Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ?

Posted on May 22, 2023 by Salokya

नेपालमा बनेको यात्री मोटरसाइकलका फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल भएको छ। फोटोमा मोटरसाइकलको अगाडिको च्यासिस भाँच्चिएको जस्तो देखिन्छ।

केही अनलाइन मिडिया र सोसल मिडियामा सो फोटो पुरानो भएको दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा भने फोटो पुरानो नभई आज नै खिचेको देखिएको छ।

यस्तो छ भाइरल फोटो

अनलाइन न्युजपोर्टल सेतोपाटीले ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल, कम्पनीले दियो स्पष्टीकरण’ शीर्षकमा समाचार राखेको छ। समाचारमा लेखिएको छ- ‘उक्त फोटो हालको नभई परीक्षण समयको रहेको कम्पनीले स्पष्टीकरण दिएको छ।’ हेर्नुस् सेतोपाटीको समाचारको अर्काइभ लिङ्क।

हामीले क्राउडट्याङ्गलबाट हेर्दा  सेतोपाटीको यो समाचार लिङ्कमा ४१ सय रियाक्सन, ५७० कमेन्ट र १६८ सेयर भएको देखियो।

त्यसैगरी दृष्टि साप्ताहिकको अनलाइन न्युजपोर्टल दृष्टिन्युजले पनि ‘यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल’ शीर्षकमा समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

त्यसैगरी फेसबुकमा १ लाख ७५ हजार फलोअर भएका डा. कल्याण सुवेदीको फेसबुक पेजमा पनि ‘यो research experiment phase को/ test गर्दाको पुरानो फोटो हो’ दावी गरिएको छ।

दुई घण्टामा यो पोस्टमा १ हजार १ सय रियाक्सन, १०६ कमेन्ट र ६३ सेयर देखिन्छ।

हेर्नुस् अर्काइभ लिङ्क। 

के हो तथ्य ?

यो फोटो भाइरल हुँदै गर्दा युवाको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेडमा फोटो आजै खिचेको दावी गर्दै एउटा पोस्ट भेटियो। हामीले उक्त पोस्ट गर्ने सुमनसित यसबारे थप जानकारी माग्यौँ। उनले फोटो आफ्ना मामा जयराम तिवारीले खिचेको भन्दै उनलाई सम्पर्क गर्न सुझाव दिए।

हामीले जयरामसित मोबाइलमा कुरा गर्दै यो फोटोको विषयमा जानकारी माग्यौँ। उनले भने, ‘हामी दुई जना बालाजु बाइसधारातिर यत्तिकै घुम्दै हिँड्दै आइरहेका थियौँ। बालाजु चोक कटिसकेपछि अस्ति भर्खर बन्द गरिदिएको पेट्रोल पम्पनिर, विष्णुमतिको पुलमा नयाँ बजारतिरबाट बालाजु चोकतिर जानेतिर बाइक चाहिँ यस्सो बसिरहेको रहेछ। मैले त खासै याद गरेको थिइनँ। सँगै भएको बाबुले यात्री बाइक यात्री बाइक भन्यो। अनि ठ्याक्क गइयो पारिपट्टी….बाइक रोडबाट पेटीपट्टी उकालेको रहेछ। मान्छेलाई के भयो भनेर सोधेको, मान्छेलाई केही भएन भन्नुभयो। त्यति तीन चार वटा फोटो खिचेँ अनि हिँडिहालेँ।’

उनले फोटो आजै दिउँसो खिचेको दावी पनि गरे।

उनको दावीको तथ्य जाँच गर्न हामीले उनलाई ओरिजिनल फोटो हाम्रो इमेलमा पठाउन भन्यौँ। इमेलमा उनले चार वटा फोटो .HEIC फरम्याटमा पठाए। एप्पलले आइओएस ११ देखि यो फरम्याटको फोटो खिच्ने गर्छ।

हामीले सो फोटो फाइलको मेटाडेटा जाँच्यौँ। मेटाडेटामा क्यामेरा, खिचेको समय, ठाउँ (जिपिएस) लगायतका सबै जानकारी रहेछ।

हामीले फोटोलाई pic2map टुलमा लगेर जाँच्यौँ।

जयरामले गरेको दावी र फोटोको मेटाडेटामा रहेको जिपिएस लोकेसन उही देखियो। आइफोन १४ प्रोबाट यो फोटो २२ मे २०२३ अर्थात् सोमबार नै खिचेको देखियो।

फोटो दिउँसो ३ बजेर ८ मिनेट ४३ सेकेन्डमा खिचेको देखियो।

हामीले उनको यो फोटो ओरिजिनल .heic फरम्याटमा यता र .jpg फरम्याटमा यता अपलोड गरेका छौँ। डाउनलोड गरी इच्छुकले मेटाडेटा चेक गर्न सक्नुहुन्छ।

यसबाहेक हामीले यात्री कम्पनीको फेसबुकमा राखिएको सूचना पनि अध्ययन गर्‍यौँ। सूचनामा लेखिएको छ-

❗️IMPORTANT NOTICE❗️ There has been some pictures of compromised chassis floating on the internet without context of the situation. As a part of the iteration and new design, we continuously test new parts and systems at Yatri. As a part of the internal test program, our test engineers were testing a new chassis iteration (not production chassis) for optimization for verification and road data purpose which didn’t end so well. We hope this can help clear any confusion and concerns and please share this info to whom it may be relevant

हेर्नुस् फेसबुक लिङ्क

उक्त सूचनामा कतै पनि उक्त फोटो पुरानो भएको लेखिएको छैन। त्यसमा ‘आन्तरिक परीक्षण कार्यक्रमको एउटा भागका रुपमा टेस्ट इन्जिनियरहरुले नयाँ च्यासिस इटिरेसनको परीक्षण गरिरहेका बेलाको’ उल्लेख गरिएको छ।

तथ्य जाँच

दावी : यात्री मोटरसाइकलको भाइरल भएको फोटो पुरानो हो।

दावीकर्ता : सेतोपाटी, दृष्टिन्युज र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

तथ्य : भ्रामक सूचना। हामीले भाइरल फोटो खिच्नेसित वास्तविक फोटो मागेर त्यसको मेटाडेटा परीक्षण गर्दा फोटो २२ मे, २०२३ दिउँसो ३ बजे खिचेको भेट्यौँ। त्यसैगरी यात्री मोटरसाइकलले सामाजिक सञ्जालमा राखेको स्पष्टीकरणमा पनि फोटो पुरानो भएको दावी गरिएको छैन। तसर्थ केही अनलाइन मिडिया र सोसल मिडियामा गरिएका दावी भ्रामक छन्।

2 thoughts on “फ्याक्ट चेक : यात्री मोटरसाइकलको भाइरल फोटो नयाँ हो कि पुरानो ?”

  1. Chandra Bilash Bhurtel says:
    May 23, 2023 at 6:10 am

    अनि यत्रो फ्याक्ट चेक हान्दै गर्दा यात्री सँग चै सोधपुछ नहानेको भन्या?

    Reply
    1. Salokya says:
      May 23, 2023 at 10:24 am

      यात्री आफैले सामाजिक सञ्जालमा त्यो फोटो पुरानो भएको दावी गरेको छैन भनेर लेखिसकेको कुरामा सोधपूछ जरुरी देखिएन।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme