हिमालखबरले एउटा नयाँ स्तम्भ सुरु गरेको छ- त्यो रिपोर्ट। खोजमूलक तथा गहन रिपोर्ट जसले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा गहिरो छाप छोडे। त्यस्ता पत्रकारको कथा जसले रिपोर्टिङ मार्फत आफूलाई स्थापित गरे। पहिलो भाग सुधीर शर्माको २५ वर्ष पुरानो खोजमूलक समाचारको बारेमा छ। उनले एक्लै १५ दिन धादिङको दुर्गम उत्तरी हिमाली भेग पुगेर तयार पारेको रिपोर्ट ‘जहाँ विकास पछाडि छ, चर्च अगाडि’ शीर्षकमा प्रकाशित भएको थियो ‘काठमाडौँ टुडे’ म्यागेजिनमा। हिमालको रिपोर्टमा उनले त्यो रिपोर्टिङको अनुभव सुनाएका छन्। यो ब्लगमा उनी त्यतिबेला पुगेका धादिङका गाउँहरुमा अहिलेको स्थिति के रहेछ भनेर भर्खरैको जनगणनाको रिपोर्टबाट तुलना गर्ने प्रयास गर्नेछौँ भने उनको त्यतिबेलाको रिपोर्टिङ पनि जस्ताको तस्तै पढ्नेछौँ।
त्यतिबेलाको स्थिति
त्यतिबेलाको रिपोर्टिङमा उल्लेख भएका गाउँमध्ये एक थियो- सदरमुकाम धादिङवेंसीबाट दुई दिन पैदल हिडेपछि पुगिने झार्लाङ।
त्यतिबेलाको रिपोर्टिङमा लेखिएको छ-
२०४८ सालको जनगणनाअनुसार धादिङ्ग जिल्लाभरिमा बौद्धमार्गीहरूको संख्या ५५ हजारजति थियो भने इसाईहरू ६ हजारको हाराहारीमा मात्र थिए तर अहिले केही अपवादबाहेक झार्लाङ, रि र तिप्लिङ गाविसका सतप्रतिशत बासिन्दा इसाई धर्मावलम्बी भइसकेका छन् । यी तीनवटा गाविसको जनसंख्या जोड्दा नै ११ हजार नाघ्छ ।
यसबाहेक दार्खा’ गाविसमा कूल जनसंख्याको ५० प्रतिशत जति बासिन्दाहरूले इसाई धर्म अंगालेका छन् । गुम्दी, मार्पाक, सत्यदेवी, फुलखर्क र मैदी गाविसमा पनि इसाईहरू प्रभावशाली स्थितिमा छन् । सेर्तुङ र लापा गाविसका इसाईधर्मीहरूलाई चाहिं बौद्ध धर्ममै फर्काउने प्रयास भएको पनि पाइन्छ । समग्र स्थितिको अध्ययन गर्दा उत्तरी धादिङ ‘इसाई साम्राज्य’को नेपाली नमूनाको रूपमा विकसित भैसकेको छ ।
अहिले के छ स्थिति ?
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार धादिङ जिल्लाभरी बौद्धमार्गीहरुको संख्या ६६ हजार छ जुन २०४८ सालभन्दा ११ हजारले बढी हो। इसाईहरुको संख्या रिपोर्टिङमा ६ हजार हाराहारी मात्र लेखिएको छ। अहिले भने २४ हजार ५७८ छ, जुन ४ गुणाले बढी हो।
अब त्यतिबेला रिपोर्टिङ गरिएका गाउँहरुको स्थिति हेरौँ। रिपोर्टिङमा लेखिएको छ- अहिले केही अपवादबाहेक झार्लाङ, रि र तिप्लिङ गाविसका सतप्रतिशत बासिन्दा इसाई धर्मावलम्बी भइसकेका छन् ।
अहिले ती गाविसहरु नयाँ गाउँपालिकामा गाभिएका छन्। साबिकको ठेगानालाई हालको ठेगानामा रुपान्तरण गर्ने एउटा सरकारी वेबसाइट छ।
त्यस अनुसार झार्लाङ गाविस अहिले खनियाबास गाउँपालिकामा पर्छ। रिपोर्टिङमा दार्खा' गाविसमा कूल जनसंख्याको ५० प्रतिशत जति बासिन्दाहरूले इसाई धर्म अंगालेका छन् भनिएको छ। दार्खा पनि अहिले खनियाबासमा नै पर्छ। त्यस्तै रिपोर्टिङमा इसाईहरुको प्रभावशाली उपस्थिति भएको भनिएको सत्यदेवी गाउँ पनि अहिले यही गाउँपालिकामा पर्छ।
अहिले खनियाबासको स्थिति के रहेछ त ?
अहिले खनियाबासमा ६१ प्रतिशत बौद्ध र ३० प्रतिशत इसाई भएको तथ्याङ्कले देखाउँछ।
त्यसैगरी रिपोर्टिङमा उल्लेख भएको अर्को गाउँ हो रि।
अहिले रि गाउँ गंगाजमुना गाउँपालिकामा परेको छ। रिपोर्टिङमा उल्लेख भएको गुम्दी र फूलखर्क गाउँ पनि अहिले यही गाउँपालिकामा पर्छ। त्यहाँ अहिलेको स्थिति के छ त ?
त्यहाँ अहिले हिन्दू ४९ प्रतिशत, बौद्ध ३३ प्रतिशत र इसाई १८ प्रतिशत छन्।
त्यस्तै रिपोर्टिङमा उल्लेख भएको अर्को गाउँ हो- तिप्लिङ। अहिले यो गाउँ रुबिभ्याली गाउँपालिका अन्तर्गत परेको छ।
त्यहाँ अहिले के छ त स्थिति ?
हालको जनगणनाको रिपोर्ट अनुसार त्यहाँ भने बौद्ध धर्मावलम्बीको संख्या ५५ प्रतिशत र इसाईको संख्या ४२ प्रतिशत छ।
आउनुस्, अब सुधीर शर्माको २५ वर्ष पुरानो त्यो रिपोर्टिङ पढौँ।
खोज पत्रकारिता केन्द्रबाट काठमाडौ टुडेका लागि तयार पारिएको यो रिपोर्ट प्रकाशित मिति थियो भदौ १, २०५५। हिमालमा यो रिपोर्टिङको ओरिजिनल पीडीएफ राखिएको छ। मैले त्यसलाई अक्षरमा रुपान्तर गरी यता राखेको छु। तपाईँले तल पनि हेर्न सक्नुहुन्छ, यो लिङ्कमा क्लिक गरी पनि ठूलो बनाएर पढ्न सक्नुहुन्छ।