Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : के मेयर बालेन शाहले ‘मार्छन् भने मारुन्’ भनेका हुन् ?

Posted on February 2, 2024 by Salokya

केही दिनदेखि काठमाडौँका मेयर बालेन शाहले ‘मार्छन् भने मारुन’ भन्दै गरेको एउटा भिडियो क्लिपसहितको फेसबुक रिल्स भाइरल भइरहेको छ।

हाम्रो तथ्य जाँचले देखायो- तीन वर्ष पहिले बालेन मेयर निर्वाचित नहुँदै फरक प्रसंगमा बोलेको कुरालाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको हो।

के छ भाइरल क्लिपमा ?

जनबोली टिभी नामको फेसबुक पेजबाट २८ जनवरी २०२४ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बोल्दै गरेको एउटा फेसबुक रिल्स अपलोड गरिएको छ।

उक्त रिल्समा ठूला अक्षरमा लेखिएको छ, ‘किन भन्दैछन् मार्छन् भने मारुन् ! ७७ जिल्लाबाट बालेनलाई सपोर्ट गरौँ ।’

त्यस्तै रिल्समा आइएमविदबालेन ह्यासट्याग पनि राखिएको छ भने पोस्टमा पनि ‘देश विदेशबाट बालेनको सपोर्ट गरौँ’ लेखिएको छ।

भिडियो क्लिपमा बालेनले भनेका छन्, ‘थुने थुन्छ, पकडे पकडिन्छ, के गर्छन् त मादिर्ने त होइन होला? मार्छन् भने मार्दिउन  न त, बलात्कारीलाई मार्न सक्दैन, हामीलाई मारेर के हुन्छ’

यो रिल्सलाई शुक्रबार दिउँसो (२ फेब्रुअरी  २०२४) सम्म  ८२ हजार ८ सय वटा लाइक, १ हजार २ सय वटा कमेन्ट र १ हजार ५ सय पटक सेयर गरिएको छ भने २२ लाख पटक हेरिएको छ। यो तथ्याङ्कले यो रिल तीव्र गतिमा भाइरल भइरहेको प्रष्ट हुन्छ।

जनबोली टिभी नामको फेसबुक पेजले राखेको रिल र त्यसमा शुक्रबारसम्म देखिएको भ्युज काउन्टसहितको स्क्रिनसट

उक्त रिल्सको स्क्रिन रेकर्ड हेर्नुस्-

के हो तथ्य?

भाइरल भिडियो क्लिपको वास्तविक स्रोत खोज्नलाई हामीले युट्युबमा Balen interview कीवर्ड राखी सर्च गर्‍यौँ। त्यस क्रममा हामीले कान्तिपुर टेलिभिजनको युट्युब च्यालनमा एक वर्षअघि अपलोड भएको यो भिडियो देख्यौँ। भिडियोको थम्बनेलमा देखिएको बालेनको पहिरन र भाइरल भिडियोमा देखिएको पहिरनमात्र हैन ब्याकग्राउन्डको रातो पर्दासमेत उस्तै देख्यौँ।

भाइरल भिडियो र कान्तिपुर टिभीको युट्युबमा राखिएको ह्वाट द फ्लप कार्यक्रमको स्क्रिनसट

तर हामीले त्यो ६ मिनेट १ सेकेन्डको भिडियोमा भाइरल भिडियोमा रहेको जस्तो भनाई भने फेला पार्न सकेनौँ। सोही भिडियोको विवरणमा पूरा कार्यक्रमको लिङ्क पनि राखिएको थियो। हामीले त्यो भिडियो पनि हेर्‍यौँ।

तीन वर्षअघि अर्थात्  ८ अक्टोबर २०२० मा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा अपलोड गरिएको ह्वाट द फ्लप नामको कमेडी कार्यक्रमको भिडियोमा बालेनले कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीसँग कुराकानी गर्ने क्रममा उनले यो अभिव्यक्ति दिएका छन्।

४७ मिनेट २५ सेकेन्ड लामो भिडियोमा ३२ मिनेट ४२ सेकेन्डतिर प्रस्तोता क्षेत्रीले बालेनलाई भन्छन्, ‘अहिले त गाउने बित्तिकै लगेर थुनिदिन्छ नि सर !’

जवाफमा बालेनले भन्छन्, ‘थुने थुन्छ, पकडे पकडिन्छ, के गर्छन् त मादिर्ने त होइन होला? मार्छन् भने मार्दिउन  न त, बलात्कारीलाई मार्न सक्दैन, हामीलाई मारेर के हुन्छ’। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो क्लिप यही भिडियोबाट लिएको हो।

र्‍यापर भिटेन, गायक दुर्गेश थापा पक्राउ परेका र पशुपति शर्माको लुट्न सके लुट कान्छा शीर्षकको गीत विवादमा परेको पृष्ठभूमिमा यो प्रश्न सोधिएको थियो।

हेर्नुस् स्क्रिन रेकर्ड-

पूरा कार्यक्रमको भिडियो युट्युबमा हेर्न यहाँ क्लिक गर्नुस्

भाइरल भिडियो क्लिप बालेन काठमाडौँको मेयरमा निर्वाचित हुनुभन्दा पहिले कलाकारका रुपमा दिएको अन्तर्वार्ताको हो। भिडियोको युट्युबमा शीर्षक राख्दा पनि बालेन शाहलाई म्युजिकल आर्टिस्टका रुपमा चिनाइएको छ। त्यसमा उनले सामाजिक बेथिति विरुद्ध गाउँदा सरकारले थुन्छ, पक्राउ गर्छ वा मार्छ भने पनि मारोस् भन्ने आशय व्यक्त गरेका थिए। हाल मेयर निर्वाचित भइसकेपछिका काम कारबाहीसँग यसको कुनै सम्बन्ध छैन। तर सन्दर्भ बिनाको भिडियोलाई बालेन मेयर भएपछि बोलेको जस्तो गरी भाइरल भइरहेको छ।

तथ्य जाँच

दावी : काठमाडौका मेयर बालेन शाहले ‘मार्छन भने मारुन्’ भन्दै गरेको भाइरल भिडियो।

दावीकर्ताः जनबोली टिभी।

तथ्य : भ्रामक सूचना । भाइरल भिडियो क्लिप बालेन काठमाडौँको मेयरमा निर्वाचित हुनुभन्दा पहिले कान्तिपुर टेलिभिजनको ‘ह्वाट द फ्लप’ कमेडी शोमा प्रस्तोता सन्दीप क्षेत्रीसँग कलाकारका रुपमा दिएको अन्तर्वार्ताको हो। सन्दर्भ नखुलाइएको भाइरल भिडियोमा बालेनले अहिले नै उक्त कुरा बोलेको जस्तो गरी सेयर गरिएको छ। फरक प्रसंगमा तीन वर्ष पहिले बोलेको कुरालाई बालेन मेयर भइसकेको अवस्थामा भ्रम सिर्जना गर्ने गरी अहिले भाइरल भएको र धेरैले यसलाई मेयर भइसकेपछि बोलेको अभिव्यक्तिका रुपमा लिएको देखिएकोले सो भिडियो भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme