Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जीबी राई ‘पक्राउ’ : गलत समाचार लेखेर गलत बहानामा बचाउ

Posted on March 7, 2024 by Salokya

बिहीबार बिहानै एउटा समाचारले बजार पिट्यो : सहकारी ठगीको मुद्दामा फरार जीबी राई पक्राउ परे। डढेलो जस्तै यो समाचार आक्रामक रुपमा फैलियो। खासमा यो गलत रहेछ। पुलिसलाई नै पक्राउ परेको थाहा रहेनछ, पत्रकारहरुमात्रै चम्किएका रहेछन्।

अझ रोचक त यो मिथ्या सूचना राखेर त्यसलाई बनाएको बहानामा देखियो। आउनुस्, एक पटक हेरौँ र रेकर्डमा राखौँ यो ‘काण्ड’लाई।

कान्तिपुर टेलिभिजनले आफ्नो सोसल मिडियामा यसलाई ‘ब्रेकिङ’ न्युज दावी गर्दै फैलाएको थियो।

बिहान ८ बजेर ४२ मिनेटमा कान्तिपुर टेलिभिजनले ट्विटरमा लेख्यो- ‘Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई सिंगापुरमा पक्राउ’

त्यसको आधा घण्टामा त्यो ट्विटलाई एडिट गरी सच्याइयो र सिंगापुरको ठाउँमा मलेसिया लेखियो।

ट्विटरमा कुनै ट्विटलाई एडिट गरेपछि एडिट गर्नुअघि के लेखिएको थियो भनेर पनि हेर्न सकिन्छ।

ट्विटरमा मात्र होइन, फेसबुकमा पनि कान्तिपुर टिभीले यस्तै गरेको थियो। हेर्नुस् स्क्रिनसट-

केही मिडियाले कान्तिपुर टिभीकै ब्रेकिङलाई पछ्याउँदा उनीहरु पनि चुके। जस्तै सेतोपाटी।

सेतोपाटीले पनि जिबी राई पक्राउ शीर्षकमा समाचार राख्यो। त्यसमा प्रहरी प्रधान उच्च स्रोतका अनुसार भनिएको थियो जुनकि हावा हो भन्ने पछि थाहा भइहाल्यो। साँच्चै पक्रेको भए उच्च स्रोत, निम्न स्रोत भनेर लेखिरहनै पर्दैन थियो, नामै खोलेर पक्रेको हो भनिहाल्थे नि।

तर अचेल सही कुरा आउन कति बेर लाग्छ र।

तुरुन्तै अरु मिडियाले प्रहरी प्रवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई कोट गरी पक्राउ परेको जानकारी नभएको समाचार लेखिहाले।

त्यसपछि त झन् रोचक कुरा देखियो।

नभएको समाचार लेख्नेहरुले बहाना बनाएको हेर्न लायक थियो।

कान्तिपुर टिभीले यस्तो लेखी बहाना बनायो-

उसले दोष गृह प्रशासनका उच्च अधिकारीमाथि थोपरिदियो। नाम लेख्न नपरेपछि जसलाई थोपरे पनि भइहाल्यो। तर यो बहानाबाजी कति गलत छ भन्ने कुरो त यस्सै देखिन्छ।

विदेशमा भएका जीबीलाई पक्राउ गर्ने हो भने इन्टरपोलले पक्राउ गर्ने हो। इन्टरपोल भनेकै प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल हो। अनि इन्टरपोलले नेपाल प्रहरीलाई जानकारी नदिई गृह प्रशासनका उच्च अधिकारीलाई भन्छ त ?

जुन देशले रेड नोटिस जारी गरायो त्यसको आधारमा जुनसुकै देशको इन्टरपोलले समाते पनि नोटिस जारी गर्नेलाई जानकारी दिन्छ। लिन आइज भन्छ। प्रक्रिया यस्तो हो।

तर यहाँ त नेपाल प्रहरीले थाहै छैन भन्छ। समातिए नेपाल ल्याउनै पर्ने विषय थाहा छैन किन भन्छ?

तथ्यमा चुकेको त छँदैछ, व्याकरणमा पनि चुकेको छ कान्तिपुर टिभी। लेख्छ, ‘प्रहरी नेतृत्वले अनविज्ञता प्रकट गरेको छ’।  हुनुपर्ने ‘अनभिज्ञता’ हो। अथवा ‘अविज्ञ’, ‘अविज्ञता’ लेखे पनि भयो

उता सेतोपाटीको बहानाबाजी झन् हाँसउठ्दो छ। सेतोपाटीले ट्विटरमा यस्तो स्पष्टीकरण दियो-

राखेको समाचार गलत भएपछि त्यही स्वीकार गरेर सच्याए हुने हो। तर त्यसरी सच्याउँदा इगो हर्ट हुने भएर हो कि बहाना गर्नै पर्‍यो।

यहाँ बहाना बनाइयो सिएमएसमा लेखेर तयार पारेको समाचार असावधानीवश प्रकाशन भयो।

पुष्टि हुन बाँकी दावी गरिएको समाचारमा फेरि प्रहरी प्रधान उच्च स्रोत लेखिएको रहेछ नि। उच्च स्रोतले नै पुष्टि गरिसकेपछि फेरि केको पुष्टि हो ? कि पुष्टि नभएको समाचारलाई यसरी नै हचुवामा स्रोत लेख्ने गरिएको छ ?

यो स्पष्टीकरणमा ‘समाचार सेतोपाटीको वेबसाइटमा पनि नरहेको जानकारी गराइन्छ’ भनेर झुक्याउन खोजिएको छ। वेबसाइटमा प्रकाशन नै नभएको, हाम्रोपात्रोको फिडमा मात्र प्रकाशन हुन गएको अर्थ पनि लगाउन मिल्छ यसलाई। तर त्यसो होइन, यो समाचार सेतोपाटीको होमपेजमा नै मेनन्युजका रुपमा आएकै हो। प्रकाशन भएको समाचार मात्र हाम्रोपात्रोको फिडले तान्छ।

बिहीबार राति हेर्दासम्म यो गलत समाचार हाम्रोपात्रोको सबैभन्दा धेरै हेरिएकोको पनि टपमा थियो। यो घटनाले हाम्रोपात्रोले पनि सुधार गर्नुपर्ने देखाउँछ। सम्बन्धित मिडियाले गलत भएको थाहा पाएर हटाइसक्दा पनि त्यसमा भने गलत जानकारी नै आइरहनु ठीक होइन। यसले त गलत कुरा झन् फैलाउने काम पो गर्‍यो त !

 

1 thought on “जीबी राई ‘पक्राउ’ : गलत समाचार लेखेर गलत बहानामा बचाउ”

  1. अनन्त पोखरेल says:
    March 8, 2024 at 6:43 am

    ठूला भनाउँदा मिडियाले सबैलाई पंगु बनाईसके ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme