Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारको लाज जोगाइदिने ‘गोरखापत्र’

Posted on December 30, 2023December 30, 2023 by Salokya

हिजो त्यत्रो ठूलो घटना भयो राजधानीमा। इपिएस विवादमा झडप हुँदा दुई जना युवकको ज्यान गयो। मन्त्रीको गाडी जलाइयो। शान्तिसुरक्षामा प्रश्न उठ्यो।

हुनत हिजै सबैले यो खबर पाइसके। तर यो पक्कै पनि आजको पत्रिकामा फ्रन्ट पेजकै समाचार थियो। तर यस्तो समाचार आयो भने त सरकारलाई ‘लाज’ हुन्छ। त्यसैले सरकारको लाज जोगाइदिन अग्रसर भएछ सरकारी मुखपत्र ‘गोरखापत्र’ दैनिक। काठमाडौँबाट प्रकाशन हुने आजका अन्य राष्ट्रिय दैनिकहरु र गोरखापत्रको फ्रन्टपेज हेर्नुस्, ठ्याक्कै देखिन्छ लाज छोपिएको।

आजको गोरखापत्रमा हिजोको त्यत्रो ठूलो घटनाको फोटो छापिएको छैन। बरु सौराहाको हात्तीको फोटो छ। योसँग सम्बन्धित जस्तो देखिने एक टुक्रो समाचार भने दायाँ कुनामा छ दोषीलाई कारबाही गर्न कांग्रेसको माग शीर्षकमा। घटनाको समाचार भन्दा पनि सत्ता घटक एक दलको मागलाई समाचार बनाइएको छ। समाचार कांग्रेस पार्टीको मुख्य सचिवको विज्ञप्तिमा आधारित हो।

यो घटनाबारे समाचारै नछापिएको भने हैन, पेज २ मा यस्तो समाचार छ-

चार कोलमको समाचारमा फोटो भने छैन। अनि हिजो मिडियामा आफू गाडीमा थिएँ भनी कोट दिएका यातायात मन्त्री प्रकाश ज्वालाले गाडीमा म थिइनँ भनेको कोट राखिएको छ।

अर्थात् गोरखापत्रले सरकारको मात्र हैन, मन्त्री प्रकाश ज्वालाको पनि लाज छोप्न खोजेको छ।

अनि निजी मिडियामा यो घटनाको कभर कसरी भएको छ त ?

आउनुस् हेरौँ। सबैभन्दा पहिला कान्तिपुर-

कान्तिपुरले यसलाई फ्रन्ट पेजमा ब्यानर बक्स न्युज बनाएको छ। शीर्षक छ कोरिया जाने सपनाको अवसान।

रोचक कुरा, नागरिकले पनि यस्तै हेडलाइन राखेको छ। पाँच कोलमको न्युजको हेडलाइनमा कोरिया र सपनाको अवसान उस्तै छ। तर कोरियासँग कमाउने राइमिङ मिलाएर नागरिकले कोरियामा कमाउने सपनाको अवसान हेडलाइन राखेको छ। दुवै पत्रिकाले फोटोलाई पनि महत्त्व दिएका छन्।

नयाँ पत्रिकाले भने कोरियाको सपनासँगै ढले दुई युवा शीर्षकमा मुख्य समाचार राखेको छ।

म्यागेजिन डिजाइनमा आउने अन्नपूर्णको फ्रन्टपेजको एङ्करमा परम्परागत शैलीको हेडलाइन छ- कमाउन जान्छौँ भन्ने युवालाई जब गोली हानियो…

हिमालय टाइम्स (पहिला कालो भनिने, अचेल त रङ्गीन छ यो पनि) को हेडलाइन भने अलि असुहाउँदो छ। भाषा परीक्षा विवाद ठूलो अक्षरमा छ भने सानो अक्षरमा आवेगले निम्त्याएको दुर्घटना, अनाहकमा गुमाए दुई जनाले ज्यान लेखिएको छ।

यसैबीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले फेसबुकमा स्टायटस लेख्दै गल्ती स्वीकारेका छन्। उनले सरकारी भूत र अति स्वनियन्त्रणको रोगले बेलाबखत यस्तो अवस्था उत्पन्न भएको भन्दै आगामी दिनमा यस्ता गल्ती कमजोरी नदोहोर्‍याउन सम्पादकीय नेतृत्वलाई सचेत गराइएको उल्लेख गरेका छन्।

गोरखापत्रमा यतिबेला प्रधानसम्पादक छैनन्। शिवकुमार भट्टराईले निमित्त प्रधान सम्पादकको जिम्मेवारी सम्हालेको अवस्था छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme