समग्रमा मिडियाको विश्वास गुम्दै गएको छ। तर पनि केही मिडिया छन्, जसले अडियन्सको विश्वास जितिरहेका छन्। मिडियाको विश्वसनीयता कायम राख्ने एउटा प्रमुख अस्त्रका रुपमा फ्याक्ट चेक पनि रहेको छ।
यसै मेसोमा गुगलको एसिया प्रशान्त मुख्यालय रहेको सिंगापुरमा Trusted Media Summit को आयोजना भयो जसमा ३२ देशका ६७८ जना सहभागी थिए। नेपालफ्याक्टचेकका सम्पादकका रुपमा म पनि यहाँ आएको छु। सम्मेलनको पहिलो दिन एउटा रमाइलो वर्कसप थियो- YouTube Creators x Fact-Checkers Design Sprint

खासमा यो चलेका युट्युब कन्टेन्ट क्रियटरहरु (हाम्रो भाषामा युट्युबे) र फ्याक्टचेकरहरुको जोडी मिलाएर फ्याक्टचेकहरुले गरेको कुनै फ्याक्टचेकलाई कन्टेन्ट क्रियटरहरुको सहयोगमा युट्युब सर्टस बनाउने च्यालेन्ज थियो।
प्रत्येक फ्याक्टचेकरलाई एक जना वा दुई जना युट्युबरको जोडी मिलाइएको थियो।
र, मसँग परेकी थिइन् सिंगापुरकी लिम सी हुई।
पहिलो पटक गुगलको कार्यालयमा पुगेको थिएँ। सुरक्षा व्यवस्था निकै कडा। त्यो दिन विभिन्न वर्कसप थियो, विभिन्न कोठाहरुमा। एउटा कोठामा हाम्रो वर्कसप सुरु भयो।
गुगलकी हेल्थ एन्ड न्युज स्ट्राटेजीकी स्टेफानी पार्कले युट्युब सर्टसको बारेमा महत्त्वपूर्ण जानकारीहरु दिइन्। भविष्यमा यो जानकारी निकै काम लाग्नेछ।
पछि लन्चको बेला मैले पनि गफ दिन किन बाँकी राख्नु ! मैले युट्युबमा पहिलो भिडियो कहिले अपलोड गरेको हुँ थाहा छ? सन् २००५ को नोभेम्बर १५ मा ! यी यता हेर भनेर देखाइदिएँ।
त्यतिबेला नेपालमा डायल अप इन्टरनेटमात्र थियो, तैपनि मैले भिडियो अपलोड कसरी गरेको थिएँ भनेर सुनाएको, दङ्ग परिन्।
त्यतिबेलै युट्युबमा भिडियो अपलोड गरेर सन् २००६ मा साउथ कोरियामा युट्युब बारे एउटा प्रिजेन्टेसन गरेको भए पनि भिडियोको प्राविधिक पक्षले मलाई सधैँ गाह्रो नै बनायो। र, नियमित अन्तरालमा भिडियो राख्न पनि सकिरहेको छैन।
युट्युबरसित जोडी मिलेपछि…
ताइवानका फ्याक्टचेकर र मलाई सिंगापुरका दुई जना युट्युबर भागमा परेको थियो। सबभन्दा पहिला हामीले दुई वटा फ्याक्टचेक छान्नु पर्ने थियो जसमा उनीहरुको सहयोगमा भिडियो बनाउनु पर्थ्यो- युट्युब सर्टस्। यसको अवधि ६० सेकेन्ड वा त्यो भन्दा कम हुनुपर्थ्यो।
अनि हामीलाई यसभित्र रहेर बनाउन भनिएको थियो-
पहिला कुन फ्याक्ट चेक छान्ने भन्ने नै सकस पर्यो। सबैभन्दा सजिलो र सान्दर्भिक हुने भनेर मैले काठमाडौँका मेयर बालेन शाहले भर्खरै नेपालको युएन सदस्यताबारे गरेको दावीबारेको फ्याक्टचेकलाई छानेँ।
सबैभन्दा पहिला यी युट्युबरहरुलाई बालेनको बारेमा बुझाउन नै कठिन भयो।

मैले न्युयोर्क टाइम्समा प्रकाशित बालेनको प्रोफाइल, नेपालको बारेमा, उनको क्रेज आदिबारे देखाएर बुझाएपछि बल्ल उनीहरुले केही कुरा बुझे जस्तो गरे।
अनि दुई जना युट्युबरले पनि एक एक जना फ्याक्टचेकरको कन्टेन्टमा मात्रै काम गर्ने भनेर काम बाँडे र मसित सहकार्यका लागि जोडिन पुगिन् लिम।
उनी सिंगापुरको ‘हे काकी’सित आवद्ध रहिछिन्। सिंगापुर प्रेस होल्डिङको स्वामित्वमा रहेको यो ‘हे काकी’ले युवा पुस्ताका लागि मन्डारिन भाषामा मनोरञ्जनात्मक र सूचनामूलक छोटा भिडियोहरु टिकटक, इन्स्टा र युट्युबका लागि बनाउने रहेछ।
हामीले बालेन बारे गरेको फ्याक्टचेकलाई भिडियोमा कसरी ढाल्ने भनेर छलफल गर्यौँ। लिम निकै अनुभवी थिइन्। उनैले स्टोरीबोर्ड बनाइन्। सुरुको तीन सेकेन्डमा यो गर्ने, त्यसपछि यो, अनि यो….
मैले थोरै यसोउसो गर्ने भनेर थपेँ।

कागजमा योजना तयार भएपछि हामी भिडियो खिच्नतर्फ लाग्यौँ। उनको आइफोनबाटै भिडियो खिचेको भए पनि एक्स्ट्रा वायरलेस माइक राखेर हामीले भिडियो खिच्यौँ।
त्यसपछि उनले मोबाइलबाटै भिडियो इडिट गरिन्। चाइनिज भाषाको सफ्टवेयरबाट उनले भिडियो इडिट गरेकी थिइन्। मैले उनले गरेको हेरेरै धेरै कुरा सिकेँ।

अन्त्यमा हाम्रो भिडियो यस्तो बन्यो। कस्तो भयो, प्रतिक्रिया पाउँ। भविष्यमा यहाँबाट सिकेका कुरा उपयोग गरी यस्तै भिडियोहरु बनाउने प्रयास गर्नेछु-
नेपाल फ्याक्ट चेकबाट हुने तथ्य जाँचहरूलाई पनि यस्तै छोटो या कम्तिमा १ मिनेट ३० सेकेन्ड सम्मका भिडियो बनाएर फेसबुक, इन्स्टा युट्युब लगायतमा हाल्नु पर्यो। यो छोटो चिजमै रमाउनेहरूको जमात बडी रहेको बेला ति लामा लामा आर्टिकल निकै कमैले पढ्लान। यसरी छोटो भिडियो बनाएर राख्ने हो भने आर्टिकल जस्तो ब्रिस्तित रुपमा तथ्यलाई राख्न नसकियेता पनि केहि हद सम्म गलत सुचनालाई काउनटर गर्न सकिन्छ अनि धेरैको बिचमा तथ्य पुर्याउन पनि सकिन्छ। खोज पत्रकारहरूको कन्फ्रेन्सको बारे अरू ब्लग त आएन यो trusted media summit र सिंगापुर बारे चाहिँ केहि ब्लग पोस्ट आउलान भन्ने आशा राख्छु।