कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्।
चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गर्दै कान्तिपुर व्यवस्थापनले चौहानलाई आइतबार नयाँ प्रधान सम्पादकको जिम्मेवारी दिएको’ उल्लेख छ।
बजारमा केही अघिदेखि चलेको हल्लालाई सत्य साबित गर्दै कान्तिपुरमा सम्पादकीय नेतृत्व परिवर्तनको औपचारिक घोषणा भएको हो।
सुधीर शर्माले ट्विटबाटै ‘आजदेखि कान्तिपुरबाट अलग भएको’ जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘म लेख्ने-पढ्ने काममै हुन्छु,भेट भइहाल्नेछ।’
++ अबको सम्पादकीय जिम्मेवारी उमेश चौहानजस्ता होनहार र प्रतिवद्ध पत्रकारलाई सुम्पेर जान पाउँदा मलाई खुशी लागेको छ, उमेशजीलाई धेरै–धेरै बधाई। उहाँले कान्तिपुरको सक्षम टीमको साथमा नयाँ युगसुहाउँदो पत्रकारिता अगाडि बढाउनेमा म विश्वस्त छु, हार्दिक शुभकामना। pic.twitter.com/6vdAkfo0w0
— Sudheer Sharma (@sudheerktm) May 21, 2023
दोस्रो विदाइ
सुधीर शर्मा कान्तिपुरबाट दोस्रो पटक विदा भएका हुन्। यसअघि सन् २००८ को अगस्तदेखि सन् २०१८ को जुलाईसम्म १० वर्ष उनले कान्तिपुरको नेतृत्व गरेका थिए।
पहिलो पटक उनले कान्तिपुर छाडेपछि नारायण वाग्लेलाई प्रधान सम्पादक बनाइएको थियो। तर एक वर्षपछि उनलाई फेरि कान्तिपुरले सम्पादकीय नेतृत्वमा फर्काएकाे थियाे।
The board of directors at Kantipur has accepted the resignation of @kantipurdaily editor-in-chief @narayanwagle.
We’re thrilled to announce that @sudheerktm has returned to become the new editor-in-chief. We at KMG welcome Sudheer and thank Narayan for a successful year!
— Kailash Sirohiya (@KailashSirohiya) August 26, 2019
सुधीर शर्माले कान्तिपुर पत्रिकाको इतिहासमा सबैभन्दा लामो समय नेतृत्व मात्र गरेनन्, उनको नेतृत्व त्यस्तो कठिन कालमा भयो जतिबेला कान्तिपुर इतिहासकै सबैभन्दा संकटमा गुज्रिरहेको थियो। नारायण वाग्ले, प्रतीक प्रधान, गुणराज लुइँटेल, अमित ढकाल जस्ता नाम चलेका पत्रकारहरुको नेतृत्वमा राम्रा भनिएका पत्रकारहरुको ठूलै हिस्साले कान्तिपुर छाडेको थियो। गोयन्काले स्थापना गरेको कान्तिपुरमा कैलाश सिरोहिया र विनोदराज ज्ञवाली दुई साझेदारका रुपमा प्रवेश गरेका थिए। तर अहिलेसम्म नखुलेको कारणले दुईबीच फाटो आयो र ज्ञवाली कान्तिपुर पब्लिकेसन्सबाट आफ्नो हिस्सा लिएर बाहिरिए। ज्ञवालीसँगै पत्रकारहरुको ठूलो समूहले कान्तिपुर छाड्यो। त्यतिबेला नेपाल म्यागेजिनको नेतृत्व गरिरहेका सुधीर शर्मा ब्रोडसिट दैनिकको नेतृत्वमा आएका थिए।
ज्ञवालीसित गएका पत्रकारहरुको योजना ज्ञवालीले निकाल्ने नयाँ दैनिक पत्रिकामा काम गर्ने थियो। तर पत्रिका निस्कनुअघि नै ती पत्रकारहरु ज्ञवालीबाट छुट्टिएर दैनिकी नामको नयाँ पत्रिका निकाल्ने तयारीमा जुटे। दैनिकी पत्रिका त बजारमा आएन तर अनलाइन सञ्चालनमा आयो। पछि ज्ञवालीले निकाल्न लागेको नागरिक र रिपब्लिकामा ती पत्रकारहरु मर्ज भए।
कान्तिपुरमै टिकेका केही पत्रकारहरु र नयाँ पत्रकारहरुलाई लिएर कान्तिपुरको सम्पादकीय नेतृत्वलाई सफलतापूर्वक अघि बढाउँदै नम्बर वानमा कायम राखिरहन शर्मा सफल भए। यता प्रतिस्पर्धी नागरिक दैनिकमा युवराज घिमिरे, नारायण वाग्ले, किशोर नेपाल, प्रतीक प्रधान हुँदै पाँचौँ सम्पादक गुणराज लुइँटेल सम्पादकको कुर्सीमा बसिसकेका बेला उता कान्तिपुरमा एक दशकसम्म परिवर्तन भएको थिएन। संस्थापक सम्पादक योगेश उपाध्यायको सात वर्षीय कार्यकाललाई पनि सुधीर शर्माले जितिसकेका थिए।
कान्तिपुरले अर्को एउटा कठिन समयको सामना त्यतिबेला गर्नुपरेको थियो जब भारतीय राजदूत र कान्तिपुर आमनेसामने भएका थिए। दूतावासले कान्तिपुरलाई भारतीय लगानीका कम्पनीहरुको विज्ञापनमात्र बन्द गरिदिएन, न्युजप्रिन्ट ल्याउनसमेत अवरोध गरेको थियो। तर त्यो कठिन परिस्थितिलाई पनि प्रकाशक र सम्पादकले मिलेर सामना गरेका थिए। अनौपचारिक जानकारी अनुसार त्यतिबेला भारतीय राजदूत राकेश सूदले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई सम्पादक सुधीर शर्मालाई हटाऊ, विज्ञापन लगायतका अवरोध हट्छ भनेका थिए। तर सिरोहियाले मानेनन्।
पहिलो कार्यकाल एक दशक लामो भए पनि सुधीर शर्माको दोस्रो कार्यकाल भने चार वर्ष पनि पूरा हुन पाएन।
पहिलो पटक कान्तिपुरबाट विदा हुँदाको ट्विट
हामी- म र @akhileshU – ले कान्तिपुर र काठमान्डू पोष्टको प्रधानसम्पादक पदबाट हिजो राजीनामा दिएका छौं । अहिलेको घडी र विगत १० बर्षको उतारचढावपूर्ण यात्रामा सदैव साथ दिनुहुने श्रद्धेय पाठकहरू, साथी, सहयोगी, शुभेच्छुक एवम् कान्तिपुर परिवारका सबै सहकर्मीहरुप्रति हाम्रो आभार 🙏
— Sudheer Sharma (@sudheerktm) July 11, 2018
उमेश चौहानको नयाँ नेतृत्व
अब कान्तिपुर दैनिकको नेतृत्व उमेश चौहानले गर्नेछन्। त्यसो त चौहान झण्डै दुई वर्षदेखि कान्तिपुरमै ‘सम्पादक’ को जिम्मेवारीमा थिए। उनी सम्पादक बनेको खबर कान्तिपुरमा छापिँदा ‘चौहानले कान्तिपुर समाचार कक्षमा प्रधान सम्पादकको मातहत रही सम्पादकीय सामग्रीको संयोजन एवं उत्पादन गर्ने व्यवस्थापनले जनाएको छ’ लेखिएको थियो।
नयाँ पत्रिकामा लामो समय काम गरेका र त्यहाँ पछिल्लो समय सम्पादक रहेका चौहानले एक्कासी राजीनामा दिँदा त्यतिबेला धेरै चकित भएका थिए। पछि उनी कान्तिपुरका सम्पादकका रुपमा देखिए। हल्लाबाजहरुले त्यतिबेला नै उमेश चौहानलाई भावी प्रधान सम्पादकका रुपमा भित्र्याइएको गफ दिन छाडेका थिएनन्।
अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्। यसअघि उनले रेडियो र टिभीमा पनि काम गरिसकेका छन्।