Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्व गृहमन्त्री पक्राउ पर्दा अनलाइनहरुका पाँच अलमल

Posted on May 11, 2023May 11, 2023 by Salokya

बुधबार बिहानै धेरैले नसोचेको घटना आइलाग्यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण घरबाटै पक्राउ परे। विरलै हुने यस्तो घटनाका बेला छिनछिनको अपडेट थाहा पाउन अनलाइनमा अडियन्सको ओइरो लाग्छ। तर हतपतको काम लतपत त गर्न भएन नि। आज केही अनलाइनहरुको समाचार पढ्दा यस्तै देखियो।

१) ढोका फोडेर पक्रेको ?

रातोपाटीले समाचार लेख्दा बालकृष्ण खाँणलाई पक्राउ गर्न प्रहरीले घरको ढोका नै फुटाएको दावी गरेको छ।

समाचारको सम्पादन कति फितलो छ, सुरुको दुई लाइन पढ्दा बुझिन्छ। दुई लाइनमा दुई चोटी ढोका फुटाएको र ढोका तोडेको उल्लेख छ।

हेडलाइनसहित गन्ने हो भने चार प्याराग्राफको समाचारमा पाँच पटक ढोका तोडेको, फुटाएको उल्लेख छ।

ढोका फुटाएको भन्ने चाहिँ अनुमानकारिता मात्र रहेछ। कान्तिपुर, अनलाइनखबर, उकेरा जस्ता अनलाइनहरुले भने ढोका फुटाएर पक्राउ गरेको समाचार लेखेका छैनन्।

बालकृष्णले सुरुमा प्रहरीसँग जान नमानेको, पछि गएकोसम्म कुरा सबैमा मिल्छ। तर लोकान्तरले बडा रोचक एङ्गल निकालेको छ-

अमलेट देखेको अनलाइनले ढोका फुटाएको चाहिँ देखेको छैन फेरि।

अनलाइनले अमलेटसम्म देख्दा युट्युबसम्म आइपुग्दा रुवाबासी नै देखियो

हुँदाहुँदा युट्युबे पारामा टेलिभिजन पनि उत्रियो-

बिहान एउटै समाचारमा पाँच पटक ढोका फोडेको भनेर लेख्ने रातोपाटीले रातिसम्म आइपुग्दा भने कुरा फेर्‍यो। राति नौ बजेतिर अपलोड गरिएको समाचारमा लेख्यो- प्रहरीले लात्तीले ढोकामा हानेको।

अर्थात् बिहान ढोका फुटेको थियो, राति ढोका फुटेको हैन, लात्तीले चैँ हानेको। भोलिसम्ममा लात्तीले पनि हान्या हैन, खुट्टो यसो उठाएको मात्र थियो पनि भन्ने हुन् कि 🙂

२) पीएलाई कहाँबाट पक्रेको ?

आज पूर्व गृहमन्त्रीलाई मात्र होइन, उनका पीएलाई पनि प्रहरीले पक्रेको थियो। तर कहाँबाट पक्रेको भन्ने कुरा चाहिँ फरक फरक अनलाइनमा फरक फरक ठाउँको आयो।

आयोमेलको यो समाचार अनुसार उनका पीए अर्थात् स्वकीय सचिव नरेन्द्र केसी खाँणकै घरमा थिए। घरभित्रैबाट प्रहरीले पक्रेर गाडीमा राखेछ।

माथि रातोपाटीको समाचार हेर्दा पनि पीएलाई घरबाटै पक्राउ गरेको लेखिएको छ।

तर अनलाइनखबरले भने उनलाई जडिबुटीबाट पक्राउ गरेको दावी गरेको छ।

इकागजका अनुसार चाहिँ मैजुबहालबाट पक्राउ परेको रे-

यता नेपाललाइभले चाहिँ उनलाई चाबहिल क्षेत्रबाट पक्राउ गरेको देखेछ

३) जाँदै नगएकोलाई गयो भन्दिने ?

यो चाहिँ अलि अगाडिको कुरा। सोमबार साँझ बालकृष्ण आफै काठमाडौँ प्रहरी परिसर पुगेको खबर देशसञ्चारले लेख्यो।

देशसञ्चार आफैले देखेको हो त?

होइन।

के आधारमा लेख्यो त ? प्रहरी स्रोतले भनेको, कांग्रेस स्रोतले पुष्टि गरेको रे।

माथि आयोमेलको समाचार हेर्नुभयो भने त्यहाँ पनि दुई दिनअघि बालकृष्ण आफै प्रहरी परिसरमा पुगेको दावी गरिएको छ।

तर आजको अनलाइनखबर हेर्नुभयो भने चाहिँ बालकृष्ण आफैले त्यसको खण्डन गरेको देखिन्छ।

अब यो स्रोतवाला समाचार सच्याउने कि के गर्ने त ? स्रोत सही हो कि व्यक्ति सही हो ? व्यक्ति आफैले म गएको होइन भनेपछि स्रोतले भनेर भयो?

एउटा चर्चित भनाई जस्तै- स्रोतले बाहिर पानी परिरहेको छ भन्यो भने त्यही लेख्ने कि साँच्चै पानी परिरहेको छ कि छैन भनेर झ्याल खोलेर पनि हेर्ने ?

४) थुनामा राख्न चार दिनको अनुमति कि तीन दिनको ?

दिनभर बालकृष्णको नाममा अलमल गरेका अनलाइनले लास्टमा थुनामा राखी अनुसन्धान गर्न अदालतले दिएको अनुमतिको समाचारमा पनि अलमल गर्न छुटाएनन्।

चार दिनको अनुमति दिएको भनी समाचार लेखेको थियो कान्तिपुरले-

कान्तिपुरकै पछि लाग्दै नागरिक, बाह्रखरी, उकेरा, कान्तिपुर टिभी, लोकान्तर आदिले पनि चार दिन भनेरै लेखे।

रमाइलो कुरा चाहिँ कान्तिपुरले चार दिन लेखेको समाचारमा जसलाई कोट गरेको हो, उसैलाई बीबीसी नेपालीले कोट गर्दा तीन दिन भनेको देखियो। एकै जनाले दुई फरक कोट कसरी दिन सक्छ ?

अनलाइनखबरले पनि तीन दिन नै लेख्यो-

हिमालखबरले भने तीन दिनको सट्टा चार दिन लेखेकोमा सूचना राखेरै सच्याएको छ। अरुको गल्ती जस्ताको तस्तै छ

५) दरबारमार्गसमेत पुर्‍याए अनलाइनहरुले

तीन दिन थुनामा राख्ने भएपछि पहिलो रात कता त ? केही अनलाइनहरुले दरबारमार्गको प्रहरी चौकीमा लगिने भने, केहीले लगियो भने, केहीले दरबारमार्गमा भने।

अनलाइनहरुले पुर्‍याइसकेका थिए बालकृष्णलाई दरबारमार्गमा। तर नेपालखबरले चाहिँ उनी दरबारमार्ग जान नमानेकोले टेकुमै राखिएको लेख्यो। अब दरबारमार्गमा राखियो भनेर लेख्नेहरुले चाहिँ सच्याउनु पर्ने कि नपर्ने होला ? आ, के मतलब गर्ने त होला नि, हैन ? 🙂

यस्तै समाचारहरुबाट दिक्क भएर होला, नेपाल प्रहरीले आज सूचना नै निकाल्यो यस्तो-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme