के तपाईँले कहिल्यै कतै घुस खुवाउनु भएको छ? कस्तो अवस्थामा घुस खुवाउनु पर्यो? कहाँ खुवाउनु पर्यो? नेपालको कुन क्षेत्रमा बढी भ्रष्टाचार छ जस्तो लाग्छ?
यो प्रश्न १३ वर्षअघि माइसंसारमा सोधिएको थियो। त्यतिबेला यसको जवाफमा १२५ वटा प्रतिक्रिया आएका थिए। आउनुस् हेरौँ त्यतिबेला कस्ता घुस अनुभव पाठकले सुनाएका थिए, छानिएका केही अनुभव हेरौँ र मनन् गरौँ- १३ वर्षमा केही परिवर्तन भयो कि भएन ?
प्रतिक्रिया १ :
स्थान: विराटनगरको मालपोत – एउटा सानो जग्गाको काम गर्नु पर्ने थियो। अफिसभित्र गएर सोधेँ के गर्नु पर्छ भनेर। उसले ढोकानिर उभिएको एउटा लुते लुते मान्छे लाइ देखाइदियो। अनि त्यसले मलाई बाहिर लग्यो र एउटा निवेदन लेख्न थाल्यो।
मैले भनेँ, खै म आफै लेख्छु निवेदन।
उसले भन्यो, तपाइँले लेखेको निवेदन चल्दैन यहाँ।
मैले सोंचे, यसले १०-१५ रुपैयाँ त लेला नि। ठीकै छ।
लेखिसकेपछि उसले भन्यो, ‘तपाईँ यहाँ बस्नुस्, म तपाइको काम २० मिनेटमा गर्दिन्छु।’
म भने उसको पछि पछि लागेँ। ४-५ वटा कोठा घुमेपछि काम सकियो। अनि बाहिर आइयो।
ल दुई सय निकाल्नुस् त भन्न थाल्यो।
के को दुई सय? मैले भनेँ
मैले यत्रो काम यति छिटो गर्दिए नि त। तपाईँ आफै भए तपाइँको काम ३ दिन लाग्थ्यो भन्यो।
मैले तपाईँलाई अह्राएको थिइनँ, म तपाइँलाई धेरैमा १५ रुपैयाँ दिन सक्छु निवेदन लेखे बापत भनेँ मैले। उसले भन्यो, ल दुई सय नदिइकन कसरी जाँदो रैछ्स तँ यहाँबाट हेरुँ भन्न थाल्यो।
वरपरका अरु लेखनदासहरु पनि दिनु भाइ दिनु भन्न थाले। मैले १५ रुपैयाँ निकालेर फाल्दिएँ तेस्कोतिर अनि हिँड्न थालेँ| ऊ अनि अरु दुई जना जति आए मलाई छेक्दै फेरि दुई सय नै दिनु भन्न थाले। मैले सारो कराएर म तँलाई त्यो भन्दा धेरै दिन्नँ, तेरो बाउको अफिस हो यो ? यो त सरकारी अफिस पो हो त ? खै के के भने के के , बाटो हिँड्ने मान्छेहरु पनि भेला भए। झगडा भएको देखेर रिक्सावाला हरु हेर्न थाले। एक छिन जात्रा जस्तो भो। अलि अप्ठ्यारो लागेछ क्यार, अलि बिस्तार बोल्न थाले। म भने खुरुखुरु बाहिर निस्केर रिक्सा चढेर आफ्नो बाटो लागेँ।
प्रतिक्रिया २ :
टिसी गरेर यूरोप भित्र छिरेको। शरणार्थी मागे। केस फेल भयो। नयाँ ग्रीन कार्डको लागि निवेदन दिनु थियो। नयाँ अर्कै पहिचानको पासपोर्ट चाहियो। पुरानो पासपोर्ट नागरिकताबाट नयाँ पासपोर्ट लिन्छु भन्दा पहिले शरणार्थी केस गरिसकेको। यो खुट्टामा बन्चरो हाने सरह गलत। अरु केही उपाय नपाएर राजदूतावासको कर्मचारीलाई १५०० यूरो घुस मनिग्राम गरी पठाइदिएँ।
नयाँ नाम थर ठेगाना राखेर पासपोर्ट बनाएर पोस्ट गरेर राजदूतावासले पठाइदियो। नक्कली पहिचान पासपोर्टबाट ग्रीन कार्ड बनाएँ। हतार मा थिएँ। यूरो घुस दिने कुरा नगरेसम्म नागरिकता छैन। पुरानो पासपोर्टको फोटोकपी खोई किचकिच गर्थ्यो। टाढा बसेकोले दूतावाससम्म जान पनि टाढा। खल्तीमा भिसा थिएन। फोन गर्दा नै ४०० यूरो खर्च भै सक्यो । फोन गरे पनि मिल्दैन भनेर फोन काटी दिन्थे। नेपालबाट मगाउँ भन्दा यहा हतार भै सकेको थियो। के गरौँ १५०० यूरो बाध्यताले घुस दिनु पर्यो।
प्रतिक्रिया ३ :
घुस दिएरै मालपोत चाबहिलको कर्मचारी घरमै बोलाएर आँखा नदेख्ने ससुरो बाऊलाई झुक्याएर दरखास्त गराई घर जग्गा नाम सारी गराएको छु।
शान्ति सुरक्षाको निवेदन परेकोले कारबाहीमा पर्ला भनेर वडा पुलिसको इन्स्पेक्टरलाई घुस खुवाएको छु।
प्रतिक्रिया ४ :
राहदानी बनाउन जाँदा मैले जिल्ला प्रशासन सुनसरीको कर्मचारीलाई घुस दिएर एकै दिनमा नागरिकता अनि पासपोर्ट लिएको छु। सो बेला मेरो नागरिकता बनाउन भोलि भोलि भन्दै १५ दिनसम्म पनि काम भएन। अनि पासपोर्टको लागि आवेदन दिएको ३ दिन पछि मात्रै मिल्थ्यो। तर ३०० रुपैयाँ दिने शर्तमा १ घण्टा मानै मेरो पासपोर्ट तयार भएर पाएँ। तर म पनि के कम र ३०० मा मिलाएको कुरो। अन्त्यमा ५० रुपैयाँ तिर्दा पनि भयो। के गर्ने आफ्नो कम बनी गयो कसले दिने ३००। ५० रुपैयाँमा हकिम नमानेको भए म पत्रकार बोलाउने विचारमा थिएँ। तर मान्यो।
प्रतिक्रिया ५ :
१) भन्सार विभाग – रुपैयाँ १३,५०० (इन्डियाबाट केमिकल ल्याउँदा – त्रिपुरेश्वरको रसायन विभागको हाकिमले चिठी बनाउन खायो)
२) कम्पनी विभाग – रुपैयाँ ४,३०० (कम्पनी दर्ता गर्न जाँदा भक्तपुरको घरेलु विभागको हाकिमले खायो)
३) मालपोत कार्यालय – रुपैयाँ २२०० भैरहवा मालपोत कार्यालयका हाकिमले खायो।
४) बैङ्कका हाकिम – रुपैयाँ १,००० विशालबजार नजिकै भएको SBI Bank का manager ले खायो
यी सबै हाकिमहरू हुन्, कसले के गर्न सक्छ ? लेखेर मात्र के? सिस्टम नै खराब भएपछि।
प्रतिक्रिया ६ :
पासपोर्ट बनाउँदा १००० घुस ख्वाएको छु। १००० रुपैया दिएपछि त हुन्न भनेको काम पनि भइछाड्यो।
प्रतिक्रिया ७ :
मेरो अनुभव:
१) २०५१ सालमा नागरिकता बनाउँदा रामेछाप जिल्लामा रु ५ |-
२) २०५६ तिर ठमेलमा one way मा motorcycle चलाउँदा रु ५०|-
३) २०६० साल तिर पाटनबाट संखमुल जाने पुलमा driving license बोक्न बिर्सिएकोले रु १००|-
४) २०६३ सालमा आफ्नै जग्गा रोक्का गर्दा चाबहिल मालपोतमा रोक्का फाँटकी कम्प्युटर चलाउने मोटीलाई रु ५०|-
धेरै ठाउँमा गौदान गरिएछ।
प्रतिक्रिया ८ :
ओह हजुर त्यस्तो घुस त कति हो कति ! मैले स्याङ्ग्जामा राहदानी बनाउँदा बीस हजार घुस दिएको छु। किनकि मेरो उमेर मिलाउनु परेको थियो। एक वर्ष उमेर मिलाए बापत दस हजार घुस लिने चलन रहेछ। अझै उसैको हप्की-दप्की खानपर्ने। यस्तै छ हाम्रो देशमा। सानातिना त कति हो कति, सम्झेर साध्य छैन नि।
प्रतिक्रिया ९ :
मैले घुस आफ्नो घर बेच्ने बेलामा काठमाडौँको मालपोतमा खुवाएको छु। दिन्नँ भनेर बसेको थिएँ, सबैको फाइल हेर्छ, मेरो हेर्दैन। पैसा दिन्छु भनेर आफ्नो कोड शब्दमा मेरो लेखनदासले भने पछि बल्ल पुलुक्क हेर्यो र फाइल समात्यो। आखिरमा हार खाएर दिनै पर्यो। हामी त बोल्नै नहुने, कस्तो अफिस रहेछ बा! के गर्नु र त्यो बेला बन्दुक हातमा भएको भए …… ! त्यस्तो भएको थियो मलाई।
प्रतिक्रिया १० :
ललितपुर जिल्ला अदालतका सुब्बादेखि खरिदार जुन एकै टेबलमा बसेका हुन्छन्, उनीहरूलाई प्रत्येक तारिख या पेसीको दिन चिया खाजाको लागि भनेर पैसा दिनै पर्ने रे। रु५० ले हुँदैन भनेर मुखैले हरियो (रु१००) दिनुस् न भनेर माग्ने गर्छन् र मैले यसरी हरेक महिना (कुनै बेला १५ दिनमा) २ जनालाई रु १००- १०० को दरले ४ वर्षसम्म दिएकी छु। जुन मेरो मजबुरीको फाइदा लिएका थिए ती कर्मचारीहरूले। पेसीको दिन त झन् उनीहरूलाई रु ५०० हैन रु १००० सम्म पनि मागेर लिने गर्थे। मसँग यत्रो पैसा छैन भन्दा कसैसँग मागेर अफिस सकेपछिको टाइममा दिनुस् नत्र तपाईँको मुद्दा ढिलो फैसला हुन जान्छ भन्थे। यी कारणले मानसिक पीडामा गुज्रिनु पर्यो।
यसैगरी त्रिभुवन एयरपोर्टका लगेज तौलने कर्मचारीहरूको मिलेमतोमा जाबो ३ केजी बढी भएकोमा $ २० घुस माग्दा मैले रु ३००० दिनु परेको थियो। यसलाई बाध्यता भन्ने कि के भन्ने।
नेपाल हुलाक सुन्धाराको पार्सल शाखाको बिल बनाउने कर्मचारीहरू त झन् डाँका हुन्। एक वर्ष अघि जाबो १ जोर जुत्ता र ४ वटा चार्जेबल ब्याटरीको लागि रु १५०० घुस माग्दा रु १००० दिनु पर्यो। बिल भने जम्मा रु१२० मात्र थियो। नदिउँ भने यस्तो बेटरीहरु पार्सलमा पठाउन पाइँदैन भनेर अनेक डर देखाएर मजबुर पारेको थियो।
प्रतिक्रिया ११ :
मेरो श्रीमान् विदेशी नागरिक भएको हुनाले बिहे दर्ताको प्रमाण पत्र लिन जाँदा काठमाडौँ सिडिओ अफिसमा १००० घुस बाध्य भएर खुवाउन परेको छ। मधेसी मुलका खरिदार थिए पेपर तलमाथि गराउने। उसले लड्डु खाने पैसा दिनुस कि दिनुस भनेर हैरान पारे। तेही दिन हामीलाई दमौली जानु पर्ने थियो। अनि उसले पैसा नपाई काम गर्देला जस्तो भएन। तेसैले १००० दिएर हिँड्नु पर्यो। तेही बेला पुलिस अफिसको पनि पत्र चाहिने रैछ। पुलिस असई रैछन सतुंगल पुलिस चौकीको बिहे सम्बन्धि काम गर्ने। ऊ पनि मधेसी मूलको नै थिए। उसले पनि भोज खाने पैसा ले भनेर हैरान पारेका थिए। तर मेरो दाइ पुलिस डिएसपी हुनुहुन्थ्यो। पछि दाइले १ फोन कल गर्दिनु भयो। अनि बल्ल डरायो त्यो मान्छे र पैसा दिनु परेन।
प्रतिक्रिया १२ :
I had to pay 5000 rupees get my Nagrikta.
Even though my father and grandfather already had Citizenship of Nepal i was asked to pay because they thought a Muslim cant be citizen of Nepal. Anyway after paying 5000 rupess they gave me the card. LOL
प्रतिक्रिया १३ :
In 2008, i was about to leave for Sydney from Kathmandu intl Airport. I was waiting the the flight time in waiting room, one staff came and asked me 1000Rs. I asked why? he replied that he helped me to pass my luggage.
प्रतिक्रिया १४ :
कुरो निकै वर्षअघिको हो। तर घुसकै हो। म झापामा ड्राइभिङ सिक्न गएको थिएँ। १० हजारमा लाइसेन्सको ग्यारेन्टी दिएको थियो। १ महिनामा १० घण्टा जति सिकिएछ। पछि ट्रायल दिन गएँ। गाडीको गियर त राम्रोसित थाहा भएको थिएन। मैले ट्रायलमा सबै भाटाहरु लडाएँ। रोडको टेस्ट नै भएन। तर केही छिनपछि लाइसेन्स हातमा आयो। अब यसलाई के भन्ने ? मैले त घुस दिएको थिइनँ तर उनीहरुको लेनदेन रहेछ।
अर्को धनकुटामा पासपोर्ट बनाउन गएको थिएँ। २५ सय लाग्यो तर मेरो काम रोकिदियो। १० दिनपछि आउनु भन्यो। एक जनाले भन्यो- अहिले लाने भए ५ सय लाग्छ म हाकिमलाई भन्छु। मैले पनि सोचेँ, अर्को चोटी आउँदा धेरै खर्च लाग्छ बरु लिएरै गएँ। तर त्यो समयमा अहिलेको जस्तो तर्साउनु पर्ने थिएन, डराउनु पर्ने थियो , तेसैले बाध्य नै भइयो।
प्रतिक्रिया १५ :
I gave 7000 to finish my work in ward office -7 chabahil 3yrs before .. Before money they said it’s impossible to do my work but after money it’s just finished in one hour.. My work was legal but they just gave me unneccessary hurdle …
प्रतिक्रिया १६ :
२०६२ सालमा जगदम्बा स्टिलको कर्मचारीलाई मैले लगभग एक लाख रुपियाँ घुस खुवाउन बाध्य भएको थिएँ। कुरो के थियो भने जसले जगदम्बा स्टिल प्रयोग गर्छ, त्यस घरधनीलाई घर नक्सा बनाएको पैसा नि:शुल्क गर्ने भन्ने प्रचार गरिएको थियो। हामी बिर्तामोडमा घर नक्सा बनाउने काम गर्थ्यौं। हामीले पनि जगदम्बा स्टिलको न्युरोड अफिसमा त्यस्तो सम्झौता गर्यौँ। बिर्तामोड क्षेत्रका घरधनीलाइ प्रचार गरी धमाधम नक्सा बनायौँ। ती नक्साको फोटोकपी गरेर जगदम्बा स्टिललाई पठाउँदा त्यसका कर्मचारीले हामीलाई १ लाख ७५ हजार बुझिलिएँ भनेर सही गर्ने भए ७५ हजार दिने, नभए नदिने भने पछि हामी साह्रै अप्ठेरोमा पर्यौँ। सही नगरौँ, घरधनीहरुलाई आश देखाइहालियो, आफूले पनि नक्साहरु बनाइहालियो। बल्ल बल्ल ७५ हजार हात पारेर चित्त बुझाउनु पर्यो। जगदम्बा स्टिल्स को त्यो प्रचारमा लागेर बेकारमा घाटा र दु:ख मात्रै पाइयो। घुस खुवाएर आफू पनि बिटुलो भइयो।
प्रतिक्रिया १७ :
पासपोर्ट बनाउन विराटनगर जाँदा सारै नराम्रो दुःख पाउनु परेको थियो मैले। रु एक हजार घुस मागेको थियो एउटा दलेले। मलाई पासपोर्ट नदिनु भनेर भित्र भनेछ,त्यहीँको कर्मचारीले नराम्ररी झुलायो। तर म कुनै हालतमा पनि घुस दिन्न भनेर सिमराबाट विराटनगरसम्म पाँच पटकको यात्रा खर्च,खाना खर्च,शारीरिक दुःख सहेर पनि घुस नदिई पासपोर्ट निकालेँ नि। त्यतिखेर बडो खुसी लागेको थियो र अहिले पनि। तर विचार गर्नुस् त मेरो पाँच पटकको विराटनगरसम्मको यात्रा जस्तो सबैले सहन सक्लान्?अनि मैले यात्रामा गर्नु परेको थप खर्च नि ? अन्य अवस्थामामा म फेरि त्यस्तो दुःख सहन सक्छु जस्तो लाग्दैन र घुस दिन बाध्य हुनु पर्छ। बिचरा हामी। चेतना भएर पनि घुस खुवाउन बाध्य छौँ।
तपाईँको पनि त्यस्तै कुनै अनुभव छ कि ? १३ वर्षपछि कति परिवर्तन भयो त ?
N C C बैंक को statement निकाल्न मैले पनि घुस दिएको छु . ४० लाख balance देखाउन परो . मेरो १० लाख थियो . बैंक manager ले १० हजार खायो . manager को नाम परियार हो जस्तो लाग्छ .
आर्को चै भरतपुर दुर संचार बाट फोन निकाल्दा हो . Koirala भन्ने ले ३००० खायो . त्यो कोइराला के भरतपुर १२ मा बस्ने . कस्तो नचिनेको हो तेस्तो घुस्याहा लाई पनि .
तर घुस चै एक आर्थ मा राम्रो हो है . India मा घुस दिन हुने कि नहुने भनेर एक research भएथ्यो . तेस्मा घुस दिनु राम्रो हो किनकि काम छिटो हुन्छ भनिएको छ है . BBC ले भनेको हो मैले Internet मा देखेको चै होइन है .