Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्टचेक : के अदालतले करेन्ट चाउचाउको बिक्रीवितरणमा रोक लगाउन आदेश दिएको हो?

Posted on January 9, 2024 by Salokya

के तपाईँले पनि करेन्ट चाउचाउको बिक्री वितरणमा अदालतले रोक लगाउने आदेश दिएको समाचार पढ्नुभएको थियो?

यस्तो समाचार नाम चलेकै अनलाइन मिडियाहरुमा पनि आएको थियो।

तर समाचारमा दावी गरिए जस्तो कुरा भने होइन रहेछ। नेपालफ्याक्टचेकले यो विषयमा फ्याक्ट चेक गर्दा पत्ता लाग्यो, न ट्रेडमार्क चोरेको भनेर अदालतले फैसला गरेको छ, न बिक्री वितरणमा रोक लगाउने आदेश नै दिएको छ। थप विवरण यो फ्याक्टचेकमा पढ्नुस्।

बिजमान्डु, बाह्रखरी, सेतोपाटी, हिमालखबर, नेपालप्रेस, अर्थसरोकार लगायतका अनलाइनहरुमा २०८० पुस १३ गते उच्च अदालतले करेन्ट चाउचाउको बिक्री वितरण नगर्न आदेश दिएको समाचार प्रकाशित गरे। फरक-फरक शीर्षकमा प्रकाशित समाचारमा उच्च अदालत पाटनले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन गरिएकोले करेन्ट चाउचाउ बिक्री गर्न रोक लगाएको र बजारमा पठाइएका करेन्ट चाउचाउ फिर्ता गर्नुपर्ने दावी गरिएको छ। तर, हाम्रो तथ्यजाँचले भने यो विषय भ्रामक रहेको देखिएको छ। अदालतले दिएको अन्तरकालीन आदेश (अर्थात् मुद्दाको टुङ्गो नलागेसम्मका लागि विचाराधीन विषय यथास्थितिमा राख्न दिइने आदेश) मा समाचारमा दावी गरिएको विषय स्पष्ट उल्लेख छैन।

के छ समाचारमा ?

बिजमान्डुले २०८० पुस १३ गते ‘वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश, बजारबाट पनि फिर्ता लिनु पर्ने’ शीर्षकसहित समाचार प्रकाशित गरेको छ । समाचारमा लेखिएको छ, ‘उच्च अदालत पाटनले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन गरिएको भन्दै करेन्ट चाउचाउ बिक्री गर्न रोक लगाएको छ।’

समाचारको पुछारमा लेखिएको छ ‘अदालतको आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ। यदि बजारमा पठाइएका चाउचाउ यथावत रुपमा बिक्री गरिएमा अदालतको मानहानी गरेको ठहरिने वाइवाइले जनाएको छ।’

बिजमान्डुमा प्रकाशित समाचारको स्क्रिनसट। समाचारको आर्काइभ लिंक

त्यस्तै हिमालखबरले ‘वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। समाचारमा लेखिएको छ, ‘उच्च अदालत, पाटनले यशोदा फूड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन तथा बिक्रीवितरण गर्न रोक लगाएको छ।’

हिमालखबरमा प्रकाशित समाचारको स्क्रिनसट। समाचारको आर्काइभ लिंक

यस्तै बाह्रखरीले पनि ‘वाइवाइको ट्रेडमार्क चोरेकोमा करेन्ट चाउचाउको बिक्रीमा रोक, वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश’ शीर्षकमा समाचार राखेको छ।

बाह्रखरीमा प्रकाशित समाचारको स्क्रिनसट। समाचारको आर्काइभ लिङ्क। 

त्यसैगरी सेतोपाटीले पनि पुस १३ गते प्रकाशित समाचारमा  ‘वाइवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश’ शीर्षकमा समाचार राखेको छ, जसमा लेखिएको छ, ‘उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री–वितरण गर्न रोक लगाएको छ ।’

सेतोपाटीमा प्रकाशित समाचारको स्क्रिनसट ।  समाचारको आर्काइभ लिंक

त्यस्तै अर्थसरोकारले राखेको समाचारको शीर्षक छ- ‘उच्च अदालतको आदेश- ट्रेडमार्क चोर्ने करेन्ट चाउचाउको वितरणमा रोक लगाऊ’।

अर्थ सरोकारमा प्रकाशित समाचारको स्क्रिनसट। समाचारको आर्काइभ लिङ्क।

त्यस्तै नेपालप्रेसले पनि ‘वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, बजारमा पठाइएका पनि फर्काउनुपर्ने’ शीर्षकमा समाचार राखेको छ। हेर्नुस् आर्काइभ लिङ्क।

गुगलमा ‘वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश’ शीर्षकसहित सर्च गर्दा अरु थुप्रै अनलाइनहरुमा पनि यो समाचार आएको देखियो। हेर्नुस्, आर्काइभ लिङ्क। 

के हो तथ्य ?

