अहिले एकदमै चर्चाको विषय हो हिन्दु धर्मग्रन्थ ‘रामायण’मा आधारित भनिएको ‘आदिपुरुष’ फिल्मको डाइलग। फिल्ममा हाम्रो राष्ट्रिय विभूति ‘सीता’लाई भारतीय छोरी हुन् भनिएको छ भनेर अहिले बबाल भइरहेको छ। काठमाडौँ महानगरपालिकाका मेयर भए पनि देशभरबाट सोसल मिडियामा माया पाएका बालेन शाहले अस्ति नै त्यो डायलग हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। त्यो पूरा नभएपछि आजदेखि सबै हिन्दी फिल्म रोक्ने घोषणा उनले हिजै गरिसकेका छन्। काठमाडौँको सिको गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि त्यस्तै घोषणा गरेका छन्।
के फिल्ममा साँच्चै जानकी भारतीय छोरी हुन् भन्ने शब्द छ? छ भने कुन प्रसङ्गमा छ? यो बारे थाहा पाउन मन थियो। तर कतै पनि पढ्न पाइनँ। बरु फिल्मका लेखक मनोज मुन्तशिरको ‘आजतक’ टिभीमा इन्टरभ्यु हेरियो जसमा उनले नेपाल पहिला भारतकै अंश रहेको र सन् १९०३/१९०४ तिर बल्ल अलग भएको भनेका थिए। आफ्नै देशको इतिहास थाहा नभएकोले बनाएको तोरी फिल्म के हेर्नु भन्ने लाग्यो।
डिस्क्लेमरका रुपमा सुरुमै भनिदिउँ, वास्तवमै मलाई यो फिल्म हेर्न मन लागेको थिएन। केही भारतीयहरुको रिभ्यु हेर्दा नै अघाइसकिएको थियो। फेरि अङ्ग्रेजी फिल्म जस्तो एक/डेढ घण्टाको हैन, झण्डै तीन घण्टा लामो फिल्म हेरी नदुखेको टाउको किन दुखाउनु जस्तो लागिरहेको थियो।
फिल्ममा रुचि भएको र हाल भारतमा पनि भएको एक जना साथी जसलाई ट्विटरमा अनिल चे नामले चिनिन्छ, लाई सोधेँ- ‘त्यो आदिपुरुष भन्ने फिलिम हेर्या हो ? कुन प्रसंगमा कता रहेछ जानकी भारतकी छोरी भन्ने कुरो ? त्यही प्रोमोमा जति मात्रै हो कि अरु पनि छ ?’
नेपालमा सेन्सर गरिसकेको फिल्ममात्र चलाइएको थियो। त्यही भएर भारतमा के रहेछ भनेर बुझ्ने उद्देश्यले पनि सोधेको थिएँ उनलाई।
तर उनले छुच्चो जवाफ दिए, ‘मैले हेरेको छैन, हेर्दिन पनि होला। त्यो सिनेमा लिस्ट मै छैन हेर्ने’
शुक्रबार उनले यस्तो जवाफ दिएपछि ‘आ, यत्रैसित्ति’ भन्ने लाग्यो। यत्रा फिल्म पत्रकारिता गर्नेहरु छन्, हेरेर लेख्लान् नि कसैले भन्ने लागिरह्यो।
एउटा प्रख्यात उखान छ हाम्रो पेशाबारे- कसैले बाहिर पानी परिरहेको छ र कसैले पानी परिरहेको छैन भन्यो भने तिम्रो (पत्रकारको) काम फलानोले पानी पर्छ भन्यो र फलानोले पानी पर्दैन भन्यो भनेर रिपोर्ट गर्ने मात्र होइन, साँच्चै पानी परिरहेको छ कि छैन भनेर झ्याल खोलेर हेर्नु पनि हो।
तर कसैले झ्याल खोलेर हेरेकै देखिएन।
तैपनि तीन घण्टा कसले खर्च गरोस्, मन थिएन।
आज चैँ मन नलागे पनि हेर्नै पर्यो भनेर सोच बनाए। तर हेर्ने कहाँ? आजदेखि त देशभर प्रदर्शनै बन्द गर्ने निर्णय गरिसकेछ वितरकले।
उपाय आयो टोरेन्ट। त्यहाँ हलप्रिन्ट फाइल उपलब्ध थियो। नेपालबाहिर कस्तो खालको फिल्म चलेको थियो भनेर पनि हेर्न पाइन्छ यो भयो भने भनेर डाउनलोड गरियो झण्डै तीन जीबीको फाइल। पूरै फिल्म हेर्दा जे देखियो त्यो लेखेको छु तल।
बालेनलाई धन्यवाद दिनुपर्छ ‘ब्यान’ गरेकोमा
फिल्म हेर्न सकाएपछि हल्का टाउको दुख्या जस्तो पनि फिल भो। बालेनलाई धन्यवाद दिनुपर्छ यो फिल्म ब्यान गरेकोमा। कारण- पैसा तिरेर यस्तो वाहियात फिल्म हेर्नबाट उनले जोगाइदिए। वास्तवमै आदिपुरुष हेर्नु एक किसिमको यातना नै हो। यातना सहेर स्किप नगरी हेर्न सक्नु ठूलै उपलब्धि हो।
५०० करोड भारु खर्च गरेर बनाएको फिल्म यति घटिया होला भनेर लागेको थिएन। यो भन्दा त सन् १९८७ मा अहिले जस्तो भिजुअल इफेक्ट्स केही नहुँदा बनाइएको रामानन्द सागरको रामायण धेरै गुणा राम्रो रहेछ।
हिन्दु धर्मग्रन्थलाई बिजोग पाराले फिल्मीकरण गरेको र यसका केही टोले गुण्डाले बोल्ने टाइपका डाइलगहरु प्रति भारतमै आपत्ति जनाइँदैछ, सोसल मिडियामा उडाइँदैछ।
फिल्मको सुरुमा साइडमा लाइनिङ राखेको हेयरकटमा भएका औरगंजेबवाला लुक्सका सैफ अली खान तपस्या गर्दै गरेको देखिन्छ। यो मोर्डन टाइपको मनुवा खासमा ‘रावण’ रैछ भनेर पछि बल्ल थाहा हुन्छ।
हामीले पढ्या रामायणमा रावणलाई ब्रह्माले देउता वा दानव दुवैले मार्न नसक्ने मात्र वरदान दिएको जस्तो लाग्छ। तर फिल्ममा त उनलाई ‘न दिनमा न रातमा, न जलमा न वायुमा, न जमिनमा न आकाशमा, न कुनै देव न दानवको हातबाट मृत्यु हुन्छ’ भनेर वरदान पो दिन्छन् त।
पख्नुस्-पख्नुस्। यो वरदान त प्रह्लादका पिता हिरण्यकश्यपुलाई पो दिएको हैन र ? सात क्लासको नैतिक शिक्षामा पढ्थ्यौँ नि हामीले। अनि नृसिंह अवतारले मार्छन्। नेपाललाई सन् १९०३-४ तिरमात्र भारतबाट अलग भएको भन्ठानेका फिल्मका लेखक यहाँ पनि कन्फ्युज भएका रहेछन्।
हामी अरुण गोविलको सौम्य, मन्द मुस्कानसहितको अनुहारलाई राम देखिरहेको बानी भएको मान्छे, यत्रो मुठ्ठा जुङ्गा भएको प्रभास, जो जहिले पनि रिसाएको जस्तो मात्र देखिन्छ,लाई पो राम भनेर मान्नु पर्ने रे। अझ इन्ट्रोमा पानी मुनि ध्यान गरिरहेका राम खै कुन्नि के हो कालोकालो उड्ने आकृतिसँग ५ मिनेटजति लडेको लड्यै गर्छ। हावा…
अझ हाँसो उठ्ने चाहिँ त्यो सिनपछि कालो न कालो लंकामा रावणले गरेको शिव आराधना। खासमा लंका त सुनको हुनुपर्ने। तर अहिलेको कलियुगको आर्थिक मन्दीले त्रेतायुगको कथामा रहेको लंकाको सुन जत्ति सबै कोइलामा परिणत भए जस्तो पो देखिन्थ्यो।
क्रियटिभिटीको के हद होला यो, शिव आराधना गर्दा हलमा रहेको पिलरमा रहेको आकृति पो मन्त्रोच्चारण गर्दै बोल्न थाल्छ। कति हाँस्नु के !
यो सेतो लुगा लगाएको मान्छे कुन एङ्गलबाट राम देखिन्छ हेर्नुस् त। १४ वर्ष वनवास जान राजी छु भनेर दशरथलाई भन्न जाँदाको कुरा फ्ल्यासब्याकमा देखाउँदाको राम रहेछ यो।
लंका जस्तो सम्पन्न देशको, स्वर्गका राजालाई समेत हराउने रावणको हुलिया हेर्नुस् न त्यहाँ। सुपरम्यान वा ब्याटम्यानको जस्तो पछ्यौरा ओढेको छ। धन्न सुपरम्यानको जस्तो प्यान्ट माथि कट्टु लगाइदिएनन् 🙂
यो को भन्ने लाग्या होला तपाईँलाई। यो सिन पनि गजबको हाँस उठ्ने छ। लंकामा आर्थिक मन्दी लागेर राजाको दरबारमा काम गर्ने पनि भएनछन् जस्तो छ, हथौडाले हानेर आफ्नो तरवार जस्तो अस्त्र आफै तिखार्दैछ। अनि फेरि त्यसो गर्दा आँखा पोल्छ भनेर हो कि किन हो, वेल्डिङ गर्ने बेला जस्तो मास्क पनि लगाएको छ।
यो सिन त झन् इपिक छ। भारतीयहरुले पनि खुब उडाएका छन् यसलाई। हामीले हेरेको र पढेको रामायणमा रावणसित पुष्पक विमान थियो। त्यसैमा राखेर रावणले सीतालाई अपहरण गरेका हुन्छन्। तर यो ओम राउतको मोर्डन रामायणमा रावण भीमकाय चमेरोजस्तो प्राणीलाई वाहन बनाउँछ। त्यसैमा चढेर ठाउँ ठाउँमा पुग्छन्। सीताको अपहरण पनि त्यसैमा राखेर गर्छन्।
आर्थिक मन्दीकै चपेटामा परेर होला, आफ्नो वाहनलाई मासु रावण आफैले खुवाउने रहेछ। शिवभक्त रावणले मासु खुवाइरहेको दृश्य- रामराम! कतिसम्म गर्न सकेका के!
रावणको दश वटा टाउको त उतिबेला यस्ता स्पेसल इफेक्टस नभएको बेलाको रामायणको र अहिलेको हेरम् त। जोक्कर स्टाइलको टाउकोहरु फ्याट्टफुट्ट निस्कँदा रहेछन्। अनि एउटा टाउकोले अर्को टाउकोसँग कुरा गर्ने। हैट 🙂
यस्तो तोरी इफेक्टसका लागि खर्च गरेछन् ५ सय करोड।
यो त झन् इपिकै छ। जेम्स क्यामरुनको अवतारमा जस्तो देखाउन खोज्या होला, रावण त्यो अचम्मको उड्ने पंक्षीमा चढेर वानर सेनासहितको युद्ध स्थलमा झर्छन्।
पूरै हिन्दी फिल्मको पारामा रावणका छोरा इन्द्रजित जंजिरले बाँधिएकी सीतालाई तान्दै ल्याउँछन्।
इन्द्रजितले घाँटी पछाडिको के हो बटन थिचे जस्तो के गरेको हुन्छ, सीतालाई बाँधेर राखेको जन्जिर पक्ल्याकपुक्लुक्कै खुल्छ। एकै सटमा। पख्नुस्, नाटक सकिएको छैन। बन्धनमुक्त भएपछि सीता राम भएतिर दौडन्छन्। राम पनि आफ्नी प्राणप्यारीलाई देखेपछि सीतातिर दौडन्छन्।
अब सुरु हुन्छ स्लो मोसन। स्लो मोसनमा यताबाट राम कुदेको, उताबाट सीता कुदेकी।
दुई जनाको मिलन हुन पा छैन, फ्ल्यास स्टाइलमा रावणको छोरा सुइँया कुद्छन्। अनि यस्तो देखिन्छ-
रावणको छोरोले सीताको घाँटीमा चक्कु राख्छ। त्यतिमात्र हैन, स्वाट्ट चक्कु चलेको देखिन्छ। एकछिनमा त सीता माताको घाँटीबाट रगत बगिरहेको ! सीता बिस्तारै ढल्न लाग्या बेला राम कुदेर अंगालोमा हाल्छ।
हे राम ! यो कस्तो रामायण हेर्दैछौँ हामी। यस्तो त हामीले रामानन्द सागरको रामायणमा हैन, सलमान खान- साहरुख खानको एक्सन फिल्ममा मात्रै देख्या हुन्थ्यौँ।
तर ट्विस्ट आउन बाँकी छ। पीडाले छटपटाएकी जस्ती देखिने सीता एक्कासी हाँसे जस्तो गर्छिन्। पछि त त्यो राक्षस पो हुन्छ, सीताको रुप धरेको।
रामलाई तर्साएपछि रावण अट्टहासका साथ हाँस्छ र आफ्नो दरबार फर्कन्छ।
दर्शक न हाँस्नु न रुनु।
हामीले सुनेको, पढेको, हेरेको रामायणमा अन्जलीकास्त्र प्रयोग गरेर लक्ष्मणले रावणका छोरा इन्द्रजित जसलाई मेघनाद पनि भनिन्छ, लाई टाउको काटेर मारेको हुन्छ। टाउको पनि उडेर सुलोचनाको काखमा खसेको हुन्छ। यसअघि टाउको उडेर सुलोचनाको काखमा खसेको हुन्छ लेखिएकोमा ट्विटरमा भक्तप्रसाद गैरेले गल्ती औँल्याइदिएका छन्। खासमा मेघनादको टाउको हैन हात चाहिँ सुलोचनाकोमा खसेको हुन्छ। टाउको रामसँग सुरक्षित रहेको हुन्छ। पछि सुलोचनाले रामसँग टाउको माग्न जान्छन्।
तर यसमा त टाट्टु खोपेका इन्द्रजितलाई लक्ष्मणले पानीभित्र घाँटी थिचेर पो मार्छ। के विधि अत्याचार गरेका !
अब यो अर्धनग्न सुन्दरी को होला भन्ने लाग्ला तपाईँलाई।
हामीले पढेको, सुनेको, हेरेको रामायणमा छैन यी। हामीलाई थाहा पाएको रामायणमा सुषेण वैद्यले हनुमानलाई संजीवनी बुटीको बारेमा भनेको हुन्छ। तर यसमा यही, सुन्दरी जो कि विभीषणकी पत्नी हुन् रे, ले भनेको हुन्छ। उसैले बुटी पिसेर रस बनाएर लक्ष्मणलाई लगाइदिएर निको बनाउँछिन्।
टोले गुण्डाको जस्तो डाइलग
बच्चाबच्चीहरुलाई नैतिकता सिकाउन धार्मिक फिल्म देखाउन लाँदै गरेकाहरु ट्वाँ पर्ने यस्ता यस्ता डायलग छन् यसमा कि तपाईँले सोच्न पनि सक्नुहुन्न।
हनुमान सीता मातालाई राखिएको अशोक वाटिकामा पुग्दा रावणको छोरो मेघनादले भन्छ- तेरी बुआ का बागीचा है क्या, जो हवा खाने चला आया 🙂
मेघनादले हनुमानको पूच्छरमा आगो लगाइदिन्छ। अनि भन्छ, जली ना, अब और जलेगी।
त्यसपछि हिन्दुले श्रद्धाले पूज्ने हनुमानको मुखबाट यस्तो डायलग निस्कन्छ कि मान्छे ट्वाँ। भन्छ, कपड़ा तेरे बाप का, तेल तेरे बाप का, आग भी तेरे बाप की, जलेगी भी तेरे बाप की.
हनुमानको अर्को पनि टपोरी डाइलग छ- जो हमारी बहनों को हाथ लगाएंगे उनकी लंका लगा देंगे
रावणलाई सम्झाउँदै श्रीमती मन्दोदरी भन्छिन्- आप अपने काल के लिए कालीन बिछा रहे हैं
हाम्रो सुपरहिट हास्य फिल्ममा राइमिङ मिलाएका डायलग जस्तो यहाँ काल के लिए कालीन (गलैँचा) भन्ने राखिएको रहेछ।
लक्ष्मणलाई नागपाशमा बाँधेर बेहोस बनाएपछि मेघनाद भन्छ- मेरे एक सपोले ने तुम्हारे शेषनाग को लंबा कर दिया. अभी तो पूरा पिटारा भरा पड़ा है.
यस्तो डाइलग लेख्ने स्वाँठलाई नेपाल सन् १९०३/०४ तिर के थियो भन्ने थाहा नहुनुमा कत्ति अचम्म मान्नु पर्दैन।
के ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ?
अब आउँ चुरो कुरोतर्फ जसले नेपालमा बबाल गरिरहेको छ। के फिल्मको कुनै डायलगमा ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ?
प्रोमो रिलिज हुँदा नै सोसल मिडियामा बेस्कन खप्की खानु परेकोले हो कि किन हो, रामायणबाट प्रेरित भएको मात्र देखाउन आदिपुरुष फिल्ममा रामलाई राघव, सीतालाई जानकी, लक्ष्मणलाई शेष र हनुमानलाई बजरंगमात्र भनिएको छ।
‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ त ?
तपाईँहरुको लागि भनेर यो ब्लग लेख्न मैले तीन घण्टा यातना सहेर फिल्म हेर्दा पाएको कुरा लेख्दैछु।
कुनै पनि डाइलग कुन सन्दर्भमा बोलियो भन्ने कुराले पनि महत्त्व राख्छ।
फिल्म सुरु भएको लगभग एक घण्टा पुग्दा साइडमा लाइनिङ भएको हेयर कट भएको रावण पिठ्युँ छोप्ने सुपरम्यान, ब्याटम्यान शैलीको पछ्यौरा लगाएर सीतालाई बन्दी बनाएर राखेको अशोक वाटिकामा पुग्छन् र आफूसँग बिहे गर्न राजी हुन दबाब दिन्छन्।
तर सीता मान्दिनन्। ‘मलाई रामले लिन आउँछन् र तँलाई बाँकी राख्दैन’ भन्छिन्।
त्यो बेलाको डायलग यस्तो छ-
जानकी : मेरे राघवका परिचय उन्ही से पूछ लेना, जब वो मुझे लेने आएँगे
रावण : लेने आएँगे तुम्हेँ? हाहाहा…जागो जानकी, देखो अपने चारोँ ओर, तुम मिथिलामे नहीँ हो के राघव डोली और बारात लेके तुम्हेँ लेने आएँगे।
(रावण र सीताको संवाद अशोक बाटिकामा)
यसरी हेर्दा सीताको जन्मको प्रसंग यहाँ छ। रावणले तिमी मिथिलामा छैनौ कि राघव (राम) डोली र जन्ती लिएर तिमीलाई लिन आउँछन् भनेकोबाट बिहे अघि जानकीको घर मिथिलामा रहेको प्रष्ट हुन्छ। त्यतिबेला मिथिलाको राजा जनक थिए।
अर्को एउटा डाइलग पनि छ।
विभीषणले राम र लक्ष्मणलाई सम्झाउँदै गरेका हुन्छन्- रावण कहिले पनि सुरुमा लडाइँमा उत्रँदैनन्। पहिला उनका दुई हात- इन्द्रजित र कुम्भकर्ण उत्रन्छन्। राम तीन दिशाबाट लंकामा आक्रमण गर्ने रणनीति बनाउँछन्।
फिल्म सुरु भएको २ घण्टा १५ मिनेटपछिको दृश्य हो यो। आफ्ना सेनाको हौसला बढाउन र जोश भर्न राघवले भन्छन्- ये मेरी लडाइँ थी जिससे तुम सब जुड गए। मैँ आभारी हुँ। लेकिन आज, आज मेरे लिए मत लड्ना, अपने लिए लड्ना। उस दिनके लिए लड्ना जब हजारौँ वर्ष बाद तुम्हारी गाथाएँ सुनाकर माएँ बेटोँको बडा करेगी। उस दिनके लिए लड्ना जब भारतकी किसी बेटी पर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुषको याद करके थर्रा उठेगा। उस दिनके लिए लड्ना, जब इतिहासमेँ तुम्हारा नाम पढकर सम्मानसे सर झुक जाएँगे। मेरे लिए मत लड्ना, अपने लिए लड्ना। अपनी मर्यादाके लिए लड्ना। लडोगे ?
प्रोमोमा जस्तो भारतकी किसी बेटी भन्दा सीतालाई पनि देखाइँदैन फिल्ममा।
अब यो डाइलगलाई जसरी लिए पनि भयो। हाम्रै सीतालाई भारतको छोरी भन्यो भनेर निहुँ खोजे पनि भयो। रामले आफ्नो सेनालाई त्यस्तो दिनका लागि लड, जब भारतकी कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिला दुराचारी तिम्रो पौरुषलाई याद गरेर काँप्छ भनेर कसैलाई इङ्गित नगरी समग्र छोरीहरुको बारेमा पो भनेको भने पनि भयो।
तर फिल्म नहेर्दासम्म चर्चा भए जस्तो सीधै ‘जानकी भारतकी छोरी हुन्’ चाहिँ भनिएको छैन। बरु रावणले सीधै जानकीलाई यो तिम्रो मिथिला हैन राघवले जन्ती लिएर आउन भनेका छन्।
रामायणसमेत नबुझ्ने, हिन्दू धर्मको सम्मान गर्न नसक्ने र भारतमै व्यापक विरोध भइरहेको एउटा सनकीले लेखेको फिल्मको डाइलगले कमजोर हुने कस्तो राष्ट्रियता हाम्रो ?
कसरी फैलियो त हुँदै नभएको डायलग छ भनेर ?
यसबारे हाम्रा प्यारा मेयरका यस बारे दुई स्टायटस मध्ये पहिलो हेरौँ-
१५ जुन (बिहीबार) साँझ ७ बजेर २६ मिनेट जाँदा पोस्ट गरेको स्टायटसमा लेखिएको छ- दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन।
यो फिल्म १६ जुनमा बल्ल रिलिज भएको हो। अर्थात् जुन दिन मेयर सापले यो पोस्ट गर्नुभयो, त्यतिबेला यो फिल्म उनले हेरेकै थिएनन्, किनभने रिलिजै भएको थिएन।
त्यतिबेला आदिपुरुषको एउटा प्रोमो भने रिलिज भइसकेको थियो जसमा ‘जब भारतकी किसी बेटी पर हाथ डालने से पहले
दुराचारी…’ भन्दा जानकी देखाइन्छ।
त्यसपछि मेयर सापको यो आइतबारको दोस्रो स्टायटस यो बारे। यसमा पनि जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश छ भनिएको छ। यो प्रदर्शन भइरहेमा भ्रामक तथ्य स्थापित हुने भनिएको छ। त्यसलाई चलचित्रको मूल भागबाट हटाउनु पर्ने भनिएको छ।
सेन्सर बोर्डले फैलाएको हल्ला
हाम्रा मेयरलाई भ्रममा पार्ने चाहिँ को रहेछ त ?
यसो खोजी हेर्दा मेयरले पहिलो स्टायटस लेखेको भन्दा एक घण्टा ४० मिनेट अगाडि अनलाइनखबरमा एउटा समाचार प्रकाशित भएको पाइन्छ जसको शीर्षक रहेको थियो- सेन्सर बोर्डले रोक्यो ‘आदिपुरुष’, ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउनुपर्ने
यसमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद लेखिएको छ र कोटभित्र समेत राखिएको छ। यसले फिल्ममा त्यही ठ्याक्कै संवाद छ भन्ने भ्रम पर्छ।
समाचारमा लेखिएको छ-
बिचरा मेयर वा मेयरका सल्लाहकारलाई अनलाइनखबरको यही समाचारले साँच्चिकै फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग छ भन्ने पारिदियो भन्ने बुझ्न गाह्रो छैन।
किनभने अनलाइनखबरले समाचार राखेको एक घण्टा ४० मिनेटपछि आएको बालेनको फेसबुक स्टायटसमा राखिएको फिल्मको पोस्टर र अनलाइनखबरले समाचारमा राखेको फिल्मको पोस्टरको दुई वटा छेउमा भएको रङ्ग उस्तै छ।
अनलाइनखबरको समाचारभन्दा बालेनको स्टायटस एकैछिनमा भाइरल भयो। एक त बालेन ब्रान्ड। त्यसमाथि राष्ट्रियताको कुरा। छोटो समयमै यो तीव्र रुपमा फैलियो।
‘बालेन प्रभाव’
बालेनको स्टायटस जेठ ३२ गते आएको थियो। त्यसको भोलिपल्टै सोसल मिडियामा सुनसरीको रामधुनी नगरपालिकाको एउटा वडाको कार्यवाहक वडाअध्यक्षले फिल्म बन्द गर्न हललाई सम्बोधन गरी लेखेको पत्र सार्वजनिक भयो।
त्यो पत्रमा आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय हुन्’ भन्ने शब्दावली नेपाली चलचित्र बोर्डले नसच्याउन्जेल लेखिएको थियो। जबकि जेठ ३२ गते नै नेपालको सेन्सर बोर्डले भने अनुसार विवादित वाक्यलाई हटाएपछि प्रदर्शन अनुमति दिएको थियो।
यो पत्र लेख्ने कार्यवाहक वडाध्यक्ष भए पनि निर्वाचन आयोगको नतिजा हेर्दा यो नगरपालिकाको यो वडा पूरै नेपाली कांग्रेसको प्यानलले जितेको वडा रहेछ।
बालेन प्रभाव पोखरासम्म पनि देखियो। पोखरामा गठबन्धनका उम्मेदवारका रुपमा एकीकृत समाजवादीबाट निर्वाचित मेयर धनराज आचार्य पनि बालेनबाट प्रभावित भए।
धनराज आचार्य आफैले हस्ताक्षर गरेको पत्र सार्वजनिक भयो जसमा बोल्डमात्र हैन अन्डरलाइनसमेत गरेर लेखिएको छ- जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको…’ जबकि फिल्ममा कतै पनि जानकी भारतीय छोरी हुन् भनिएकै छैन।
ऋतिक रोशन काण्ड भाग २ ?
आजभन्दा २३ वर्षअघि नेपालमा एउटा यस्तै काण्ड भएको थियो। स्टार टेलिभिजनसँगको अन्तर्वार्तामा भारतीय हिरो ऋतिक रोशनले म नेपाल र नेपालीलाई घृणा गर्छु भन्यो रे भनेर देशभर आन्दोलन चर्किएको थियो। ऋतिकको मिसन काश्मिर नामको फिल्म त्यतिबेला हलमा लागेको थियो। आक्रोशित भीड चाबहिलको गोपीकृष्ण हल जलाउन जाँदा गोली चलाइएको थियो। यो काण्डमा मान्छेको ज्यानसमेत गएको थियो। हाम्रा मधेशका दाजुभाइहरु कुटिएका थिए।
त्यतिबेला अहिले जस्तो इन्टरनेट हातहातमा आइसकेको थिएन। मुखैमुखले भाइरल भएको थियो त्यो हल्ला। त्यतिबेला पनि मिडियाले ‘पानी पर्यो कि परेन भनेर आफैले झ्याल खोलेर हेरेको’ थिएन। ऋतिक रोशनले यस्तो भनेको भन्दै विरोध प्रदर्शन भयो भनेर फोटोसहित समाचार दिएका थिए।
विरोध चर्किएपछि सरकारले ऋतिक रोशनको फिल्ममा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
उनले त्यस्तो अन्तर्वार्ता दिएको भनेर अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन। यदि उनले त्यसो भनेकै हो भने पनि हामी कस्ता ? कसैलाई कुनै देश मन नपर्न नपाउने ? एउटा हिरोले मन परेन भन्यो भन्दैमा राष्ट्रियतामाथि नै आक्रमण भन्ठानेर आफै दङ्गा गरेर मर्ने मार्ने वातावरण बनाउने ?
पछि मुम्बईमा रहेका मनीषा कोइरालाको माध्यमबाट नेपाल टेलिभिजनले ऋतिक रोशनको अन्तर्वार्ता प्रसारण गर्यो- मैले त्यसो भनेकै छैन। म भारतलाई जस्तै नेपाल र नेपालीलाई पनि माया गर्छु।
त्यसपछि बिस्तारै साम्य हुँदै गयो। तर ज्यान गुमाउनेहरु फर्किएनन्।
अहिले पनि त्यही काण्डको भाग २ जस्तो छ। युट्युबरहरुले हलमा फिल्म चल्दाचल्दै नाराबाजी गर्दै फिल्म रोकेको भिडियो पनि हाले
धेरैलाई लागेको छ यो फिल्ममा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग छ। फिल्म आफै हेर्ने हो भने ठ्याक्कै त्यस्तो संवाद छैन भन्ने देखिन्छ। हाम्रो राष्ट्रियतालाई हेप्ने कुनै डाइलग छैन। बरु हाम्रा ज्वाइँ (राम) को बिजोग देखाइएको छ। रामायण कै हुर्मत लिइएको छ। जसका कारण दिल्लीको अदालतमा यो फिल्म बन्द गर्न मुद्दा समेत परेको छ।
तर फिल्ममा त्यस्तो ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग छ नै भन्ने भइसक्यो धेरैलाई। मेयरहरु त्यही भन्छन्, मिडियाले त्यही लेख्छ। अनि कसरी नपत्याउनु !
अगाडिको बाटो के ?
मेयर बालेनको कदमको भारतसम्म चर्चा भयो। त्यहाँका मिडियाले उनकै कारणले डाइलग हटाइयो भनेर समेत समाचार लेखे। फिल्म निर्माताका तर्फबाट बालेन शाहलाई सम्बोधन गरेर एउटा पत्र आएको पनि सामाजिक सञ्जालमा देखियो।
यो पत्रमा विवादित डाइलगमा सीता माताको जन्म स्थानबारे कुनै उल्लेख नभएको तर सामान्यतया सबै महिला विशेषगरी ‘भारत’की महिलाको गरिमाको बारेमा कुरा भएको स्पष्टीकरण दिइएको छ-
The dialogue spoken by Mr Prabhas portraying the character of Shri Raghav, “aaj mere liye Mat Ladna, us din ke liye ladna jab Bharat ki kisi beti par haath dalne se pehle durachari tumhara paurush yaad karke thraa uthega” has no reference to the birth place of Sita Mata but refers to, in general, the dignity of all women particularly the women of “Bharat”. Having said that, as Indians the respect of women all over the world is of utmost importance to us.
साथै नेपालीहरुको भावनामा चोट पुर्याउने मनसाय नभए पनि पुगेको भए माफी माग्छौँ भनिएको छ।
के भनेको भनेर नै प्रष्ट नबुझिने गरी सञ्चार मन्त्रालयको एउटा काइते विज्ञप्ति पनि यही बीचमा आयो-
स्थानीय तहले फिल्मको प्रदर्शन रोक्न पाउँछ कि पाउँदैन भन्ने कुरा अब अदालतले निर्णय गर्ने देखिन्छ। किनभने अनलाइनखबरमा समाचार आएको छ- भारतीय फिल्म रोक्ने बालेनको निर्णयविरुद्ध अदालत जाने तयारी गर्दै हल व्यवसायी
बालेनले नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेकोले आफूले हिन्दी फिल्म रोक्ने निर्णय गरेको बताएका छन्।
तर संविधानकै अनुसूचीमा संघ, प्रदेश र स्थानीय तहको अधिकार प्रष्ट खुलाइएको छ। जसमा चलचित्र, सिनेमा हल खेलकूदलाई संघ र प्रदेशको साझा अधिकारको सूचीमा राखिएको छ। संविधानमा त्यस्तो भए पनि प्रदेशले चलचित्र र सिनेमा हलको कुनै अधिकार लिन सकेको जस्तो लाग्दैन।
स्थानीय तहसँग भने मनोरञ्जन कर उठाउने मात्र अधिकार तोकिएको छ संविधानको अनुसूचीमा।
तर व्यवहारिक रुपमा भने हल बनाउँदा इजाजतपत्र स्थानीय तहसँग लिनु पर्ने व्यवस्था चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावलीमा छ। २०२६ सालमा बनेर हालसम्म प्रचलनमा रहेको चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन अनुसार फिल्म देखाउन इजाजत पत्र भने केन्द्रबाट सञ्चार मन्त्रालयले बनाएको केन्द्रीय चलचित्र जाँच समितिबाट लिनु पर्छ।
यो ऐन अनुसार इजाजत पत्र लिएको छ छैन हेर्ने, नभए कानुन अनुसार कारबाही गर्ने जिम्मा भने सिडिओलाई तोकिएको छ।
हिन्दी फिल्म रोक्ने अधिकार स्थानीय तहहरुसित छ कि छैन भन्ने टुङ्गो अब अदालतले लगाउनेछ।
र, अन्त्यमा
यो फिल्म हलमा नदेखाउनु ठीक हो, यस्तो यातना दिने फिल्म पैसा तिरेर हेर्नबाट जोगिनु राम्रो हो।
खासमा यो फिल्मको विरोध बालेनले भन्दा बढी हिन्दु मुद्दा बोक्ने रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देनसहितको राप्रपाले गर्नु पर्ने थियो। यता पनि थिए नि शिव सेना के के भन्ने संस्था, उनीहरुले गर्नुपर्ने हो- रामायणको हुर्मत लिएकोमा।
तर यो फिल्मले नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति भएको भने होइन। हाम्रो राष्ट्रियता र सांस्कृतिक एकता त्यति कमजोर पनि छैन, एउटा सनकीले बनाएको वाहियात फिल्मबाट टुक्रने।
यही फिल्मको बहानामा अरु हिन्दी फिल्मलाई रोक्ने आदेश दिनु र त्यसलाई समर्थन गर्नुअघि चाहिँ एक पटक फिल्म हेर्नुपर्यो, के सच्याउन खोजेको हो- जानकीलाई मिथिलाको भनेको सच्याउनु पर्ने हो कि, राघवले समग्रमा वानर सेनालाई लड्न अभिप्रेरित गर्दा भारतीय छोरीलाई छुनुअघि तर्सने बनाउनका लागि लड भनेकोलाई सच्याउनु पर्ने हो, सच्याएर के चाहिँ राख्नुपर्ने हो- स्पष्ट हुनुपर्छ।
ए अँ, जाँदाजाँदै यो माथि छुटेको रमाइलो पनि हेर्नुस्-
बिचरा गरीब रावणले थाकेपछि स्नेक मसाज गराउँदो रहेछ।
यो कुन कार्टुन पात्र नठान्नुहोला, सुनको लंका हैन कोइलाखानीको जस्तो देखिने लंकाका गार्डहरु रहेछन् यिनीहरु। यो दुई हातले तार तानेर दाँत माझेको रे 😛
Wow, always impressed with your logic statement to the point.. Nepal and Nepalese never ever grow,civilize etc etc until and unless they make sure by opening windows and see if it’s really raining outside or just raining inside their home.. Clueless Nepalese omg though I am also a Nepali citizen.. Keep continue your blog as always.. Good luck..!!!!
Very balanced commentary, this is exactly my view. Thank you for clearing this up for those who haven’t watched the movie.