ललिता निवास प्रकरणमा हिजो सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गर्यो। यो समाचार त तपाईँले हिजो मिडियामा देखिसक्नुभयो नै होला।
तर त्यो अभियोग पत्रमा खास कुरा के के छ भन्ने तपाईँलाई थाहा छ ?
तपाईँहरु मध्ये थोरैलाई मात्र यसबारे जानकारी होला। किनभने यो सब बुझिने गरी कसैले लेखेकै छैन। कसैले लेखेकै भए पनि तपाईँको नजरमा परेकै छैन। यो बुझाउने काम कसको हो त ? पक्कै पनि मिडियाको। अझ छिनछिनमा अपडेट गर्ने अनलाइन मिडियामा धेरैको आशा छ।
तर उनीहरुले के गरे?
यातना दिए।
कसरी ?
तपाईँहरुलाई याद होला, हिजो अधिकांश नाम चलेका अनलाइन मिडियाले एउटा कन्टेन्ट हाल्न होडबाजी गरेका थिए- के छ अभियोगपत्रमा ?
बाह्रखरी : ललिता निवास प्रकरणको अभियोगपत्रमा के छ ? (पूर्णपाठ)
न्युजअफनेपाल : ललिता निवास प्रकरणको अभियोगपत्रमा के छ ? (पूर्णपाठ)
इकान्तिपुर : यस्तो छ ललिता निवास जग्गा हिनामिना प्रकरणका ३११ प्रतिवादीविरुद्धको अभियोगपत्र
रातोपाटी : ललिता निवास प्रकरणको ८३३ पृष्ठ लामो अभियोगपत्रमा के छ ? (पूर्णपाठसहित)
ललिता निवास जग्गा प्रकरणमा प्रतिवादीहरूविरुद्ध लगाइएको ८३३ पेजको अभियोगपत्रमा के छ?
तपाईँलाई जान्न त पक्कै मन लाग्यो होला। अनि क्लिक गरी हेर्नुभयो पनि होला त्यस्ता मिडियामा।
तर क्लिक गर्ने बित्तिकै तपाईँले देख्नुभयो- त्यसमा त दुई प्याराग्राफमा यस्तो यस्तो अभियोगमा मुद्दा दर्ता भएको छ भनेर मात्रै लेखिएको छ।
अनि साथमा राखिएको छ एउटा पीडिएफ डकुमेन्ट इम्बेड।
पक्कै पनि केहीले के लेखेको रहेछ भनेर स्क्रोल गर्नुभयो होला। तर एक मिनेटसम्म स्क्रोल गर्दा पनि प्रतिवादीको नाम मात्र देखेपछि ह्या छाड्दिम भनेर हाँप्नुभो होला र टिकटकमा गएर कम्मर मर्काई मर्काई नाचेको वा ओ नो नो नो, हाहाहा….वाला छोटो भिडियो हेरेर रमाउनु भो होला। मन नपरे बूढी औँलाले थिचेर माथि धकेल्दिने छँदैछ।
त्यत्रो ८ सय ३३ पेजको डकुमेन्ट कहिले छिचोली भ्याउनु ? हद हुन्छ नि यातना दिने पनि।
हो, मिडिया त्यहीँ निर चाहिएको हो। त्यो ठूलो डकुमेन्ट भित्र रहेका जनताले जान्नै पर्ने कुरा सजिलो गरी बुझाइदिनलाई मिडिया चाहिएको हो।
तर, पत्रकार आफैलाई पढ्न अल्छी लागे जस्तो छ। त्यसैले महान्यायाधिवक्ताको कार्यालयको वेबसाइटमा गएर अभियोगपत्र डाउनलोड गरेर के के न डकुमेन्ट भेट्टाए जस्तो गरी आफ्नोबाट अपलोड गरेर समाचार शीर्षक बनाइहाले- ललिता निवास प्रकरणको अभियोगपत्रमा के छ ? (पूर्णपाठ)।
बस्, काम तमाम !
चासो भएका मान्छेले के रहेछ त नि भनेर एक क्लिक गरी हाल्छन्। पुगिगयो। मान्छेले बुझून् नबुझून् के मतलब !
अझ कुनै कुनै अनलाइनले त एम्बेड गरेपछि पाठकले देखेको छ कि छैन भनेर समेत वास्ता गरेका रहेनछन्। यो हेर्नुस् उदाहरण-
आफ्नो कम्प्युटरमा देखेसि सक्किगो, पाठककोमा देखियोस् कि नदेखियोस् कसले हेरोस्, हैन ?
दस्तावेजका लागि राख्नुभयो होला रे ल मैले मानेँ। भलै अबको १० वर्षपछि तपाईँको वेबसाइटका पुराना समाचार कता उड्ने हुन्, तपाईँलाई नै थाहा होला। दस्तावेजकै लागि राखे पनि त्यसको फलोअप पनि सरल, सहज पाठकले बुझ्ने भाषामा व्याख्या पनि त गर्न पर्यो नि हैन? पूर्णपाठ राखिसकेपछि फलोअप नै नचाहिने त होइन होला। कतिले पढ्छन् र त्यो ८३३ पेजको पूर्णपाठ।
त्यो रअ डकुमेन्टमा त सार्वजनिक गर्न जरुरी नभएका कुरा पनि त हुन्छन्। जस्तै यो अभियोगपत्रमा अभियुक्तहरुको नागरिकता नम्बर त गोपनीयताको विषय हो नि, त्यो किन सार्वजनिक गर्नु? कतिको त फोन नम्बर पनि होला, त्यो किन सार्वजनिक गर्नु।
अनलाइनमा अटेन्सन रिटेन्सन गर्न एकदमै गाह्रो कुरा हो। कसको फूर्सद हुन्छ र त्यो ८३३ पेजको डकुमेन्ट पढ्दै बस्न। तर त्यसो भन्दैमा पत्रकारले पनि अल्छी गर्नु त भएन नि। उनीहरुको त कामै समाचार बनाउनु हो। उनीहरुले पढेर त्यसबाट पाठकले थाहा पाउनै पर्ने विषय छानेर निकालेर पढ्न सजिलो हुने गरी पस्किए पो मान्छेले खोजी खोजी त्यो मिडियाका सामग्री पढ्न आउँछ। नत्र यत्रा मिडिया छन्, यत्रा सूचना छन्- तपाईँकैमा आउन केको खाँचो !
यति कुरा कहिले बुझ्ने होला हाम्रा मिडियाले ?
सम्बन्धित ब्लग
Explainer: The Lalita Niwas Scam’s Brush with Influence – Questions and Answers