Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपसभामुखको फोटो काण्ड : पत्रकार ‘बायस’ भएपछि बोल्दै नबोलेको कुरा समाचारमा

Posted on July 2, 2023July 2, 2023 by Salokya

संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाइन्।

संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना

‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन्।

शनिबार अनलाइन मिडियाहरु हेर्नुभएको भए यस्तो लेखिएका समाचारहरु पनि पक्कै पढ्नुभयो होला। विश्वास पनि गर्नुभयो होला। तर खास कुरा त्यस्तो होइन रहेछ। उपसभामुखले ‘उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ’ भनेर भनेकै रहिनछिन्। उल्टो पत्रकारहरु पो बायस भएर कोट (भनाई) नै यता-उता गरेका रहेछन्। कसरी ? आउनुस् बुझौँ।

सुरुमा उपसभामुखले के बोलेकी थिइन्, त्यो हेरौँ।

उनले बोलेको पूरै भाषण ‘उपसभामुख इन्दिरा रानाको सचिवालय – Secretariat of Indira Rana’ नामको फेसबुक पेजमा अपलोड भएको छ। त्यसमध्ये समाचारमा उल्लेख भएको अंशलाई काटेर मैले माथि राखेको छु, क्लिक गरेर हेर्न सक्नुहुन्छ।

उनले भनेकी छिन्-
अस्ति म सिंगापुरमा गाको थिएँ। त्यो डब्लुटिओको कन्फ्रेन्समा। त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ।
त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लाउँछ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ के हरेक । हामीमा खै त त्यस्तो ?’

भित्र पस्ने बित्तिकै हाम्रो त्यहाँको सम्माननीय सभामुखज्युको त यत्रो फोटो राख्नुभा छ हाम्रोमा त छैन सभामुखज्युकोमा फोटो पनि। संसदलाई त मलाई त यो एकदमै अलिक बायस गरेको जस्तो पनि लाग्छ। मैले यो…मैले यहीँबाट यो कुराहरु उठाउँदैछु र संसदले सरकार, संसदबाटै सरकार उत्पन्न हुने हो। अब सरकारकै कन्ट्रोल हुन्छ भन्छ यो कुरा पनि हामीले एकदमै मनन गर्नुपर्ने लागेको छ।

यहाँ उनले कहाँ चाहिँ उपसमाभुखको पनि फोटो राख्नु पर्‍यो भनेकी छिन् ? कहाँनिर उपसभामुखप्रति बायस छ भनेकी छिन् ? उनको आशय त संसदप्रति बायस छ भन्ने बुझिन्छ पूरै सुन्ने हो भने। सिंगापुरको संसदमा त सभामुखको पनि फोटो छ, हाम्रो संसदमा त छैन भनेकी बुझिन्छ।

तर यही कुरा मिडियामा कसरी आयो हेरौँ-

पहिला अनलाइनखबरमा।

अनलाइनखबरको त हेडलाइनै ‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना’ राखिएको छ। समाचार यस्तो छ-

हेर्नुस् अर्काइभ लिङ्क। 

समाचारको लिडलाइनमै उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएको लेखिएको छ। जबकि उनको पूरा सम्बोधन सुन्ने हो भने त्यस्तो भनेकी छैनन्।

त्यसैगरी कोट राखेर लेखिएको छ- ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् ।

यो त पत्रकार आफै बायस भएर कोटलाई नै यता उता गरेको भयो। पत्रकारिताको विश्वभरको मान्यता के हो भने उद्धरण गरेपछि अर्थात् कोट भित्र राखिसकेपछि जे बोलेको हो, त्यही राख्नुपर्छ। तर नेपालमा आफूलाई मन लागेको कुरा, आफूले बुझेको कुरा राखिदिने चलन छ। यसमा पनि त्यस्तै भएछ।

उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ भनेर त उनले भनेकी नै छैनन्।

बरु उनले भनेकी छिन्, ‘संसदलाई त… मलाई त यो एकदमै अलिक बायस गरेको जस्तो पनि लाग्छ।’

उनले संसदलाई बायस गरेको जस्तो लागेको भनेकी हुन्।

यसको पुष्टि लगत्तै उनले बोलेको विषयबाट पनि हुन्छ। उनले त्यसपछि भनेकी छिन्, ‘संसदले सरकार, संसदबाटै सरकार उत्पन्न हुने हो। अब सरकारकै कन्ट्रोल हुन्छ भन्छ यो कुरा पनि हामीले एकदमै मनन गर्नुपर्ने लागेको छ।’

नम्बर वान अनलाइनखबरले नै यसरी कोट हेराफेरी गरेपछि के चाहियो र अरुलाई। अरुतिर पनि धमाधम बोल्दै नबोलेका कुराहरु आउन थाले।

रातोपाटीले पनि त्यस्तै हेडलाइन राख्दै समाचारमा उनको कोट यसरी राख्यो- ‘उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ।’

हेर्नुस् अर्काइभ लिङ्क। 

उपसभामुखले बोल्दै नबोलेको कुरालाई कोट बनाएर हाल्ने अरु अनलाइन मिडियाहरु यस्ता छन्-

सेतोपाटी : संसदमा तस्बिर नराखेकोमा उपसभामुख रानाको असन्तुष्टि

नेपालभ्युज : उपसभामुख रानाको गुनासो- ‘संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो राखिएन’

नेपालप्रेस : संसदमा सभामुखकाे मात्रै फाेटाे राखेकाे भन्दै उपसभामुख रानाले जनाइन् असन्तुष्टि

इमेजखबर : संसदमा उपसभामुखको फोटो नराखेको प्रति उपसभामुख रानाको असन्तुष्टि

उकेरा : संसद्मा सभामुखको मात्र फोटो राखेको भन्दै उपसभामुखको असन्तुष्टि

अरु पनि होलान्, खोज्न अल्छी लाग्यो।

यसरी सार्वजनिक स्थानमा बोलेको, सार्वजनिक रुपमा अभिलेख रहेकै विषयमा यति विधि ट्विस्ट गरेर बोल्दै नबोलेको कुराको समाचार बनाइन्छ भने अरु कुरामा कस्तोसम्म र केसम्म गर्न सकिने रहेछ, कुरा बुझ्नुभो त ?

एउटा गीत थियो नि- कुरा बुझ्नु पर्छ, कुरा बुझ्नु पर्छ…

त्यसै बनेको हैन रहेछ त्यो गीत, कि कसो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme