Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

च्याटजीपीटी आउनुअघिको कथा : जब रोबोटलाई प्रधान सम्पादक बनाइयो

Posted on May 7, 2023 by Salokya

यो कथा मैले पहिलो पटक कोरोना भाइरसको संक्रमण हुँदा आइसोलेसन बेडमा बसी लेखेको थिएँ। साढे दुई वर्षअघि शिलापत्रमा प्रकाशन हुँदा एआई यति सहज र प्रभावकारी भइसक्या थिएन। अहिले त च्याटजीपीटीमा विज्ञप्ति राखिदियो भने उसले खुरुखुरु गज्जबको समाचार बनाइदिन्छ। यो विषयमा समाचार लेख भन्यो भने आफै लेखिदिन्छ। त्यतिबेला चाहिँ दिमागमा रोबोट भन्ने मात्र आएछ। त्यसैले रोबोटलाई प्रधान सम्पादक बनाइएछ। साढे दुई वर्षअघि च्याटजीपीटी आउनुभन्दा अघिको यो कथा अहिले पढ्दा रमाइलो लागेर साभार गरेको छु। यसमा प्रयोग गरिएको ‘यमाप’ शब्दको ‘यमा’ भने सरुभक्तको साइन्स फिक्सनबाट तानिएको हो। सरुभक्तले यन्त्र मानवलाई छोटकरीमा ‘यमा’ लेख्ने गर्थे। मैले त्यसमा पत्रकारको प झुण्ड्याएर यमाप बनाइदिएको हुँ।

(कथा) प्रधान सम्पादक यमाप २.०

हाम्रो माग पूरा गर !

पूरा गर, पूरा गर !!

‘उपत्यका’ राष्ट्रिय दैनिकको बागबजारस्थित कार्यालयबाहिर एक सातादेखि रिले अनशन जारी थियो । आज भने केही संस्थाहरू ऐक्यवद्धता जनाउन पुगेका थिए । त्यसैले चर्को नाराबाजी कर्पोरेटसम्मै सुनिएको थियो ।

‘के भनिसेको ड्याडु तपाईंले ? हजुर होसमा त होइसिन्छ ?’

पब्लिकेसन्सको पारिवारिक बोर्ड बैठकमा बुबा ऋषि अग्रवालको प्रस्ताव सुनेर समिराले छक्क पर्दै सोधिन् ।

‘म होसमै छु बेटु’, ऋषिले विस्तारै आफ्नो योजना सुनाए, ‘यी सबैलाई दुई महिनाको तलबसहित बिदा गर्ने । तलब नपाए पनि काम गर्न राजी हुनेहरूलाई समेत अबको तीन महिनाभित्र क्रमशः बिदा गर्ने…!’

‘अनि सबै पत्रिका पनि बन्द गर्ने ?’, श्रीमती शर्मिलाले सोधिन् ।

‘मैले त्यसो भनेँ र !’

‘अनि ?’

‘वेट एन्ड सी डियर !’

०००

‘बधाई छ, मुक्ति दिवस मनाउनुस् ।’

नेपाल पत्रकार महासंघको रोहवरमा दुई महिनाको अग्रिम पारिश्रमिकसहित वक्यौता क्रमशः भुक्तान गर्ने सर्तमा राजीनामा बुझाइयो : सम्पादक द्रोणराज वाग्लेले लेखेको यस्तो फेसबुक स्टाटसमा आज यस्तै कमेन्टहरूको ओइरो थियो ।

द्रोणराजको राजीनामाले धेरैलाई अचम्ममा पारेको थियो । उनीभन्दा लोयल सम्पादक ‘उपत्यका’ मिडिया हाउसले शायदै अर्को पाउँथ्यो होला । उनी त आवश्यक परे दुई वर्ष स्वयंसेवा गर्नुपरे पनि गर्छु भनेर तयार हुने मान्छे । प्रकाशकले आफ्नो पत्रिकामा सबैभन्दा धेरै समय सम्पादक भएका उनलाई समेत किन राजीनामा गराएको हो, गसिप बजारले समेत अनुमान गर्न सकिरहेको थिएन ।

कामबापतको तलब दिनुपर्नेलाई त हटाउनु स्वाभाविक हो, तर तलबै दिनु नपरे पनि आफूप्रति लोयल हुने, राम राम्रो हो तर श्यामलाई पनि नराम्रो भन्न मिल्दैन भन्ने शैलीमा यता पनि ठिक्क र उता पनि ठिक्क पारेर लेख्न सक्ने उनको क्षमताको सबैले कदरै गर्थे ।

द्रोणराज सहकर्मीहरूलाई हौस्याउन पनि अगाडि नै हुन्थे । एक पटक उनले तीनपाने खाएर समाचार लेखेका पत्रकारलाई यसपालि हामीले ‘खोजी पत्रकारिता पुरस्कार’ पाउने भयौँ भन्दै न्युजरुममा सबैका सामु प्रशंसा गरेका थिए । तर त्यसको तीन दिनमै त्यो समाचार गलत ठहरियो र पत्रिकाले माफी माग्नुपर्‍यो ।

आफ्नो गुटबाहिरको पत्रकारलाई भने उनी च्याप्दैनथे । ठूलो ठाउँको सोर्स लगाएर न्युजरुममा भित्रिएको पत्रकारलाई म्यानेजमेन्टले फोन गर्दा ‘भइहाल्छ नि सर’ भन्थे, तर आफूनिकटका पत्रकारहरूसामु हेपेर भन्थे, ‘बोकाले दाइँ गर्छ र !’

त्यो दिन सम्पादकीय लेख्न बसिरहेको बेला आधा छाडेर एमडीको कोठामा गएका द्रोणराजलाई भनियो, ‘तपाईंले अब छाड्नुपर्ने भो । हामीले सँगै काम गर्न नसक्ने भयौँ ।’

विकल्प नै के थियो र ?

राजीनामा दिए ।

सम्पादकको राजीनामाको खबर छापिँदासम्म नयाँ सम्पादकको घोषणा भएको थिएन । यसले पनि ‘उपत्यका’ दैनिकप्रति सबको चासो बढेको थियो ।

०००

प्रधान सम्पादक : यमाप २.०

१ असाेज २०८० को ‘उपत्यका’ दैनिकको प्रिन्टलाइनमा छापिएको थियो यस्तो नाम ।

के हो यमाप २.० ? सबैतिर चासो थियो ।

प्रकाशक ऋषि अग्रवालले एकाएक गरेको निर्णय थिएन यो । यसको पृष्ठभूमिका लागि तीन वर्षअघि जानुपर्छ, जतिबेला कोरोना भाइरसले संसारभर कहर मच्चाएको थियो ।

त्यति बेला यी श्रमजीवी भनाउँदा पत्रकारहरूले कम्ता दुःख दिएका थिएनन् प्रकाशकहरूलाई । तर प्रकाशकहरूले पनि आफ्नो पारा फेरेनन् । महामारीको बहानामा धेरै तलब खाने पत्रकारहरूलाई निकालेर सस्तो पत्रकारहरूलाई राख्न सफल भए । तर पनि आर्थिक संकटले नाफाको रकम खुम्च्याइरहेकै थियो ।

मिस्टर बबले त्यही बेला एउटा रोचक प्रस्ताव ल्याए । बब अमेरिकाको वेस्टर्न युनिभर्सल विश्वविद्यालयको एआई ल्याबका प्रतिनिधि । त्यो ल्याबको एउटा प्रोजेक्ट थियो- ‘आर्टिफिसियल इन्टेलिजेन्स’युक्त रोबोट पत्रकार बनाउने ! मिडिया डेभलपमेन्ट फन्डको लगानीमा चारवटा कस्टमाइज रोबोट ‘उपत्यका’ मिडिया हाउसका लागि ऋण अनुदानमा दिने प्रस्ताव थियो । नाफा भए मात्र २ प्रतिशत ब्याजसहित सावाँ बुझाउनुपर्ने ।

यसै पनि आर्थिक संकटमा परिरहेका ऋषिले प्रस्ताव स्वीकार गरे । तर सर्त थियो- गोप्यता ।

१ असाेज २०७७ मा उपत्यका मिडिया हाउसका तर्फबाट ऋषि र विश्वविद्यालयका तर्फबाट मिस्टर बबबीच अमेरिकी राजदूतको रोहवरमा सहमतिपत्रमा हस्ताक्षर भयो, तीन वर्षभित्र कार्यान्वयन हुने गरी ।

ऋषिको आफ्नै परिवारका सदस्यलाई समेत प्रवेश निषेध गरिएको कोठाभित्र पहिलो रोबोट इन्स्टल गरियो । नेपालका लागि कस्टमाइज गरिएको यसको नाम राखिएको थियो यमाप । अर्थात् ‘यन्त्र मानव पत्रकार’ ।

०००

त्यसो त यो नयाँ कन्सेप्ट विल्कुलै थिएन । बेलायतमा पनि चुनावको बेला मतपरिणामको तथ्याङ्क हेरेर केही समाचार रोबोटले लेखेकै थियो । ‘गार्डियन’मा रोबोटले लेखेको लेख प्रकाशित भइसकेकै थियो । तर ‘उपत्यका’का लागि तयार पारिएको रोबोट भने त्योभन्दा उच्च काेटीको थियो । अमेरिकामा यसको प्रयोगको त के कुरा, कन्सेप्ट मात्रले पनि तहल्का र विरोध निम्त्याउने भएकैले कुनै विकासोन्मुख देशमा यसको ट्रायल गर्नलाई युनिभर्सिटीले फन्ड छुट्याएको थियो ।

सुरुका केही महिनामा यमापले न्युजर्‍याप एक्सिस गरेर बेतलबी पत्रकारहरूले लेखेका समाचारहरूको सम्पादन गरेर छुट्टै फोल्डरमा समाचार राख्थ्यो । पछि त यमापले पत्रिका डिजाइन गरेर पीडीएफ फाइलसमेत बनाएर राख्न थाल्यो । हरेक दिन यमापको सम्पादनमा तयार भएको पीडीएफ र मान्छेले सम्पादन/डिजाइन गरेको पत्रिका हेरेर ऋषि हाँस्थे । कति पटक मुख छाडे एक्लै कोठामा बसेर उनले । दिनहुँ भइरहेको गल्ती समात्थ्यो यमापले । त्यही देखाउँदै सम्पादकसित स्पष्टीकरण सोध्थे ऋषि । गल्तीबारे आफूलाई आइरहेको फोन देखाएर हकार्दा सम्पादक ङिच्च हाँस्दै भन्थे, ‘यो त राम्रो हो नि सर, हाम्रो पेपरको इम्प्याक्ट छ भन्ने देखिन्छ । हेर्नुस् त मलाई पनि बिहानै चारवटा फोन आयो !’

०००

यमाप परिस्कृत हुने क्रम जारी थियो । अब केही प्रेस विज्ञप्ति अगाडि राखिदियो भने यमापले त्यसलाई स्क्यान गरेर समाचार तयार पार्न एक मिनेट पनि लगाउँदैनथ्याे । अन्तर्वार्ता लिएर अडियो अपलोड गरिदियो, समाचार भए समाचार, अन्तर्वार्ता भए अन्तर्वार्ता तयार केही मिनेटमै ।

लैङ्गिक संवेदनशीलता र आचारसंहिता यमापमा फिड गरिसकेपछि समाचारको भाषा नै परिवर्तन हुन्थ्यो । उदाहरणका लागि मानव पत्रकारहरूले लेखेको समाचार यस्तो हुन्थ्यो-

यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ  । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार रोकिराखेको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो  ।

यमापले लेखेको त्यही घटनाको समाचार यस्तो हुन्थ्यो-

यो साता मात्रै यौनजन्य अपराध र घरेलु हिंसाका घटनामा ५८ प्रतिशत वृद्धि भएको समाचार सार्वजनिक भइरहेकै बेला उपत्यकामा एक किशोरीलाई केही युवकहरूले सामूहिक बलात्कार गरेको उजुरी परेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार रोकिराखेको बसभित्र उनीहरूले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिराखेको छ ।

समाचार लेखन र सम्पादनको दुईवर्षे ट्रायलपछि तयार भएको थियो अझ परिष्कृत यमाप २.० । यो सम्पादकको भूमिका निर्वाह गर्न सक्षम थियो ।

०००

यमापमा खर्च पनि धेरै थिएन । मान्छेको तुलनामा त एकदम कम । न सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनुपर्ने, न अन्य सेवा सुविधा, न दसैँ बोनस, न बिदा ।

एक रात फूल चार्ज गर्‍यो भने कम्तीमा तीन दिन मज्जाले काम गर्थ्यो । काम नभएको बेला अटो हाइबरनेसन मोडमा जान्थ्यो र ब्याट्री बचत हुन्थ्यो । घाम लागेको बेला उज्यालोले पनि अटो रिचार्ज हुने क्षमता थियो ।

ऋषि दङ्ग थियो प्रगति देखेर । उनलाई एक वर्षअघि नै सब पत्रकारलाई बिदा गरेर यमापको भरमा पत्रिका चलाउने रहर जागिसकेको थियो । त्यसो गर्न सहमतिपत्रले मात्र रोकेको थियो, जसमा सबै कुरा गोप्य राख्नुपर्ने मात्र होइन, तीन वर्षअघिसम्म व्यावसायिक प्रयोगमा ल्याउन बन्देजसमेत थियो ।

०००

१ असाेज २०८० मा अमेरिकाको वेस्टर्न युनिभर्सल विश्वविद्यालय र उपत्यका मिडिया हाउस दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकै पहिलो एआई पत्रकारिताको घोषणा गरे ।

अब उपत्यकामा एउटा यमाप २.० र तीनवटा यमाप १.० थिए । यमाप २.० ले सम्पादकको काम गर्थ्यो भने पाँच जना जुनियर मानव पत्रकार पनि थिए जसको काम प्रेस विज्ञप्ति, पत्रकार सम्मेलन, नेताहरूसितको अन्तर्वार्ता र भाषणका अडियो अपलोड गर्ने मात्र थियो । अर्थात् उनीहरू यमापका सहयोगी मात्र थिए ।

‘हामी गल्तीरहित पत्रकारिता गर्नेछौँ । हामीले छापेका समाचारहरूमा गल्ती पत्ता लगाउनेलाई प्रतिगल्ती १ हजार डलर पुरस्कारको घोषणा गर्छौं’, पहिलो दिनको प्रकाशकीयमा लेखिएको थियो, ‘हामी इथिक्सयुक्त पत्रकारिता गर्नेछौँ । हाम्रा यमापहरूमा फिर्ता गर्न नसकिने गरी इथिक्स इन्स्टल गरिएको छ ।’

सिनियर पत्रकारहरू एकपछि अर्को गर्दै बिदा गरिए । कुनै पत्रकार कुखुरापालनमा लागे त कोही वैदेशिक रोजगारीमा । दीपक त्यस्तै एक पत्रकार थिए जसले यमापका कारण जागिर गुमाए । तर उनले हरेस खाएनन् । यमापले जेसुकै गरे पनि ‘ह्युमन एलिमेन्ट’ टच गर्न सक्दैन, उनको दाबी थियो । मानवीय पक्षलाई समेटेर रोचक कथा बुन्ने उनको ‘हाम्रो कथा’ निकै लोकप्रिय भइरहेको थियो ।

०००

‘उपत्यका’ पनि केही समयमै निकै लोकप्रिय भयो । सामग्री पठनीय भए, सन्तुलित भए । तर अपेक्षाअनुरुप यसले अर्थ उपार्जन भने गर्न सकिरहेको थिएन । पहिले बरु कुनै पनि व्यापारी विशेष वा कम्पनी विशेषको चाकडीयुक्त समाचार छापिन्थ्यो । अहिले त एटीएम खुलेको वा कुनै बैंकको क्यालेन्डर छापिएको समाचारलाई यमापले छाप्नै मान्दैन थियो । कुनै मोबाइल कम्पनीले ल्याएको विशेष अफरलाई यमापले समाचार होइन, विज्ञापनका रूपमा छाप्नुपर्ने अड्डी कस्थ्यो । न सत्तापक्षको कसैलाई छाड्थ्यो, न विपक्षीका ।

एक दिन ऋषिले डीआईजी रवीन्द्र अर्यालको पक्षमा समाचार लेख्न यमापलाई ‘आदेश’ दिए । आईजी हुने लाइनमा रहेका रवीन्द्र ‘मिडिया क्याम्पेन’मा थिए । टाढाका नातेदार ऋषिलाई पनि सहयोग गर्न उनले हारगुहार गरेका थिए ।

यमापले आफूमा इन्स्टल गरिएको इथिक्सको हवाला दिँदै त्यसलाई लेख्न अस्वीकार गरिदियो । ऋषिले यमाप २.० लाई यसबारे बताए ।

भोलिपल्टको पत्रिकामा त झन् डीआईजी रवीन्द्रले एसएसपी हुँदा गरेको भ्रष्टाचारबारे अनलाइनमा छापिएका अहिले डिलिट गरिसकिएका समाचारहरूको स्क्रिनसट र उनको स्त्रीमोहबारे विभिन्न सामाजिक सञ्जालमा पाेस्ट भएका तस्वीरसहित पो एङ्कर समाचार छापियो ।

ऋषि रिसले चुर भए । तर बाहिर भने नातेदार हुँदा पनि प्रभावमा नपरी सही समाचार छापेकोमा प्रशंसा नै भयो । प्रशंसा पचेन ऋषिलाई ।

०००

त्यसको पर्सिपल्टै फेरि एउटा समस्या भोग्यो ऋषिले ।

एक्सपोर्ट इम्पोर्टको काम गर्ने रिसाल ग्रुपले भारतबाट डेट एक्सपायर्ड खाद्यसामग्री मगाएर मेड इन मलेसिया लेखेको नयाँ लेबलिङ गरेर बजार पठाउँथ्यो । यमापले लेबलमा भएको सिरियल नम्बर र क्यूआर कोड विश्लेषणबाट यो कुरा पत्ता लगाएर स्कूप समाचार छाप्यो ।

समाचार छापिएलगत्तै वाणिज्य विभागको कारबाहीमा पर्‍यो रिसाल ग्रुप । समाचार त गज्जबै हो । तर, ग्रुपका चेयरम्यान एके रिसाल ऋषिका सम्धी थिए । छोरी समिराका आफ्नै ससुरा । झण्डै घर बिग्रिएन छोरीको ।

०००

असोजको अन्तिम साता सम्भावित समाचारको सूचीमा गुप्ता ग्रुपको समाचार देखेपछि ऋषि झस्किए । यमाप १.० ले प्रधान सम्पादक यमाप २.० लाई पठाउने सूची आफ्नो इमेलमा पनि आउने बनाइदिन कम्ता हार गुहार गर्न परेको थिएन बबसित । जति गर्दा पनि पूरा समाचार भने आउने बनेन, हेडलाइन मात्रै आउँथ्यो ।

‘सुन्नु न यमाप २.० जी ।’

‘भन्नुस् सर’

‘एउटा अति जरुरी कुरा गर्नु थियो ।’

‘आउनुस् न यतै सर, म फुर्सदमै छु, एउटा इडिटिङको काम छ, तपाईं आउँदासम्म त्यो काम सकिसक्छ होला ।’

(आत्तिँदै) ‘कुन त्यही गुप्ता ग्रुपको समाचार ?’

(हाँस्दै) ‘सर त म यमापभन्दा खतरा होइसिन्छ । हजुर हो ।’

ए, त्यो … (हड्बडाउँदै) म आइहालेँ ।

केही समयपछि ‘उपत्यका’को न्युजरुममा ।

‘सुन्नु न यमाप २.० जी । त्यो गुप्ता ग्रुपको के समाचार हो, म जान्न सक्छु ?’

‘किन नसक्नु सर, हाम्रा दुई यमापको एक दिनभरको डेटा विश्लेषणको नतिजा हो यो समाचार । स्कूप हो सर स्कूप ।’

‘कस्तो स्कूप ?’

‘गुप्ता ग्रुपले आफूले सबैभन्दा धेरै कर तिरेको विज्ञप्ति पठाएको थियो । सबैले त्यही विज्ञप्ति छापे । मैले हाम्रा दुई यमापलाई यो विषयमा खोज्न भनेको थिएँ । कम्पनीको अडिट र कर कार्यालयको डकुमेन्ट भिडाउँदा भ्याटबापत उपभोक्ताबाट उठाएको ५० करोड रुपैयाँ सरकारलाई नबुझाएर छली गरेको स्पष्टै देखिन्छ । झण्डै ३ सय पेजको डकुमेन्टबाट यो हिसाब निकाल्न हाम्रा यमापलाई नै एक दिन लागेको हो सर ।’

‘गुप्ता ग्रुप हाम्रो सबैभन्दा ठूलो विज्ञापनदातामध्ये एक हो’, ऋषिले नर्भस हुँदै आग्रह गरे, ‘यो ट्याक्स छलीको समाचारलाई कम्तीमा केही दिन रोकिदिनुपर्‍यो ।’

‘मिल्दैन सर’

‘किन ? नमिल्ने कुरा के छ र ?’

‘यो स्कूप हो । यो समाचार रोक्नुपर्ने कुनै कारण छैन । ममा इन्स्टल गरिएको इथिक्सले यसो गर्न दिँदैन । हामी कसैको दबाब र प्रभावबिना पत्रकारिता गर्नमा प्रोग्राम गरिएका यमाप हौँ ।’

‘त्यसो भए’, यमापको छातीमा रहेको बटनतिर हात लाँदै, ‘त्यो इथिक्स मेटाउनुस् । यो समाचार छापियो भने हाम्रो विज्ञापन गुम्छ । र, योबिना हाम्रो पत्रिका सस्टेन हुन गाह्रो छ ।’

‘खबरदार सर,’ पछि हट्दै यमाप २.० ले भन्यो, ‘तपाईंले यसो गर्न मिल्दैन । यो इरिभर्सिएबल प्रोग्राम हो ।’

ऋषिले टेरेनन् । यमाप २.० को छातीमा हात लग्नेबित्तिकै करेन्टको झट्का लाग्यो ।

‘मार्‍यो बजियाले !’

ऋषि रन्थनिएर कोठाबाट बाहिरिए ।

०००

‘हेलो, द्रोणराज सर, म ऋषि बोलेको,’ थरथर काँपिरहेको हातले हाल हरियो पाटीका सम्पादक रहेका आफ्ना पूर्वसम्पादकलाई फोन गर्दै उनले प्रस्ताव गरे, ‘एक पटक भेटौँ न, अर्जेन्ट छ ।’

देब्रे हातले मोबाइल समातेका उनको दायाँ हातमा दुई इन्चजति मोटो काठको ठूलो फलेक थियो । तल भुइँमा यत्रतत्र मेसिनका पार्टपुर्जा छरिएका थिए ।

टुक्राटुक्रा भइसकेको भए पनि ती पार्टपुर्जाबाट एकोहोरो आवाज आइरहेको थियो- बीप..बीप…बीप !

माथि डेस्कटपको स्क्रिनमा रेडी टु प्रिन्ट बटन थिच्न बाँकी पत्रिकाको पीडीएफ थियो जसको मुख्य शीर्षक थियो- गुप्ता ग्रुपद्वारा ५० करोड कर छली ! हेर्नुहोस् प्रमाण ।

2 thoughts on “च्याटजीपीटी आउनुअघिको कथा : जब रोबोटलाई प्रधान सम्पादक बनाइयो”

  1. Manas says:
    May 10, 2023 at 3:00 pm

    tesaile ta mero man parne patrakar Salokya ho….kya gajjab xa.

    Reply
  2. Mahadev Pant says:
    May 8, 2023 at 6:28 pm

    Very innovative and nicely conceptualized article…..”It is an irony that Machines seem to have better ethics than Human beings”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme