Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आर्थिक पत्रकारिताको बिजोग : लेख्‍नेले नै समाचार नबुझे पछि…

Posted on September 11, 2023 by Salokya

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको ग्रेड अहिले समाचारको विषय बनेको छ। अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्ने गरेको रहेछ। एउटाले सोसल मिडियामा छ्यास्स केही लेखिदिएपछि आर्थिक पत्रकारिता गर्ने अनलाइनहरुले त्यसमा समाचार बनाउन थाले। तर, समाचार लेख्नेले नै समाचार नबुझेपछि कस्तो हालत हुन्छ? आउनुस् केही नमूना हेरौँ।

यो हो अर्थतन्त्र डट कममा प्रकाशित समाचार। अर्काइभ लिङ्क पढ्न यता क्लिक गर्नुस्।   समाचारको शीर्षक र पहिलो वाक्यले भन्छ- नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले सी ग्रेड पाएका छन्।

तर दोस्रो लाइन पढ्नुस् त- त्यसमा लेखिएको छ- अमेरिकाबाट प्रकाशन हुने ग्लोबल फाइनान्स पत्रिकाले उनलाई सेन्ट्रल बैँकर रिपोर्ट कार्ड २०२३ मा ए प्लस ग्रेडिङ दिएको हो।

मुनि फेरि सन् २०२१ मा बी माइनस र २०२२ मा सी भएको उल्लेख छ।

यो समाचार पढ्दा बुझिने के हो त ? २०२१ मा बी माइनस, २०२२ मा सी र २०२३ मा ए प्लस रहेछ।

अनि किन एक वर्षअघिको सी ग्रेडलाई हेडलाइन र लिडलाइन बनाएको त ?

अचम्म छैन त ?

लाग्छ, समाचार लेख्नेले नै समाचार बुझेका छैनन्, लेखिसकेपछि एक पटक पढेका पनि छैनन्। नत्र यस्तो गल्ती कसरी हुन्छ ?

एउटा अनलाइनले मात्र यस्तो लेखेको हैन, अर्को पनि नमूना हेर्नुस्-

अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

यसमा पनि कुरो उही छ। गभर्नरले कुन ग्रेड पाएको भन्ने कुरा नै समाचार लेख्नेलाई थाहा छैन। थाहा भए पनि समाचार लेखेर एक पटक पढेको पनि छैन। प्रकाशन गर्नुअघि एक पटक पढेको भए पहिलो वाक्य र दोस्रो वाक्यमा आकाश पातालको फरक थाहा हुनु पर्ने हो। यो त्यति हतार गर्नुपर्ने ब्रेकिङ न्युज पनि होइन। कि कसो ?

एक वर्षअघिको समाचार अहिले बनाउँदै

पूर्व सचिव भीम उपाध्यायले सेप्टेम्बर ४ मा यसो लेखेका थिए-

बिजशाला नामको अनलाइनले पनि त्यही दिन यस्तो समाचार लेखेको थियो जुन भाइरलै भयो-

समाचारको अर्काइभ लिङ्क। 

माथिका आर्थिक अनलाइनहरु जस्तो ग्रेडिङमा नै कन्फ्युज भएको अवस्था होइन यो। यसमा सब कुरा ठीक छ, सही छ- बस्, टाइमिङ गलत छ।

पूर्व सचिव उपाध्याय र बिजशाला अनलाइनले राखेकै डिजाइनको ग्रेड उल्लेख भएको विषय ग्लोबल फाइनान्स म्यागेजिनको अनलाइनमा छ। हेर्नुस्-

तर यो रिपोर्ट कहिले प्रकाशित भएको थियो मिति हेर्नुस् त-

म्यागेजिनको अनलाइनमा गएर हेर्न यता क्लिक गर्नुस्। 

देख्नुभो हैन त, यो प्रकाशित भएको रहेछ अक्टोबर ३, २०२२ मा। अर्थात् ११ महिना अगाडि। झण्डै एक वर्ष पुरानो समाचारलाई अहिले भाइरल बनाएछन्।

भएको चाहिँ के हो त ?

भारतको केन्द्रीय बैँकका गभर्नरले सन् २०२३ को ग्रेडिङमा ए प्लस पाएछन्। त्यसको प्रचार रिजर्भ बैँक अफ इन्डियाको अफिसियल ट्विटर ह्यान्डलबाटै गरियो-

We are happy to announce that Governor Shri Shaktikanta Das has been rated “A+” in the Global Finance Central Banker Report Cards 2023. Shri Das has been placed at the top of the list of three central bank governors who have been rated A+.

Link to report card:…

— ReserveBankOfIndia (@RBI) September 1, 2023

आर्थिक विषयमा रुचि हुनेहरुले नेपालका गभर्नरको चाहिँ के रहेछ त भनेर खोजे होलान्। भेट्टाए पुरानो मात्र। त्यही फैलाइदिए। त्यसैमा समाचार बने।

खासमा ग्लोबल फाइनान्स म्यागेजिनले अगस्त २३, २०२३ का दिन प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२३ को रिपोर्ट कार्डबारे जानकारी दिएको हो। त्यो विज्ञप्तिमा ए प्लस, ए र ए माइनस ल्याउनेहरुको नाम सार्वजनिक गरिएको थियो। रिपोर्टमा ए देखि एफसम्मको ग्रेडिङ रहेको छ। जसमा ए प्लस भनेको एकदम राम्रो हो भने एफ भनेको एकदम असफल।

प्रेस विज्ञप्तिको स्क्रिनसट। पूरा पढ्न यता क्लिक गरी जानुस्। 

त्यो विज्ञप्तिमा प्रष्ट रुपमा नै रिपोर्ट कार्ड अक्टोबरको अङ्कमा (प्रिन्ट र डिजिटलमा) प्रकाशन हुन्छ भनिएको छ। यसको अर्थ नेपालका गभर्नरको ग्रेड सीभन्दा तल खस्किएको पनि हुनसक्छ, माथि आएको पनि हुनसक्छ। भर्खर त सेप्टेम्बर महिना भइरहेको छ, अक्टोबर आउनै बाँकी छ। अनि के खान चाहिँ ११ महिना पुरानो रिपोर्टको समाचार अहिले ब्रेकिङ हानिरहेका? आर्थिक पत्रकारिता पनि अचम्मकै छ, छैन त ?

2 thoughts on “आर्थिक पत्रकारिताको बिजोग : लेख्‍नेले नै समाचार नबुझे पछि…”

  1. Anil Shrestha says:
    September 17, 2023 at 12:25 am

    C bhaneko ta just pass ho ni haina ra?. Yesto just pass governor le NRB chalayepachi k nai expect garna sakincha ra

    Reply
  2. नबिन says:
    September 12, 2023 at 2:31 am

    मैले यो पत्रिका मागेको थिएँ। ग्लोबल फाइनान्सले बर्षौ पठाइदिएको थियो (फ्रि कपि).
    संसारभरि का बैंकहरुको जानकारी हुने गर्दछ। तर त्यो बाहेक यसको कुनै औचित्य देख्दिन। वास्तवमा यो पत्रिका पश्चिमाले आफ्नो नीति अनुरुप कसैलाई माथि कसैलाई तल देखाउन बनाएको मात्र देखिन्छ र यो पत्रिका कसैले पढ्छ जस्तो पनि लाग्दैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme