Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ?

Posted on December 18, 2023December 18, 2023 by Salokya

हिजैदेखि अनलाइन मिडियाहरुमा होहल्ला थियो त्रिभुवन विश्वविद्यालय (टियु)को आजको दीक्षान्त समारोहमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि आउने, धेरै दीक्षित हुनेमा वर्ल्ड रेकर्ड बन्ने भनेर।

आजका फोटो र समाचार हेर्दा भने गिनिज बुक हैन अर्कै नामै खासै नसुनिएको संस्था अफिसियल वर्ल्ड रेकर्डसको पो प्रमाणपत्र दिएका रहेछन्। केही अनलाइनहरुले सुटुक्क समाचार सच्याए, केहीले अझै सच्याएका छैनन्।

अनलाइनखबरमा प्रकाशित समाचारको स्क्रिनसट।

कार्यक्रममा भिडाइएको सर्टिफिकेट जसले देखाउँछ यो गिनिज बुक अफ वर्ल्ड रेकर्डसको हैन, अर्कै कम्पनीको सर्टिफिकेट हो। 

कान्तिपुरको यो समाचार अनुसार परीक्षा नियन्त्रक पुष्पराज जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमै आवेदन दिएको रे। अझ समाचार अनुसार गिनिज बुकका प्रतिनिधिले समारोह स्थलमै उपस्थित भएर मूल्याङ्कन गरे रे।

कि जोशी झुक्किए, कि चाहिँ जोशीले भनेको कुरा नबुझेर पत्रकारले उनलाई मिसकोट गरे भन्ठानेको थिएँ।

तर, नेपालप्रेसको यो समाचार पढेपछि चाहिँ हाँसो उठ्यो। यसमा त्रिवि उपकुलपति डा. शिवलाल भुसालको कोट छ र लेखिएको छ- ओडब्लुआर गिनिज बुककै भगिनी संस्था हो।

उपकुलपति (कार्यवाहक) ले जे दावी गरे पनि पत्याउन त भएन नि, यसो भेरिफाइ गरेको भए हुने !

गिनिज बुक अफ वर्ल्ड रेकर्डस् र अफिसियल वर्ल्ड रेकर्डस् छुट्टाछुट्टै संस्था हुन्। दुई बीच गोरु बेचेको साइनो पनि छैन, केका भगिनी संस्था हुनु।

यो भनेको त सामसुङको आइफोन भन्या जस्तो भो 🙂

हाल जिम प्याटिसन ग्रुपको स्वामित्वमा रहेको गिनिज बुक अफ वर्ल्ड रेकर्डस् मूलतः बेलायती संस्था हो। सन् १९५५ देखि यसको प्रकाशन हुँदै आएको छ।

आज टियुको दीक्षान्त समारोहमा आएर प्रमाणपत्र दिने अफिसियल वर्ल्ड रेकर्डस् बारे खासै धेरै जानकारी छैन। उसैको वेबसाइटमा उल्लेख भए अनुसार यो स्पेन र अमेरिकामा दर्ता भएको एनजिओ हो रे। वेबसाइटमा हामी गिनिज जस्तो हैनौँ भनेर लेख्या छ। अनि कसरी उपकुलपतिले दावी गरे जस्तो यो गिनिजको भगिनी संस्था भयो र ?

उपकुलपति जस्तो मान्छेले हचुवामा कुरा गरेको त सुहाएन है !

शंकास्पद कुरा !

यसको वेबसाइट हेर्दै जाँदा एउटा शंकास्पद कुरा भेटेँ। सम्पर्क ठेगानामा अफिसियल हेडक्वार्टर्स इन एसिया लेखिएको छ। तर एसियाको कुन ठाउँ भन्ने चाहिँ लेखिएको छैन।

इङ्ग्लिस, हिन्दी र नेपाली भाषाको लागि भन्दै एउटा नम्बर राखिएको छ जुन नेपालकै नम्बर हो। कन्ट्री कोड 977 नेपालको हो। अनि त्यसमा रहेको नम्बर अहिले बन्द भइसकेको स्मार्ट टेलिकमको हो।

वेबसाइट पनि खासै गतिलो छैन। कुनै सिकारुले बनाएको जस्तो डिजाइन छ।

स्पेनमा साँच्चिकै अफिस छ कि छैन होला भनेर त्यसमा दिइएको ठेगानामा गएर गुगल स्ट्रिट भ्युमा हेर्दा एउटा सानो घरको छिँडीमा यही नाम टाँसेको चाहिँ देखियो-

त्यो रातो एरो लगाएको ठाउँमा रहेछ यसको अफिस

नजिकबाट हेर्दा।

कति रकम तिरेको होला ?

उपकुलपतिले गिनिज बुककै भगिनी संस्था दावी गरेको कुरा मिडियामा आएको देख्दा कुनै दले दाइले झुक्याए कि जस्तो पो भान भो त। हुन त गिनिज बुकका अहिले विभिन्न देशका सहरहरुमा कार्यालय नभएका होइनन्। गिनिज बुककै अफिसियल साइटमा उल्लेख भए अनुसार यसका अफिसहरु लन्डन, बेइजिङ, टोक्यो र दुबईमा छन्।

तर दशरथ रंगशालामा भएको दीक्षान्त समारोहमा प्रकट भएकाहरु भने यसका प्रतिनिधि हैनन्। यो संस्थाको वेबसाइटमा उल्लेख भए अनुसार यसमा वर्ल्ड रेकर्ड दर्ता गर्न सबैभन्दा पहिला इमेल गर्न पर्ने रहेछ। त्यसपछि उनीहरुले जवाफ पठाउने रहेछन् ४८ घण्टामा र त्यसैको साथ कति रकम तिर्नुपर्ने हो भनेर पनि उल्लेख हुने रहेछ।

समाचारहरु हेर्दा कुनै दले दाइले टियुकै कसैलाई ‘यस्तो हुन्छ नि’ भनेर सुनाएपछि इमेल पठाएको र रकमको टुङ्गो लागेपछि अथवा भुक्तानै भएपछि त्यसका प्रतिनिधि(?) आएर यो कागजको खोस्टो थमाएर गए जस्तो लाग्यो।

यसको लागि टियुले कति रकम भुक्तान गर्‍यो त, त्यो पो जान्न मन लाग्यो मलाई त।

टियुको यो रेकर्ड मोह पनि गजब कै छ। खासमा कसले बढी समय टाउकोले टेकेर बस्यो, कसले लामो समयसम्म भकुण्डो उफार्‍यो जस्ता रेकर्डको के अर्थ ! कुनै पनि विश्वविद्यालयको पढाइको गुणस्तर पो महत्त्वको कुरा, दीक्षितको संख्याको रेकर्डमा के गौरव गर्नु ! गिनिजमै नाम आए पनि के लछारपाटो लाग्छ र भन्या !

तर हामी नेपालीहरु त्यसै दङ्ग ! आउँदै नआएको गिनिज बुकका प्रतिनिधि आइसकेछन्। दिँदै नदिएको गिनिज बुकको प्रमाणपत्र दिइसकेछ।

हेर्नुस् थाहाखबरको समाचार

टिभीमा पनि गिनिज बुकमा नाम लेखिसकेको भनेर आइसकेछ

प्रधानमन्त्रीकै स्वकीय सचिवले लेखेपछि मिडियाले आँखा चिम्लेर पत्याइहालेका हुन् कि ?

1 thought on “दीक्षान्तमा ‘गिनिज वर्ल्ड रेकर्ड’ भन्दै कसले झुक्याएछ टियुलाई अनि मिडियालाई ?”

  1. नबीन अधिकारी says:
    December 22, 2023 at 8:51 am

    छ्या नेपाली पत्रुकारहरू, यस्ताे लाजमर्दाे

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme