Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : के फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ?

Posted on January 29, 2024 by Salokya

अमेरिकामा अध्ययन गर्न अमेरिकी सरकारले उपलब्ध गराउने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्ने दावीसहितका समाचार मिडियामा आएका छन्। तर हाम्रो तथ्य जाँचले ती दावी मिथ्या देखियो। फुलब्राइट स्कलरसिपमा उमेर हद तोकिएको छैन।

के छ दावी ?

संघीय संसद्को महासचिवमा सिफारिस पद्मप्रसाद पाण्डेय अहिले विवादमा छन्। उनले दुई वटा नागरिकता लिएको र एउटामा ६ वर्ष उमेर घटाइएको समाचार मिडियामा आएका छन्। उमेर घटाउन पर्नुको एउटा कारणमा अमेरिकी सरकारले दिने फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने भएकोले दावी गरिएको छ।

कान्तिपुर टेलिभिजनमा ‘संसद्का कार्यवाहक महासचिव पाण्डेयको दोहोरो नागरिकताको यस्तो छ नालीबेली’ शीर्षकको माघ १३, २०८० को समाचारमा लेखिएको छ-

संघीय संसद्को महासचिवमा सिफारिस पद्मप्रसाद पाण्डेयले अमेरिकामा ‘फूल ब्राइट स्कलरसिप’मा अध्ययनका लागि दोस्रो नागरिकता लिएको खुलेको छ । ४० वर्ष उमेर हदका कारण अध्ययन गर्न जान नपाउने भएपछि ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका पाण्डेय अहिले विवादमा मुछिएका छन् ।

संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पाण्डेयको २०४६ असार २८ गते पहिलो पटक जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएको नागरिकतामा जन्ममिति २०२६ असोज १५ गते राखिएको छ । तर, अमेरिकी सरकारले दिने फूल ब्राइट स्कलरसिपमा अध्ययन गर्न आफ्नो नागरिकताको उमेरले नमिल्ने भएपछि ६ वर्ष उमेर घटाएर उनले २०३२ पुस २६ गतेको जन्ममिति राखेर २०६६ भदौ ८ गते दोस्रो नागरिकता लिए ।

४० वर्षभन्दा कम उमेरकाले मात्रै फूल ब्राइट स्कलरसिपमा अध्ययन गर्न पाउने भएकाले पाण्डेयले पदीय दुरुपयोग गरेर उमेर घटाएको पाइएको हो ।

कान्तिपुर टेलिभिजनको समाचारको अर्काइभ लिङ्क। 

त्यसैगरी कान्तिपुर टेलिभिजनको युट्युबमा ‘संसद्का कार्यवाहक महासचिव पाण्डेयले अमेरिकी छात्रवृत्ति पाउन उमेर घटाएर दोस्रो नागरिकता लिएको खुलासा’ शीर्षकको भिडियो राखिएको छ। त्यसमा पनि यही दावी गरिएको छ।

भिडियोमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको भनाई पनि राखिएको छ। खतिवडाले भनेका छन्- ‘फुलब्राइट स्करलसिपका लागि अमेरिका जान ४० वर्षभन्दा कम उमेरको मान्छेलाई मात्र त्यो स्कलरसिप दिने र त्यसका लागि अर्को नागरिकता लिएर त्यो स्कलरसिप लिएर उहाँ पढेको भन्ने पनि आएको छ…’

के हो तथ्य ?

के साँच्चै कान्तिपुर टेलिभिजन र सांसद रामहरि खतिवडाले दावी गरे जस्तै फुलब्राइट स्कलरसिपका लागि ४० वर्षभन्दा कम उमेर हुनुपर्ने हो ? हामीले यसको तथ्य जाँचका लागि फुलब्राइट स्कलरसिपसम्बन्धी जानकारी राखिएका आधिकारिक वेबसाइटहरुमा खोज्यौँ।

अमेरिकी सरकारको ब्युरो अफ एडुकेसनल एन्ड कल्चरल अफेयर्सको वेबसाइटमा रहेको फुलब्राइट स्कलरसिप सम्बन्धी अक्सर सोधिने प्रश्नहरु (FAQ) मा एउटा प्रश्न ‘के आवेदकहरुको कुनै उमेर बन्देज छ?’ रहेको छ। जसको जवाफमा लेखिएको छ- ‘फुलब्राइट कार्यक्रममा सहभागी हुनका लागि कुनै उमेर बन्देज छैन’

हेर्नुस् स्क्रिनसट-

आधिकारिक वेबसाइटको लिङ्क। अर्काइभ लिङ्क।

यसबारे थप स्पष्ट हुनका लागि हामीले फुलब्राइट स्कलरसिप उपलब्ध गराउने फुलब्राइट कमिसन/युसेफ नेपाल कार्यालयको इमेलमा सम्पर्क गर्‍यौँ। हामीले पठाएको इमेलको जवाफ यस्तो आयो-

अतः कान्तिपुर टेलिभिजन र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले फुलब्राइट स्कलरसिपका लागि ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने भनी गरेको दावी मिथ्या ठहर्छ।

तथ्य जाँच

दावी : फुलब्राइट स्कलरसिप पाउन ४० वर्षभन्दा कम उमेर हुनुपर्छ।

दावीकर्ता : कान्तिपुर टेलिभिजन, सांसद रामहरि खतिवडा।

तथ्य : मिथ्या सूचना। फुलब्राइट स्कलरसिपको आधिकारिक वेबसाइटमा उमेर हद नभएको उल्लेख छ। त्यसैगरी नेपालस्थित फुलब्राइट कमिसनले नेपालफ्याक्टचेकलाई इमेलमा दिएको जानकारीमा पनि फुलब्राइट स्कलरसिपमा उमेर हद नभएको उल्लेख छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme