Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : धरान पस्न लागेको र्‍याली भन्दै भाइरल भएको फोटो वीरगञ्जको पुरानो रथयात्राको

Posted on August 27, 2023 by Salokya

के तपाईँले पनि धरानमा भइरहेको गोरु काण्ड, त्यहाँ हुन लागेको र्‍याली अनि लगाइएको २४ घण्टे निषेधाज्ञाको समाचारका बीच धरान पस्न लागेको र्‍याली भन्दै साम्प्रदायिक सद्‍भाव भड्किने खालका क्याप्सन लेखी झण्डा बोकेका थुप्रै मानिस हिँड्दै गरेको फोटो सामाजिक सञ्जालमा देख्नुभएको छ?

यो फोटो भाइरल भएको छ शनिबार दिउँसोदेखि। पत्याउनु भयो?

पख्नुस्, फोटो सही हो। तर त्यसको व्याख्या गलत गरिएको छ। त्यो फोटो धरानको होइन वीरगञ्जको दुई महिना पुरानो गहवामाई रथयात्राको हो। यसबारे नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच पढ्नुस्।

  • जानु पाण्डे –

सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ जसलाई रातो रङ्गको झण्डासहित मानिसको ताँतीलाई ‘गौहत्या विरुद्ध धरान जाँदै गरेको र्‍याली’ भएको दावी गरिएको छ। गोरु मारेर खाएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको विरोधमा धरानकेन्द्रित  र्‍याली गर्ने योजना बनाएपछि यो फोटो भाइरल बनेको छ।

तर हाम्रो तथ्य जाँचले यो फोटो गलत दावीका साथ भाइरल भएको भेटिएको छ। यो फोटो धरानको नभई वीरगञ्जको पुरानो रहेको देखिएको छ।

के हो पृष्ठभूमि?

नेपालप्रेसका अनुसार गोरु काटेको आरोपमा विन्द्रा कुमार राई र राजन परियार साउन ९ गते पक्राउ परेका थिए। उनीहरु साउन २६ गते रिहा भए। नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा उनीहरुलाई सम्मान गरेका थिए। त्यो दिन त्यहाँ भोज पनि भएको थियो। त्यसको भिडियो भाइरल भएपछि घटनाको समर्थन र विरोधमा आवाजहरु आएका थिए।

गौहत्याको विरोधमा शनिबार धरानकेन्द्रित र्‍यालीको आह्वान गरिएको थियो। हिमालय टिभीका अनुसार र्‍यालीको पूर्वसन्ध्यामा धरानमा निषेधाज्ञा जारी भएपछि विभिन्न संस्थाले इटहरी बाहिर र्‍याली निकालेका थिए।

के छ भाइरल फोटोमा ?

राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) नाम रहेको ६३ हजार भन्दा बढी फलोअर रहेको फेसबुक ग्रुपमा शनिबार धरान लेखिएको यो फोटो पोस्ट भएको छ जसमा ९७६ रियाक्सन छ भने ११६ कमेन्ट र १३४ सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क। 

दुई लाख ३२ हजारभन्दा बढी फलोअर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक तथा शुभेच्छुक समूह नामको फेसबुक ग्रुपमा शनिबार प्रताप खड्का नामबाट दिउँसो साढे १ बजे यही फोटो पोस्ट भएको छ जसमा ‘गौहत्याविरूद्धको आन्दोलनमा धरान छिर्न तम्तयार सहभागी जनलहर’ लेखिएको छ। शनिबार रातिसम्म यो पोस्टमा २३ सय रियाक्सन, २७३ कमेन्ट र ३१७ सेयर रहेको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यस्तै स्वतन्त्र युवा अर्घाखाँची नामको फेसबुक अकाउन्टबाट शनिबार दिउँसो ‘राष्ट्रिय जनावर हत्याविरुद्धको आन्दोलनमा धरान छिर्न तम्तयार सहभागी जनलहर’ लेख्दै यही फोटो पोस्ट भएको छ जसमा २७ कमेन्ट र ३७ सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क। हेर्नुस् स्क्रिनसट 

यसैगरी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सूर्य थापाले पनि शनिबार दिउँसो यही फोटोसहित एउटा पोस्ट गरेका छन्। उनले फोटो कहाँको हो भनेर नखुलाए पनि ‘गाई काटेर मासु खान त के चोट पुर्‍याउन समेत कानुनले वर्जित गरेको छ’ लेख्दै सन्दर्भ उही भएको संकेत दिएका छन्।

हेर्नुस् अर्काइभ लिङ्क। 

के हो तथ्य ?

हामीले भाइरल भएको फोटोलाई इनभिड वी भेरिफाइमार्फत् रिभर्स इमेज सर्च गर्‍यौँ। त्यस क्रममा हामी वीरगञ्जबाट सञ्चालित अनलाइन ‘हमार वीरगञ्ज’ मा पुग्यौँ। सो न्युजपोर्टलमा २०८० असार ५ गते वीरगञ्जमा ऐतिहासिक रथयात्रा शीर्षकमा समाचार प्रकाशित छ। गहवामाई मन्दिर समितिले रथ यात्रा निकाल्दाको यो समाचारमा अहिले भाइरल भएको फोटो पनि राखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।

हामीले यही फोटो २० जुन २०२३ मा हिन्दुस्थान समाचार अनलाइनमा ‘बीरगंज में निकली गहवा माई की भव्य रथ यात्रा,जुटे हजारों श्रद्धालु’ शीर्षकमा पनि प्रकाशित भएको देख्यौँ। हेर्नुस् अर्काइभ लिङ्क। 

त्यसैगरी आपन वीरगंज नामको फेसबुक पेजले पनि अहिले भाइरल भएकै फोटो २० जुन २०२३ मा गहवामाई रथ यात्राको तस्बिर भन्दै राखेको छ। हेर्नुस् लिङ्क।  अर्काइभ लिङ्क।

तथ्य जाँच

दावी : गौहत्याविरुद्ध धरान छिर्न तयार र्‍याली भनिएको टप एङ्गलबाट लिइएको फोटो

दावीकर्ता : सामाजिक सञ्जाल

तथ्य : मिथ्या सूचना। यो फोटो धरान हिँडेको र्‍याली नभई वीरगंजको गहवामाई मन्दिर स्थापनाको ११ औँ वार्षिक उत्सवका अवसरमा २०८० साल असार ५ गते मंगलबार निकालिएको रथयात्राको रहेको हमार वीरगंज र हिन्दुस्थान समाचार न्युजपोर्टलमा प्रकाशित समाचारमा भएको फोटोले पुष्टि गर्छ। तसर्थ सो भाइरल फोटोलाई मिथ्या दावीका साथ प्रचार गरिएको हामीले निश्कर्ष निकाल्यौँ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme