एक किलो प्याजको ७ सय रुपैयाँ !
मैले यसो भन्दा तपाईँ पत्याउनु हुन्छ ? पक्कै पनि यसले हावा कुरा गर्न थाल्यो भनेर गाली गर्नुहुन्छ होला।
पख्नुस् तपाईँलाई एक किलोको प्याजको ७ सय रुपैयाँ पर्ने हिसाब मिडिया र सशस्त्र प्रहरीले कसरी निकाल्यो त्यो देखाउँछु।
यो रातोपाटीमा प्रकाशित समाचार एक पटक हेर्नुस्-
त्यसो त म स्कूलमा हिसाब भनेपछि पिसाब निस्केला झैँ हुने विद्यार्थी थिएँ। कति पटक त हिसाबमा फेल पनि भएको छु। तर पनि अहिले मभन्दा हिसाब नआउनेहरुले समाचार लेखेको देख्दा मलाई बरु अलिकति भए पनि केही आउने रहेछ भनेर दङ्ग पर्छु।
आउनुस्, अब म तपाईँलाई सरल हिसाब बुझाइदिन्छु-
हेडलाइन हेर्नुस् के छ ?
४२ लाखभन्दा बढी मूल्यको प्याजसहित दुई वटा गाडी नियन्त्रणमा।
के बुझ्नुभो ?
दुई वटा गाडी नियन्त्रणमा लिइयो जसमा ४२ लाखभन्दा बढी मूल्यको प्याज रहेछ- हामी सबैले बुझ्ने यही हो।
अब समाचार अनुसार एक किलो प्याजको मूल्य कति पर्न गयो त ? आउनुस् हिसाब गरौँ।
मलाई हिसाब आउँदैन भनेर अब चिन्ता गर्नु पर्दैन, एआई छ नि। नेपालीमा च्याटजिपिटी त्यति प्रभावकारी हुँदैन, जति अङ्ग्रेजीमा हुन्छ भनिन्छ। आउनुस् च्याटजिपिटीलाई काममा लगाउँ।
हेर्नुस् भिडियो-
सबैभन्दा पहिले मैले रातोपाटीको समाचारलाई च्याटजिपिटीमा हालेर आदेश दिएँ- यो समाचारलाई स्मरणमा राख्नुस्-
उसले यसरी स्मरणमा राख्यो। अनि मैले सोधेँ- कूल कति किलो प्याज नियन्त्रणमा लिइयो ?
उसले विर्ताबाट २ हजार ९ सय १० किलो र चण्डाल चोकबाट २ हजार ८ सय ३० किलो गरी जम्मा ५ हजार ७ सय ४० किलो प्याज नियन्त्रणमा लिइएको जवाफ दियो।
यसमा उसले कति रकम बराबरको पनि हिसाब गरिसकेको थियो। त्यसैले मैले फेरि सोधेँ- एक किलो प्याजको कति पर्न गयो त ?
उसले जवाफ दियो यस्तो-
ल हेर्नुस् त, एक किलो प्याजको ७ सय भन्दा बढी पर्यो कि परेन ?
यसबारेमा हामीले फ्याक्ट चेक गरिसकेका छौँ। छुटाउनु भएको भए पढ्नुस्- के सशस्त्र प्रहरीले पर्साबाट ४२ लाखभन्दा बढी मूल्यको प्याज बरामद गरेको हो?
यही समाचार लोकान्तर र अर्थ डबलीमा पनि आएको थियो।
त्यसैगरी सशस्त्र प्रहरीको फेसबुक पेजमा पनि यही समाचार हुबहु राखिएको छ। यसको मतलब सशस्त्र प्रहरीले पठाएको विज्ञप्ति पत्रकारले जस्ताको तस्तै राखिदिए। अर्थात् मान्छे नभई डेस्कमा बस्ने पत्रकार मेसिन भइदिए। एक किलो प्याजको ७३० रुपैयाँ पर्छ र भनेर च्याटजिपिटीले जति पनि सोच्न सकेनन्।
त्यो फ्याक्टचेकमा पर्सास्थित सशस्त्र प्रहरीका डिएसपी संगम श्रेष्ठले भन्सार नतिरी भित्र्याइएको प्याज सशस्त्र प्रहरीले बरामद गरेको र प्याज मात्र नभएर गाडीको समेत मूल्यांकन गर्दा ४२ लाख भन्दा बढी हुने जानकारी दिएका थिए। प्याज प्रतिकिलो ४० रुपैयाँ मूल्यांकन गरी भन्सार कार्यालयमा बुझाएको समेत उनले बताए।
उनले दिएको मूल्यको जानकारी अनुसार बरामद भएको प्याजको मूल्य प्रतिकिलो ४० रुपैयाँका हिसाबले २ लाख २९ हजार ६०० रुपैयाँ मात्र हुन आउँछ।
त्यसो भए ४२ लाख रुपैयाँलाई हेडलाइनमा किन राखियो त ?
के भएको होला, यसो अनुमान गरौँ।
सशस्त्र प्रहरीलाई साढे दुई लाख रुपैयाँको पनि प्याज समातेको के विज्ञप्ति निकाल्नु भन्ने लाग्यो कि ! ४२ लाख भनेपछि त मान्छेको ध्यान तानिन्छ।
नत्र प्याज समात्दा गाडीको पनि मूल्याङ्कन गर्न के जरुरी थियो र ?
नेपाल एयरवेजको बोइङ जहाजमा ३३ किलो अवैध सुन बरामद भयो भने बोइङ जहाजको समेत भाउ जोडेर यति अर्बको सुनसहित जहाज नियन्त्रणमा भन्ने ?
जहाजको उदाहरण अलि व्यवहारिक नभए अर्को उदाहरण दिउँ। मानौँ टेस्ला गाडीबाट १ तोला अवैध सुन भित्र्याइँदै गर्दा प्रहरीले नियन्त्रणमा लियो रे। एक तोला सुनको भाउ १ लाख १५ हजार। तर अब टेस्ला गाडीको एक करोड चानचुनको पनि हिसाब जोडेर एक करोडको सुनसहित गाडी नियन्त्रणमा लिइयो भन्ने ?
त्यसो गर्न पाइयो त ?
यहाँ उपद्रवी पात्र अर्कै भइरहेको हुन्छ, मिडियाले बित्थामा गाली खाइरहेको हुन्छ। समाचार राख्नेले थोरै कमनसेन्स राखेको भए अरु बिराउने, गाली आफूले खाने स्थिति आइलाग्दैन थियो भन्ने लाग्छ। कि कसो ?
नेपाल एयरवेज chahi kunai airlines ho ki samnya artha ma bhaniyeko ho 😛
वास्तविक नामै दिन पर्ने हो र उदाहरणमा पनि 😛
hajur ko kuro ta sahi ho… tara naya airlines nai po khulechha ki ukta naam ko, feri Boeing jahaj ni bhayeko bhanera confuse bhako ni, pahila ta tei naam ko thiyo kyare euta airlines.. tesai lai reinstate garechhan ki bhanera curious bhako ni 😀
33 kg soon ko kura pani chha 😛