विभिन्न अनलाइन न्युजपोर्टलमा आएका समाचारको शीर्षक र समाचार सामग्रीले उच्च अदालत पाटनले वाइवाइको ट्रेडमार्क करेन्ट चाउचाउले नक्कल भएको ठहर भइसकेको, त्यही कारण बिक्री वितरणमा पनि रोक लागेको अर्थ दिन्छ।

यसको तथ्य जाँचका लागि हामीले वाइवाइ चाउचाउको उत्पादक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडले करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिविरुद्ध भएको विवाद केलायौँ।

नेपालको पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार ट्रेडमार्कसम्बन्धी विवादमा उजुरी दिने, पेशी तोक्ने र निर्णय दिने अधिकार उद्योग विभागलाई हुन्छ।

वाइवाइ चाउचाउ उत्पादक कम्पनीले आफ्नो ट्रेडमार्क उल्लङ्घन गरेको भन्दै करेन्ट चाउचाउका उत्पादकविरुद्ध उद्योग विभागमा २०७९ साउन २५ गते उजुरी दायर गरेको थियो।

यसमा प्रक्रिया अघि बढाउँदै उद्योग विभागले २०८० जेठ २९ गते पेशी तोकेको थियो। विभागका महानिर्देशक बाबुराम गौतमले उजुरीकर्ताको उजुरी दावी नपुग्ने ठहर गरेको थियो।

उक्त निर्णयको ठहर खण्डमा दुवैको ट्रेडमार्क शब्द, अर्थ र उच्चारणमा नै फरक देखिने उल्लेख गर्दै  ‘उपभोक्ताले समेत फरक फरक नामबाट नै चिन्न र बुझ्न सकिने देखिएकोले उजुरीकर्ताको ट्रेडमार्कसँग विपक्षीको ट्रेडमार्क मिल्दोजुल्दो भएको र उजुरीकर्ताको ट्रेडमार्कको अनधिकृत प्रयोग भएको भनी लिएको दावीमा सहमत हुन नसकिने’ उल्लेख छ।

उद्योग विभागको निर्णयको स्क्रिनसट। निर्णयको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुस्। 

विभागको निर्णयमा चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन गर्न पाइने व्यवस्था अनुसार वाइवाइ उत्पादक कम्पनीले २०८० असोज २१ गते निवेदन दर्ता गरेको थियो। सोही निवेदनमा सुनुवाई गर्दै न्यायाधीश ध्रुवराज नन्द र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले २०८० पुस ११ गते विपक्षीहरुका नाममा अन्तरकालीन आदेश दिएको थियो।

अन्तरकालीन आदेश भनेको मुद्दामा निर्णय वा फैसला भएको विषय होइन। मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ मा अन्तरकालीन आदेश सम्बन्धी व्यवस्था छ।

 

अदालतको आदेशमा कतै पनि करेन्ट चाउचाउको बिक्री वितरणमा रोक लगाउने तथा बजारमा गएको सामग्री फिर्ता ल्याउने विषय उल्लेख गरिएको छैन।

आदेशमा उद्योग विभागबाट भएको निर्णय चित्त नबुझाई पुनरावेदन दायर गरी अन्तरकालीन आदेश माग गरिएको उल्लेख गर्दै वाइवाइ चाउचाउको ट्रेडमार्क, लेबल तथा र्‍यापिङ समान प्रकृतिको छ वा फरक फरक विषयको छ भन्ने विवादको विषयमा विवेचनासहित प्रस्तुत मुद्दाको फैसला हुँदा ठहरे बमोजिम हुने भन्दै उद्योग विभागले २०८० जेठ २९ गते गरेको निर्णय (माथि पूर्ण पाठ राखिएको छ) यथास्थितिमा राखी कार्यान्वयन नगर्न नगराउन भनिएको छ।

हेर्नुस् उच्चअदालत पाटनले जारी गरेको अन्तरकालीन आदेश 

करेन्ट चाउचाउको बिक्रीवितरणमा उच्च अदालत पाटनले रोक लगाएको विषयमा समाचार प्रकाशित भएपछि उत्पादक यशोदा फुड्स प्रालिले पनि अदालतको आदेशको गलत अर्थ लगाइएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

हेर्नुस् कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिको प्रतिलिपि

तथ्यजाँच

दाबीः उच्च अदालत पाटनले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाउन, वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दियो।

दाबीकर्ताः बिजमान्डु, बाह्रखरी, सेतोपाटी, हिमालखबर, नेपालप्रेस, अर्थसरोकार लगायतका अनलाइनहरु।

तथ्यः भ्रामक सूचना। उच्च अदालत पाटनले यो मुद्दामा फैसला गरिसकेको छैन। मुद्दाको टुङ्गो नलाग्दासम्म उद्योग विभागले गरेको निर्णयलाई यथास्थिति राख्न अस्थायी प्रकृतिको अन्तरकालीन आदेशमात्र दिइएको हो। सो आदेशमा करेन्ट चाउचाउको बिक्री वितरण नगर्नु वा बजारबाट फिर्ता गर्नु, ट्रेडमार्कको नक्कल नगर्नु जस्ता विषय उल्लेख छैन। तसर्थ अदालतको अन्तरकालीन आदेशबारे प्रकाशित समाचार भ्रामक रहेको निष्कर्षमा हामी पुग्यौँ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme