शनिबार नेपाली अनलाइन मिडियाहरुमा एउटा होडबाजी देखियो, आत्महत्या प्रयासको समाचार कसले पहिला दिने, कसले बढीभन्दा बढी कुरा खुलाएर छरपष्ट पार्ने। उनीहरु को सबभन्दा असंवेदनशील हुने भन्ने दौडमा थिए।
जाने बुझेका पत्रकारहरुले नै आफ्नो अनलाइनमा यस्तो व्यवहार देखाएपछि झन् सामाजिक सञ्जालको भीडको त के कुरा गर्नु! उसै पनि एउटा सद्दे मान्छेलाई विचलित बनाउने गरी आएका हुन्छन् त्यता क्रिया प्रतिक्रिया!
‘आत्महत्या’ को निर्णय यसै पनि मान्छेले ठूलो पीडा सहनु परेपछिको परिणाम हुन्छ। तर कसैको यो व्यक्तिगत पीडादायी निर्णय जब मिडियालाई सनसनी बनाउने समाचारको विषय बन्छ, तब उसले झन् कति पीडा सहनु पर्ने हो- कसैले सोच्ला?
आत्महत्याको घटनालाई कसरी रिपोर्टिङ गर्ने भन्ने बारे नेपाली मिडियामा खासै बहस हुन्न। त्यसैले संवेदनशीलताको लगाम भन्दा सनसनी अनि लाइक, क्लिक र भ्युजको लोभले जे पनि गर्ने हदसम्म पुगेर कभरेज भएको कुरा हेर्न अस्ति भर्खरैको अभिनेता सारुक ताम्राकारको घटना हेर्दा हुन्छ।
अहो, त्यतिबेला के के मात्र आएन मिडियामा। मिडियामा नै फिल्मी कथा हेर्न/पढ्न बाध्य भइएको थियो। जिउँदा नातेदारको पीडा कसैले बुझेन। अन्ततः आज सारुकका पिताको पनि निधन भएको समाचार आएको छ।
आजको घटना चाहिँ प्रहरीले गौशाला २६ सांकेतिक नाम दिएको क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने केटीको हो। यसै पनि एक शक्तिशाली पीडकविरुद्ध आवाज उठाउँदाको पीडा उनले भोगिरहनु परेको छ। राज्यका जिम्मेवार पदाधिकारीहरु आरोपीलाई सम्मान गर्छन्, सोसल मिडियाको भीड पीडकलाई ‘राष्ट्रका गहना’ भनेर फुर्क्याइरहन्छ र उल्टै पीडितलाई लाञ्छित गरिरहन्छ। सोसल मिडियाको भीडमा अलिकति फरक विचार राख्नेको यसरी दोहोलो काढिन्छ कि वर्षौँसम्म समताको अभ्यास गरिरहेकाहरु समेत विचलित भइदिन्छन् भने बिचरी ती किशोरीको मनस्थिति कस्तो भयो होला!
मुद्दा बलात्कारको। तर अदालत आमाको जन्ममिति हेर्ने आदेश दिन्छ। पीडक पीडितको जन्मदर्ताको प्रमाण फ्यानले ल्याएर दिएको जवाफ दिन्छ। कानुनको नजरमा सबै समान हुनुपर्ने, उनलाई विशेष सहुलियत दिइन्छ।
शायद् यसैको पीडामा उनले केही गर्छिन्। तर त्यो पनि मिडियालाई मसला बन्छ। हेरौँ केही अनलाइनका समाचार-
एउटा अनलाइनले भने के के न भेट्टाए जस्तो गरी पीडितको सामाजिक सञ्जाल खोतलखातल पारेर त्यहाँबाट फोटो निकालेर अझ के के न एक्सक्लुसिभ भेट्टाएँ झैँ गरी दुई दुई वटा लाइनमा वाटरमार्क राख्न भ्याएको छ।
खै संवेदनशीलता ?
नेपाल विश्वमै धेरै आत्महत्या हुने मुलुकको सूचीमा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ- दैनिक औसत १६ जना। यो साँच्चै भयावह संख्या हो। तर यसलाई सम्बोधन गर्न प्रयास भने न्यून छ। यति धेरै आत्महत्या हुने मुलुकमा मिडिया पनि संवेदनशील बन्नु पर्ने हो, तर अरु समाचारभन्दा यस्ता समाचारमा संवेदनशील हुनुपर्छ भन्ने चेत नै नेपाली पत्रकारहरुमा देखिन्न।
हेर्नुस् डब्लुएचओले मिडिया प्रोफेसनल्सका लागि बनाएको रिसोर्स
बेलायत र आयरल्यान्डमा मानसिक स्वास्थ्यप्रति समर्पित एउटा संस्था Samaritans ले आत्महत्याको रिपोर्टिङ कसरी गर्ने भन्ने बारे मिडिया गाइडलाइन बनाएको छ। त्यसका केही बूँदा हाम्रा लागि पनि सान्दर्भिक हुनसक्छ।
१) समाचारमा आत्महत्याको तरिकाबारे उल्लेख नगर्नुस् जस्तै कोही झुण्डिएर मरेको आदि विशेष गरी हेडलाइनमा। अझ आत्महत्या भन्ने शब्द नै हेडलाइनमा नराखी अरु विकल्प सोच्नुस्।
नेपालमा यसको खासै पालना गरिँदैन। झुण्डिएर मरेको, विष खाएर मरेको- अझ कतिपय अवस्थामा विषको नामसमेत समाचारमा लेख्ने गरेको पाइन्छ।
२) नाटकीय, संवेदनशील फोटो वा भिडियो प्रयोग नगर्नुस्। यस्ता फोटो र भिडियोले मृत्युलाई ग्ल्यामराइज गर्छ र समस्याबाट गुज्रिरहेका अरुलाई प्रोत्साहन हुनसक्छ।
३) अत्यधिक कभरेज, स्टोरीहरुको प्लेसमेन्ट जस्तै फ्रन्टपेजमा, लिड स्टोरीमा नराख्नुस्। पुराना आत्महत्या समाचारहरु लिङ्क नराख्नुस्।
४) मृत्यु भएको व्यक्तिले छाडेको सुसाइड नोट वा त्यस्तै केही सन्देशहरुलाई नराख्नुस्। यसले सुसाइडलाई रोमान्टिसाइज गर्छ वा पीडित परिवार र साथीहरुलाई पीडा वा तनावमा पार्छ।
५) आत्महत्याको कारण बारे अनुमान नगर्नुस्, बढी सामन्यीकरण नगर्नुस्। आत्महत्या निकै जटिल विषय हो र अधिकांश समयमा कुनै एउटा घटना वा कारणले मात्रै कसैले आफ्नो ज्यान लिने निर्णय गर्दैनन्।
६) आत्महत्याका समाचारहरुलाई सोसल मिडियामा राख्दा विशेष ध्यान दिनुस्। यस्तोमा कमेन्ट खुला गर्दा आत्महत्याको प्रोत्साहन, ग्ल्यामराइज हुने हुनसक्छ। कमेन्टहरुलाई मनिटरिङ गर्न पनि सुझाव दिइएको छ।
तर नेपालमा कमेन्टहरुको खासै मनिटरिङ गर्ने काम हुँदैन, त्यसको असर चाहे जेसुकै होस्।
आउनुस् एक पटक हेरौँ यी अनलाइन मिडियाका समाचारहरुमा कमेन्ट कस्ता छन्-
नेपालप्रेसको यो समाचारमा फेसबुकमा आत्महत्या जस्तो संवेदनशील विषयलाई हाँसोमा उडाइएका कमेन्ट छन्। फेरि त्यस्तै काम गर्न दुरुत्साहन समेत दिइएको अवस्था छ।
अधिकांश कमेन्ट पीडितविरुद्ध लक्षित छ। आत्महत्याको समाचारमा २०५ जनाले हाहा रियाक्ट गरेका छन्।
अब अर्को अनलाइन मिडिया उकेराको फेसबुक चहारौँ-
माफ गर्नुस्, मैले थप मिडिया चहार्न सकिनँ।
अब तपाईँ आफै भन्नुस्, हामी जंगली समाजमा छौँ कि सभ्य समाजमा? एक पीडितले आफ्नो ज्यानै लिने प्रयास गर्दासमेत सहानुभूति नजाग्ने हामी कस्तो असंवेदनशील समाज बनाउँदैछौँ।
अनि मिडियाले यस्तो परपीडक प्रवृत्तिलाई बढावा दिने काम गर्ने ? मिडियाले यो घृणाको संस्कारलाई मलजल गरेको ठहरिएन ?
हो, यो सोसल मिडिया हो- यहाँ सबै किसिमका मानिस हुन्छन्। तर त्यस्तो घृणित संस्कारलाई प्ल्याटफर्म कसले दिइरहेको छ? तपाईँको मिडियाले !
कृपया ध्यान दिनुस्, नेपालको आचार संहिताले समेत सम्प्रेषण भएका टिप्पणी वा प्रतिक्रियाको जिम्मेवारी सम्बन्धित सञ्चार माध्यमकै हुने किटान गरेको छ। तपाईँले फेसबुक प्रयोगकर्ताले लेखे त मैले के गर्नु भन्न पाउनुहुन्न। तपाईँको मिडियाको प्ल्याटफर्म प्रयोग भएको छ। यसले तपाईँको फेसबुकको रिच र इन्गेजमेन्ट बढ्ला, तपाईँलाई फाइदै होला। तर समाजमा त घृणाको बीउ रोपियो नि। यसले कालान्तरमा फलाउँछ के त? थोरै पनि सोच्नु पर्दैन?
यस्तै असंवेदनशील प्रतिक्रिया आउने भएकैले आत्महत्याका समाचारहरुमा डिजिटल मिडियाले कमेन्टहरुमा विशेष ध्यान दिनुपर्ने गरी निर्देशिका विदेशी गाइडलाइन्समा बनाइएको छ।
हामीले पनि यसमा ध्यान दिने अबेला भएन र ?
कृपया तपाईँको धारणा तल कमेन्टमा लेख्नुहोला।