Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : आँप खाएपछि कोल्ड ड्रिङ्क्स खाँदा मान्छे मर्ने दावी सही होइन- विज्ञहरु

Posted on June 18, 2023 by Salokya

अहिले आँपको सिजन छ। गर्मी पनि बेस्कन छ। यही मौका पारेर अहिले सोसल मिडियामा एउटा पोस्ट भाइरल भएको छ- आँप खाए लगत्तै कोल्ड ड्रिङ्क्स नखानुस्, खाए मान्छे मर्न सक्छ। चण्डीगढमा त मान्छे मरे रे।

तपाईँले पनि यस्ता पोस्ट पढ्नु, देख्नु तथा सेयर गर्नुभएको छ? तपाईँले सही नियतले यस्ता कुरा सेयर गर्नुभयो होला। तर वास्तवमा यो कुरा सही होइन। यसबारे नेपालफ्याक्टचेकले फ्याक्ट चेक गरिसकेको छ।

नेपाली फेसबुक प्रयोगकर्तामाझ अहिले भाइरल भएको पोस्ट भारतमा सन् २०१९ देखि नै पटक पटक भाइरल भएको र त्यसबारे विभिन्न फ्याक्टचेकरहरुले विज्ञहरुसित कुरा गरेर गलत भएको बताइसकेका छन्। चण्डिगढमा भएको भनी दावी गरिएको घटनाको पनि प्रमाण भेटिएको छैन। थप बुझ्नका लागि पढ्नुस् फ्याक्टचेक –

आँप खाएपछि तुरुन्तै चिसो पेयपदार्थ पिएपछि मान्छेहरु बेहोस भएको र अस्पताल पुर्‍याएपछि मरेको र डाक्टरले आँप खाएपछि चिसो पेय पदार्थ वा सफ्ट ड्रिङ्क खान नहुने, खाएमा विष उत्पादन हुने दावी गरिएका पोस्ट विगत केही दिन यता सामाजिक सञ्जालमा भाइरल भएको छ। ती पोस्टहरुमा आँपमा साइट्रिक एसिड र चिसो पेय पदार्थमा कार्बोनिक एसिड हुने र सँगै खादा शरीरमा विष उत्पादन हुने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या र चार वर्षअघिदेखि नै फैलिरहेको  देखिएको छ।

यस्ता छन् भाइरल सामग्री

एमडी फारुक रजा नामको ६ हजारभन्दा बढी फलोअर भएको फेसबुक प्रोफाइलमा २०२३ जुन ९ मा आँप खाएपछि चिसो पेय पदार्थ खाँदा मृत्यु भएको दावी गर्दै गरिएको पोस्ट हामीले तथ्य जाँच गर्दासम्म ११ हजार पटक सेयर भएको छ। यो पोस्टमा ७ सय रियाक्सन छन् भने १२१ कमेन्ट छन्।

फेसबुक लिङ्क।

त्यसैगरी १ लाख ६२ हजार फलोअर्स भएको सीसी नेपाल नामको फेसबुक पेजले २०२३ जुन १२ मा यही व्यहोराको सामग्री ‘कृपया यो सन्देश आफ्ना सबै प्रियजनहरुमा  फर्वाड गर्नुहोस्, किनकि आँपको सिजन सुरु भएको छ’ लेख्दै आँपको फोटोसहित पोस्ट गरेको भेटियो। यो पोस्ट पनि दुई हजार सेयर भएको छ। त्यसमा ९७२ रियाक्सन छन् भने १२० कमेन्ट।

फेसबुक अर्काइभ लिङ्क।

फेसबुकमा खोज्दा यस्ता पोस्ट अरु पनि थुप्रै भेटिए। हेर्नुस् स्क्रिनरेकर्ड-

के हो तथ्य?

यो विषयमा थप जानकारीका लागि हामीले स्वास्थ्य, पोषण/खाद्य सुरक्षाका प्राध्यापक तथा अनुसन्धानकर्ता डा.उमा कोइरालालाई सम्पर्क गर्‍यौँ। उनले  ‘कुनै पनि अध्ययनले असर गर्छ नै भनेर प्रमाणित नगरेको’ बताउँदै ‘मान्छे नै मर्छ या मर्दैन भनेर भन्न नसकिने’ बताइन्।

कलेज अफ एप्लाइड फूड एण्ड डेयरी टेक्नोलोजी (CAFODAT) का पोषण र आहारविज्ञान विभागका प्रमुख कल्पना तिवारीले पनि अध्ययन बिना के हुन्छ यसै भन्न नसकिने बताइन्।

गुगलको फ्याक्ट चेक एक्सप्लोररमा सर्च गर्दा हामीले यो विषयमा हाम्रा छिमेकी देशहरुमा तथ्य जाँच भइसकेको पायौँ।

एएफपी फ्याक्टचेक ले मे ११ ,२०२३ मा ‘आँप खाएपछि कोल्ड ड्रिङ्क्स खाँदा मृत्युको कारण बन्दैन : विज्ञहरु’ शीर्षकमा तथ्य जाँच लेखेको छ। बंगलादेशमा यस्तो सूचना भाइरल भएपछि गरिएको त्यस तथ्य जाँचमा त्यसमा बंगलादेशको पब्लिक हेल्थ फाउन्डेसनका उपाध्यक्ष डा तौफिक जोर्डरले उक्त दाबी ‘निराधार’ भएको बताएका छन्।

‘आँप खाएर कोल्ड ड्रिङ्क्स खाँदा ज्यान जानु पर्ने कुनै कारण छैन, यदि दुवै कुरामा विषालु केही छैन भने’, उनले भनेका छन्।

त्यसैगरी ढाका युनिभर्सिटीको इन्स्टिच्युट अफ न्युट्रिसन एन्ड फुड साइन्सका प्रोफेसर नज्मा शाहीनले पनि आँप र कोल्ड ड्रिङ्क्स सँगै खाँदा खतरनाक प्रतिक्रिया उत्पन्न हुने कुनै भरपर्दो प्रमाण नभेटिएको बताएकी छिन्।

युनिभर्सिटी अफ टेक्ससस्थित डेल मेडिकल स्कूलकी एसोसिएट प्रोफेसर रुमी अहमदले पनि यस्तो दावी पूर्णतया गलत रहेको बताएकी छिन्

त्यसैगरी भारतको तथ्य जाँच संस्था फ्याक्टलीले पोहोर अर्थात् सन् २०२२ को मे ६ मा नै यो विषयमा तथ्य जाँच गरिसकेको छ।

फ्याक्टलीले चण्डीगढमा यस्तो घटना भएको हो कि हैन भनी खोज्दा पुष्टि हुन नसकेको उल्लेख गरेको छ।

आँपमा पाइने साइट्रिक एसिड र कोल्ड ड्रिङ्क्समा पाइने कार्बोनिक एसिड दुवै कमजोर एसिड रहेको भन्दै दुई कमजोर एसिडको मिश्रणले कुनै प्रतिक्रिया उत्पन्न नगर्ने त्यसमा उल्लेख छ।

त्यसैगरी भारतकै विश्वास न्युजले चार वर्षअघि नै अर्थात् सन् २०१९ मा यो विषयमा तथ्य जाँच गरिसकेको पाइएको छ। विश्वासन्युजले पोषणविद् अवणी कौललाई उद्‍धृत गर्दै साइट्रिक एसिड र कार्बोनिक एसिडको मिश्रणले मानव शरीरमा हानी गर्ने कुनै प्रमाण नभेटिएको उल्लेख गरेको छ।

उनले यी दुईको मिश्रण विषालु हुने भए सिकन्जी (इन्डियन लेमोनेड)खाएर लाखौँ भारतीय मरिसक्ने बताइन्। किनकि, उनका अनुसार, कागतीमा आँपमा भन्दा १० गुणा बढी साइट्रिक एसिड पाइन्छ।

उनले मधुमेहका रोगीले शरीरमा सुगर लेभल बढी भएको बेला आँप र सफ्ट ड्रिङ्क्स सँगै खाएको अवस्थामा भने हानी पुग्न सक्ने बताएकी छिन्।

हेर्नुस् विश्वासन्युजको तथ्य जाँच। 

तथ्य जाँच

दावी : आँप खाएपछि तुरुन्तै चिसो पेयपदार्थ सेवन गर्दा मृत्यु हुन्छ ।

दावीकर्ताः फेसबुक प्रयोगकर्ताहरु।

तथ्यः मिथ्या सूचना। नेपाली फेसबुक प्रयोगकर्तामाझ अहिले भाइरल भएको पोस्ट भारतमा सन् २०१९ देखि नै पटक पटक भाइरल भएको र त्यसबारे विभिन्न तथ्य जाँचकीहरुले तथ्य जाँच गरेर यसलाई गलत भएको बताइसकेका छन्। चण्डिगढमा भएको भनी दावी गरिएको घटनाको पनि प्रमाण भेटिएको छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme