Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्टचेक : नझुक्किनुस्, क्याप्सुलभित्र फलामको काँटीवाला भाइरल भिडियो सही होइन

Posted on June 24, 2023June 24, 2023 by Salokya

के तपाईँले पनि टिकटकमा बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी हुने रहेछ, मेडिकल माफियाहरुले त्यसो गरेको भन्दै क्याप्सुल फुटाउँदै काँटी निकाल्दै गरेको भिडियो देख्नुभएको छ?

पख्नुस्, त्यो भिडियोलाई पत्याउनु अघि यो एक पटक पढ्नुस्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोबारे नेपालफ्याक्टचेकले फ्याक्टचेक गर्दा भिडियोमा देखिएको औषधी नेपालमा दर्ता नरहेको र बिक्री गर्न अनुमति पनि नभएको देखायो। यो भिडियो पुरानो भएको र विभिन्न देशका तथ्य जाँचकीहरुले त्यसमा गरिएको दाबी मिथ्या भएको ठहर गरिसकेका रहेछन्। पढ्नुस् पूरा फ्याक्टचेक

के छ भाइरल भिडियोमा ?

@krswishwas युजरनेमको टिकटक एकाउन्टबाट आइतबार (असार ३, २०८०) मा बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी फेला परेको दाबी सहितको भिडियो पोस्ट भएको छ।

३८ सेकेन्ड लामो भिडियोमा Esoral 20 mg लेबल लगाइएको क्याप्सुल लाई खोल्दा भित्रपट्टी फलामका साना साना काँटी भएको देखाइएको छ।

भिडियोमा भनिएको छ, ‘मेडिकल माफियाहरुले नागरिकहरुको स्वास्थ्यप्रति, जीवनप्रति कतिसम्म खेलवाड गर्छन् भन्ने कुराको यो नमिठो प्रमाण हो। यहाँ क्याप्सुलभित्र फलामका स–साना काँटीहरु देखाइएको छ। यो महत्वपूर्ण लागेको हुँदा मैले स्क्रिन रेकर्ड गरेर पोस्ट गरेको छु। कृपया धेरै भन्दा धेरै माझ यो भिडियो सेयर गर्नुहोला। यो जनस्वास्थ्यसँग अत्यन्त महत्व राख्ने भएको हुँदा मैले तपाईहरुलाई सविनय अनुरोध गरेको छु । तपाई हामी सबै सचेत बनौँ।’

बुधबार साँझसम्म उक्त भिडियो ८ हजार ८६७ पटक सेयर गरिएको छ भने  ४ लाख ८० हजार पटक हेरिएको छ । उक्त भाइरल भिडियोमा ११८८ वटा कमेन्ट र ३३ हजार ९ सय वटा लाइक गरिएको छ। उनकै भिडियो र अडियो रिमिक्स गरी थप ४२ वटा टिकटक भिडियो बनेका छन्।

हामीलाई फेसबुक म्यासेन्जरमा यो भिडियोको तथ्य जाँच गर्न अनुरोध आएको थियो। यो भिडियो भाइरल भएको थियो र अधिकांश कमेन्टहरुमा भिडियोमा देखाइएको कुरा पत्याएको देखिन्थ्यो। तसर्थ हामी यसको तथ्य जाँच गर्ने निर्णयमा पुग्यौँ।

भाइरल टिकटक भिडियोको स्क्रिन रेकर्ड

के हो तथ्य?

सुरुमा हामीले भाइरल भिडियोलाई ध्यान दिएर हेर्‍यौँ। त्यस क्रममा हामीले  क्याप्सुल निकालिएको बट्टामा रहेको नाममा Esoral र 20 mg लेखेको भेट्टायौँ।

तथ्य जाँच गर्ने क्रममा हामी सबैभन्दा पहिले भाइरल भिडियोमा उल्लेख भएको औषधी नेपालमा दर्ता छ वा छैन भनेर औषधी व्यवस्था विभागको केन्द्रीय कार्यालय बिजुलीबजार, काठमाडौँ पुग्यौँ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको यो विभागले स्वदेश तथा विदेशमा उत्पादन हुने मानव तथा पशुपंक्षीका औषधीको मूल्याङ्कन र दर्ता सम्बन्धी कार्य गर्छ। विभागको अनुमति बिना कुनै पनि औषधी नेपालमा आयात गर्न र बिक्री गर्न पाइँदैन।

विभागका सूचना अधिकारी वरिष्ठ औषधी व्यवस्थापक प्रमोद केसीसँग हामीले यो भाइरल भिडियोमा देखिएको औषधीबारे जिज्ञासा राख्यौँ।

उनले सम्बन्धित अधिकारीसँग समन्वय गरी उपलब्ध विवरणका आधारमा भाइरल भिडियोमा देखाइएको औषधी नेपालमा दर्ता छ वा छैन भन्ने बारेमा खोजी गर्न लगाए। उक्त क्याप्सुल औषधी व्यवस्था विभागमा दर्ता भएको भेटिएन। सूचना अधिकारी केसीले उक्त औषधी नेपालमा दर्ता नभएकाले नेपालमा बिक्री वितरण पनि गर्न नमिल्ने जानकारी गराए।

नेपालमा दर्ता पनि नभएको र बिक्री पनि गर्न नमिल्ने भएकोले यो भिडियो नेपालको नभएको संकेत गरेपछि हामीले यस विषयमा थप जानकारीका लागि गुगलको फ्याक्ट चेक एक्सप्लोररमा खोज्यौँ।

यस क्रममा छिमेकी देश भारतमा सन २०२१ मै यो भिडियो भाइरल भएको र भारतीय तथ्य जाँचकीहरुले तथ्य जाँच गरेको फेला पार्‍यौँ।

भारतमा ‘औषधी जिहाद’ दावी गर्दै भिडियो भाइरल भएको रहेछ। तथ्य जाँच गर्ने भारतीय वेबसाइट बुमलाइभले Esoral 20 mg औषधी पाकिस्तान र बंगलादेशमा उत्पादन हुने भए पनि भारतमा उत्पादन र बिक्री नहुने र भाइरल भिडियो भारतको नभएको लेखेको छ।

भाइरल भएको भिडियोमा दुई वटा क्लिप जोडिएको र अर्को भिडियोमा रुसी भाषामा लेखिएको अक्षरलाई गुगल ट्रान्सलेट गरेर गर्दा ENTEROFURIL 200 mg  लेखेको देखिने र त्यो औषधी बोस्निया हर्जगोभिनामा उत्पादन हुने गरेको बुम लाइभले उल्लेख गरेको छ।

पढ्नुस् बुमलाइभको तथ्य जाँच। 

यो भिडियो बारे भारतकै  क्विन्ट ,   न्यूज चेकर ,  ले पनि तथ्य जाँच गरिसकेका छन्।

अमेरिकाको फ्याक्ट चेक सम्बन्धी संस्था लिड्स स्टोरीजले २०२२ अप्रिल १८ मा यही विषयमा तथ्य जाँच गरेको थियो । लिड्स स्टोरिजले क्याप्सुलमा फलामको काँटी फेला परेको दावीसहितको भिडियो भारतमा मात्र हैन, किर्गिजस्तान, कजाखस्तान, युक्रेन, जर्जिया, वेस्ट अफ्रिका र ब्राजिलमा पनि फैलिएको र त्यहाँका तथ्यजाँचकीहरुले यसलाई मिथ्या ठहर गरेको उल्लेख छ।

पढ्नुस् विभिन्न देशका तथ्य जाँच

किर्गिजस्तानको फ्याक्टचेक डट केजी

कजाखस्तानको स्टपफेक डट केजेड

युक्रेनको भक्सयुक्रेन डट ओआरजी

जर्जियाको फ्याक्टचेक डट जीई, मिथडिटेक्टर डट जीई

लाइबेरियाको द स्टेज मिडिया

ब्राजिलको बोआटोस डट ओआरजी

यी सबै देशका तथ्य जाँचको निश्कर्ष तीन वटा फरक फरक भिडियो विभिन्न देशमा भाइरल भएका छन्। ती मध्ये दुई वटा भिडियोलाई जोडेर बनाएको भिडियो नेपालमा भाइरल भएको हो। नेपालमा भाइरल भएको भिडियोमा Esoral को नाम प्रष्ट देखिन्छ भने ENTEROFURIL नामको क्याप्सुलको भिडियोमा नाम लुकाइएको छ। तर भाइरल भिडियोहरु हेर्दा यो अरु देशमा भाइरल भएको त्यही क्याप्सुलको भिडियो भन्ने प्रष्ट हुन्छ। यी दुवै नामका क्याप्सुल नेपालमा ल्याउने र बेच्ने अनुमति विभागले दिएको छैन।

तथ्य जाँचहरुले यी नामको क्याप्सुलमा यस्तो काँटी भेटिएको वा खाएर बिरामी परेको बारे कुनै गुनासो नभेटिएको उल्लेख गरेका छन्। उनीहरुले भिडियोमा क्याप्सुलको एकापट्टीको भाग मात्रै देखाएको उल्लेख गर्दै अर्को पट्टीको भाग च्यातेर त्यसमा पहिल्यै आफैले काँटीभित्र राखेर क्याप्सुल बन्द गरी भित्र राखेको हुनुपर्ने निश्कर्ष निकालेका छन्।

तथ्य जाँच

दावी :  क्याप्सुल (औषधी) भित्र फलामका काँटी फेला परे।

दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्यः मिथ्या सूचना । भिडियोमा देखाइएको औषधी नेपालमा दर्ता नभएको र बिक्री वितरण गर्न नमिल्ने औषधी व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसीले जानकारी दिए। भारत लगायतका विभिन्न देशमा सन् २०२१ मै भाइरल भएको यो भिडियोका बारेमा धेरै वटा संस्थाले तथ्य जाँच गरी भिडियोमा गरिएको दाबी मिथ्या भएको बताइसकेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme