Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा दुई जनाको ज्यानै जाने आन्दोलन कसरी भयो? के हो ‘५ च’ विवाद?

Posted on December 30, 2023December 30, 2023 by Salokya

शुक्रबार अकस्मात् राजधानीमा उग्र आन्दोलन भएकोले कोटेश्वरबाट ग्वार्को जाने रिङरोडको बाटो बन्द भएको खबर आयो। केही समयपछि मन्त्रीकै गाडी जलाइएको भनियो। लगत्तै एक जना प्रदर्शनकारीको मृत्यु भएको दुःखद खबर आयो। केही समयमै अर्का एक युवकको पनि ज्यान गएको खबर सुनियो।

आखिर किन एक्कासी प्रदर्शनकारी-प्रहरी यति उग्र भए? प्रदर्शनकारीहरुको माग के थियो? के हो विवाद? आउनुस् पढौँ विस्तारमा।

शुक्रबार दिउँसो जर्नलिज्म एकेडेमीको क्लासरुमबाहिरको बरण्डामा उभिएर सुन्तला खाँदै गर्दा केही पड्किएको जस्तो आवाज आएको थियो। हामीले खासै वास्ता गरेका थिएनौँ। लगत्तै आकाशमा कालो धुँवा देखियो। एकैछिनमा एक हुल मान्छे बालकुमारीको पुल पारीबाट वारी आउँदै गरेको देख्यौँ।

के भएको हो, कसैलाई थाहा थिएन।

आगो-सागो लागेको होला भन्ने लागेको थियो। तर कालो धुँवाको मुस्लो बढ्दै गएपछि टायर पो जलाए कि भन्ने लाग्यो। के रहेछ जान्न मन भएर निस्केँ। सूर्यकोट गेटतिर जाँदै गर्दा सब सवारी साधन यतै डाइभर्ट भएर आउँदै रहेछन्।

सूर्यकोट गेटबाट बाहिर निस्कने बित्तिकै देखेँ- कोटेश्वर जाने बाटोतिर एक हुल युवा ढुंगा हान्दै रहेछन्। प्रहरी लखेट्दै पनि थियो। सर्भिस लेनभन्दा माथिको पाखोबाट यत्रा यत्रा ढुंगाहरु खसालिँदै थियो सडकतिर।

उता ग्वार्को जाने बाटोतिर एउटा गाडी दनदन बलिरहेको थियो। कालो धुँवाको मुस्लो आकाशतिर उडिरहेको थियो।

‘कस्ता स्वाँठहरु रहेछन्’, रमिते मध्येका एक भन्दै थिए, ‘बुद्धि किन नभएको होला, हाम्रो सम्पत्ति त हो।’

किन यस्तो गरेका रहेछन्?- मैले सोधेँ।

‘कोरिया जान नपाएर नि’, जवाफ आयो, ‘Ship Building’ मा जान नपाएकाहरुले गरेको !

खास कुरा अझै बुझेको थिइनँ।

ग्वार्को जाने बाटोतिर गएँ। दनदनी बलिरहेको गाडीको नम्बर प्लेट सरकारी रहेछ। त्यहाँका रमितेहरुका पनि केही कुरा सुनेँ। त्यही आधारमा खोजी हेर्दा बल्ल थाहा भयो विवादको चुरो।

मन्त्रीको गाडीमा आगजनी

आजको घटना अझ खराब हुनसक्थ्यो। किनभने मन्त्री सवार गाडी जलाइएको थियो। आन्दोलन भइरहेको बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडी त्यो ठाउँमा पुगेको थियो। सुरुमा आक्रोशित आन्दोलनकारीहरुले गाडीको टायरको हावा फुस्काए। त्यसपछि तोडफोड गरेर आगो लगाइदिए। मन्त्रीलाई भने पिएसओले सुरक्षित निकालिसकेका रहेछन्।

त्यसो त घटनापछि मन्त्रीले गाडीमा आगो लाग्दा आफू त्यसमा नभएको भनेर पनि मिडियालाई भनेको देखियो। तर त्यसअघि नै उनकै कोटमा गाडीभित्र उनी रहेको समाचार आइसकेको थियो। प्रहरी प्रवक्ताले पनि मन्त्रीको रेस्क्यु गरेको कोट मिडियामा दिइसकेको थियो।

अझ सामाजिक सञ्जालमा भिडियो नै भेटियो-

https://mysansar.com/wp-content/uploads/2023/12/pkaJM93V8ZZTSJmc.mp4

घटनास्थलमा रमितेहरु भन्दै थिए- पहिला केही गरेको थिएन। हावा मात्र खुस्काएका थिए, गोली हानेपछि जलाइदिएका नि।

मन्त्री चढेकै गाडीलाई तारो बनाएपछि प्रहरीले बल प्रयोग गरेको देखिन्छ।

बिचरा दुई युवकको ज्यानै गयो

झडपमा सुरुमा एक जनाको मात्र ज्यान गएको समाचार आएको थियो। पछि एक जना थपिए। दुई जनाको ज्यानै जाने गरी अकस्मात् भीड कसरी उग्र भयो भन्ने लागिरहेको थियो। मिडियामा ज्यान गुमाउनेको पारिवारिक पृष्ठभूमि पढ्दा झन् भावविह्वल बनायो।

पहिलो पात्र : सुजन रावत, वर्ष २२, दैलेख। पोहोर बाउ मरेपछि भाइ बहिनी पाल्न आमालाई सघाउन विदेश जाने उनको सोच थियो। अलि धेरै पैसा कमाउन सकिने र लगानी पनि धेरै नलाग्ने ठाउँ कोरिया। त्यहाँ जान कोरियाली भाषा परीक्षा दिएका रहेछन्।

दोस्रो पात्र : वीरेन्द्र शाह ठकुरी, वर्ष २३, अछाम। बाउ प्यारालाइसिस। आर्थिक अवस्था कमजोर। वृद्ध बाउआमालाई विदेश जान्छु भनेर छाडेर आएका रहेछन्, संसार पो छाड्ने बनाइदियो।

देशमा पर्याप्त रोजगारीको अवसर त छैन नै, ल भइगो नि त विदेश गएर कमाउँछु भन्दा पनि जान नपाएर संसारै त्याग्नु पर्ने स्थिति पो आइलागेछ।

विवाद केमा ?

यो विवादमा इपिएस कोरिया, इपिएस नेपाल र अदालतसमेत जोडिएको छ।

बूँदा नम्बर ५ (च) यसको मूल कारक हो। के हो यो भनेको चाहिँ ?

श्रम, रोजगार तथा सामाजिक मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभाग मातहतको इपिएस कोरिया शाखा ग्वार्कोले उत्पादनमूलक अर्थात् manufacturing कामदारका रुपमा कोरिया जान इच्छुकहरुलाई भाषा परीक्षाको फाराम भर्ने सूचना मंसिर १९ गते निकाल्यो। 

यही सूचनाको बूँदा नम्बर ५ (च) मा सन् २०२३ भित्र इपिएस टपिक भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने प्रावधान छ।

यसैमा लफडा भएको हो। सन् २०२३ मा Ship building को भाषा परीक्षा भएको थियो। त्यसमा फेल भएकाहरुले यो परीक्षामा सहभागी हुन यही ५ (च) ले रोक्थ्यो। उनीहरुको माग थियो, हामी पनि यो भाषा परीक्षामा सहभागी हुन पाउनु पर्छ।

तर, यो शर्त नेपालको इपिएस शाखाले भन्दा पनि कोरियाकै एचआरडी सर्भिसको रहेको दावी इपिएस शाखाको रहेको छ।

आफूहरुले पनि भाषा परीक्षा दिन पाउनु पर्ने भन्दै ग्वार्कोको इपिएस कार्यालय वरपर धर्ना जुलुस भइरहेको थियो।

ती मध्ये सुरज पाठकसहित १८ जनाले मुद्दा हाले- हामीले पनि भाषा परीक्षा दिन पाउँ भनेर। जसमा उच्च अदालत पाटनले उनीहरुलाई पनि भाषा परीक्षाको फाराम भर्न रोक नलगाउनु भन्ने अन्तरिम आदेश दियो। यो आदेशको पूर्ण पाठ आइसकेको छैन।

इपिएस शाखाले भने सबैलाई नभई १८ जनालाई मात्रै फाराम भर्न आउन पुस ११ गते सूचना निकाल्यो। सूचना अनुसार आज (पुस १३ गते) फाराम भर्न पाइन्थ्यो।

अब सुरु भयो लफडा। १८ जना मात्रै किन? हामीले किन नपाउने भन्ने भयो। उनीहरुले बिहानैदेखि आन्दोलन गरे।

त्यसपछि आज बिहान शाखाले सूचना निकाल्दै धर्ना जुलुस नगर्न विज्ञप्ति निकालेको थियो।

मृत्युपछि अदालतको आदेश र माग पूरा

दुई जनाको मृत्यु भएर लफडा भइसकेपछि उच्च अदालतको अर्को आदेशको समाचार आयो। भएछ के भने ती १८ जनालाई मात्र किन, अरुलाई पनि फाराम भर्न दिन पाउनु पर्छ भन्दै अर्को निवेदन अदालतमा पर्‍यो। त्यसमा आज सुनुवाई गर्दै भेदभाव नगरी सबैलाई भर्न दिनु भन्ने अन्तरिम आदेश आयो।

त्यसपछि इपिएस शाखाले पनि आजै सूचना निकाली एचआरडी कोरियासित कुरा गरेको र उनीहरु सकारात्मक भएको भन्दै ship building sector को फाराम भरेकाहरु (भरेर फेल भएकाहरुले समेत) भर्न पाउने गरी पुस १६ देखि १८ गतेसम्मको मिति तोक्यो।

पूरा सूचना पढ्नुस्

बस्, यही माग त थियो जुन पूरा भयो। तर विडम्बना, सुजन र वीरेन्द्रले संसारै छाडिसके, उनीहरुले कोरिया जान देश छाड्नु परेन। यी दुईको बलिदानबाट बल्ल माग पूरा भयो।

तर यो घटनाले पाठ भने सिकाएको छ-

इपिएस शाखा : कुरा राख्यो भने कोरियाले माग पूरा गर्दो रहेछ त। बिना क्षति पनि यो विवादलाई समाधान गर्न सकिन्थ्यो।

अदालत : १८ जनाले मुद्दा हाल्यो भन्दैमा त्यही १८ जनाले मात्र पाउने भन्ने पनि हुन्छ र। अन्तरिम आदेशको भाषा स्पष्ट हुनुपर्ने हो कि, आदेशको व्याख्या सम्बन्धित पक्षले गलत गरेको पो हो कि। त्यस्तो अर्थ नआउने गरी आदेशको भाषा लेख्नु पर्ने पो हो कि !

अनि अन्त्यमा,

युवामा सल्किरहेको विद्रोहको आगोले कुनै पनि बेला विस्फोटक रुप लिन सक्नेतर्फ सबैलाई सचेत भने गराएको छ है। होस् गरौँ नेताज्युहरु।

 

 

1 thought on “काठमाडौँमा दुई जनाको ज्यानै जाने आन्दोलन कसरी भयो? के हो ‘५ च’ विवाद?”

  1. Narayan Manandhar says:
    January 10, 2024 at 8:22 am

    You have missed the biggest lesson for Nepal: EPS is a scam at a highest level. Just like the Britain exploited poor and destitute Nepalese in 19th Century, in the name of Gurkha bravery, South Korea is here to exploit cheap Nepali labour.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme