Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बालेनलाई सन्तान लाभको बधाई, तर मिडिया के भा’का ?

Posted on September 3, 2023September 3, 2023 by Salokya

नलगाइएको आगो सल्किएर हैरान छ अहिले मिडिया र सोसल मिडियामा। यसको केन्द्रमा छन् काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह। हिजो राति उनले फेसबुकमा लेखेको एउटा स्टायटस यति छिटो फैलियो कि मूलधारका मिडियाले आफ्नो हैसियत प्रष्ट देखाए।

बालेनले राति ९ बजेर २१ मिनेटमा ‘सिंहदबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार’ भनेर के लेखेका थिए, मिडिया त्यसलाई कपिपेस्ट गरी समाचार बनाउन हतारिहाल्यो।

अहिले यो स्क्रिनसट निकाल्दा १५ घण्टामा ३ लाख ६७ हजार रियाक्सन यो पोस्टमा देखिन्छ। ४० हजार त सेयर मात्रै छन्। १ लाख ८ हजार कमेन्ट छन्। मतलब यो पोस्ट छिट्टै भाइरल भएको प्रष्टै भयो।

मान्छेले उनकै फेसबुकमा यो पोस्ट हेरिसकेका थिए। अनि आए मिडिया। मिडियाले पनि यो बारे समाचार बनाउन थाल्यो। तर समाचारमा डिटेल केही थिएन। महानगरपालिकाको कुन गाडी कहाँ रोकियो, कहिले रोकियो, किन रोकियो, बालेनले किन सिंहदरबारमा आगो लगाइदिन्छु भन्नेसम्मको आक्रोश देखाउने स्थितिमा पुगे- केही पनि खुलेको थिएन।

यो नखुलेसम्म वा नखुलाएसम्म त के समाचार बनाई भो र। स्टायटसमा हामीले फेसबुकमै पढिसकेका थियौँ त।

केही मिडियाले समाचार बनाए- बालकुमारीबाट तीनकुनेतर्फ तीव्र गतिमा आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वरमा केही बेर रोकेको र त्यसमा बालेन पत्नी भएकोले त्यस्तो आक्रोश आएको। 

त्यसपछि आइतबार बिहानै ८ बजेर ८ मिनेटमा ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजले एउटा पोस्ट राख्यो-

त्यसपछि सुरु भयो नयाँ अनुमान- बालेनपत्‍नी प्रसव पीडामा इमर्जेन्सीमा अस्पतालमा कुदाउँदै गर्दा ट्राफिकले रोकेकोले बालेनको यस्तो आक्रोश आएको !

अनि मूलधारे मिडियाले रुटिन अफ नेपाल बन्दलाई स्रोत मानेर समाचार लेख्न थाल्यो- छोरीको बाबु बने बालेन शाह।

रुटिन अफ नेपाल बन्दले कहाँ जन्मिएको, कहिले जन्मिएको भन्ने कुरा खुलाएकै थिएन, मूलधारे मिडियाले अनुमान लगाएर समाचार बनाउन थालिहाल्यो। यो भर्खरै पब्लिक कम्पनी भए पनि अनलाइन चाहिँ प्राइभेटै रहेको नागरिकन्युजले लेखेको समाचार-

नागरिकले रुटिन अफ नेपाल बन्दले भन्दा अघि बढेर आज बिहान छोरीलाई जन्म दिएको ठहरै गरिदियो। तर कहाँ जन्मिएको मतलब कुन अस्पतालमा जन्मिएको भन्ने बारे चाहिँ लेख्न सकेन। अनुमान गरेको कुरामा कसरी लेख्न सक्नु ! न कसैलाई सोधेको छ, न कतैबाट पुष्टि हुन्छ। आज बिहान रुटिनेले लेखेपछि आजै बिहान जन्मिएको भन्ने परेछ मूलधारे मिडियाका समाचार लेखकलाई।

अब अर्को रिखी दाजुको अनलाइन रिपोर्टर्स नेपाल हेरौँ-

आफैले देखे जस्तो गरेर उसले लेख्यो- सुत्केरी व्यथाले च्यापेपछि अस्पताल हिँडेकी पत्नीको गाडी ट्राफिकले रोकेपछि….

त्यसमा पनि आइतबार छोरी जन्मिएको ठोकुवा गरिएको थियो-

तर यत्रो ठोकुवा गर्दा पनि कुन अस्पताल हो भनेर यसमा लेख्न सकेको देखिएन। न छोरी कहिले जन्मिएको भनेर कसैको कोट नै छ।

अहिले यो दुवै समाचार सुटुक्क हटाइएको छ। तर एक पटक राखिसकेको कुरा कहाँ हराउँछ र। यहाँ क्लिक गरी अर्काइभ हेर्नुस् रिखी दाजुको अनलाइनको समाचार। नागरिकले भने गलत समाचार लेखेकोमा माफी नमागी त्यसैमा नयाँ समाचार अपडेट गरेर जनता झुक्याउन खोजेको छ।

यी त दुई उदाहरण मात्र भए, अरु पनि थुप्रै छन्।

यही बीचमा रातोपाटीले समाचार ब्रेक गर्‍यो- एक साताअघि नै बालेनलाई पुत्री लाभ, आमा दुई दिनअघि डिस्चार्ज !

समाचारमा एक साता अघि नै दुई सन्तान जन्मिएकोमा एक जनालाई बचाउन नसकिएको र अर्का एआइसीयुमा रहेको उल्लेख थियो र यसमा अस्पतालको नाम मेडिसिटी पनि उल्लेख थियो।

त्यसैगरी सेतोपाटीले पनि ९ दिनअघि मेडिसिटी अस्पतालमा जन्मिएको समाचार दियो। 

मिडियामा यस्तो समाचार आउन थालेपछि रुटिन अफ नेपाल बन्दले पनि सुटुक्कै आफ्नो पुरानो पोस्ट सम्पादन गर्‍यो र केही दिनअघि जन्मिएको उल्लेख गर्‍यो-

पहिलो पोस्ट गरेको तीन घण्टाभन्दा बढी समयपछि उसले few days ago थपेको छ। अहिले त्यो पोस्ट हेर्दा बालेनकी छोरी हिजो जन्मिएको भन्ने अर्थ लाग्दैन, केही दिनअघि जन्मिएको भन्ने नै लाग्छ। तर यो मिडियामा खबर आएपछिको मात्र हो।

तर रुटिन अफ नेपाल बन्दलाई सूचनाको स्रोत मानेर कसैलाई नसोधी आइतबार बिहान छोरी जन्मिएको लेख्ने मूलधारे मिडियालाई के भन्ने ?

तीजको दर वा पार्टी गरेर फर्किएको भनेर लेख्नेलाई के भन्ने ?

बालेन त बालेन हुन्। उनको बोली यस्तै हो। उनले आफै यसको परिणाम भोग्ने छन्। केही बोलीबारे अदालतमा मुद्दा पनि परेको छ। उनलाई छाडिदिउँ, तर हाम्रा मिडिया चाहिँ के भएका? हावामा, हचुवामै समाचार लेखिदिने ?

मिडियाकै अनुसार एक सन्तान गुमाएकोमा बालेन शोकमा छन्। तर अर्को सन्तान लाभ पनि भएको छ।

अब बालेनले पनि सिंहदरबार जलाउन छाडेर सुत्केरीलाई खुवाउन रातो भाले पोल्दा राम्रो। भएको सन्तानको स्याहार सुसार गरुन्। सबको मंगल होस् !

3 thoughts on “बालेनलाई सन्तान लाभको बधाई, तर मिडिया के भा’का ?”

  1. Narayan Manandhar says:
    September 7, 2023 at 6:37 am

    Who said Balen did not delivered anything? At least, a baby girl is being delivered.

    Reply
  2. Subarna says:
    September 4, 2023 at 7:01 pm

    I always check your status for verification. I am big fan of you.

    Reply
  3. Pun says:
    September 3, 2023 at 3:16 pm

    cricket herna gayo tw raja

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme