हरेक १० वर्षमा हुने जनगणना नेपालमा भयो २०७८ सालमा। तर त्यसको प्रतिवेदन २०७९ को चैतमा मात्र सार्वजनिक भयो। त्यतिबेला जातजाति, भाषा र धर्मसम्बन्धी तथ्याङ्क भने आएको थिएन। त्यो सार्वजनिक हुन भने अझै समय लाग्यो। २०८० साल जेठ १९ गते बल्ल यसको तथ्याङ्क हेर्न पाइयो।
सादा तथ्याङ्क हेर्नु र त्यसलाई विभिन्न विश्लेषण गरी चार्ट र म्यापमा राखेर हेर्नु फरक हुन्छ। तर एक्लैले त्यस्तो गर्न धेरै समय लाग्छ। यही बीच सीएमआर नेपाल-जर्नलिजम एकेडेमीको डेटा ड्रिभन जर्नलिजमको वर्कसप भयो। त्यही वर्कसपका सहभागीहरुले एनालाइसिसमा सघाएपछि यो ब्लगको सामग्री तयार भएको हो।
तथ्याङ्कले के देखायो भने नेपाल साँच्चिकै बहुजातीय, बहुभाषिक देश हो। सुदूरपश्चिमका केही जिल्लामा बाहेक नेपालका बहुसंख्यक जिल्लाहरुमा एउटै जातीय समूहको बर्चश्व देखिन्न। साँच्चिकै हाम्रो देश ‘सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली’ जस्तो रहेछ। यद्यपि कुन जिल्लामा कुन जातीय समूह अलि धेरै देखिन्छ भनेर प्रतिशतमा हिसाब निकालेर नक्शामा राख्दा देखियो यस्तो चित्र।
कृपया यसमा के ध्यान दिनुहोला भने, यो तथ्याङ्क हामीले राष्ट्रिय जनगणना २०७८ को वेबसाइटबाट लिएका हौँ। त्यसमा राखिएको तथ्याङ्क अनुसार नेपालमा जातजातिको संख्या १४२ छ। तथ्याङ्क विभागको वेबसाइटबाट तथ्याङ्क हेर्न यहाँ क्लिक गर्नुहोला।
केही रोचक तथ्याङ्क यस्ता छन्-
क्षेत्री : कूल संख्या र धेरै जिल्लामा बाहुल्यता
जनगणनामा कूल संख्याको हिसाबले क्षेत्रीहरु सबैभन्दा धेरै छन् भने पहाडे ब्राह्मण दोस्रो संख्यामा पर्छ। क्षेत्री कूल जनसंख्याको १६.४५ प्रतिशत छन् भने पहाडे ब्राह्मण ११.२९ प्रतिशत। तेस्रोमा बल्ल मगर (६.९ प्रतिशत) र चौथोमा थारु (६.२ प्रतिशत) रहेका छन्।
तर जब हामी देशका ७७ वटा जिल्लामा गएर हेर्छौँ, क्षेत्री नै धेरै जिल्लामा बहुसंख्यामा रहेको देखिन्छ। क्षेत्रीहरु कूल २७ जिल्लामा बहुसंख्यामा छन्। त्यसमा पनि ११ जिल्लामा त आधाभन्दा बढी (५० प्रतिशतभन्दा बढी नै) रहेका छन्। नेपालका अन्य जातीय समूहको यस्तो संख्या विरलै भेटिन्छ।
सबभन्दा बढी क्षेत्री बझाङमा (६९ प्रतिशत) छन् भने सबभन्दा कम सिराहामा ०.८२ प्रतिशत छन्। हेर्नुस् म्यापमा-
काठमाडौँ लगायत ८ जिल्लामा पहाडे ब्राह्मणको बाहुल्य
रोचक तथ्याङ्क काठमाडौँको छ। काठमाडौँ जिल्लामा पहाडे ब्राह्मणको संख्या धेरै छ।
काठमाडौँ जिल्लामा मुख्यतः तीन जातीय समूहको बाहुल्य छ- सबैभन्दा धेरै पहाडे ब्राह्मण भइ हाले, दोस्रोमा क्षत्री नै छन्। उनीहरुको संख्या २०.७८ प्रतिशत छ। तेस्रोमा नेवाः (नेवार) रहेका छन्, प्रतिशतका हिसाबमा १९.१६।
उपत्यकाका तीन जिल्लामध्ये ललितपुर र भक्तपुरमा भने नेवारहरुको संख्या बढी छ।
काठमाडौँमा पनि काठमाडौँ महानगरपालिकाको मात्र हिसाब गर्ने हो भने फेरि नेवारहरुकै संख्या बढी (२४.५९ %) छ जहाँ अझै पनि पहाडे ब्राह्मण नै दोस्रो संख्यामा (२१.६३ % देखिन्छन्)।
काठमाडौँसहित अर्घाखाँची, पर्वत, झापा, कास्की, चितवन, रुपन्देही, स्याङजा त्यस्ता जिल्ला हुन् जहाँ पहाडे ब्राह्मण संख्यामा धेरै छन्। हेर्नुस् म्यापमा-
मगर : ८ जिल्लामा बाहुल्य
नेपाल भर कूल जनसंख्यामध्ये तेस्रोमा रहेका मगरहरुको संख्या ८ जिल्लामा धेरै छ। त्यसमा पनि पाल्पामा त मगरहरुको संख्या आधाभन्दा धेरै (५३.०३ प्रतिशत) नै छ। रुकुम पूर्वमा पनि झण्डै आधा (४९.४४ प्रतिशत) छ।
त्यसबाहेक रोल्पा, म्याग्दी, प्युठान, बाग्लुङ, नवलपरासी (पूर्व) र तनहुँमा अन्य जातीय समूहभन्दा मगर बहुसंख्यक छन् भने गुल्मीमा थोरै संख्याले मात्रै क्षेत्रीभन्दा मगर दोस्रो संख्यामा रहेका हुन्। त्यहाँ क्षेत्री २२.७७ प्रतिशत छन् भने मगर २२.२८ प्रतिशत। हेर्नुस् नक्शामा-
थारु : तीन जिल्लामा बाहुल्य
थारुहरुको तीन जिल्लामा बाहुल्य देखिएको छ। ती मध्ये बर्दियामा थारुको संख्या आधाभन्दा धेरै (५०.६६ प्रतिशत) छ। त्यसैगरी कैलाली र नवलपरासी पश्चिममा पनि उनीहरुको संख्या अन्य जातीय समूहभन्दा धेरै छ भने दाङमा थोरै संख्याले थारुको संख्या क्षेत्रीभन्दा कम रहेको छ। त्यहाँ क्षेत्री २६.६५ प्रतिशत र थारु २६.४३ प्रतिशत रहेका छन्।
तामाङ : ६ जिल्लामा बाहुल्य
त्यसैगरी तामाङहरुको ६ जिल्लामा बाहुल्य देखिन्छ। त्यसमध्ये रसुवामा तामाङको संख्या आधाभन्दा धेरै (६८.८१ %) छ। मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुली र धादिङ त्यस्ता जिल्ला हुन् जहाँ तामाङको संख्या अन्य जातीय समूहभन्दा धेरै छ।
राई ४, याकथुङ/लिम्बु ३ जिल्लामा बाहुल्य
राईहरु खोटाङ, भोजपुर, इलाम र सोलुखुम्बुमा अन्य जातीय समूहभन्दा बढी छन्। त्यसमध्ये सोलुखुम्बुमा राईले शेर्पालाई थोरै संख्याले उछिनेको देखिन्छ। त्यहाँ राई १७.३७ प्रतिशत र शेर्पा १७.०५ प्रतिशत रहेका छन्।
त्यसैगरी याकथुङ/लिम्बु पाँचथर, ताप्लेजुङ र तेह्रथुम गरी तीन जिल्लामा अन्य जातीय समूहभन्दा बढी छन्।
तराईमा यादव र मुसलमान बहुसंख्यक
सप्तरी, सर्लाही, धनुषा, सिराहा र महोत्तरी गरी पाँच जिल्लामा यादव अन्य जातीय समूहभन्दा बढी छन् भने मुसलमानको संख्या सुनसरी, बारा, बाँके, पर्सा, कपिलवस्तु, रौतहटमा बढी छ। मुसलमानलाई जनगणनामा जातीय समूहकै रुपमा गणना गरिएको छ। (नक्सा छिट्टै अपडेट हुनेछ-प्रतीक्षा गर्नुस्)
नेवार दुई जिल्लामा बहुसंख्यक
नेवारहरु काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र भक्तपुरमा अन्य जातीय समूहभन्दा धेरै छन्। त्यसमध्ये भक्तपुरमा सबैभन्दा धेरै ३५.६ र ललितपुरमा २९.५७ प्रतिशत रहेको देखिन्छ। (नक्सा छिट्टै अपडेट हुनेछ-प्रतीक्षा गर्नुस्)