Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्टचेक : रुटिन अफ नेपाल बन्दले फैलाएको एउटा मिथ्या सूचना – टोपबहादुरको सांसद पद खारेज

Posted on June 16, 2023 by Salokya

रुटिन अफ नेपाल बन्द युवा पुस्तामाझ खुब चर्चित छ। यसमा लेखेपछि मात्र पत्याउँछु भन्नेहरु जमात ठूलो छ। तर उसैले आज एउटा मिथ्या सूचना फैलायो। यसको असर फेसबुकका अरु पेजहरु र प्रयोगकर्ता माझ व्यापकै देखियो। ‘पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको सांसद पद खारेज हुनेभएको छ’ लेखेको थियो संक्षेपमा ‘रुटिने’ भनिने यो पेजले। तर नेपालफ्याक्टचेकको तथ्य जाँचमा यो सूचना मिथ्या देखिएको छ। रायमाझीको पद खारेज हुने नभई निलम्बन हुने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ। निलम्बनको मतलब सांसद भएपछि पाइने सबै सुविधा नपाइने, तलबसहित। सांसद पद खारेजको मतलब त फेरि चुनाव हुने स्थिति हो।

रुटिन अफ नेपाल बन्दले यो सूचना हालेपछि धेरैले पत्याए। एउटाले त अब उपनिर्वाचन हुने घोषणासमेत गर्न भ्यायो। उपयुक्त पात्र को हो समेत सोध्न भ्यायो।

यता रवि लामिछानेका फ्यानहरु सांसद संख्या २२ पुग्ने भयो भन्दै खुशी हुन हतार गरेको पनि देखियो-

 

तर उनीहरु मिथ्या सूचनामा फँसेका थिए।

यसबारे हाम्रो तथ्य जाँच पढ्नुस्-

के पुर्पक्षका लागि थुनामा गएका टोपबहादुर रायमाझीको सांसद पद खारेज भएको हो?

४० लाख फलोअर भएको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले शुक्रबार साँझ ७ बजे ‘पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको सांसद पद खारेज हुनेभएको छ’ लेखेको छ। युवामाझ चर्चित फेसबुक पेजले लेखेपछि फेसबुकमा यो सूचना भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा यो सूचना मिथ्या देखिएको छ। रायमाझीको पद खारेज हुने नभई निलम्बन हुने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ।

यस्तो छ भाइरल सूचना


‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजले टोपबहादुर रायमाझीको फोटो राख्दै ‘पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको सांसद पद खारेज हुनेभएको छ’ लेखेको छ।

तीन घण्टामा यो पोस्टमा १० हजार रियाक्सन, १४ सय कमेन्ट र ९३ सेयर देखिन्छ। अर्काइभ लिङ्क।

नक्कली भुटानी शरणार्थी प्रकरणमा चलिरहेको मुद्दामा अर्घाखाँचीबाट नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले शुक्रबार (२०८० असार १ गते) आदेश  दिएको हो।

यसको अर्थ अब उनीहरुले मुद्दा टुङ्गो नलागुन्जेल थुनामै बस्नु पर्नेछ। यद्यपि उनीहरुले अदालतको यो आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने छन्।

रुटिन अफ नेपाल बन्दसँगै थुप्रैले त्यही सूचनालाई फेसबुकमा लेखेको देखिन्छ। हेर्नुस् स्क्रिनरेकर्ड-

के हो तथ्य ?

यो  विषयमा तथ्य जाँचका लागि हामीले प्रतिनिधि सभा नियमावली २०७९ हेर्‍यौँ। नियमावलीको नियम २४८ को उपनियम ३ मा यससम्बन्धी व्यवस्था छ।

उक्त नियममा लेखिएको छ- प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर…निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ।

हाल टोपबहादुर रायमाझीको स्थिति यही हो। अब उनी थुनामा रहेको अवधिभर निलम्बनमा रहनेछन् र उनको पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ।

तर यदि अदालतले उनलाई सफाई दिएमा वा थुनामुक्त गरेमा निलम्बन फुकुवा हुने र स्थगित भएको पारिश्रमिक. सेवा र सुविधा सुचारु हुने उपनियम ५ मा उल्लेख छ।

नेपालको संविधानको धारा ८९ ले निम्न ६ अवस्थामा मात्र संघीय संसदका सदस्यको स्थान रिक्त हुने उल्लेख गरेको छ-

हाल यी कुनै पनि अवस्था नरहेकोले रायमाझीको संसद सदस्यको स्थान रिक्त हुने अवस्था छैन। बरु प्रतिनिधि सभा नियमावली अनुसार उनी निलम्बनमा भने पर्नेछन्।

तथ्य जाँच

दावी :  पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोपबहादुर रायमाझीको सांसद पद खारेज हुने

दावीकर्ता : रुटिन अफ नेपाल बन्द फेसबुक पेज

तथ्य : मिथ्या सूचना।  प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ अनुसार टोपबहादुर रायमाझी निलम्बनमा पर्ने हुन्, सांसद पद खारेज हुने होइन। यदि अदालतले उनलाई सफाई दिएमा वा थुनामुक्त गरेमा उनको निलम्बन फुकुवा हुने व्यवस्था छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme