Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण

Posted on June 30, 2023July 1, 2023 by Salokya

हेडलाइन पढ्दा अलि कस्तो कस्तो लाग्यो ? यो त ‘कान्तिपुर’ले जस्तै हेडलाइनमा ‘राइमिङ’ मिलाउन खोजेको क्या।

अचेल कान्तिपुरमा गजब गजबका राइमिङ हेडलाइन पढ्न पाइन्छ नि तपाईँहरुले याद गर्नुभएको छ कि छैन ? केही उदाहरण- ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ, छायाशक्तिमाथि अनुसन्धान छायामा।

त्यस्तै एउटा हेडलाइन बिहीबार पढ्न पाइयो-  काखमा हुर्किएर कोखमा आक्रमण। एक पेज पूरै भरिएको यो रिपोर्टमा रुचि लागेको पूरै पढियो। तर त्यसमा केही तथ्यगत त्रुटिहरु थिए। सामान्य रुपमा गुगल मात्र गरेको भए यस्तो त्रुटि हुने थिएन।

पत्रिकामा छापिएको रिपोर्टको केही अंश। अनलाइनमा यो यहाँ पढ्न पाइन्छ।

अमेरिकाले अफगानिस्तानमा अनि भारतले श्रीलंकामा विद्रोही समूहलाई गरेको समर्थन अन्ततः उनीहरुलाई नै घातक भएको भन्दै रुसमा वाग्नर समूहले हालै गरेको भनिएको विद्रोहलाई यसमा जोड्न खोजिएको छ।

पहिलो गल्ती : राजीव गान्धी प्रधानमन्त्री हुँदा मारिएका हैनन्

रिपोर्टको सुरुमै लेखिएको छ- भारतले सहयोग गरेको तमिल विद्रोही समूहले कालान्तरमा आएर भारतकै प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिदियो ।

त्यसैगरी रिपोर्टको बीचमा लेखिएको छ- तर सन् १९९१ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको तमिलनाडुमा आत्मघाती बम विस्फोटमा हत्या भएपछि तमिलहरू श्रीलंकाबाट भारत आउन पनि रोकियो ।

दुई ठाउँमा लेखिसकेपछि यो कुरा सही हो जस्तो लाग्न सक्छ। त्यसमा कान्तिपुरले पो लेख्या त।

तर वास्तविकता त्यस्तो होइन है !

न्युयोर्क टाइम्समा छापिएको राजीव गान्धीको हत्याको समाचार।

हो, सन् १९९१ को मे २१ मा भारतको तमिलनाडुस्थित श्रीपेरुमबुदुरमा भएको आत्मघाती बम आक्रमणमा राजीव गान्धीको मृत्यु भएको पक्कै हो। यहाँसम्म कुरा सही हो। तर, त्यतिबेला उनी प्रधानमन्त्री भने थिएनन्। भारतको प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबसाइटमा राखिएको जानकारी अनुसार राजीव गान्धी सन् १९८४ को अक्टोबर ३१ देखि सन् १९८९ को डिसेम्बर २ सम्म मात्रै प्रधानमन्त्री थिए।

घटना भएका बेला भारतमा चन्द्रशेखर प्रधानमन्त्री थिए।

त्यतिबेला भारतमा चुनाव हुन लागेको थियो र गान्धी चुनाव प्रचारमै थिए।

लेख्नेले तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको लेखिदियो, छाप्नु अघि जाँच्नेले हो कि होइन भनेर हेर्न छुटाए, अनि यो गलत तथ्य छापियो।

दोस्रो गल्ती – संलग्नहरु अझै जेलमा रहेको दावी

कान्तिपुरको यो लामो रिपोर्टमा लेखिएको छ- …आत्मघाती बम विस्फोटबाट राजीवको हत्या गरिदिए । उक्त हत्यामा संलग्न तमिलहरू अहिले पनि तमिलनाडुका विभिन्न जेलमा कडा सुरक्षाका साथ राखिएका छन् । जसलाई भेटका लागि समेत भारत सरकारले कडाइ गरेको छ ।

यो रिपोर्ट पढ्दा राजीव गान्धीको हत्यामा संलग्न तमिलहरुलाई अहिले पनि तमिलनाडुका विभिन्न जेलमा कडा सुरक्षाका साथ राखिएको बुझिन्छ। अझ समाचारमा दावी गरिएको छ- जसलाई भेटका लागि समेत भारत सरकारले कडाइ गरेको छ। कसले यस्तो भनेको हो भनेर स्रोत चाहिँ खुलाइएको छैन।

तर यो पनि सही देखिन्न।

गुगलमा सामान्य रुपमा Rajiv Gandhi Assasination लेखेर सर्च मात्र गरेको भए पनि त्यसमा करिब ३ सय वटा रिजल्ट देखाउँछ जसमा हत्यामा संलग्न भएका भनिएकाहरुलाई सर्वोच्च अदालतले रिहा गरिदिएका समाचारहरु पढ्न पाइन्छ।

पोहोर नोभेम्बरमा इन्डियन मिडियामा त्यत्रो ठूलो समाचार बनेको थियो त। यो लामो रिपोर्ट लेख्ने, सम्पादन गर्ने सबैले कसरी भुल्न सकेका ! जे लेख्यो, त्यही छापिने गरेको त होइन होला।

राजीव गान्धीको हत्यामा ७ जनालाई दोषी ठहर गरिएको थियो।

  • मुरुगान उर्फ श्रीहरन –  श्रीलंकाको लिट्टेका कार्यकर्ता।
  • नलिनी –  मुरुगानकी श्रीमती। उनी भारतीय नागरिक थिइन्।
  • सन्थान उर्फ टि. सुथेनथिरराजा- श्रीलंकन नागरिक
  • रबर्ट पियुस- श्रीलंकन नागरिक
  • जयकुमार- रबर्टका ज्वाइँ
  • रविचन्द्रन- श्रीलंकन नागरिक 
  • ए. जी. पेरारिभलन – – भारतीय नागरिक, विस्फोटक पदार्थका लागि नौ भोल्टको ब्याट्री आपूर्ति गरेको अभियोगमा पक्राउ परेका

ट्रिब्युनइन्डियामा प्रकाशित समाचार अनुसार आतंकवाद सम्बन्धी मुद्दा हेर्ने टाडा अदालतले १९९८ मा यीसहित २६ जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसमध्ये १२ जनाको पहिल्यै मृत्यु भइसकेको थियो। टाडा कानुन खारेज भएपछि सन् १९९७ मा सर्वोच्च अदालतले सात जनालाई मात्र जेलमा राखी अरु सबैलाई रिहा गर्ने आदेश दिएको थियो।

३१ वर्ष जेल बसेका यी माथिका सात जनालाई पनि सुरुमा मृत्युदण्डकै सजाय सुनाइएको थियो। आउटलुकमा प्रकाशित रिपोर्ट अनुसार राजीव पत्नी सोनिया गान्धीले नलिनीलाई भेटेपछि सन् २००० मा माफी दिँदै clemency petition समेत दर्ता गरेकी थिइन्।

गत वर्षको नोभेम्बरमा यी बाँकी सात जनालाई पनि रिहा गरिएपछि अहिले कान्तिपुरले दावी गरे जस्तो कोही पनि राजीव गान्धी हत्या केसमा कडा सुरक्षाका साथ राखिएका छैनन्।

राजीव गान्धी हत्या केसमा तीन दशक जेलमा बसिसकेपछि पोहोर नोभेम्बरमा रिहा हुने बेलामा नलिनी श्रीहरन र मुरुगान। फोटो साभार : पीटीआई।

अब के होला ?

दुई वटा महत्त्वपूर्ण तथ्यमै गम्भीर गल्तीसहितको रिपोर्ट छापेको कान्तिपुरले अब यसलाई सच्याउने हो कि ‘आ…कसले याद गरिरहन्छ र…’ भनेर यत्तिकै छाड्ने हो, हेर्न बाँकी छ।

जे गरे पनि हामी त खासमा हेरेको हेर्‍यै… हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै…. हामी चाहिँ हेरेको हेर्‍यै….

त्यतिन्जेल हामी पनि राइमिङ हेडलाइनमा रमाउँछौँ 🙂 – काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme