मिति : २०५७ साउन २२ गते
व्यवस्था : राजतन्त्र
घटना : नारायणहिटी दरबारको दक्षिणी गेटमा तीव्र गतिमा हुइँकिएको एउटा गाडीले मोटरसाइकललाई चालकलाई ठक्कर दिन्छ। मोटरसाइकल चालक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु हुन्छ।
पूर्व सैनिक सचिव विवेक शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ मा त्यो घटनालाई सम्झँदै लेखेका छन्- आइजीपी अच्युतकृष्ण खरेलले गाडीको नम्बरसमेत दिएर निर्मल निवासमा प्रवेश गरेको बताउँछन्। विवेकले यो कुरा राजा वीरेन्द्रलाई जाहेर गर्छन्। वीरेन्द्रले माइला भाइ (तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र) लाई फोन गरेर तुरुन्त बुझ्न हुकुम दिन्छन्।
पुस्तकमा लेखिएको छ- ‘ज्ञानेन्द्र सरकारबाट हुकुम भयो- विवेक, Yes, It is him. त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ। अब यो समस्या कसरी समाधान गर्ने उपाय निकाल।’
उनले महाराजधिराजमा यो कुरा जाहेर गर्छन्। राजा वीरेन्द्रले भन्छन्- यस्तो गम्भीर घटनाबाट Paras must learn the lesson. कानुनी प्रक्रिया पुर्याएर के गर्न सकिन्छ, आइजीपीसँग पनि कुरा गर।
उनले आइजीपी खरेलसँग सल्लाह गर्छन्। खरेलले उक्त नम्बरको मोटरले दुर्घटना गराएको कुराको जिम्मेवारी लिनै पर्छ तर कुनै ड्राइभरलाई उपस्थित गराएर सजाय व्होर्न लगाउने व्यवस्था गरौँ, मृतकको परिवारलाई क्षतिपूर्ति दिनु उचित हुन्छ भनेर सल्लाह दिएको पुस्तकमा उल्लेख छ।
त्यही अनुसार खड्ग बहादुर भुजेल नामका एक नक्कली ड्राइभर खडा गरियो र उनले यसको जिम्मा लिए। कानुनी प्रक्रिया त्यही अनुसार सल्टाइयो।
***
मिति : २०७६ मंसिर २८ गते।
व्यवस्था : गणतन्त्र
घटना : बुढानिलकण्ठमा तीव्र गतिमा हुइँकिँदै आएको कारले आफ्नो लेन छाडेर दायाँ मोडियो र विपरीत लेनको सडक पेटीमा चढ्दै लीला देवकोटालाई ठक्कर दियो। अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो।
सजाय : मापसे गरेर गाडी चलाउने पृथ्वी मल्ललाई ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना।
उतिबेला नक्कली ड्राइभर खडा गरिए जस्तो अहिले गर्न सम्भव थिएन, किनभने पृथ्वी मल्ललाई घटनास्थलमै प्रत्यक्षदर्शीहरुले पक्रेका थिए।
कारमा भएका दुई जना महिला भने भागेका थिए। त्यसमध्ये एक परमिता राणाले युट्युबमा हाँस्दै सबै जना सुतेकोले घटना भएको अन्तर्वार्ता दिएकी थिइन्।
नक्कली ड्राइभर खडा गर्न नसकिए पनि अदालतको आँखामा छारो हाल्न नक्कली लाइसेन्स पेश गरिएकोबारे मैले उस्तै लाइसेन्स भुस्याहा कुकुरको नामबाट निकालेर खुलासा गरिसकेको छु। छुटाउनु भएको भए यो ब्लग पढ्नुस्- यसरी निकालेँ मैले ‘भुस्याहा कुकुर’को नाममा पृथ्वी मल्लको जस्तो ‘लाइसेन्स’
यो बीचमा अनुसन्धानमात्र प्रभावित पार्न खोजिएन, थुनामा जानबाट जोगिन चिकित्सकको मिलेमतोमा अस्पतालमा राख्ने प्रपञ्चसमेत रचियो।
यसमा प्रमुख पात्रका रुपमा देखिन्छ- चिरायु अस्पताल।
प्रहरीले घटना लगत्तै चालक पृथ्वी मल्लको मादक पदार्थ सेवन परीक्षण गर्न चिरायु अस्पताल लगेको थियो। तर त्यहाँ कानुनी रुपमा बलियो हुने गरी रक्त परीक्षण नगरी मुख सुङ्घेर मात्र गरियो। त्यही आधारमा मदिरा सेवन गरेको प्रमाण राख्यो।
तर अदालतमा मल्लले आफूले मदिरा सेवन नगरेको र रक्त परीक्षण पनि नगरिएको बयान दिए।
अदालतले ब्रेथ टेस्ट गर्ने चिकित्सकलाई बकपत्रका लागि बोलाउँदा पनि चिरायु अस्पतालले अटेर गरेको थियो। चिकित्सक विदेशमा गएको भन्दै आलटाल गरेको थियो। पछि चिकित्सकले बकपत्र त गरे, तर हाम्रो अस्पतालमा ब्रेथलाइजर मेसिन नै छैन भनेछन्।
प्रहरीले अदालतको अनुमतिमा तीन सातासम्म आरोपितलाई थुनामा राखेर अनुसन्धान गर्न सक्छ। तर यो केसमा मल्लले बिरामी भएको बहानामा थुनामा समेत बस्नु परेन। उनले चिरायु अस्पतालकै सुविधाजनक क्याबिनमा बस्ने सुविधा पाए।
मल्ल परिवारको प्रहरीका उच्चपदस्थहरुसँग पनि राम्रो हिमचिम थियो। त्यही भएर हो कि उनी अस्पतालमा रहँदै महाराजगञ्ज प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्यो। मादक पदार्थ सेवन गरेर लापरवाहीपूर्वक गाडी चलाएर सडक पेटीमा हिँड्दै गरेकी महिलाको ज्यान लिएको घटनामा प्रहरीले ‘सामान्य दुर्घटना’ भएको अपराधमा मुद्दा चलाउनु पर्ने राय दिएको थियो, उही अधिकतम दुई हजार रुपैयाँ जरिवानाको प्रावधानसहितको।
तर काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले सवारी ज्यान मुद्दामा अभियोग लगाउनु पर्ने भन्दै प्रतिवेदन प्रहरीलाई फर्काइदियो। त्यसपछि बल्ल ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको मागदावी लिँदै अदालतमा अभियोग पत्र दायर भयो।
काठमाडौँ जिल्ला अदालतले उनलाई पोहोर पुस २३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनलाई डिल्लीबजार कारागार पठाइयो।
तर उनले फेरि पनि बिरामी भएको बहाना गरे। नियम अनुसार उनलाई सरकारी अस्पताल पठाउनु पर्ने थियो। जेल व्यवस्थापनले मल्ललाई वीर अस्पताल पठायो।
तर मल्ल परिवारको रवाफ र प्रभाव त्यहाँ पनि देखियो। वीर अस्पतालले उनलाई फेरि चिरायु अस्पतालमै रिफर गरिदियो।
पुर्पक्षका लागि थुनामा पठाइएका व्यक्ति लामो समयसम्म जेल प्रशासनको पत्रको जवाफसमेत नदिएर चिरायुको क्याबिनमै रहे। चिकित्सकको समेत मिलेमतो रहेको भन्दै जेल प्रशासनले छानबिन गर्न थालेपछि बल्ल चिरायुले उनलाई अस्पतालबाट डिस्चार्ज गर्न बाध्य भएको थियो।
तर अस्पतालबाट फर्किए पछि पनि उनले लामो समय जेल बस्नु परेन। जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्नु पर्ने आदेश दिए पनि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो।
ज्यान मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्ने यो आदेशको पनि सामाजिक सञ्जालमा उतिखेर निकै आलोचना भएको थियो।
काठमाडौँ जिल्ला अदालतले त उनलाई सामान्य दुर्घटना सरह ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाइदियो।
***
मिति : २०७८ जेठ २० गते।
व्यवस्था : गणतन्त्र
घटना : प्रदेश १ राजधानी विराटनगरमा प्रदेश सभा सांसद बिन्दिया कार्कीका छोरा रविन सिंह कार्कीले मापसे गरेर गाडी चलाएर दुई जनालाई ठक्कर। एक जनाको मृत्यु भयो भने अर्का गम्भीर घाइते।
सजाय : जिल्ला अदालतले दियो ३ वर्षको जेल सजाय, तीन महिनामै त्यसलाई उल्ट्याएर उच्च अदालतले दियो ६ महिना १५ दिनको सजाय। अस्पतालको सुविधासम्पन्न क्याबिनमै बसेर तोकिएको साढे ६ महिना कैद भुक्तान भइसकेको भनियो। उनलाई तोकिएको जम्मा दुई हजार रुपैयाँ जरिवाना पनि कागजमा बढी समय जेल बसेको कारण देखाउँदै तिर्न नपर्ने भनियो।
राजतन्त्रमा नक्कली चालक खडा गरे जस्तो गणतन्त्रमा पनि गर्न लागिएको चर्चा त्यतिबेला निकै चलेको थियो। किनभने दुर्घटना गराउने गाडी सांसदको भएको खुलिसकेको थियो। चलाउने उनका छोरा भएको पनि प्रत्यक्षदर्शीले थाहा पाइसकेका थिए। लोकल मिडियाहरुले पनि समाचार लेखिसकेका थिए। तर पुलिसले उनलाई पक्रने त कुरै छाडौँ, गाडी कसले चलाएको भनेर समेत औपचारिक रुपमा मुख खोल्न सकेको थिएन।
धन्न राजतन्त्रमा जस्तो नक्कली चालक खडा भएन। तर गणतन्त्रमा नक्कली लाइसेन्स भने बनाइयो।
थप विवरण सीधा कुराका लागि मैले तयार पारेको यो रिपोर्टमा हेर्नुस्-
नक्कली लाइसेन्सको विषयमा कृष्ण बहाबको नेपालखबरमा प्रकाशित यो समाचारले पनि प्रष्ट पार्छ- सांसद पुत्रको सवारी ज्यान मुद्दा : जेलमै बसेर निस्किएको थियो लाइसेन्स!
यी बिन्दियासँग अकुत सम्पत्ति छ । सांसदकोष बाट रुपैयाँँ र विकास बजेट बाट मात्र हैन ठेक्काका टेन्डर बाट यिनले 0७७/७८ मा सात करोड असी लाख कुम्ल्याइन् । मेयर भेर्म पराजुली, व्यवसायी भीम घिमिरे र शृमती घिमिरे सँग मिलेर जग्गा दलालीको र्याकेट चलाएकी छन् । मिटर ब्याज को धन्दा छ । भीम घिमिरेकी शृम्तीले त बैजनाथपुर क्रीकेट स्टेडियम निर्माणमा गरेको घोटाला त विदितै छ । कोही बोल्नेवाला छैन । यहाँका स्थानीय पत्रीकाहरूलाई पैसाको बुजो लगाइन्छ ।