Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब विदेशमा रहेका नेपालीले मतदान गर्न पाउँछन् त? के छ नयाँ मस्यौदामा?

Posted on August 29, 2023 by Salokya

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयकका बारेमा जानकारी दिँदै एउटा कार्यक्रम गरेपछि हिजोदेखि एउटा नयाँ बहस सुरु भएको छ। नयाँ कानुनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाबारे उल्लेख छ।

तर, हाललाई यो निर्वाचन आयोगले मस्यौदा मात्रै गरेको विषय हो। यसलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले आ-आफ्नो प्रक्रियामा लगेर पारित गर्न बाँकी छ। पारित भएपछि मात्रै त्यो कानुनका रुपमा लागू हुने हो।

त्यसो भए पनि मस्यौदाकै तहमा रहँदा आवश्यक भए संशोधन गर्नका लागि सम्बन्धित पक्षहरुले आवाज उठाउनु पर्छ। यो ब्लगमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने बारे मस्यौदामा कस्तो व्यवस्था गरिएको छ, त्यसबारे विस्तारमा लेख्ने प्रयास गरेको छु।

मतदानको अधिकारका लागि सबैभन्दा पहिला त मतदाता नामावलीमा नाम हुनुपर्‍यो। विदेशमा रहेका नेपालीको नामावली कसरी संकलन गर्ने त ?

मस्यौदाको बूँदा २२ मा विदेशमा रहेका व्यक्तिको विवरण सङ्कलन गर्नेबारे उल्लेख छ।

तर यो मतदाता नामावलीमा दर्ता नभएका विदेशम रहेका नेपाली नागरिकको मात्र हुनेछ। नेपालमा हुँदा नेपालमै मतदाता नामावलीमा नाम भएकाहरुको भने पर्दैन।

मस्यौदामा लेखिएको छ- (१) आयोगले मतदाताको नामावली तयार गर्ने प्रयोजनको लागि दफा ५ बमोजिम योग्यता पुगी मतदाता नामावलीमा नाम दर्ता नभएका विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्न सक्नेछ ।

अब यो विवरण कसरी संकलन हुन्छ त ? मस्यौदाका अनुसार सङ्कलन गर्न आयोगले विदेशस्थित नेपाली कुटनीतिक नियोग तथा अन्य निकायको सहयोग लिन सक्नेछ।

अन्य निकाय भनेको के हो, खुलाइएको छैन। शायद् एनआरएन जस्तो संस्था पो हो कि !

मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने प्रक्रिया, त्यस्तो नागरिकले उपलब्ध गराउनुपर्ने प्रमाण र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ लेखिएको छ। यसका लागि बाँकी कुरा तोक्न बाँकी छ।

मस्यौदाको बूँदा नम्बर २०४ मा विदेशमा रहेका मतदाताले मतदान गर्नेबारे उल्लेख छ।

आयोगले विदेशमा रहेका र मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुकको लागि तोकिएको नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्नेछ।

त्यसरी मतदानको व्यवस्था मिलाइएकोमा त्यस्ता मतदाताले मतदान गर्न पाउने छन्। तर केमा त ?

चुनाव त धेरैको हुन्छ, जस्तो वडाको, नगरपालिका वा गाउँपालिकाको, प्रदेश सभाको, प्रतिनिधिसभाको। प्रदेश र प्रतिनिधि सभामा त फेरि प्रत्यक्ष र समानुपातिक गरी दुई दुई वटा मत दिनु पर्ने हुन्छ।

निर्वाचन आयोगको मस्यौदामा के छ त व्यवस्था ?

मस्यौदामा प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मात्र तोकिए बमोजिम मतदान गर्न सक्ने व्यवस्था छ।

यस्तो मतदानको व्यवस्था मिलाउने तथा त्यसरी मतदान भएको मतपत्रको गणना सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ भनिएको छ। त्यो तोक्न बाँकी छ।

नेपालीहरु त संसारभरी छरिएर रहेका छन्, सबै ठाउँमा मतदानको व्यवस्था गर्न त सम्भव हुन्न होला। अनि के गरिन्छ त ? मतदान गर्ने व्यवस्था गरिएको मुलुकको विवरण नेपाल राजपत्रमा प्रकाशन गरिने रहेछ।

भोट चाहिँ कागजमै दिने हो कि अनलाइनबाट पनि हुन्छ त ?

मस्यौदाले अनलाइन भोटिङका लागि पनि ठाउँ राखेको छ।

लेखिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सूचना प्रविधि (अनलाइन) को प्रयोग गरी मतदान गर्दा वा गराउँदा मतदाताले गरेको मतदानको गोपनियता भङ्ग हुँदैन भन्ने कुरामा आयोग विश्वस्त भएमा त्यस्तो प्रविधिमार्फत उपदफा (२) बमोजिमको निर्वाचनमा मतदान गराउन बाधा पर्ने छैन।

विधेयकको मस्यौदा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।

यसमा केही सुधार गर्नुपर्नेछ भने सांसदहरुमार्फत् लबिङ गर्नुपर्ने बेला यही हो है !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme