Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको सचिवालय, ‘गोरखापत्र’ र ‘रातोपाटी’ले गरेको दावी यसकारण गलत

Posted on December 31, 2023 by Salokya

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) को भाषा परीक्षा विवादको क्रममा राजधानीको बालकुमारीमा शुक्रबार (२०८० पुस १३ गते) भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी आन्दोलनकारीहरुले जलाए।

गाडीमा आफू नभएको र आफूलाई छाडेर फर्कँदै गरेको बेलामा रोकेर जलाइएको दावी उनको सचिवालय, उनलाई उद्‍धृत गर्दै सरकार नियन्त्रित अखबार ‘गोरखापत्र’ र रातोपाटी अनलाइनले गरेका छन्। तर हाम्रो तथ्य जाँचमा भने यो दावी मिथ्या देखिएको छ।

यस्तो छ दावी

सरकारी अखबार गोरखापत्रको पुस १४ गतेको अङ्कको पृष्ठ २ मा ‘इपिएस परीक्षा विवादमा दुई युवकको मृत्यु’ शीर्षकको समाचारमा लेखिएको छ- यातायात मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै भन्नुभयो, “गाडीमा म थिइनँ। ललितपुरको कार्यक्रममा सहभागी थिएँ। म चढ्ने गाडी सिंहदरबार फर्कँदै थियो। यसै क्रममा गाडीमा आगजनी भएछ।”

गोरखापत्रमा प्रकाशित समाचारको स्क्रिनसट। इपेपरको अर्काइभ

त्यसैगरी ‘भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे सचिवालय’ फेसबुक पेजले घटना भएको दिन शुक्रबार दिउँसो १ बजेर  पनि ‘मन्त्रीलाई पार्टी बैठकमा छोडेर फर्किदै गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको’ दावी गरेको छ।

सचिवालयको फेसबुक पेजले राखेको स्टायटसको स्क्रिनसट। अर्काइभ लिङ्क

केही निजी मिडियाले पनि मन्त्री प्रकाश ज्वालाको दावीलाई समाचार बनाएका छन्।

शुक्रबार दिउँसो प्रकाशित रातोपाटीको समाचारको शीर्षक छ- ‘मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला’। समाचारमा ‘मन्त्री ज्वाला बैठकस्थलमा ओर्लिएपछि गाडी सिंहदरबार फर्किने क्रममा रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले गाडीमा आगो लगाएर ध्वस्त पारेको’ उल्लेख गर्दै उनले ‘आफूलाई चालकले छोडेर सिंहदरबार फर्कने बेला आगजनी भएको रातोपाटीसँग बताएको’ दावी गरिएको छ।

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, समाचारमा उनको भनाई उद्‍धृत गरिएको छ।

रातोपाटीमा प्रकाशित समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क।

के हो तथ्य ?

सेतोपाटी र अनलाइनखबरमा भने मन्त्री ज्वालाको भनाई उद्‍धृत गर्दै आगजनी हुनुअगाडि उनी त्यही गाडीमा रहेको उल्लेख छ।

अनलाइनखबरको समाचारमा मन्त्री क्वार्टरबाट पार्टीको केन्द्रीय समिति बैठकमा जान हिँडेको बेला बालकुमारी क्षेत्रमा प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि निस्केको लेखिएको छ। समाचारमा उनको भनाई भन्दै लेखिएको छ-  ‘गाडीमा मसँग दुई जना पीएसओ थिए, तर उनीहरुले केही गर्न सक्ने अवस्था थिएन । उनीहरुले घेरेर राखेपछि हामी गाडीबाट निस्कियौं । प्रहरीलाई ढुंगा हानेर लेखेटे, गाडीमा आगो लगाए।’ हेर्नुस् अर्काइभ लिङ्क। 

सेतोपाटीको समाचारमा बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै गर्दा मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएको लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

मन्त्री प्रकाश ज्वालाको फरक फरक भनाई उद्‍धृत गरिएका समाचारहरुको तथ्य जाँचका लागि हामीले सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोको विश्लेषण गर्‍यौँ। १ मिनेट ४ सेकेन्डको यो भिडियोमा एउटा झण्डावाला सरकारी गाडीलाई प्रदर्शनकारीहरुको हुलले रोकिराखेको देखिन्छ। भिडियोको १८ औँ सेकेन्डमा गाडीमा राष्ट्रिय झण्डा प्रष्ट देख्न सकिन्छ।

भिडियोको स्क्रिनसट जसमा गाडीमा झण्डा देखिन्छ।

त्यसैगरी भिडियोको तेस्रो सेकेन्डबाटै ढाकाटोपी र सेतो कोट लगाएका व्यक्ति गाडीको पछाडिको भागबाट बोल्दै अगाडि आइरहेका देखिन्छन्। पाँचौँ सेकेन्डसम्ममा उनको अनुहार प्रष्टै देखिन्छ।

हामीले शब्दपाटी टिभी नामको युट्युब च्यानलमा राखिएको  ‘के भन्छन् बालकुमारी घटनाबारे मन्त्री प्रकाश ज्वाला’ शीर्षकको युट्युब भिडियोमा उनको पहिरन र यो भाइरल भिडियोको पहिरनलाई भिडाएर हेर्‍यौँ। दुवै भिडियोको पहिरन एउटै देखिन्छ। भिडियोमा मन्त्री ज्वालाले ‘आज बालकुमारी क्षेत्रमा जुन घटना भयो…’ भनेको सुनिन्छ। हेर्नुस् युट्युब भिडियोको लिङ्क। 

भाइरल भिडियोमा देखिनेको अनुहार र पहिरन मन्त्री प्रकाश ज्वालासँग मिल्छ।  ठूलो फोटो भाइरल भिडियोको स्क्रिनसट र सानो इन्सेट फोटो मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाबारे प्रतिक्रिया दिँदै गर्दाको भिडियोको स्क्रिनसट।

भिडियोको छैटौँ सेकेन्डमा उनलाई पछाडिबाट एक व्यक्तिले धकेलेको र सँगै सेनाको पहिरनमा उनका अङ्गरक्षक पनि देखिन्छन्। भिडियोको २९ औँ सेकेन्डमा गाडीको नम्बर बा २ झ ५८६१ नम्बर पनि देखिन्छ। हामीले फोटो पत्रकार प्रवीण रानाभाटले घटनास्थलमा खिचेको गाडी जल्दै गरेको फोटोमा देखिएको नम्बरसित पनि यसलाई भिडायौँ। दुवै नम्बर समान छन्।

भाइरल भिडियोमा देखिएको गाडी नम्बर (बायाँ) र फोटो पत्रकार प्रवीण रानाभाटले फेसबुकमा अपलोड गरेको फोटो (दायाँ)मा गाडीको नम्बर र गाडी समान छ। 

यी तथ्यका आधारमा हामी यो भाइरल भिडियो सोही दिनको रहेको निश्कर्षमा पुग्यौँ।

https://nepalfactcheck.org/wp-content/uploads/2023/12/viral-video-balkumari.mp4

नेपालफ्याक्टचेकको ह्वाटसएपमा आएको र सामाजिक सञ्जालमा पनि भाइरल भएको भिडियो।

तथ्य जाँच

दावी : बालकुमारीमा प्रदर्शनकारीले आगो लगाउनुअघि गाडीमा मन्त्री प्रकाश ज्वाला सवार थिएनन्। उनलाई छोडेर फर्किँदै गरेको बेला घटना भएको हो।

दावीकर्ता : मन्त्री प्रकाश ज्वालाको सचिवालय, उनलाई उद्‍धृत गर्दै गोरखापत्र र रातोपाटी।

तथ्य : मिथ्या सूचना । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएका व्यक्ति, उनको पहिरन र गाडी नम्बरको आधारमा भिडियो घटना भएकै दिनको रहेको देखिएकोले गाडीमा उनी नरहेको, उनलाई छाडेर गाडी सिंहदरबार जाँदै गर्दा प्रदर्शनकारीले रोकेर आगो लगाइएको दावी मिथ्या देखिन्छ।

1 thought on “फ्याक्ट चेक : बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको सचिवालय, ‘गोरखापत्र’ र ‘रातोपाटी’ले गरेको दावी यसकारण गलत”

  1. Gyan says:
    January 2, 2024 at 1:14 am

    झुठो दाबी के कारणले गरेका हुन त्यस्को पनी ब्लग पढ्न पाए हुन्थ्यो!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme