सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ जसमा एक महिला ठूलो हड्डी टोक्दै गरेको देखिन्छ। फोटोको साथमा ‘गोरु खाने धराने’ क्याप्सन लेखिएको छ।
केही दिनअघि धरानमा गोरु मारेर खाएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेकै पृष्ठभूमिमा यो फोटो पनि भाइरल भएको हो।
तर हाम्रो तथ्य जाँचमा ती महिलाको फोटो गलत दावीका साथ भाइरल भएको भेटिएको छ। यो फोटो एउटा पुरानो भिडियोको स्क्रिनसट रहेको, उनी धरानको नभई चितवनको रहेको देखिएको छ भने उनले गोरुको नभई राङ्गोको मासु खाएको त्यो दिन उनी सँगै रहेकाहरुले बताएका छन्।
के छ भाइरल फोटोमा ?
३ लाख २५ हजारभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले शनिबार आफ्नो फेसबुकमा ‘गोरु खाने धराने’ क्याप्सन लेख्दै यो फोटो पोस्ट गरेका थिए। हामीले बिहीबार यो स्क्रिनसट लिँदासम्म यो पोस्टमा ७ हजार ५ सय रियाक्सन थिए भने २ हजार ५ सय कमेन्ट र १ सय ११ सेयर देखिन्थ्यो।
अरु थुप्रै फेसबुक प्रोफाइल, पेज र ग्रुपहरुमा पनि यो फोटो र भिडियो भाइरल भएको थियो।
फेसबुकको एउटा ग्रुपमा पोस्ट गरिएको फोटो।
त्यसैगरी टिकटकमा पनि यो भिडियो गोरुको मासु खाएको दावी गर्दै भाइरल भएको थियो।
पौडेल दाइ नाम राखिएको यो टिकटक अकाउन्टमा राखिएको यो भिडियोमा ७ हजार ४ सय लाइक र ३ हजार ८ सय कमेन्ट देखिन्छ।
हेर्नुस् स्क्रिनरेकर्ड-
के हो पृष्ठभूमि ?
नेपालप्रेसका अनुसार गोरु काटेको आरोपमा विन्द्रा कुमार राई र राजन परियार साउन ९ गते पक्राउ परेका थिए। उनीहरु साउन २६ गते रिहा भए। नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा उनीहरुलाई सम्मान गरेका थिए। त्यो दिन त्यहाँ भोज पनि भएको थियो।
घटनाको समर्थन र विरोधमा आवाजहरु आएका थिए। यो विषय संसदमा पनि उठेको थियो।
यही पृष्ठभूमिमा ती महिलाको फोटो र भिडियो पनि भाइरल भएको हो।
के हो तथ्य ?
तनहुँ र चितवनकेन्द्रित भई पत्रकारिता गरिरहेको इच्छाकामनान्युज डट कमका कार्यकारी सम्पादक चित्रबहादुर गुरुङका अनुसार ती महिला धरानका नभई चितवनको भरतपुर निवासी हुन्। उनको नाम पूर्णमाया गुरुङ हो।
दुई वर्षअघि २०७८ साल फागुन ९ गते तनहुँको देवघाट गाउँपालिकास्थित पिपलटारमा भएको भोजमा यो भिडियो खिचिएको थियो।
गुरुङका अनुसार भात खुवाईको भोजमा परम्परा अनुसार रमाइलो गर्ने क्रममा राङ्गोको हड्डी सिङ्गै राखेर उमालेको मासु पस्किएको र जिस्किँदै रमाइलो मानेर मोबाइलमा भिडियो खिचिएको थियो।
हामीले उक्त भिडियोको मेटाडेटा हेर्न खोजेका थियौँ तर मोबाइलबाट डिलिट भइसकेको भनिएकोले सम्भव भएन।
तर हामीले भाइरल भएकै फोटो/भिडियो अनुसारको एउटा भिडियो पूर्णिमाको टिकटक आइडी @purnima_tamu2 मा सन् २०२२ को फेब्रुअरी २१ मा अपलोड भएको भेट्यौँ। जुन मिति विक्रम संवतमा हेर्दा २०७८ फागुन ९ मा नै देखिन्छ।
टिकटकको स्क्रिनसट। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्।
उनले टिकटकमा ‘माईता गाऊँ भोजमा🤣🤣#foryourpage #tiktoknepalofficial #chitwan_muser’ लेखेकी छिन्।
हामीले उनको फेसबुक प्रोफाइलमा खोज्ने क्रममा भाइरल भएको भिडियो र फोटोमा देखिएकै पहिरनमा उनले २१ फेब्रुअरी २०२२ मा भोज खाँदै गरेको फोटो र भिडियो पनि भेट्टायौँ।
यो भिडियो खिचेको बताउने पुष्पा गुरुङ भन्छिन्, त्यो भिडियो बनाएको मैले हो दिदीको। ‘दिदीले ल पुष्पा म यसरी खान्छु ल भिडियो बना त भनेपछि ल ल भनेर बनाउने मान्छे मै हो। अनि अहिले कहाँ दुई वर्ष (अघिको) कुरा अहिले आएर धराने गोरु के के त्यो केही होइन त्यो, राङ्गाको मासु खाएको हो, हामी सबै त्यहीँ हो, रमाइलो गरेको हो त्यति नै हो, अरु केही होइन।’
उक्त भोजमा उपस्थित विष्णुमाया गुरुङका अनुसार पिपलटारमा भदैको छोरीको पास्नीमा जाँदा यो भिडियो खिचिएको थियो। उनी भन्छिन्, ‘त्यहाँ मावलीहरुलाई रमाइलो गर्नका लागि भैँसीको खुट्टाहरु काटेर दिने चलन छ। रमाइलो गर्नलाई। हसाउँछ के। रमाइलोको लागि खाएको हो, नखाएको होइन हामी पनि छ। त्यत्रो अगाडिको कुरा अहिले आएर यस्तो भनेर यो त राम्रो भएन के।’
उनी थप्छिन्, ‘हाम्रो गुरुङहरुले भैँसी (राङ्गा) खाँदैन त, खान्छ नि। अनि धरानेले गोरु खायो भन्ने, ह्यान भन्ने त्यान भन्ने- त्यस्तो त राम्रो होइन नि त। गुरुङले गोरु खान्छ र ? हामी चितवनको मान्छे। हाम्रो भोजभतेरमा, छेवरमा भैँसी चल्छ, खसीबोका चल्छ, अरु त हाम्रो चल्दैन।’
भिडियो : चित्र सोल्टी न्हान्सी तमू
तथ्य जाँच
दावी : गोरु खाने धराने भन्दै एक महिलाले हड्डी चपाउँदै गरेको फोटो/भिडियो।
दावीकर्ता : पूर्व सचिव भीम उपाध्याय लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।
तथ्य : मिथ्या सूचना। यो भिडियो खिचेको बताउने पुष्पा गुरुङ, भोजमा सहभागी विष्णुमाया गुरुङका अनुसार भिडियो धरानमा नभएर चितवन नजिकै रहेको तनहुँको पिपलटारमा करिब दुई वर्षअघि पास्नीको भोजका क्रममा खिचिएको हो। उनीहरुको दावीलाई भाइरल भएकै जस्तो भिडियो पूर्णिमा गुरुङको टिकटकमा २१ फेब्रुअरी २०२२ मा अपलोड भएकोले समर्थन गर्छ। तसर्थ भाइरल भिडियो र फोटोलाई मिथ्या दावीका साथ प्रचार गरिएको निश्कर्ष हामीले निकाल्यौँ।