यसअघि पनि पाल्पा छोटो समयका लागि नपुगेको होइन, तर गएको तिहार अगाडिको यात्रा भने अविस्मरणीय हुन पुग्यो। घुम्न जाँदा त्यहाँको अस्पताल कहिले पनि सूचीमा पर्दैन। तर यस पटक त्यस्तै पर्यो। खासमा सूचना चलखेल र लोकतन्त्र सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गण्डकीको पोखरामा सकाएर लुम्बिनीको पाल्पामा हुँदै थियो। हामी सडक बाटो हुँदै पाल्पा पुगेका थियौँ। दिनभरको यात्रा, त्यसपछि अझ रानीमहल घुमेर थाकेर भोलिपल्ट बिहानको कार्यक्रमका लागि हल सेटअप हेरेर पौवा होटलको त्यो हलबाट बाहिर निस्कन लागेको के थिएँ, शिशाको ढोकामा टाउको यसरी ठोक्कियो कि… !
यही हलको सेटअप हेरेर बाहिर निस्कँदा टाउको ठोक्किएको थियो।
एकछिन त थचक्कै बसियो। के भो नै होस भएन। होसै गुमाएको त होइन, तर अगाडि शिशाको ढोका छ भन्ने कस्तो होस नभएको! तर नठोक्किनु टाउको ठोकी त सक्यो। त्यसको प्रभाव पनि तत्काल देखिहाल्यो- टुटुल्को..निधारैमा !
पाल्पावासी भुवन, बसन्त, चेतना साथीहरु थिए कार्यशालाका लागि सँगै आएका। भोलिको कार्यक्रममा केही असर नपरोस् भनेर निश्चिन्त हुन चाहन्थेँ। टुटुल्कोको साइज बढ्दै थियो, दुखाइको त सीमा नै भएन।
त्यसैले बाहिर कतै मेडिकल छ भने जाउँ न भनेर मैले नै प्रस्ताव राखेँ।
बसन्त र म होटलबाट बाहिर निस्कियौँ। रातको ८ जति मात्रै बजेको थियो। तर कतै पनि मेडिकल खुलेको देखिएन। मेडिकल खुलेको भए यसो मलम सलम लगाउने, नदुख्ने केही औषधी भए खाने, भोलि मज्जाले कार्यशाला चलाउने- मेरो दिमागमा त्यही थियो।
‘कि अस्पताल नै जाने त,’ बसन्तले एक्कासी भन्यो। उसले अघि साँझ उसको साथी भेट हुँदा एक राउन्ड घुम्दा अस्पताल यो ठाउँमा छ भनेर थाहा पाएको रहेछ। उसैले अस्पताल लग्यो।
अस्पतालको इमर्जेन्सीमा गयौँ। यसो यसो भएको छ भन्यौँ। अस्पतालमा जाँदा टेम्परेचर, अक्सिजन लेभल, पल्ससँगै ब्लडप्रेसर पनि नाप्नु नियमित कार्यमै पर्छ।
त्यो नापिसकेपछि इमर्जेन्सीमा रहेकी दिदीले ड्युटीमा रहेकी डक्टरसँग कुरा गरिन् फोनमा। उनीहरुको कुराकानीमा मैले त्यति ध्यान दिएको थिइनँ। इन्जेक्सन लगाउन भनेकी रहिछिन्।
मैले सोचेँ, पेनकिलरको इन्जेक्सन हो।
‘ह्या नलगाउने, औषधी खान्छु बरु,’ मैले भनेँ।
मैले नमानेपछि उनले पनि कर गरिनन्। तर मलाई आइसियुको बेडमा आराम गरेर बस्न भन्दै होटल फर्कन भने दिइनन्।
‘पख्नुस्, डक्टर आउनुहुन्छ, अनि सल्लाह गरौँला’, उनले भनिन्।
त्यहाँ जजकका एक आरोपी प्रहरी निगरानीमा आएको थियो हत्कडीमा। एकछिन उनीहरुको चर्तिकला हेरेर बसियो।
केही बेरको प्रतीक्षापछि डक्टर आइन्। उनले दुई तीन पटक आफै ब्लडप्रेसर नापिन् र इन्जेक्सन लगाउन उही अघिकै इमर्जेन्सीमा बसेकी दिदीलाई निर्देशन दिइन्।
‘इन्जेक्सन लाउनु र, त्यति पेन छैन अहिले’, म अनकनाएको देखेर डक्टरले भनिन्, ‘पेनको कुरै होइन, हाइपरटेन्सिभ अर्जेन्सी हो।’
मैले अझै कुरा बुझिनँ। डक्टरले बुझाइन्, ‘तपाईँको ब्लडप्रेसर १९०/१४० छ !’
हैट ! म ट्वाँ परेँ।
अघि पनि यही फिगर सुनेको थिएँ। तर मैले १४०/९० भनेको होला भन्ने ठानेको थिएँ। यति त मेरो भइरहन्छ।
त्यही दिन हामी रानीमहल पनि पुगेका थियौँ।
अब त साइकोलोजिकल असर पनि पर्न थाले जस्तो पो भो त। यति धेरै त इतिहासमा कहिल्यै भएको थिएन। अघि इमर्जेन्सीकी दिदीले छाती त दुख्या छैन नि भनेर सोधेकी थिइन्। दुखेको छ भन्ने भन्नुस् है भनेकी थिइन्।
त्यतिबेला नदुख्या छाती अहिले दुख्या दुख्या जस्तो पो भो त। यस्तो भनिसकेपछि इसिजी पनि भयो। तर प्रेसर बढ्न बाहेक खास अरु केही कुरा देखिएन।
प्रेसर घटाउन दिइएको इन्जेक्सनले पनि प्रेसर नर्मल बनाउन सकेन।
बसन्तले यो जानकारी अरु साथीहरुलाई दिएपछि सबै तनावमा पर्ने भइहाले। हरेक कुराको सकारात्मक व्याख्या गर्ने भुवनजी पनि हल्का तनावमा आए जस्तो पहिलो पटक देखेँ।
रातको ११ बजेसम्म पनि प्रेसर १४०/१२० बाट नघटेपछि डक्टरले एडमिट गर्न नै सुझाव दिइन्।
मलाई र साथीहरुलाई भने अस्पतालमा भन्दा होटलमा गएर बस्न पाए हुने भन्ने लागिरहेको थियो। अस्पतालबाट होटल टाढा पनि थिएन।
‘केही गाह्रो भयो भने ल्याइहाल्छौँ नि,’ एक जना साथीले प्रस्ताव राख्दा डक्टरले भनिन्, ‘गाह्रो परेको कसरी थाहा पाउनु हुन्छ भन्नुस् त। प्रेसरमा कुनै लक्षण देखिने हैन। सीधै स्ट्रोक भयो भने ?’
कुरो सही हो।
अहिले पनि केही लक्षण त देखाएको थिएन। टाउकोमा ठोक्किएको भएर जँचाउन आएको। नआएको भए झन् के पो हुन्थ्यो होला।
घरपरिवार लगायतका अरु विषयमा ऐतिहासिक तनाव त भइरहेकै थियो, त्यही बिर्सन पनि काममा व्यस्त हुन सातै प्रदेशमा हुने यो कार्यशालामा रमेको थिएँ। आफ्नो रुचिको पनि विषय।
त्यो दिन मध्यरात हुन लाग्दा साथीहरुले आफ्नै रिस्कमा होटलमा लगेर आराम गराउने भए। हुन पनि हस्पिटलको बसाइ भन्दा होटलको बसाइ नै आरामदायी हुन्थ्यो। हस्पिटलमा निद्रा नपरे झन् गाह्रो पो हुन्छ कि भन्ने पनि लागेकै हो।
डक्टरले अस्पतालको कागजमा लेखिदिइन्, ‘patient was advised for admission but refused despite adequate counselling.’
औषधी लिएर भोलिपल्ट केही टेस्ट गर्नुपर्ने निर्देशनसहित होटल फर्केर म त सुतेँ। तर साथीहरु कहाँ रातभर सुत्न पाउनु। केही भयो कि भनेर घण्टा घण्टामा आलोपालो गरेर रुममा चेक गर्न आएछन्।
तर मेरो अहोभाग्य, साथीहरुको केयरले त्यस्तो नराम्रो केही भएन।
भोलिपल्ट बिहान टेस्ट गर्न अस्पताल पुग्दा त्यहाँ लामो लाइन रहेछ। तर पनि हिजो रातिको इमर्जेन्सीको टिकटले छिट्टै पालो आयो। टेस्ट गरियो र होटल फर्केर रेस्ट गरियो।
अरु प्रदेशका कार्यशालामा उज्ज्वल आचार्य र म दुई जना प्रशिक्षकको भूमिकामा हुन्थ्यौँ। तर पाल्पामा म एक्लैले गर्नुपर्ने थियो। अवस्था यस्तो आयो कि म रेस्ट गर्न बाध्य हुनुपर्यो।
मलाई साथीहरुले कार्यक्रमको चिन्ता नगर्न र आराम गर्न सुझाइरहेका थिए। तर पनि मन किन मान्थ्यो र।
पाल्पाका पत्रकार माधवप्रसाद अर्याल लगायतका साथीहरुले ब्लड प्रेसर नाप्ने मेसिन नै लिएर आए। समय समयमा चेक गर्दै बसियो। साथीहरुले कार्यशालाका विभिन्न सेसनहरु सम्हाले। बीचबीचमा आराम गर्न रुममा गए पनि केहीमा सहभागी भएँ र पहिलो दिनको कार्यक्रम जसोतसो सकियो।
त्यो रात पाल्पाका एक स्थानीय नाम चलेको डाक्टरकहाँ त्यहीँका साथीहरुले लगे। उनले अलि राम्रै काउन्सेलिङ गरे। त्यति चिन्ताजनक स्तरमा प्रेसरको लेभल पनि देखिएन।
दोस्रो दिनको कार्यक्रममा सक्रिय सहभागिता जनाइयो र बुटवल हुँदै काठमाडौँ फर्कियौँ।
काठमाडौँमा जँचाएपछि अहिले नियमित प्रेसरको औषधी खाइरहेको छु।
धन्य, त्यो दिन पाल्पाको अस्पतालले समयमै सचेत नगराएको भए जे पनि हुनसक्थ्यो। पाल्पा अस्पतालका सबैलाई धन्यवाद। अनि त्यस्तो कठिन समयमा हौसला दिने साथीहरु भुवन, बसन्त, चेतना, आयोजक संस्था आइआरआईकी प्रेमालगायत सहभागी स्थानीय पत्रकारहरु सबैलाई धन्यवाद।
सातै प्रदेशमा भएको कार्यक्रममा धेरै कुरा सुनियो, देखियो, भोगियो। यसबारे धेरै ब्लग लेखेर तपाईँहरुसँग बाँड्ने विचार थियो। तर अलमल नै अलमल। आशा गरौँ, अब ब्लग लेखन नियमित हुनेछ।
समस्याहरू कहिलेकाहिँ अचानक बेमौसमी वर्सा वर्सेझैँ वर्सन्छन। हार नखाइ अगि बड्नुपर्छ सर सबै ठिक हुँदै जान्छ। हुन त दिन सजिलो भएरै जो कसैले पनि फ्यास्स सजेसन र मोटिभेसन दिने हो। समस्या भोग्नेलाई नै थाहा हुन्छ तै पनि मैले जन्माएका अक्षरहरू पढ्न पर्खने केहि मान्छेहरू कतै त छन भन्ने सोचेर अगि बढ्नु होला। तपाइको भलो चाहाने हामी यतै कतै छदैँछौँ। सुभकामना।