Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : दीपक मनाङ्गे जसलाई मुख्यमन्त्रीले हैन, मिडियाले मात्र मन्त्री बनाएका रहेछन्

Posted on May 16, 2023 by Salokya

अघिल्लो प्रदेश सभाको कार्यकालमा मन्त्री भएका दीपक मनाङ्गे उर्फ राजीव गुरुङ यस पटक पनि मन्त्री बनेको समाचार तपाईँहरुले मिडियामा देख्नुभएको थियो ? पत्याउनु भएको थियो?

अनलाइनखबरदेखि उज्यालोसम्म- नाम चलेका नचलेका सबै अनलाइनहरुले लेखेको थियो यो समाचार। तर बुझ्नु पर्ने कुरा के हो भने प्रदेशमा मन्त्री बनाउने काम मुख्यमन्त्रीको हो, मिडियाको होइन। गण्डकी प्रदेशका मुख्यमन्त्रीले दीपक मनाङ्गेलाई मन्त्री बनाएका छैनन्, मिडियाले बनाउँदैमा हुने होइन। यसबारे नेपालफ्याक्टचेकले तथ्य जाँच गरिसकेको छ। तल पढ्नुस् फ्याक्ट चेकको विवरण।

२०८० वैशाख २९ गते शुक्रबार  दिउँसो अनलाइनखबर, नेपालसमाचारपत्र, राजधानी दैनिक, उज्यालो, लोकान्तर लगायतका विभिन्न अनलाइनहरुले राजीव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएको समाचार राखे। तर हाम्रो तथ्य जाँचमा यो समाचार मिथ्या देखिएको छ।

के हो घटना ?

शुक्रबार गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन लागेको समाचार विभिन्न अनलाइन मिडियामा आएको थियो। ती समाचारहरुमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङ्गे) र रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेको दावी गरिएको थियो।

दीपक मनाङ्गेलाई नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री नियुक्त भएको दाबी समाचारमा गरिएको थियो।

अनलाइनखबरले गण्डकीमा मनाङ्गेसहित ४ मन्त्री नियुक्त, ४ बजे शपथ शीर्षकको समाचार २० लाख फलोअर भएको फेसबुकमा पोस्ट गरेको थियो। समाचार लिङ्कसहितको उक्त पोस्टमा लेखिएको छ- ‘मनाङेलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएपछि अन्तत मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन्।’

यो पोस्टमा सोमबारसम्म ५२७ रियाक्सन छन् भने ३६ कमेन्ट र चार सेयर देखिन्छ।

अनलाइनखबरको समाचारमा ‘नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको’ र ‘मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन्’ लेखिएको छ।

हेर्नुस् अनलाइनखबरको समाचारको अर्काइभ लिङ्क।

त्यसैगरी नेपालसमाचारपत्रको अनलाइन संस्करण न्युजअफनेपालले पनि ‘गण्डकी मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले शपथ लिँदै’ शीर्षकको समाचारमा लेखेको छ- ‘महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन्। जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन्।’

हेर्नुस् न्युजअफनेपालको समाचारको अर्काइभ लिङ्क

त्यसैगरी उज्यालो अनलाइनमा पनि ‘गण्डकीमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त, शपथ दिउँसाे ४ बजे’ शीर्षकमा समाचार प्रकाशित भएको छ।

समाचारमा लेखिएको छ- ‘गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो।’

 

हेर्नुस् उज्यालो अनलाइनमा प्रकाशित समाचारको अर्काइभ लिङ्क।

हामीले गुगलमा “मनाङेसहित ४ मन्त्री नियुक्त” कीवर्ड राखेर विगत एक हप्ताको रिजल्ट एडभान्स सर्च गर्दा राजधानी दैनिक, प्रशासन, विकासन्युज, नेपालपत्र, ब्रेकएनलिङ्कस, शैलीन्युज, जनतासमाचार, डिजिटलखबर, मध्याह्नडेली, लोकान्तर लगायतका अन्य थुप्रै अनलाइनहरुमा पनि दीपक मनाङ्गे मन्त्री भएको समाचार प्रकाशन भएको भेटियो।

हेर्नुस् स्क्रिनरेकर्ड

के हो तथ्य ?

हामीले यस विषयमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता रमेश घर्तीसँग कुरा गर्‍यौँ। उनले दीपक मनाङ्गे मन्त्री नियुक्त भएको कुरा सत्य नभएको बताए।

दीपक मनाङ्गे मन्त्री नियुक्त भएको समाचार शुक्रबार दिउँसै फैलिए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी जानकारी सहितको पत्रमा भने दीपक मनाङेको नाम छैन।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पठाएको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी विवरण 

हामीले गण्डकी प्रदेश सरकार अन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट पनि हेर्‍यौँ। त्यहाँ पनि हामीले राजीव गुरुङ (दीपक मनाङ्गे) को नाम भेटेनौँ। त्यहाँ मन्त्रीको सूचीमा सुशिला सिंखडा, सरस्वती अर्याल तिवारी, महेन्द्रध्वज जिसी, रेशमबहादुर जुग्जाली, जितप्रकाश आले मगर र दीपेन्द्र बहादुर थापाको मात्रै नाम छ।

यस विषयमा हामीले पोखराका दुई पत्रकार सन्तोष पोखरेल र केशवशरण लामिछानेसँग पनि बुझ्यौँ। उनीहरुले पनि अघिल्लो प्रदेश सभाको कार्यकालमा मन्त्री भए पनि यस पटक मनाङ्गे मन्त्री नभएको जानकारी दिए।

तथ्य जाँच

दावी : दीपक मनाङ्गेको नामले चर्चित राजीव गुरुङ गण्डकी प्रदेशको मन्त्री नियुक्त।

दावीकर्ताः अनलाइनखबर, नेपाल समाचारपत्र, राजधानी दैनिक, उज्यालो अनलाइन, लोकान्तर लगायतका अनलाइन मिडिया।

तथ्यः मिथ्या सूचना। मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई लेखेको पत्र, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ताको भनाई, उक्त कार्यालयको आधिकारिक वेबसाइट र पोखरालाई मुख्य थलो बनाएर काम गरिरहेका पत्रकारले समेत मनाङ्गे मन्त्री नियुक्त नभएको बताएका छन्।

1 thought on “फ्याक्ट चेक : दीपक मनाङ्गे जसलाई मुख्यमन्त्रीले हैन, मिडियाले मात्र मन्त्री बनाएका रहेछन्”

  1. करन says:
    May 16, 2023 at 9:25 am

    १२ भाइ (एउटाले हाम फाल्दा सबै खाल्टोमा जाने) प्रवृतिका झोले/ पत्रकारीतालाइ ठगी खाने भाँडो बनाएर पित- पत्रकारिता गरीरहेका सबैलाइ unfollow गरीसकेको छुँ । तर पनि कता कता नसुनेको भने होइन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme