Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : बालेनले गराएको भन्दै भाइरल भएको भिडियो काठमाडौँको होइन बुटवलको

Posted on January 11, 2024January 11, 2024 by Salokya

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो अंकित एउटा पोष्टर नगर प्रहरीले हटाउँदै गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। सो भिडियो काठमाडौँको भएको र मेयर बालेन शाहले हटाउन लगाएको दावीसहितका पोस्ट सामाजिक सञ्जालमा भेटिएको छ।

तर हाम्रो तथ्य जाँचले भने यो भिडियो काठमाडौंको नभई बुटवलको भएको र बुटवल उपमहानगरपालिकाले नै हटाउन लगाएको पायौँ।

के छ भाइरल भिडियोमा?

सिटिजन एचडी नाम रहेको फेसबुक पेजले ‘बालेंन शाहले राष्ट्रपतिको ब्यानर च्यातिदिए, टेरेनन् कसैलाई, सडकको सुन्दरताका लागि लिए यस्तो निर्णय’ शीर्षकमा सोमबार (जनवरी ८) दिउँसो एउटा भिडियो अपलोड गरेको छ। भिडियोमा नगर प्रहरीले खम्बामा राखिएको राष्ट्रपति रामचन्द्र पौडेलको फोटो रहेको ब्यानर हटाउँदै गरेको देखिन्छ।

यो पोस्टमा बुधबार बिहानसम्म ११ हजार लाइक, ७८८ कमेन्ट र ४१५ सेयर देखिन्छ भने ९१ हजार पटक भिडियो हेरिएको छ।

सिटिजन एचडीको फेसबुक पोस्टको स्क्रिनसट। पोस्टको लिङ्क। आर्काइभ लिङ्क।

भिडियोमा भनिन्छ, ‘बालेन त्यसै बालेन भएका होइनन्, यो भिडियोलाई हेर्नुस् त, नियम कानुन सबैलाई लाग्छ। चाहे त्यो राष्ट्रपति होस् वा प्रधानमन्त्री नै किन नहोस्। सहरको सुन्दरता बिगार्दै जथाभावी टाँसेका पोस्टर र ब्यानरहरु हटाउँदै महानगरपालिकाले आफ्नो काम गर्दैछ। अब यहाँ टाँसिएको राष्ट्रपतिको ब्यानरलाई पनि मेयर बालेन शाहको निर्देशनमा हटाइँदैछ। अरु मेयर भएको भए शायद् राष्ट्रपतिको पोस्टरलाई संरक्षण गर्थे होला तर मेयर बालेन कसैलाई टेर्दैनन्, हटाउँछु भने पछि हटाएरै छाड्छन्। जसअनुसार नगरप्रहरीले राष्ट्रपति रामचन्द्र पौडेलको बीच सडकमा टाँसिएको ब्यानर हटाउँदै छन्। यो भिडियोले सामाजिक सञ्जाललाई यतिबेला गर्मी हुने गरी तताइरहेको छ।…’

हामीले यो भिडियोको स्रोत खोज्ने क्रममा GR Gdl Blacck Bhisma नामको फेसबुक अकाउन्टबाट ६ जनवरीमा रिल्समा राखिएको यो भिडियो भेट्टायौँ। भिडियोमा हिन्दी अडियो राखिएको छ। यो भिडियो बुधबार बिहानसम्म चार लाख पटक हेरिएको छ भने ७७४ लाइक, ७१ कमेन्ट र ५३३ सेयर देखिन्छ। भिडियोमा वा पोस्टमा यो कुन ठाउँको हो, खुलाइएको छैन। भिडियोको आर्काइभ लिङ्क।

त्यस्तै शिवराज खड्का नामको फेसबुक प्रोफाइलबाट ६ जनवरीमा  नै राखिएको भिडियो बालेन सहर लेख्दै बालेन शाहको फेसबुक पेजलाई ट्याग गरिएको छ। यो भिडियोमा पनि ६४७ रियाक्सन र ९८ सेयर अनि ५९ कमेन्ट देखिन्छ। यो भिडियो बुधबार बिहानसम्म ३० हजार पटकभन्दा बढी हेरिएको छ।

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले भाइरल भएको भिडियोका फ्रेमहरुलाई नियालेर हेर्‍यौँ। यो फ्रेममा रहेका अक्षरहरुलाई पढ्ने कोशिश गर्‍यौँ।

भाइरल भिडियोको एउटा फ्रेमको स्क्रिनसट

भिडियोमा देखिएको अक्षरहरु पढ्ने क्रममा हामीले राष्ट्रपति रामचन्द्र पौडेलको फोटो रहेको ब्यानरमा ‘ऐतिहासिक जीतगढी’ ,’हस्तान्तरण तथा’, ‘हार्दिक स्वागत’ पढ्न सक्यौँ भने ब्यानर मुनिको बोर्डमा ‘रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा संरक्षित बिरुवाहरु’ लेखिएको पढ्न सक्यौँ।

भाइरल भिडियोको स्क्रिनसटमा देखिएका पढ्न सकिने अक्षरहरु

यही कीवर्डको आधारमा हामीले गुगलमा सर्च गर्दा नागरिकन्युज, सेतोपाटी, गोरखापत्र जस्ता अनलाइनहरुमा प्रकाशित समाचारमा पुग्यौँ।

यी समाचारहरुका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि २०८० पुस २० गते बुटवल गएका थिए। बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम थियो।

सोही अवसरमा उनी बुटवल- १२ मा रहेको स्वामीनारायण मुक्तिनाथधाम मन्दिरको दर्शनका लागि पनि पुगेका थिए। त्यही कार्यक्रममा आएका राष्ट्रपति पौडेलको स्वागतका लागि बुटवल उपमहानगरपालिका, वडाहरुले स्वागत बोर्ड र पोष्टर लगाएका थिए।

यसै क्रममा हामीले भाइरल फोटोमा देखिएको जस्तै ब्यानर बुटवल उपमहानगरपालिका वडा नम्बर २ कार्यालयले राखेको ब्यानरको फोटो पनि भेट्टायौँ।

हामीले भाइरल भएको भिडियो बुटवलको मिलनचोकको भएको पायौं, जहाँ ‘रोटरी क्लब अफ बुटवलद्वारा संरक्षित बिरुवाहरु’  लेखिएको छ। हामीले यो फोटो र भाइरल भिडियोमा देखिएको स्थान एउटै भएको पायौं।

बुटवल मिलन चोकको फोटो

मिलनचोकको जुम गरिएको फोटो जसमा ‘रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा संरक्षित बिरुवाहरु’ लेखिएको छ। 

राष्ट्रपतिको स्वागतका लागि राखिएका पोष्टरहरु राष्ट्रपति फर्किएपछि आफूहरुले हटाएको बुटवल उपमहानगरपालिकाका प्रहरी प्रमुख जागेश्वर पाण्डेले हामीसँग बताए।

तथ्य जाँच

दावी : राष्ट्रपतिको फोटोसहित सडकमा टाँसिएका ब्यानर काठमाडौंका मेयर बालेन शाहले हटाए।

दावीकर्ता : सिटिजन एचडी र सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यः भ्रामक सूचना। सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिने दृश्य र भिडियो खिचिएको स्थलको अर्को फोटो र सो स्थानमा रहेका विवरणहरुका आधारमा सो भिडियो काठमाडौंको नभई बुटवलको रहेको र भिडियोमा भ्रामक जानकारीसहित प्रचार गरिएको निष्कर्षमा हामी पुग्यौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme