Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : नझुक्किनुस्, दिलभूषण पाठक अहिले न्युज २४ टिभीका प्रधान सम्पादक नियुक्त भएका होइनन्

Posted on February 6, 2024 by Salokya

टेलिभिजन पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको सूचना देख्नुभयो?

हो, हो मैले फेसबुकमा देखेँ भन्ने लाग्यो ?

अझ चर्चित व्यक्तित्वहरुले नै हिजोदेखि धमाधम उनको फेसबुक पोस्टमा बधाई तथा शुभकामना दिइरहेको देख्नुभयो ?

पख्नुस् त। धेरैले कमेन्ट गर्दैमा र नाम चलेका व्यक्तिहरुले बधाई दिँदैमा त्यो सूचना सही हुन्छ भन्ने छैन। नेपालफ्याक्टचेकले गरेको फ्याक्ट चेकले भर्खरै कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएका पाठक हाल कुनै टेलिभिजनसित आवद्ध नभएको र उनको त्यो फेसबुक पोस्ट तीन वर्ष पुरानो भएको पाइएको छ।

के छ फेसबुक पोस्टमा ?

कान्तिपुर टेलिभिजनको प्रधान सम्पादक पदबाट गएको डिसेम्बर ३० तारिखमा राजीनामा दिएको घोषणा गरेका दिलभूषण पाठकको फेसबुक एकाउन्टबाट एउटा पोस्ट गरिएको छ जसमा लेखिएको छ ‘उही यात्रा अब न्यूज २४ नेपालबाट’ पोस्टमा थप लेखिएको छ, ‘….पुनः न्यूजरुम फर्कन्छु भन्ने लागेको थिएन। तर आज पुनः न्यूज २४ टेलिभिजनको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न आइपुगेको छु।’

फेसबुक पोस्टमा स्टाटससँगै पाठकलाई खादा र बुकेसहित स्वागत गर्दै गरेका तस्वीरहरु पनि राखिएको छ।

फेसबुक लिंक

पाठकको उक्त फेसबुक पोस्टमा मंगलबार दिउँसो २ बज्दासम्म भएका १ हजार ६ सय कमेन्ट मध्ये १३८ वटा बधाई तथा शुभकामनाका कमेन्ट पछिल्लो २४ घण्टामा आएका छन्।

पछिल्लो २४ घण्टामा कमेन्ट गर्नेहरुमा चर्चित व्यक्तित्वहरु पनि छन् जस्तै कान्तिपुर दैनिकका पूर्व प्रधानसम्पादक नारायण वाग्ले, डा. भगवान कोइराला, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, पत्रकार देवप्रकाश त्रिपाठी, क्युएफएक्स समूहका प्रमुख नकिम उद्दिन, लेखक/पत्रकार ध्रुव सिम्खडा, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पृथ्वीराज लिगल, पत्रकार अतुल मिश्र लगायत छन्।

केही उदाहरण-

चर्चित व्यक्तित्वहरुको कमेन्टका कारण हामी यसको तथ्य जाँच गर्ने निर्णयमा पुग्यौँ।

के हो तथ्य ?

समाजका चर्चित व्यक्तित्वहरुले अहिले बधाई तथा शुभकामना दिइरहेको पाठकको फेसबुक पोस्ट भने अहिलेको नभई झण्डै तीन वर्षअघिको अर्थात् सन् २०२१ मार्च २९ को हो जतिबेला उनले न्यूज २४ टेलिभिजनमा प्रधानसम्पादकका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

पाठकले न्यूज २४ टेलिभिजनमा जिम्मेवारी सम्हालेपछि गरेको फेसबुक पोस्टको मितिको स्क्रिनसट

यही फोटोसहित न्युज २४ टेलिभिजनको आधिकारिक वेबसाइटमा २०७७ साल चैत १६ गते न्युज २४ टेलिभिजनको प्रधान सम्पादकमा दिलभूषण पाठक शीर्षकको समाचार देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।


न्यूज २४ बाट बाहिरिए पछि उनले २०७८ भदौ १ मा पुनः कान्तिपुर टेलिभिजनको नेतृत्व सम्हालेका थिए। यससम्बन्धी समाचार इकान्तिपुरमा ‘कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकमा पाठक’ शीर्षकमा देख्न सकिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।

उनले ३० डिसेम्बर (गएको पुस २४ गते) फेसबुकमा स्टाटस लेख्दै आफूले कान्तिपुर टेलिभिजनबाट राजिनामा दिएको जानकारी गराएका थिए।

के भन्छन् दिलभूषण पाठक ?

न्युज २४ टिभीमा प्रधान सम्पादक नियुक्त भएकोमा सामाजिक सञ्जालमा अहिले धमाधम बधाई तथा शुभकामना आइरहेको विषयमा हामीले दिलभूषण पाठकसँग जिज्ञासा राखेका थियौँ।

उनले आफूले अहिले न्यूज २४ मा कुनै जिम्मेवारी नलिएको प्रष्ट पारे।

स्वास्थ्यमा केही समस्या आएका कारण घरमा आराम गरिरहेका पाठकले पुरानो पोस्टमा धमाधम बधाई आइरहेकोमा आश्चर्य लागिरहेको बताए।

पुरानो पोस्टमा बधाई तथा शुभकामना आइरहँदा उनले अहिले पनि शुभचिन्तकहरुले आफूलाई नयाँ जिम्मेवारीमा हेर्न चाहेको भन्ने हिसाबले खुसीको कुरा भए पनि पुरानो पोस्टमा नयाँ बधाई तथा शुभकामना आइरहँदा तनाव पनि भइरहेको बताए।

तथ्य जाँच

दावी : पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना। पत्रकार दिलभूषण पाठक न्यूज २४ टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भएको भन्दै उनको पोस्टमा बधाई तथा शुभकामना आइरहे पनि उनको त्यो पोस्ट नयाँ नभएर तीन वर्ष पुरानो हो। हामीसँगको कुराकानीमा पाठक आफैले पनि आफूले अहिले न्यूज २४ मा जिम्मेवारी लिएको नभई पुरानो पोस्टमा बधाई तथा शुभकामना आइरहेको बताए।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme