मादक पदार्थ सेवन, लापरवाहीका साथ चलाइएको गाडी र त्यसैको ठक्करबाट सडक पेटीमा हिँडिरहेकी ३८ वर्षकी महिला लीला देवकोटाको मृत्यु।
बुढानिलकण्ठमा दुई वर्ष अघि भएको यो घटनामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसला अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। धेरै आश्चर्यचकित छन्। किनभने न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले गएको साता गरेको फैसलामा मात्र ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकिएको छ।
न्यायाधीश सूर्यप्रसाद अधिकारीले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छैन। तर यो गम्भीर घटनालाई सामान्य दुर्घटना जस्तो देखिने गरी कम सजाय तोक्न गरिएका विभिन्न चलखेल हाम्रो खोजमा देखिएको बारे यो ब्लगमा खुलासा भइसकेको छ। आज हामी अदालतको आँखामा छारो हाल्ने प्रयास कसरी गरियो, त्यो देखाउँदैछौँ।
शुक्रबारको ‘सीधा कुरा’मा रिपोर्ट बनाउँदा नै मलाई शंका लागेको थियो, मल्ल परिवारले अदालतमा पेश गरेको इन्टरन्यासनल ड्राइभिङ पर्मिट लेखिएको डकुमेन्ट सक्कली होइन। किनभने त्यो वेबसाइट नै शंकास्पद थियो। त्यसमा सञ्चालक संस्थाबारे केही उल्लेख थिएन। अनि अमेरिकी सरकारी निकायले पनि त्यो वेबसाइट उल्लेख गरेको देखिएन।
तर यसलाई सबैले बुझ्ने गरी प्रमाणित गर्ने उपाय भने मैले सोच्न सकिरहेको थिइनँ। त्यसैले त्यो दिन यत्तिकै रह्यो।
शनिबार मेरो दिमागमा एउटा आइडिया फुर्यो- यो वेबसाइटले केही पनि भेरिफाइ नगरी त्यस्तो पर्मिट दिने रहेछ भने भुस्याहा कुकुरकै नाममा पनि त लाइसेन्स निस्किएला नि। साथीहरुसँग कुरा गरेँ। उनीहरुले पनि गरौँ भन्न थाले।
दुर्घटनास्थलबाटै पक्राउ परेका चालक पृथ्वी मल्लले सहायक जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापित समक्ष प्रहरीले लिएको बयान कागजमा आफूसित चार पाङ्ग्रेको लाइसेन्स पनि रहेको दावी गरेका थिए।
तर अनुसन्धानमा उनले दुई पाङ्ग्रेको लाइसेन्स मात्रै लिएको पुष्टि भयो।
चलखेल यसरी सुरु भो
त्यसपछि सुरु भयो अर्को चलखेल। आमा जुना मल्लले आफ्ना छोराले अमेरिकाको फ्लोरिडा राज्यबाट प्राप्त अन्तर्राष्ट्रिय मान्यतासमेत भएको दावी गर्दै लाइसेन्स पेश गरेकी थिइन्। जुनाले पत्रमा सो अनुमतिपत्रको इजाजत बुकसमेत यसै निवेदन साथ पेश गरेकी छु लेखेकी छिन्।
तर त्यो पूर्ण लाइसेन्स नभएर लर्नर्स अर्थात् सिकारु लाइसेन्स थियो। यस्तो लाइसेन्स भएकोले अमेरिकामा पनि लाइसेन्स भएको वयस्क व्यक्तिलाई साथमा नराखी गाडी चलाउन पाइँदैन।
जुनाले अर्को डकुमेन्ट पनि पेश गरेकी थिइन्, जसमा इन्टरन्यासनल ड्राइभिङ पर्मिट लेखिएको थियो। अङ्ग्रेजीसहित विभिन्न भाषाको प्रयोग गरिएको यो डकुमेन्टको नोटरी पब्लिक गरिएको प्रति अदालतमा प्रस्तुत गरिएको थियो।
भुस्याहा कुकुरको नाममा फर्म भरियो
हो, मेरो शंका यसैमा थियो। त्यो पर्मिटमा एउटा क्युआर कोड थियो। त्यसमा स्क्यान गरेर हेर्दा https://e-ita.org/ वेबसाइटमा पुगियो। यसैमा अनलाइन फर्म भुस्याहा कुकुरको नाममा भर्ने र मल्लले पेश गरेको जस्तो लाइसेन्स आउने कि नआउने भन्ने हेर्ने हाम्रो प्रयास थियो।
टिभीको क्यामेरा अन गरेर फर्म भरियो खुरुखुरु। त्यसमा लाइसेन्स र फोटो पनि हाल्न पर्ने रहेछ। मैले गुगल सर्च गरेर यत्तिकै कसैको हालिदिएँ। भेरिफाइ गर्ला र खोजेको डकुमेन्ट नआउला कि भन्ने लागेको थियो। २ बजेतिर फर्म भरेको, डकुमेन्ट साँझसम्म नआए कार्यक्रममा देखाउन नसकिने डर थियो।
हामीलाई दुई घण्टामा इन्टरन्यासनल ड्राइभिङ पर्मिट आउने भनेर इमेल आयो।
तर पनि डर थियो, भेरिफाइ गरे भने त आउन गाह्रो हुन्छ। किनभने त्यसमा हामीले सही डकुमेन्ट त राखेका थिएनौँ।
अचम्म !
नभन्दै आज दिउँसो साढे ३ बजेको हाराहारीमा हाम्रो इमेलमा भुस्याहा कुकुरको नाममा अन्तर्राष्ट्रिय लाइसेन्स आइपुग्यो। शुल्क अलि बढी तिरेको भए केही दिनमा भौतिक रुपमा पनि डकुमेन्ट पुर्याउने व्यवस्था रहेछ।
हुबहु उस्तै देखिने ‘लाइसेन्स’
हामीले भुस्याहा कुकुरको नाममा पाएको यो अन्तर्राष्ट्रिय लाइसेन्स पृथ्वी मल्लले अदालतमा प्रमाणका रुपमा पेश गरेको अन्तर्राष्ट्रिय लाइसेन्सको हुबहु देखिन्छ। दुवैमा इन्टरन्यासनल ट्रान्सपोर्टेसन अथरिटी (ITA) लेखिएको छ। त्यसैगरी दुवैमा प्रयोग गरिएका विभिन्न भाषाहरु हुबहु छन्।
यो माथिको कभर पेज भयो।
माथिको मल्ल परिवारले निकालेको, मुनिको हामीले निकालेको।
दुर्घटनापछि निकालिएको रहेछ यो
मल्ल परिवारले निकालेको (दायाँ) र हामीले निकालेको (बायाँ) हेर्नुस्। यो एक वर्षको मिति राखेर दिइने रहेछ। हाम्रोमा त्यही भएर २७ मार्च २०२३ राखिएको छ। मल्ल परिवारले निकालेकोमा भने १९ डिसेम्बर २०२० लेखिएको छ। त्यसको मतलब उनीहरुले यो १० डिसेम्बर २०१९ मा निकालेको हुनुपर्छ। १० डिसेम्बर २०१९ लाई नेपाली मितिमा रुपान्तर गरी हेर्दा हुन आउँछ- पुस ३, २०७६।
दुर्घटना भएको मिति हो २०७६ मंसिर २८ गते।
अर्थात् दुर्घटना भइसकेपछि मात्रै यो नक्कली अन्तर्राष्ट्रिय लाइसेन्स दावी गरिएको पर्मिट निकालियो।
रामचन्द्र घिमिरेको जाहेरीले नेपाल सरकार वादी र कलेश्वर राउत प्रतिवादी रहेको सवारी ज्यान मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले २०७३ सालमा एउटा नजिर बनाएको छ। त्यसमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने भनिएको छ। अर्थात् त्यस्तोमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्ने कानुनी प्रावधान हुन्छ।
यही प्रावधानबाट बच्न पृथ्वी मल्लको नेपाली लाइसेन्स नभए पनि अन्तर्राष्ट्रिय लाइसेन्स भएको देखाउन यो प्रपञ्च रचिएको देखिन्छ। फलस्वरुप उनलाई मात्र ६ महिना कैद र १ हजार जरिवानाको फैसला आयो। ६ महिनाको अधिकांश समय उनले अस्पतालको क्याबिनमा बिताए।
भुस्याहा कुकुरको नामबाट समेत निकाल्न सकिने यस्तो अन्तर्राष्ट्रिय लाइसेन्सको वैधतामा अनुसन्धान गर्ने प्रहरीसमेत जानकार नभएको हो कि चलखेलको यो अर्को रुप हो भन्ने प्रश्न चाहिँ अनुत्तरित नै छ।
पिता जोगाउने प्रपञ्च
यो चलखेलले पृथ्वीमात्रै होइन, उनका पिता पनि जोगिए। किनभने हाम्रो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा ५ ले यस्तो भन्छ-
दुर्घटना गराएको बा १४ च ६१२३ नम्बरको कारका धनी पृथ्वीका पिता मदन मल्ल थिए। लाइसेन्स नभएको छोरालाई कार चलाउन दिने बाबुलाई समेत दुई वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ।
यसमा मल्ल परिवारले दुई वटा गलत काम गरेको छ-
एक, अमेरिकाको लर्नर्स लाइसेन्स अर्थात् सिकारु लाइसेन्सले नेपालमा गाडी चलाउन पाइँदैन।
दुई, त्यस्तो लर्नर्स लाइसेन्सबाट इन्टरन्यासनल ड्राइभिङ पर्मिट जारी गरिँदैन। अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख भए अनुसार अमेरिकी लाइसेन्स वाहकको लागि इन्टरनेशनल ड्राइभिङ परमिट लिन दुईवटा निकायलाई मात्र आधिकारिक मान्यता दिएको छ- AAA र AATA यी दुई संस्था बाहेक अरु कसैको पनि IDP लाई अमेरिकाले मान्यता दिने रहेनछ। एक त मल्लको फ्लोरिडाको लाइसेन्स नै लर्नर्स भयो। यदि उसँग फूलफ्लेज लाइसेन्स हुन्थ्यो भने पनि उसले ITA बाट लिएको IDP अवैध नै हुन्थ्यो। किनभने अमेरिकी दूतावासमा प्रमाणीकरणका लागि पठाउने वित्तिकै त्यो फेक सावित हुने थियो ।
AAA र AATA ले ITA ले जस्तो अनलाइन IDP जारी पनि गर्दैनन् । पहिलो त आवश्यक कागजात सहित उनीहरुको अफिसमै जानुपर्छ। हरेक राज्यमा उनीहरुको अफिस छ नत्र भने हुलाकबाट चाहिने सबै कागजात (दुई प्रति फोटो सहित) उनीहरुले तोकेको ठेगानामा पठाउनु पर्छ। IPD भनेको छुट्टै लाइसेन्स पनि होइन, यो सरकारी निकायले जारी गरेको लाइसेन्सलाई विभिन्न भाषामा गरिएको अनुवाद मात्रै हो।
यसरी सीधै सम्मानित अदालतको आँखामा छारो हाल्न खोजेको देखियो। हेर्नुछ, अब यसमा कस्तो फैसला भएको हो। किनभने फैसलाको पूर्णपाठ आउन बाँकी नै छ।
यो बारेमा ‘सीधा कुरा’मा आइतबार बजेको रिपोर्ट हेर्नुस्-
युट्युबमा कार्यक्रम हेर्नुस्-
यो पनि हेर्नुस्-
लापरवाहीपूर्वक गाडी चलाउँदा ज्यान गयो, तर एक हजार रुपैयाँ जरिवानाको ‘न्याय’ !
Moreover, in the cover page of the international driver license, it is clearly written that ” Important: this document is valid when shown with Domestic Driver Licence”. That means, without car drive license in Nepal, even with this fake document, he did not have any permission to drive the car.