Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि फैलाइयो निर्मला प्रकरणसम्बन्धी हल्ला : ‘कहानी’ भन्दै ‘समाचार’ लेख्दै

Posted on June 25, 2023June 25, 2023 by Salokya

निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो।

सोसल मिडिया हेर्नुहुन्छ भने यस्तो धेरैले लेखेको तपाईँले देख्नुभएको होला।

बलात्कार गरी हत्या गरिएको अवस्थामा किशोरी निर्मलाको शव पाँच वर्षअघि भेटिएको थियो। अहिलेसम्म यो प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन।

अहिले अचानक यो घटना भएका बेला गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ पूर्जी जारी भएको कुरा सोसल मिडियाभरी छ्यापछ्याप्ती छ।

तर यो सही होइन। निर्मला प्रकरणमा पाँच वर्षअघि फैलिएका नानाभाँती हल्ला जस्तै यो पनि एउटा हल्लामात्रै हो।

सोसल मिडियामा जताततै यही लेखेको देख्दा त हो कि जस्तो लाग्न सक्छ।

नभएको पनि होइन। प्रतीकविरुद्ध पक्राउ पूर्जी पक्कै जारी भएकै हो। त्यो पनि अहिले होइन, गएको वैशाख ३१ गते नै। यसबारे राष्ट्रिय मिडियामा नै समाचार आएका छन्। हेर्नुस् कान्तिपुरको समाचार

 

हेर्नुस् रेडियो नेपालको समाचार। कान्तिपुरले स्रोत भने पनि रेडियो नेपालले जिल्ला प्रहरी परिसर काठमाडौँलाई नै ‘कोट’ गरेको छ।

प्रतीकलाई पक्राउ पूर्जी जारी भएको सही तर अर्कै केसमा

यसबाट के प्रष्ट हुन्छ भने प्रतीक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको समाचार सही हो। तर त्यो निर्मला प्रकरणमा नभएर नक्कली भुटानी शरणार्थी केसमा हो। प्रतीक फरार छन्, हालसम्म पक्राउ परेका छैनन्।

यही समाचारलाई यो केसलाई ट्विस्ट एन्ड टर्न गरी अनेकन हल्ला फैलाउने (छुटाउनु भएको भए पढ्नुस् हाम्रो #WhoKilledNirmala सिरिजको यो अङ्क- निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति) खेम भण्डारी सम्पादक रहेको मानसखण्डले हेडलाइन ट्विस्ट गरी यस्तो समाचार राख्यो त्यही दिन (मे १४, वैशाख ३१ का दिन)

फेसबुकको अर्काइभ लिङ्क हेर्न यता क्लिक गर्नुस् 

त्यतिबेलै त्यो समाचार भाइरल भइसकेको थियो। फेरि अस्तिबाट यो समाचार भाइरल हुन थाल्यो जुन अझै जारी छ।

खेम भण्डारीले यो समाचारको हेडलाइन राखेका थिए- ‘निर्मला प्रकरणमा प्रतीक थापाविरुद्ध पक्राउ पूर्जी जारी’ जुन भ्रामक अर्थ दिने खालको थियो। समाचारमा भने भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ पूर्जी जारी भएको लेखिएको थियो-

आफ्नो स्वार्थ अनुसार हेडलाइन ट्विस्ट गरेका खेम भण्डारीले यो समाचार फेरि भाइरल भएपछि भने हेडलाइन सच्याएर शरणार्थी प्रकरण पनि जोडेका छन्।

हेर्नुस् पहिले र अहिलेको हेडलाइन

जसले हल्ला फैलाएको हो, उसैले हेडलाइन सच्याएपछि यसको असलियत त थाहा भइहाल्यो। तर सोसल मिडियामा धेरै झुक्किरहेका छन्। कोही माओवादी सरकारको प्रशंसा गरिरहेका छन्, कोही अहिलेका गृहमन्त्रीको।

आफ्नै समाचार भाइरल भएपछि मानसखण्डले सुटुक्क पुरानो समाचारको हेडलाइन सच्याएर फेरि अर्को समाचार ‘कहानी’सहित हालेको छ-

यो समाचार रमाइलो छ। शब्द खेलाएर ट्विस्ट गर्न माहिर खेम भण्डारीले आफैले फैलाएको हल्लालाई सामाजिक सञ्जालको भन्दै प्रहरी प्रवक्ता कुबेर कडायतको कोटलाई ट्विस्ट गरेर त्यो हल्ला ‘यथार्थ पनि हुनसक्ने’ लेखेको छ।

त्यस्तै समाचारको अर्को लाइन हेर्नुस्-

निर्मला हराएको साउन १० को दिन दुई युवतीसहित प्रतीक र उनका स्थानीय साथीहरु महाकाली नदीमा गएको भन्ने अहिलेसम्मको कुनै अनुसन्धानले पनि देखाएको छैन। तर यहाँ समाचारमा आफूलाई प्रत्यक्षदर्शी भन्ने केही व्यक्तिले बताएको भनेर समाचार लेखियो। ती प्रत्यक्षदर्शी को हुन् त ? खुलेको छैन। खुलाउन सकेका छैनन्।

अनि निर्मलाले प्रतीकलाई चप्पल प्रहार गरेको अहिलेसम्मको ‘कहानी’ले देखाउँछ रे। समाचार भनेर अनेकन ‘कहानी’ पो बुनेका रहेछन्।

समाचार पो तथ्यपूर्ण, निष्पक्ष हुनुपर्‍यो त। ‘कहानी’ त जे बुने पनि भयो।

कहानी भनेको नबुझ्नुभएको भए वृहद् नेपाली शब्दकोशले प्रष्ट पारेको छ हेर्नुस्-

अब कथा, किस्सा, कहानी त जे लेखे पनि भयो।

नत्र थोरै लजिक पनि लगाउन सकिन्छ नि, झोलुङ्गे पुलमा नै चप्पल हानिसकेपछि निर्मला फेरि त्यहाँबाट १० किलोमिटर जति टाढा रहेको ओपेरा होटलमा किन गइछे ?

अनि होटलमै नमारेर होटल बाहिर लगेर किन मारेछ ?

अस्ति अस्तिसम्म त यही मानसखण्डले होटलभित्रै मारेको भनेर लेख्थ्यो। अनि कहिले बम दिदीबहिनीको घरमा मारेको भनेर लेख्थ्यो। अम्बाको रुखमा झुण्ड्याएको भनेर पनि लेख्थ्यो। अहिले एक्कासी होटल बाहिर लगेर किन मारेको रहेछ ? अनि होटल भित्र आएको, होटल बाहिर लगेको कसैले देखेनछ ? होटलबाहिर चाहिँ कहाँ मारेको रे नि त ?

अनि मारेपछि अलि टाढा लगेर नफालिकन त्यो खोल्सो तर्दै पारीपट्टी उखुबारीमा किन फालेछ? गृहमन्त्रीको छोराको गाडीको खासै चेक हुन्न थियो होला, त्यहाँबाट अलि टाढा अनकन्टार भीरमा फालिदिएको भए भइहाल्थ्यो त।

यी सब कमनसेन्स लगाउन किन पर्दैन भने त्यो समाचार होइन, त्यो त ‘कहानी’ हो। कहानीमा लजिक खोजेर हुन्छ कहीँ ?

स्मरण रहोस्, खेम भण्डारी अदालतले सजाय दिन समेत उपयुक्त नठानेर एक रुपैयाँ जरिवाना र एक घण्टा जेलको ‘तुच्छ सजाय’ दिएर त्यो भोगेका व्यक्ति हुन्।

पुरानो ब्लग पढ्न छुटाउनु भएको भए पढ्नुस्-

खेम भण्डारी यसरी थुनिए ‘तुच्छ सजाय’का लागि एक घण्टा जेलमा

‘अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

अहिले सामाजिक सञ्जालमा आइरहेको हल्ला हेर्दा लाग्छ, हामी अझै पाँच वर्षपछाडि नै छौँ त्यही हल्ला र कहानीलाई हामी पत्याइरहेका छौँ। तथ्यमा कसैको कुनै चासो छैन।

हेर्नुस् हल्ला फैलिएको-

सशस्त्र प्रहरीका पूर्व एआइजी त यस्तो लेख्छन् त्यही मानसखण्डको समाचार सेयर गरेर भने अरुको के कुरा !

यो विषयमा हामीले गरेको ३० अङ्कको सिरिजसहितको रिपोर्टिङ #Whokillednirmala पढ्न यता क्लिक गर्नुस्।

यही विषयमा मैले बनाएको यो भिडियो हेर्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme