Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि लामिछानेको भाइरल फोटो चर्चमा होइन रेस्टुरेन्टमा खिचिएको, जिससको मूर्ति एडिट गरी थपिएको

Posted on December 15, 2023 by Salokya

के तपाईँले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बेलायत भ्रमणमा गएको बेला चर्चमा कार्यक्रम गरेको फोटो देख्नुभएको छ ?

फोटोमा जिसस क्राइस्टको मूर्ति अनि  ‘चर्च अफ इंग्ल्यान्ड’ लेखेको पनि देख्नुभएको छ?

पख्नुस्, यो कुरा नपत्याउनुस्। नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो फोटो मिथ्या देखिएको छ। फोटो चर्चमा नभएर बेलायतको एउटा रेस्टुरेन्टमा खिचिएको र त्यसलाई सम्पादन गरी जिसस क्राइस्टको मूर्ति थपिएको हामीले पायौँ।

के छ भाइरल फोटोमा?

अर्जुन ज्ञवाली नाम गरेको एक्स (पहिलेको नाम ट्विटर) अकाउन्टबाट बुधबार साँझ (२७ मंसिर, २०८०) रास्वपाका सभापति रवि लामिछानेसहित तीन जना देखिने एउटा फोटोसहितको पोस्ट गरिएको छ।

फोटोमा पछाडिपट्टी नेपालको झण्डा छड्के गरी राखिएको छ भने लामिछानेको छेउमा रातो खादा लगाएका व्यक्तिको पछाडि क्रसमा झुण्डिएको जिसस क्राइस्टको मूर्ति देख्‍न सकिन्छ। क्राइस्टतर्फ इङ्गित गर्दै फोटोमा ठूलो अक्षरले ‘चर्च अफ इंगलैंड,  रवि लामिछाने’ लेखिएको छ।

यो पोस्टमा शुक्रबार मध्याह्न (२९ मंसिर २०८०) सम्म ३० रिट्विट, १४७ लाइक, ३९ कमेन्ट र १३ हजार ७ सय भ्युज देखिन्छ।

एक्समा पोस्ट गरिएको सामग्रीको स्क्रिनसट

सो ट्विटको अर्काइभ लिंक हेर्न यहाँ क्लिक गर्नुस्। 

त्यस्तै लेखक राई नामको फेसबुक एकाउन्टबाट बुधबार बिहान (२७ मंसिर, २०८०) सोही फोटोसहित स्टायटस पोस्ट गरिएको छ। पोस्टमा रवि लामीछानेलाई फेसबुकमा मेन्सन गर्दै उनी क्रिश्चियनहरूको विशेष दूतमा नियुक्त भएको दावी पनि गरिएको छ।

 

फेसबुकमा पोस्ट गरिएको तस्वीर सहितको सामग्रीको स्क्रिनसट

फेसबुक पोस्टको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

के हो तथ्य ?

आलोचनात्मक प्रतिक्रियाहरु सहित यो फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि हामीले मूल फोटो खोजी थाल्यौँ। यसका लागि हामीले रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलसँग सम्पर्क गर्‍यौँ। उनले भाइरल फोटो सही नभएको बताएपछि हामीले ओरिजिनल फोटो उपलब्ध गराउन आग्रह गर्‍यौँ।

हाम्रो आग्रहलाई स्वीकार गर्दै उनले उक्त फोटो खिच्ने वाचस्पति रेग्मीसित सम्पर्क गराइदिइन्। रेग्मीले भाइरल फोटोको ओरिजिनल कपि इमेलमार्फत् हामीलाई पठाइदिए। त्यसमा मञ्चको पृष्ठभूमिमा क्राइस्टको मूर्ति देखिँदैन। मूर्ति भएको ठाउँमा मालाजस्तो वस्तु झुण्डिएको देख्न सकिन्छ ।

हामीले प्राप्त गरेको ओरिजिनल फोटो। फोटो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। 

हामीले फोटो खिच्ने व्यक्ति रेग्मी नै हुन् वा होइनन् भनेर पुष्टि गर्न यो फोटो कहिले र कुन डिभाइसबाट खिचेको भनेर जिज्ञासा राख्यौँ। उनले डिसेम्बर १० तारिखमा सामसुङ ग्यालेक्सी एस २३ + ले खिचेको बताए।

उनले पठाएको ओरिजिनल फोटोलाई हामीले jimpl.com मा राखी EXIF डेटा जाँच्यौँ। त्यसमा रेग्मीले भनेकै विवरण देखियो।

jimpl मा देखिएको क्यामेराको विवरण

jimpl मा देखिएको फोटो खिच्दाको समय। 

भाइरल फोटोमा कार्यक्रम ‘चर्च अफ इंगलैंड’मा भएको दावी गरिए पनि लामिछाने उपस्थित उक्त कार्यक्रमका संयोजक ज्ञान गुरुङ र फोटोमा देखिएका रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले यो कार्यक्रम स्विनडनस्थित दिवाली रेस्टुरेन्टमा भएको जानकारी गराए। फोटोमा जिपिएस डेटा नरहेकोले हामीले लोकेसनको बारेमा मेटाडेटाबाट जानकारी पाउन सकेनौँ।

तर, यसको तथ्य जाँचका लागि हामीले गुगल म्यापमा रहेको दिवाली रेस्टुरेन्टको स्ट्रिट भ्युमा गयौँ। त्यहाँ हामीले यस्तो भेट्टायौँ-

हामीले भाइरल फोटोमा रहेको झ्यालमा उल्टो देखिएको अक्षरलाई सुल्टोमा पढ्न फोटोलाई पाइनटुल्समार्फत् फ्लिप गर्‍यौँ र यो फोटोमा देखिएको झ्यालमा रहेको अक्षरसित तुलना गर्‍यौँ। अक्षर र अक्षरको शैली हुबहु देखिन्छ।

त्यसैगरी भाइरल फोटोमा देखिएको झ्यालको पृष्ठभूमिमा हरिया रुखबिरुवा छन्, हामीले गुगल स्ट्रिट भ्युबाट यो रेस्टुरेन्टको पारीपट्टी देखिने दृश्य हेर्दा त्यहाँबाट हरिया रुखबिरुवा देखिने नै पायौँ। हेर्नुस् स्क्रिनरेकर्ड-

तथ्य जाँच

दावी : बेलायतमा रवि लामिछाने जिसस क्राइस्टको मूर्ति रहेको चर्च अफ इंगल्यान्डमा भएको कार्यक्रममा उपस्थित भए।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्यः मिथ्या सूचना। सामाजिक सञ्जालमा भाइरल फोटोका बारेमा सो फोटो खिच्ने व्यक्ति, रवि लामीछाने उपस्थित कार्यक्रमका संयोजकसँगको कुराकानी, फोटोको मेटा डेटा र कार्यक्रम भएको स्थलको गुगल स्ट्रिट भ्युका आधारमा सो कार्यक्रम बेलायतको स्विनडनस्थित दिवाली रेस्टुरेन्टमा भएको र फोटोलाई सम्पादन गरेर जिसस क्राइस्टको फोटो थपेर मिथ्या जानकारीसहित प्रचार गरिएको निष्कर्षमा हामी पुग्यौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme