Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुँदै नभएको प्रदर्शनको ‘समाचार’ बनाउने अनलाइनहरुबाट पत्रकारले सिक्नु पर्ने पाठ

Posted on January 21, 2024 by Salokya

बालेन नेतृत्वको काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा फुटबल मैदान बनाउन लागेको विरोधमा बाबुराम भट्टराई, रवि लामिछाने, ऋषि धमला लगायतले शुक्रबार प्रदर्शन गरे भन्दै केही अनलाइन मिडियामा फोटोसहितको समाचार आयो।

ती समाचारहरुको चर्चा सोसल मिडियामा पनि भयो। ती मिडियाको समाचार पत्याएर हजारौँले फेसबुकमा रियाक्ट गरे, सयौँले कमेन्ट गरे। त्यसो नगर्नेहरुले पनि आफ्नो एक किसिमको विचार बनाए। तर नेपालफ्याक्टचेक र माइसंसारले गरेको फ्याक्ट चेकमा पत्ता लाग्यो, त्यो फोटो त चार वर्ष पुरानो रहेछ। फ्याक्ट चेक पढ्न छुटाउनु भएको भए यता क्लिक गरी पढ्नुस्। शुक्रबार टुँडिखेलमा प्रदर्शनै भएको रहेनछ। कसरी भयो त यस्तो गल्ती? पत्रकारले के सिक्ने यो ‘काण्ड’बाट

भएको के रहेछ ?

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटमा एक्स (पहिलेको ट्विटर) मा फोटोसहित एउटा पोस्ट गरे, जसमा खुलामञ्चलाई खुलै रहन दिउँ भन्दै आफू २०३६ सालमा त्यही मञ्चमा पहिलो पटक उभिएको सम्झिएका थिए।

उनले त्यो पोस्टमा कतै पनि आज भएको प्रदर्शन लेखेका थिएनन्। तर फोटो कहिलेको हो भन्ने पनि खुलाएका थिएनन्।

पत्रकारले आफै अर्थ लगाएर समाचार बनाएर त्यही फोटो पनि हालेछन्। एउटा अनलाइनमा आएपछि अर्कोले पनि त्यही सारेछ। अनि सार्दासार्दै केहीले यसैको आधारमा विश्लेषण समेत ठोकेछन्।

URL Structure हेर्दा सबैभन्दा पहिला यो समाचार नेपालखबरले राखेको देखिन्छ।

अहिले भूलसुधार गर्दै शीर्षक र फोटोसमेत परिवर्तन गरिसकेको नेपालखबरले सुरुमा राखेको हेडलाइन यस्तो थियो-

URL मा भएको टाइमस्ट्याम्प अनुसार दिउँसो ३ बजेर २२ मिनेटमा यो समाचार प्रकाशन भएको देखिन्छ। त्यसपछि ४ बजेर ४६ मिनेटमा रातोपाटीले यस्तो हेडलाइनमा समाचार राख्यो जसमा हजारौँले रियाक्ट गरेको, सयौँले कमेन्ट गरेको देखिएको छ। 

समाचार भाइरल भएपछि अरुको पनि आँखा लाग्यो। मसला थप्ने काम भयो। यस क्रममा सूत्रन्युजले त बालेनलाई समेत जोडेर यस्तो हेडलाइन हाल्यो-

मसला थपिएको समाचारमा लेखियो- शाहलाई रास्वपामा भित्र्याउन निकै चर्चा भइरहेकाे समय स्वयम् सभापति लामिछाने नै विरुद्धमा उभिएपछि लामिछाने र शाह आमने-सामने बन्ने संकेत मिलेको छ । त्यति मात्र हो र, विश्लेषण गर्दै लेखिएको छ- लामिछाने शाहको विरुद्धमा टुँडिखेलमा प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिनुलाई अर्थपूर्ण मानिएको छ र सामाजिक सञ्जाल र संसदबाटै बेथितिको विरोध गर्दै आएको रास्वपाको स्वभाव विपरीत शाहविरुद्ध लामिछाने टुँडिखेलमा प्लेकार्ड बोकेर उभिनुलाई निकै रोचक मानिएको छ 

अरु भुरेटाकुरे अनलाइनहरुले त कपिपेस्ट गरेरै गुजारा चलाए। केही मात्र उदाहरण-

बाबुराम र रवि एकै ठाउँ उभिएर भने–खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ। (नयाँ पेज)

बाबुराम र रविले भने- खुला मञ्च खुला रहन देऊ, फुटबल मैदान नबनाऊ (समुद्रपारी डट कम)

खुलामञ्चलाई फुटबल मैदान नबनाउ भन्दै बाबुराम र रविले एकै साथ चाले यस्तो कदम (खबरसेन्टर डट कम)

पत्रकारले सिक्नु पर्ने पाठ

१) सामाजिक सञ्जालमा फेसबुक वा एक्समा कुनै नेताले केही लेख्दा समाचारै नबन्ने भन्ने होइन। तर अलिकति मेहनत त गर्नु पर्‍यो नि। जे लेखेको त्यही पढ्न त सामाजिक सञ्जालमै गए भयो नि, तपाईँको अनलाइनमा किन आउनु ?

२) खुलामञ्च भनेको काठमाडौँकै ठाउँ होइन? काठमाडौँकै समाचारमा यस्तो हेलचक्र्याइँ हुन्छ भने काठमाडौँ बाहिरको समाचारमा झन् केसम्म होला भनेर कुनै पाठकले सोधे तपाईँले दिने जवाफ के हुने ?

३) खुलामञ्चमा कार्यक्रम भएको हो कि होइन भनेर सामान्य भेरिफाइ पनि गर्न सकिन्न ? यस्तो प्रदर्शन भएकै भए बाबुराम भट्टराईले मात्र हाल्थे होला र, सोसल मिडियालाई शक्तिको स्रोत बनाएका रवि लामिछाने वा ऋषि धमलाहरु पछि पर्थे होलान् र? अरुले पनि हालेको छ कि छैन भनेर स्रोत खोज्नु पर्दैन ?

४) यो पोस्टमा बाबुराम भट्टराईले कहाँ आज भएको प्रदर्शन भनेर लेखेका छन्? नलेखिएको कुरामा पत्रकारले अर्थ लगाएर लेख्न मिल्छ?

५) बाबुराम भट्टराई अहिले प्रधानमन्त्री हुन् र उनलाई फोन गर्दा फोनै नउठाउने? उनलाई एक कल गरेर सोध्न सकिन्न यसबारे? ल भैगो भट्टराई सम्पर्कमा आउन सकेनन्। यो फोटोमा त्यत्रा मान्छे छन्, अरु कसैलाई पनि फोन गरेर सोध्न सकिन्न र ?

६) नाम चलेको अनलाइनले लेख्यो भन्दैमा पत्याइहाल्न र कपिपेस्ट गरी हाल्न भएन। त्यसमा पनि तपाईँ जस्तै मान्छे पत्रकारहरुले काम गर्ने हुन्, उनीहरुले पनि गल्ती गर्न सक्छन्।  आफ्नो अनलाइन मिडियालाई थोरै मात्र भए पनि अरुभन्दा पृथक बनाउन त खोज्नुस्।

७) सोसल मिडियामा आएका फोटोलाई रिभर्स इमेज सर्च गर्ने जस्तो सामान्य स्किल सिकिराख्नुस्। एक पटक त्यो फोटोलाई रिभर्स इमेज सर्च गरेको भए फोटो अहिलेको होइन, सन् २०१९ को नोभेम्बर ९ मा नै राखिएको यो फोटो हो भन्ने थाहा भइहाल्थ्यो

"खुलामञ्च संरक्षण अभियान" मा ऐक्यबद्धता जनाउनको लागि टुंडिखेलमा सहभागी हुँदै अध्यक्ष डा.बाबुराम भट्टराई साथमा प्राध्यापक केदारभक्त माथेमा, संचारकर्मी रबि लामिछाने, पुर्बस्वास्थ्यमन्त्री गगन थापा लगाएत राजनीतिक तथा सामाजिक अभियन्ताहरु। #OccupyTundikhel#मुक्तटुंडिखेल pic.twitter.com/74C7qv8zcI

— Nepal Samajwadi Party (@SPONepal) November 9, 2019

८) सामाजिक सञ्जालमा जे आए पनि पत्याएर समाचार लेखिहाल्न हतार गर्नुअघि थोरै मिडियाको काम (थप बुझी भेरिफाइ गर्ने) पनि गर्ने कि?

९) मान्छे हो, गल्ती हुन्छ। गल्तीलाई लुकाउने कि गल्ती स्वीकारेर आइन्दा यस्तो गल्ती हुन नदिन सचेत बन्दै पारदर्शी रुपमा भएको गल्ती सच्याएर माफी माग्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme