा मोबाइल मतिर बढाएर ऊ मेरो अगाडि उभियो। मैले मोबाइल अन गरेँ र दाइलाई कल गरेँ। वहाँले पहिलो घण्टीमै फोन उठाउनु भयो। “दाइ, पहिला सतिशलाई खोज्नुस्।” मैले अरु केही बोल्न नपाउँदै मोटेले मेरो हातबाट मोबाइल खोसेर अफ गर्‍यो।

उसले ढोका लगाएर गैसकेपछि पनि निकैबेरसम्म आँसु बगिरह्यो। मसँग सिर्फ झिम्की थिई, मेरो दुःखमा साथ दिन। मैले उसलाई जोडसँग छातीमा टासेँ। भोलिको दिनले अझ कस्तो दुर्दशा ल्याउने हो, अझ कति दिनसम्म यसरी मानसिक यातनाबीच मैले गुज्रिनु पर्ने हो, कल्पना गर्दैमा पनि आङ्ग सिरिङ्ग भयो।

झिम्कीलाई च्यापेर निदाउन कोसिस गरिरहेँ तर धेरैबेरसम्म पनि निद्रा लागेन। बेलाबेला हल्का निदाउँदा भने देखेका सपनामा आफ्नो आमाबुवा, गाउँघर र साथीहरु देखिरहेँ।



राति राम्रो ननिदाएकोले होला, बिहान ढिलासम्म पनि आँखा लागिरह्यो। उठ्न मन लागिरहेको थिएन। बाहिरको हल्लाले गर्दा ब्युँझिएँ। तल बाटोमा मानिसहरुका घुइँचो सुनियो, कतैबाट दौड्दै आइरहेका झैँ। मनमा कौतुहल थियो तर झ्याल बन्द थिए। कोही तलको ढोका ढक्ढक्याउँदै थियो। फेरि के आपद् आउन लागेको हो, मेरो हंशले ठाउँ छाड्यो। मोटेले गएर ढोका खोल्यो। अकस्मात् सतिशलाई अघि लाएर दाइ कोठाभित्र पस्नु भयो। वहाँहरुको साथमा केही पुलिसहरु पनि थिए। मायाका ठूलाठूला कुरा गरेर जीवनभर मेरो साथ नछोड्ने बाचा गर्ने सतिशले मसँग आँखा जुधाउन सकेन। ऊ निहुरिरह्यो।

“तपाई जोगिनु भो बहिनी। नत्र तपाई नराम्रोसँग फँस्नुहुन्थ्यो। प्रेमको नाटक गर्ने अनि बिहे गर्ने भनी भगाएर सीमापारी पुर्‍याउनेहरुको ठूलै जमात छ। सबै पहेँलो, सुन हुँदैन बहिनी, ख्याल गर्नुपर्छ।” पुलिसले बयान गरिरहँदा मन दुखिरह्यो मेरो। रोक्न खोज्दा पनि आँखा बग्न छाडेनन्। मायाको नाममा कत्रो ठूलो छल। जहाँ मैले उसलाई कुमारी मन दिएँ, हरेक रातका सपनाहरु दिएर जीवन समर्पण गरेँ, उसैले मेरै अस्मिताको मोल गर्न खोज्यो।
पुलिसले छापा मारेर सबै कोठाहरु सील गर्‍यो। अकस्मात् घटेको यो घटना सिनेमाको कुनै दृष्य जस्तै थियो। मेरो निगरानी गर्ने मोटे, आश्चर्यमा कहिले मलाई हेर्थ्यो कहिले पुलिसहरुलाई। म झिम्कीलाई लिएर दाइसँग बाहिर निस्केँ। बाहिर पुलिसको गाडी थियो। घरबाट निस्केको आज पाँचौँ दिन, पाँच वर्ष बितिसके झैँ भयो। कमजोरी, तनाव र पीडामा पहेँलिएकी म, गाडीमा दाइसँगै बसेँ।

“तिमीले सतिशलाई खोज्न नभनेकी भए, ऊसम्म पुग्ने हाम्रो ध्यानै जाँदैनथ्यो। ऊ त तिमी गायब भएको भोलिपल्ट बिहानैदेखि गाउँमा देखा परिरहेको थियो। सोध्दा, थाहा छैन भन्थ्यो। आफू चोखो छु भन्ने देखाउने उसको चाल रहेछ त्यो।” दाइको कुरा सुनेर पुलिसले मतिर हेर्दै थप्यो, “बहिनीको मोबाइल कलबाट हामीलाई लोकेशन पत्ता लगाउन सजिलो भयो। फेरि सतिशको मोबाइलको कलडिटेल्स पनि हेर्‍यौँ, प्रमाण जुटाउन गाह्रो भएन।” गाडीमा पछिल्लो सीटमा बसेको सतिशतिर फर्केर वितृष्णाले हेरेँ। उसको मनोभावना पढ्न सकिनँ। ऊ निर्लिप्त अझ पनि निहुरिएकै थियो।

घर पुगेर कत्तिको गाली खाउँला वा आफूमाथि उठ्ने कस्ता आरोपहरु सहनु पर्ने हो मैले, ती पछाडिका कुरा थिए। सम्भावित नर्कबाट जोगिएर घर जाँदै थिएँ, मेरो लागि यही ठूलो कुरा थियो। प्रेम गर्नु अपराध होइन तर प्रेममा विवेक गुमाउनु कत्तिको घातक हुन सक्छ भन्ने कुरा म जिन्दगीभरि कसरी बिर्सुँला?

थाकेर आँखा बन्द गरेँ। कानमा अझै पनि केही शब्दहरु घन्किरहेका थिए। मोटेले अघिल्लो दिन फोनमा सतिशसँग नै कुरा गर्दै थियो। ऊ भन्दै थियो, “सतिश, केटी तिम्रै बारेमा सोधिरहेकी छ। जे गर्नु पर्ने हो छिटै गर।” त्यो बेला, आत्तिएर संयम गुमाएकी भए मेरो पनि हविगत के हुन्थ्यो के? बास्तवमा, यो घटनाको पछाडि सतिश रहेको तथ्य खुलेकोले नै मलाई ऊ विरुध्द जान निडर बनाएको थियो।

धुलो उडाउँदै गुडिरहेको गाडी, बाटोमा हरेक कुरा पछाडि छाड्दै थियो। प्रेम गरेर पनि छियाछिया भएको मन खाली थियो, मसँग। सतिशसँग नै फर्कँदै थिएँ र पनि अहिले खुशी छु या दुखी भन्न सक्दिनँ म।

पहिलो संस्करण समाप्त



संस्करण २

मोटे अर्को कोठाबाट फोन गर्दै थियो। सुस्तरी गरिएका एकतर्फी कुराहरु मैले राम्ररी सुन्न र बुझ्न सकिनँ। ऊ फोन गर्न सकेर फेरि कोठाभित्रै फर्क्यो। मलाई उसको पुनरआगमनले साँच्ची नै त्रसित बनायो। ऊभित्रको अभिष्ट के होला, मैले सोच्न चाहिनँ। किनकी यस्ता कुराहरुले मलाई कमजोर मात्र पार्थे। आएर अहिले ऊ मेरो छेउमै बस्यो। उसको नियत ठीक नलागेर म जुरुक्क उठेँ। उसले हात समाएर बसाउन चाह्यो। “मलाई घर पुर्‍याई दिनुस् प्लीज।” मैले रुँदै दुबै हात जोडेर अनुनय गरेँ। “भोलि खास मान्छे आउँदैछन्, उनैलाई अनुरोध गर्नू।” ऊ निकै नजिक उभियो मेरो। उसका ताता सासहरु मेरो अनुहारमा ठोक्किए। बिनसित्ति ऊ मलाई त्रस्त पार्न कोठामा एकछिन अल्मलिरह्यो।

उसले भनेको खास व्यक्ति को हो, किन आउँदैछ, सोच्दै मात्र पनि डर लाग्यो। आतंकित मुटु, फुटेर बाहिर आउँला झैँ धड्किरहेको थियो। उसले ढोका लगाएर गैसकेपछि पनि निकैबेरसम्म आँसु बगाइरहेँ। मसँग सिर्फ झिम्की थिई, मेरो दुःखमा साथ दिन। मैले उसलाई जोडसँग छातीमा टासेँ। भोलिको दिनले अझ कस्तो दुर्दशा ल्याउने हो, अझ कति दिनसम्म यसरी मानसिक यातनाबीच गुजि्रनु पर्ने हो, आङ्ग सिरिङ्ग गर्‍यो।

ऊ फेरि भित्र पसेन। साँझ, मलाई खाना छाडेर गएको केही बेरमा नै ऊ घुर्न थाल्यो। झिम्कीलाई च्यापेर निदाउन कोसिस गरिरहेँ तर धेरैबेरसम्म पनि निद्रा लागेन। बेलाबेला हल्का निदाउँदा भने देखेका सपनामा आफ्नो गाउँ, घर र साथीहरु देखिरहेँ।

राति राम्रो ननिदाएकोले होला, बिहान ढिलासम्म पनि आँखा लागिरह्यो। उठ्न मन लागिरहेको थिएन। बाहिर कोही गुनगुन कुरा गरिरहेको सुनेर ब्युझेँ। अचम्म लाग्यो, मोटे कोसँग कुरा गर्दै होला। अनायस, हिजो उसले भनेको बिशेष व्यक्तिको सम्झना भयो। निद्रा कहाँ भाग्यो, भाग्यो। डरले जुरुक्क उठेँ। कोठा बाहिर मोटे कसैलाई केही सुनाउँदै थियो। उभिरहेको व्यक्तिको हल्का आभाषसम्म हुन्थ्यो, उसले केही बोली नरहेको हुँदा उसको भयँकरताको कुनै अनुमान लगाउन सकिनँ। मलाई सतिशको निकै याद आयो। ऊ मसँग भएको भए, मेरो उध्दारको लागि कुनै न कुनै प्रयास जरुर गर्थ्यो होला। उसको सम्झनाले रोकिराखेका हिक्काहरु फुटे, आँसु थाम्न सकिनँ। सम्भवतः मेरो रुवाइ कोठाबाहिर पुगेर होला, अकस्मात् ढोका खुल्यो। मोटे र सतिश ढोकामा उभिएका थिए। म स्तब्ध भएँ, किँकर्तव्यविमूढ। सतिश मेरो उध्दारमा आएको थियो वा थिएन, भन्न सकिनँ। किनकी ऊ जुन सहज अवस्थामा देखिन्थ्यो, त्यसको आधारमा ऊ चिन्तित र तनावग्रस्त होला भन्ने लागेन। एकोहोरो आफूतिर टोलाइरहेको देखेर सतिश मतिर हेरेर मुस्कायो, “के भयो?”
घरबाट निस्केको आज पाँचौँ दिन। ऊबिना मैले बिताएका मानसिक तनाव र यन्त्रणाबाट अबुझ ऊ कसरी सजिलै मलाई यो प्रश्न गर्न सकिरहेथ्यो, म छक्क परेँ। ऊ मेरो पक्षमा हो कि हैन, मलाई शंका लाग्न थाल्यो किनकी सतिश ऊसँग पनि घुलमिल भएर कुरा गरिरहेको थियो।

दिमागमा अनगिन्ति आशंका स्याउँस्याउँती दौडिरहेका थिए। सतिशसँगको पहिलो भेट, उसका कुरा, उसले गरेका बाचाबन्धन, सिनेमामा झैँ लाग्यो, यथार्थ जस्तै तर यथार्थभन्दा धेरै टाढा। मलाई मौन देखेर सतिश भित्र आयो। “अब डराउनु पर्दैन। म आएको छु, सब ठीक हुन्छ।” कुरा सुनिरहेको मोटे, हामीतिर कुटील हाँसो फ्याक्दै कोठा बाहिरियो।
मोटेले भनेको बिशेष व्यक्ति सतिश नै होकि, अथवा कोही आउन बाँकी छ, खुल्दुली लागिरह्यो। परिस्थितिले निरिह र सशंकित बनाएकी म, कुन सत्य वा असत्य हो भेद गर्न असमर्थ भैसकेकी थिएँ। दिउँसोभरि सतिश बाहिर नै रह्यो। बितेका दिनका तुलनामा त्यो दिन मोटे अलि बढी सहृदयी देखियो। चिया, खाना राम्रो खुवायो। साँझतिर सतिश आइपुग्यो। त्यसपछि मैले त्यहाँ मोटे देखिनँ। ऊ आफै गएको थियो वा उसलाई सतिशले नै पठाएको थियो, भन्न सक्दिनँ।

खाना खाएपछि ऊ मसँगै बेडमा बस्यो। उसले सायद पिएको पनि थियो। “म आज साह्रै
खुशी छु।” उसले मसँग कुरा गर्न चाह्यो। म ऊतिर फर्कन सम्म पनि फर्किनँ। यति मात्र हैन, यत्तिका दिनसम्म मेरो कुनै सोधीखोजी नगर्नुको कुनै स्पष्टिकरण पनि मागिनँ ऊसँग। ऊबाट मन भाँचिएको थियो मेरो। “के मसँग अझै रिसाएकी छ्यौ?” उसले मलाई अंगाल्न खोज्यो। मैले उसको हात झट्कारेँ। छक्क पर्‍यो ऊ। “आइ लभ यु। प्रेम र युध्दमा जे पनि जायज हुन्छ, तिमीलाई थाहा छैन?” उसले मलाई जोडले अँठ्यायो। मेरा ओठ चुम्न आतुर उसलाई धकेलेँ मैले, “सतिश मलाई घर पुर्‍याइ देऊ, प्लीज।”

“घरै जाने त हो नि, कहाँ यहाँ बसिरहने? भोलि बिहानै मन्दिर गै टिकाटालो गर्ने अनि घर फर्कने। अब त सबैले हामीलाई लोग्नेस्वास्नी मान्न करै लाग्छ।” उसको व्यवहार देख्दा ऊ लोग्ने भएको अधिकार जताउन उद्यत पनि देखिन्थ्यो। उसले मलाई अंगालोमा कसेर बलजफ्ती मेरो चुम्बन लियो। ऊ मलाई सुम्सुम्याइरहेको थियो। “नाईँ, सतिश।” म निरिह, छट्पटाउँदै रोएँ।

उसले एकछिनसम्म मलाई हेर्‍यो अनि केही नबोली अर्कोतिर फर्केर सुत्यो। उसले मलाई देखाउन खोजेको मायामा न पहिले जस्तै कुनै गहिराइ थियो न मेरो लागि कुनै तड्प। ऊ निश्चिन्त देखिन्थ्यो। मेरो मनोभावनासँग लापरवाह मस्त निदाइरहेको ऊ बिल्कुलै अपरिचित झैँ लाग्यो मलाई।

रात गहिरिँदै थियो। मनभित्रको डरले गर्दा बाहिरको चकमन्नतामा पनि निदाउन सकिनँ। मनभित्र आँधी चलिरहेकै थियो। बिहानको तीन बज्न लागिसक्दा पनि एकछिनको लागि पनि मेरा आँखा झिम्केनन्। सतिश अझ पनि गाढा निद्रामै थियो। म बिस्तारै बेडबाट ओर्लेँ त्यहीबेला सतिशले कोल्टे फेर्‍यो। कतै ऊ ब्युँझिहाल्छ कि भन्ने डरले मेरो सातो गयो। एकछिनसम्म हलचल नगरी उभिरहेँ। ऊ गहिरो निद्रामा नै भएको पक्का भएपछि मैले बिस्तारै चुकुल खोलेँ। कोठा बाहिर ट्वाइलेटसम्म आउने बाटोमा सानो करिडोर थियो। बत्ती बलेको थिएन। एकतल्ला मुनि तल बाटोमा आँखा तानी हेरेँ। काँडाका झ्याङ्खहरु थिए। आकाशमा कालीमा हल्का पातलिन थालेको भए पनि बाहिर बाटोतिर निष्पट अन्धकार नै थियो।

‘के म हाम्फाल्न सकुँला?’ खुला करिडोरको डीलमाथि उभिएर मैले एकछिन सोचेँ। म डराउँदा, एकछिनको त्यो ढिलाइ, धेरै ढिलो हुनसक्थ्यो। जिन्दगी नै अपाहिज बनाउनु भन्दा जोखिम मोल्नु ठीक लाग्यो त्यसैले परिणामको चिन्ता बेगर आँखा बन्द गरेर एकतल्लामाथिबाट तल हाम्फालेँ। कहाँ केमा टेकेँ, ख्याल भएन। काँडाहरु थिए, दुख्यो। पाइएको स्वतन्त्रताको अगाडि तर त्यो केही थिएन। म जुरुकक उठेँ र बेतोडले दौडेँ। कहाँ पुगुँला थाहा थिएन। दगुर्दै गर्दा पनि, हिजो साँझ अर्को कोठामा मोटेले सतिशलाई ‘ हिसाब फिफ्टीफिफ्टी हुनुपर्छ।’ भन्दै गरको कुरा कानमा घन्किँदै थियो। सतिशलाई उसको अपराधमा सजायँ दिलाउन मलाई चाँडैभन्दा चाँडै बाहिर मान्छेहरु भेटिएर प्रहरी चौकी पुग्नु थियो। म अझ वेगले अज्ञात दिशातिर दौडन थालेँ। बाहिर अँध्यारै थियो तर आफू कैद भएको बन्द कोठाभित्रको अँध्यारोभन्दा यहाँ कम्तीमा उज्यालो हुने पक्का थियो।

दोस्रो संस्करण समाप्त


16 thoughts on “कथाः पछुतो”

  1. Ramesh Bhandari says:
    July 31, 2012 at 11:34 am

    शुषमा जी मलाई तपाइको लेखन शैली धेरै मन पर्छ / तपाइको कथा चाही मा छुटाउन नै सक्दिन / लेखन के हो अनि पाठकलाई कसरि बढ्न सक्नु पर्छ भन्ने तपाइलाई राम्रै संग थाहा छ भन्ने मैले महशुस गरेको छु / यो लेखले शायद मायामा अन्धो भएर केहि पनि सोच विचार नगरी आफ्नो जन्म दिने बाबु आमा अनि सुख दुखमा साथदिने दाजु भाई दिदि बहिनीलाई परम सत्रु सम्झेर दलालको चक्करमा पर्ने बहिनीहरु को आखा खोल्न मद्दत गर्छ भन्ने मईले आशा गरेको छु / समग्र मा कथा राम्रो छ अनि मेरो तरफ बाट ४.५/ तारा इन ५ तारा मा

    Reply
  2. Ramkumar Pandit says:
    July 31, 2012 at 10:21 am

    वास्तबिक घटनामा आधारित भएकोले यो कथा कुनै सिरियलसँग मिल्न खोज्नु अस्वभबिक होइन। कथाकारले अहिले यस्तै भईराखेको छ भन्ने देखाउन सफल भएको देखिन्छ। अपराधीक घटना र बिदेश जाने घटनाहरु प्राय उस्तै हुन्छन। यस्तो भो भन्दैमा साहित्यकारले कलम चलाऊन नहुने होइन। आज भन्दा ७० बर्ष अघी लेखिएको मुना मदनमा जुन बेहाल भएको छ पात्र पात्राको आज पनि त्यही त हाल छ नि बिदेसिने र स्वदेशमा पर्खि बस्नेको। शायद पढेलेखेको कोही भएको भये त्यती बेलैमा कसैले भन्थे होलान महाकविले फलानाको वास्तबिक कथा लेखेर चरित्र हत्या गर्‍यो भनेर……।

    दुई किसिम बाट यो कथा अन्त्य गरेको ले मलाई विस्वम्भर चन्चलको याद आयो। उन्ले पनि कुनै जमानामा एउटा कथा दुई प्रकारले टुङ्याएर मधुपर्कमा छापेका थिए।यहाँ दुबै टुङ्याइ राम्रो छ। तुलनात्मक रुपमा पहिलोलाई मान्नु पर्छ। अब आसंका छ कि फेरी तेस्रो प्रकारले तुङ्गिने पो हो कि?
    यसरी एउटा कथालाई दुई प्रकारले तुङ्गाउनु भन्दा फरक घटना र पात्र राखेर दुइटा कथा लेखेको भये राम्रो हुने थियो।

    Reply
  3. Santosh Pariyar (Ilam) says:
    July 30, 2012 at 9:50 pm

    the first edition is better than the second because the guilty has been punished and in the second, the girl has dared to escape but the roll of Bhustifghre is not clear because he is not punished. in my opinion he is a greedy person so that he gave her to make a call in lieu of the gold chain. Overall the story is very mysterious and interesting as well. Keep your spirit Susma sister.

    Reply
  4. Dipson says:
    July 29, 2012 at 10:44 pm

    दोश्रो कथा राम्रो किनकि साहश छ तेश्मा |

    Reply
  5. Bimal says:
    July 29, 2012 at 5:51 pm

    What I did like about the part 2 is that it has been able to demonstrate that women are optimistic and yes indeed they can do what they think is right and have to……….solving your own problem yourself as you have created….

    Reply
  6. samrat~ says:
    July 29, 2012 at 10:26 am

    जे भए पनि सुस्मा जी, तपाइँ को लेखन सैली मलाई चाइ खुब मन पर्छ ..अरु को कथा म तेती ध्यान दिन्न तपाइँ को चाइ कहिले छोडदिन. Please keep up the good work !! अरु ले जे भने पनि. thx .

    Reply
  7. Santosh Thapa Magar says:
    July 29, 2012 at 10:06 am

    देास्रेा संस्मरणमा अलि धेरै मन पराँए ।

    Reply
  8. abhin thapa says:
    July 29, 2012 at 1:07 am

    जहाबाट प्रेरित भएर लेखिए पनि कथा राम्रो छ लेखन शैलीमा खोट लगाउने ठाउँ छैन.
    प्रयास निरन्तर रहोस

    Reply
  9. Merin says:
    July 29, 2012 at 12:06 am

    राम्रो लाग्यो ! मैले संस्करण १ मन पराएँ ।

    Reply
  10. Deepak says:
    July 28, 2012 at 8:09 pm

    संस्करण २ राम्रेा हुनु मा एउटै कारणा हेा विवस, कमजेार र दुखीयारी की प्रतिक नारी लाइ केही शाहस गरेर मात्र तिम्रेा भिवष्य उज्यालेा हुने छ भन्ने प्रेरणा दिएकेा छ । हुनत संस्करण १ नराम्रेा नै त हेाइन तर यस्तै कथा हेर्न, पढ्न र सुन्नमा अाइसकेकेा हुनाले हेा ।
    जेहेास् केही लेख्ने प्रयत्न गर्नु भएकेा मा २ तारा केा हकदार अवश्य पनि हुनुहुन्छ तपाइ ।

    Reply
  11. pawon says:
    July 28, 2012 at 8:07 pm

    दोश्रो पार्ट राम्रो छ
    .

    Reply
  12. Bino, Italy says:
    July 28, 2012 at 7:43 pm

    शुषमाजी माफ गर्नु होला सायद संयोग पनि हुन सक्छ तर यो कथा पनि हिन्दी फिल्मको नक्कल गरेर बनाएको नेपाली फिल्म जस्तै लाग्यो | कथाको शुरूवात र अन्त्यमा केही भिन्नता त छ नै अनि थापिएका अंशहरु पनि छन् | कथाकार ले सबै हु-बहु नक्कल पनि त गर्नु भएन नि | त्यसैले होला तपाईले यहाँ निर केही चलाखी गर्नु भएको पनि छ | नक्कल कहाँ बाट गर्नु भयो भन्ने बिषय मा कुरा गर्नु पर्दा भारतीय टेलिभिजन च्यानल सोनी टिभी बाट हरेक शुक्र शनि र आइतबार प्रशारण हुने सत्य आपराधिक घटनामा आधारित टेलिसिरियल Crime Petrol Dustak मा २१ र २२ जुलाई २०१२ गरी २ भाग मा प्रशारण गरिएको घटना र तपाईको कथा एउटै छ, फरक छ त बस दूबै संस्करण बाट गर्न खोजिएको कथा को अन्त्य अनि शुरुवाती केही अंश | त्यसैले माफ गर्नु होला कुन संस्करण उचित छ भनेर भोट गर्न सकिन | सालोक्य जी तपाई फेरी पनि चुकेको महशुस गरेको छू |
    यस कथा संग मिल्दो जुल्दो Crime Patrol Dustak को भाग यो लिंक मा गएर हेर्न सकिन्छ :-
    http://www.desirulez.net/crime-patrol-season-4/432827-crime-patrol-season-4-21st-july-2012-video-watch-online-hd.html
    http://www.desirulez.net/crime-patrol-season-4/433097-crime-patrol-season-4-22nd-july-2012-video-watch-online-hd.html

    Reply
    1. Ramesh Bhandari says:
      July 31, 2012 at 11:19 am

      फुलको आखामा फुलै संसार काडा को आखामा काडे संसार ! साथि यो कथा हाम्रो नेपाली परिवेसमा मिल्दैन र हिन्दि टेलीशृंखला को साभार भन्नु भाको हो? यस्तो घटना हाम्रो समाजमा धेरै घट्छन / साथी इटाली बस्नु हुदो रहेछ नेपालको बारेमा के थाहा !! हिन्दि शृंखला हेर्यो कुनै वास्तविक को नजिक पुगेको कथालाई पनि कपि गरेको भन्यो बस !!! त्यसैले नेपाली मन अनि नेपाली आखा लगाएर ध्यान दिनुस यो कथा सिन्धुपाल्चोक अथवा नुवाकोट अनि मकवानपुरको पनि हुन् सक्छ / नेपालको कुनै पनि जिल्लाको पनि हुनसक्छ यो कथा

      Reply
  13. prince says:
    July 28, 2012 at 7:27 pm

    अन्त्यको कुरा गर्दा पहिलो संस्करण राम्रो लाग्यो |
    कथा औसत छ | लेखन शैली राम्रो छ | ३/५ तारा दिन्छु म |

    Reply
  14. Mohan says:
    July 28, 2012 at 6:44 pm

    मेरो बिचारमा दुवै सस्करण ठिक छैनन्, तर दुबैको कोशिश राम्रो छ. अझ दुवै अन्त्यको मिश्रण गरुन सके कथा अझ राम्रो हुने थियो.

    सुखान्त र बदमाश ले पौने सजाय संस्करण १ मा छ तेसैले सायद धेरैले संस्करण १ मन पराउनु भो. संस्करण २ मा अनिश्चितता मा कथा तुन्गिंचा. धेरैले तेस्लाई कथा मनपराउनु भो, कतिलाई त्यो मन परेन.

    मेरो व्यक्तिगत बिचारमा एदी कथा को दोश्रो संस्करण भाग्ने कुरालाई पहिला उनेर अनि केटि घर पुग्न सफल हुने, अनि तेही घरको धोका खोल्दा खेरि दाइ र सथिश संगै हुने, अनि उनीहरु झस्किने केटीलाई देखेर, अनि तेस्पनी सतिश्को मनोबिज्ञानिक बिश्लेश्ना अलिकति नै भए पनि , जस्तै उसको अनुहार मा मिश्रित भाव हरु बग्नु आदि इत्यादी, अनि केटि ले सोझै गएर तेस्को गलामा दुइ चड्कन हान्नु , तेस्पची दाइले तेस्लाई भकुर्नु र पोलीसमा जिम्मा लगाउनु सायद ठिक हुन्थ्यो कि.
    संकर्ण १ को अन्त्य अलि फोर्मुला मुखी पो भयो कि भनेर हो मैले माथिका कुरा लेखेका..

    सुष्मा जिको कथा लेखन सार्है राम्रो छ, परिस्कारको ठाउँ छैन भन्न चै मिल्दैन .

    मेरो कमेन्टस हरु प्राय यो blogma आउदैनन. सालोक्य जी पढ्नु हुन्छ होला पक्कै पनि , तर के र कस्ता कारणले मेरा कमेंट्स हरु publish हुदैनन् भन्ने बुझ्न पाए Silent reader नै भएर चित्त बुझाउने थिए.कमसेकम लोकतन्त्रमा बिश्वाश राख्ने महानुभावहरुले वाक swotantratko हिमयेती भएको देख्न पाए राम्रो हुने थियो. नभए त hipocrite भन्ने सब्द प्रयोग गर्नु परोइन र भन्ने हामीलाई लै रा छ

    Reply
  15. Uddav Bhandari says:
    July 28, 2012 at 6:00 pm

    तपाइको यो कथा पहिलेको जस्तो सरल छैन /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme